बेवारिसे आसनको एक बोल-पत्र

Author : दाजु गुरूङ
Published on : August 28, 2010


  
दाजु गुरूङ

आसन बेवारिसे भएको छ

धेरै भयो यो आसन अवशानमा पुगे जस्तो भएको

असनको साँढेले ओगटेको जस्तो

आसन ओगटी बस्ने

पर्वते कान्छो खसे देखि झन्

आसन बेवारिसे बनेको छ

आसन बोल-कबोलको लागि सडकमा आएको छ

आसन बिक्रीमा छ ।

सिंहसान भन्न मिल्दैन होला 

मृगासन भन्न पनि मिल्दैन होला

किनकी हरियो वन मानचित्रमा मात्र सीमित छ

त्यसैले त हात थापेर ल्याएको

चर्मासन हो ,

किनकी चर्मासन पवित्र हुन्छ

देवानुदेव महादेवलाई पनि

चर्मासन मन पर्छ रे

चर्मासनमा बसे पछि त्रि-नेत्र खुल्छ रे 

यस्तो अदभुत जादुमय चर्मासन खाली छ

जो यसमा बस्छ, उस्को

सात पुस्ता सम्म हेर्ने नेत्र खुल्छ रे

विश्वास नलागे चन्द-सूर्जेलाइ सोधे हुन्छ

सुरही मात्र बोकेर छिरेका कहनैया

त्रि- नेत्र खुले पछि

किन्नरी को साहरा चाहिने भयो

अनि भीमसेनको बोकाले पनि

नौमती बाजा बजाउने नै भयो

त्यसै पर्वते कान्छेाले मरिहत्ते गरेको हैन ।

म्रिहत्ते गर्दा पनि नपाइने जादुमय आसन

आज बेवारिसे छ

बिक्रीमा छ

बोल-पत्र भरे हुन्छ 

आसन रातो छ

आसन तातो छ

देखेकै हौ-

वनबासबाट शहर पसेका भिल्लहरू

रातो देखेर तातो खान खोज्दा

हाम फालेर भागे थिए

अहिले पाए हुन्थ्यो भनेर ताउ लाउँदैछन्

तिरहुते जेठोले के गर्नु

उभिदा आसनले छेलिने डर

बस्दा आसनमा हराउने डर

के गर्नु गोहीको आँसुले कति दिन थेग्छ र ।

बोकेको कुकुरले के शिकार गर्छ र 

यसैले त आसन बेवारिसे 

आसन बिक्रीमा छ ।

मनचिन्ते आसन  खाली छ

आसन जाली छ

आसन पाउने मन भए

हात पनि चाहिन्छ,

साथ पनि चाहिन्छ

बोल-पत्र हाल्ने भए

कबोलनामा पढेकै हौला

भन हात कस्तो छ ?

साथ कस्तो छ  ?

दखिनको कालो हात की उत्तरको रातो

पश्चिमको सेतो '''' ?

बस्नलाई साथ चाहिन्छ

उठनलाइ  हात चाहिन्छ 

कालो फलाम हुन्छ

फलाम बलियो छ

रातो राम्रो देखिन्छ

के गर्ने क्षितिज पारिको अकाशको फल''।।

त्यसैले त काला हातहरू नाँगले मणि ढाके झैं

आासनलाइ विरता ठानेर बसेकाछन् ।

बोल पत्रमा हेर्यो होला

एक आसन अनेकौं हात

एक बास अनेकौं साथ

अझ घोत्लिएर निहाली हेर

एक मतिए हात

दुइ मतिए साथ

तीन, चार', दस.... पन्ध्र' पच्चिस मतिए बात

पाँचौ पटक सम्म हराउने लात

मान्छेलाई उल्लु बनाउँने 

उल्लुलाई मान्छे बनाउँने

नाँच्ने नचाँउने साह्रै जाली

उठदा बस्दा सँधै ताली

अपार महिमा गुलियो बात

आसन सँधै कुबेरको साथ

के भनौं यस्तो मायावी आसन खाली छ

बेवारिसे आसन बिक्रीको लागि खुल्ला छ
 

dajuup@yahoo.com