नोर्जाङ स्याङदेनको राग रन्थरुमा

Author : प्रकाश थाम्सुहाङ
Published on : August 12, 2010


  
प्रकाश थाम्सुहाङ
Author

कवि तथा गीतकार भोगेनजीले हङकङबाट इमेल गर्नुभयो- "होइन हौ यति लामो समयसम्म कता हराइरहनु भएको ?" काठमाडौबाट पनि साथीहरू के गर्दै ? भनेर सोध्छन् । के गर्दै मतलब कुनै सृजनाहरू भयो कि ? सोधनी हो । साथीहरूलाई थाहा नै होला पुतली जीवन चक्र, लार्भा बाट प्युपाको चक्रमा पो छु कि - फगत अनुमान, यद्दपि धेरै साथीहरूलाई थाहा नहुन सक्छ म कविबाट किसानमा रुपान्तरण हुनगइरहेको । आफूले रोपेको विरुवा फलफूल लाग्दा कस्तो विछिट्ट अनुभूति । कवि भीमदर्शन रोकाले त्यसै कविता लेख्न छाडेका होइनरहेछन् । उनको स्वीकारोत्ती थियो लेखनको आत्मसन्तुष्टी अरु थोकबाट प्राप्त गरिन्छ भने के लेखिरहनु ! नयाँ सालको प्रारम्भमा फेदेनका कवि साथीहरू भवानी तावा, सगुन सुसारा, प्रेम ओझा आदिसँग काब्यिक जमघट भएको थियो । उनीहरूसँगको गफगाफले होला कवितासँगको मेरो मोह फेरि जीवित भएको । अलि सरसंगत पनि चाहिन्छ कि क्या हो ? अनि ईलाम आएर सिधै कवि विमल बैद्यको घर हानिए । फेरि कविताकै कुरा भयो । अझ राम्रो पक्ष उनको नयाँ कविताहरू पनि सुनियो । कविता सुन्दाको आनन्द र वेगल सन्तुष्टी, यस्तो लाग्यो मेरो कवितासँगको सम्बन्ध पार्थक्य हुनै सक्दैन । हो केही समय कवितासँग मेरो दुरी थियो र सृजना पनि शुन्य प्राय । तर सदाको लागि म कविताबाट टाढा रहन सक्दिन । बिमलजीबाट केही कविताकृतिहरू पठनको लागि प्राप्त गरें । पाठक सही म कविताको नजिक रहन्छु सौँच्दै सधन्यबाद लिएँ ।

ईलाम बसाईपछिको मेरो पहिलो अध्यन कवि नोर्जाङ स्याङदेनको राग रन्थरुमा कविता कृति हो, जुन मेलै बिमलजीबाट प्राप्त गरेको थिएँ । ल्याएर यसो पल्टाई हेरेँ । बानी अलि छुटेछ । कृतिको शिर्षकले नै म त अल्मलिएँ । नोर्जाङ स्याङदेनको नाम त सुनेकै थिएँ । धेरैले आफूलाई मन पर्ने कविको नाममा उनको पनि लिएको थाहा थियो । राग त बुझियो, रन्थरुमा भनेको के होला ? यसो गम खाएँ । अँह फिट्टकिै अर्थ थाहा भएन । शब्दकोश पल्टाउने पनि जाँगर चलेन । अनि कविको भनाईमा उल्लेख छ कि सोच्दै प्राक्कथन पढन थालेँ । अहँ यहाँ पनि छैन । रन्थरुमा के होला ? यसको अर्थ ब्यापकता कति होला ? होइन हौ, कविहरूले यस्ताशब्दहरू राखेर पाठकहरूलाई रिङग्याउन खोजेकै हुन् ? कि रन्थरुमा कुनै युवतीको नाम हो जो सागीतलाई असाध्यै माया गर्छे । खोई केहो केहो ?

कतिपय कविताहरूमा राग शब्दलाई आध्यात्मिक दृष्टिकोणको अर्थमा तृष्णा लिईएतापनि राग रन्थरुमाको रागलाई भने शान्त, ब्यवस्था (order) को अर्थ दिइएको छ भने रन्थरुमालाई अस्तब्यवस्था (chasos) को अर्थमा । अझ बृहतर परिप्रेक्षमा रागलाई सुर, सुन्दरता, कोमलता, उज्यालो, हर्ष एवा सृजनात्मक गतिशीलताको विशाल अर्थमा लिइएको छ भने रन्थरुमालाई बेसुर, असुन्दर, पाषाण, अध्याँरो, अमषा एवा वैपरीतिक अवस्थितिमा देखिएता पनि वस्तुत यी दुवै अविभाज्य रुपमा सँगै कार्यात्मक हुँदा रहेछन् । - कविले त यस्तो अर्थदिएका रहेछन् रन्थरुमाको । कता कृतिको भित्र खोज्दो रहेछु, आवरणको बाहिरै कविले लेखेका रहेछन् । बुझेँ अलिअलि । राग  रन्थरुमा विपरीत अर्थदिने शब्दहरू रहेछन् । अर्थात उज्यालो अध्यारो भने जस्तै । साँच्चि उज्यालो शब्द आउँदा मलाई चिन्तक आइ.बी. राईको भनाई याद आयो, उनले डेरिदाको दृष्टान्त दिदैँ धुलाबारीको एक गोष्ठीमा बोलेका थिए उज्यालो भने पछि अध्यारो पनि साथै जोडिएर आउँछ । कवि नोर्जाङले पनि राग र रन्थरुमालाई सम्भवत यसरी नै प्रयोग गरेका हुन् ।

बजार गरिरहेका

हतार हिाडिरहेका

यो प्रत्येक मान्छेको खुट्टामा गह्रौं साङलो जस्तो

एउटा शहर

बाँधिएको छ ।

- नोर्जाङ स्याङदेन

नेपाली भाषामा लेख्ने भारतीय कविहरूका केही कविता मेलै पढेको छु । ती कविताहरूको विषेशता भनेको कला र शैलीको उच्चता हो । अझ कला र शैलीमा निपुणता त सिक्कीमका कविहरूले प्राप्त गरेका छन् । तर दार्जिलिङ, आसामका कविहरूले वैचारिक सौंन्दर्यलाई अलि ज्यादा महत्व दिन्छन् । मनन गर्नु पर्ने कुरा यो छ कि त्यहाँ प्रान्तीय राजनीतिले गर्दा कविता लेखनमा पनि फरक परेको हो । सिक्कीमका कविहरू एक किसीमले ढुक्क छन् तर दार्जिलिङ,आसामका कविहरूले वेगल राजनैतिक लडाई लडिरहेका छन् । मतलब सामाजिक रीतिथीतिहरूले पनि कविता लेखनमा प्रभाव पार्दोरहेछ । सिक्कीमका कवि डा.राजेन्द्र भण्डारी र दार्जिलिङका कवि मनप्रसाद सुब्बाको कविताहरू सम्भवत यही कारण फरक फरक धारमा उभिएको छ । तर यता हाम्रो र उता सीमापारीको कविताहरू चाँहि अलि बेग्लै कारणले फरक छन् । नारायणघाटमा डा. राजेन्द्र भण्डारीसँग भेट हुँदा उनले भनेका थिए - नेपालबाट लेखिने कविताहरूमा राजनीति अलि हाबी भयो । यसले गर्दा कला ओझेलमा पर्यो । उनको मूल्याङन पनि ठीकै होला । तर उता र यताको राजनैतिक र सामाजिक धरातलमा आकाश जमिनको फरक छ । उनीहरू भारतमा समग्र नेपाली जातिको पहिचानको निम्ती लडिरहेछन् । हामी नेपाली जातिको बहुल सौंन्दर्य खोजिरहेछौं । फेरि गणतन्त्रको खातिर निरङ्कुशता बिरुद्घ लडेको कारणले पनि होला यताका कविताहरूमा विचार पक्ष हाबी भयो । हाम्रो राष्टियता फरक भएको कारणले पनि होला कविता निर्माण गर्ने सवालमा हामी बेगल रहेछौं । उदाहरणको लागि राग रन्थरुमामा समाविष्ट कवि नोर्जाङ स्याङदेनको यो कवितांश पढौं-

उसले आफ्नो घरको कोठामा

जय हिन्द भनेर लेखेको छ,पहेंलो रंङ चोबेर ब्रुसले

त्यस मुन्तिर मेरो भारत महान भनेर लेखेको छ

रातो रंङ दिएर आफनै हातले

.......................

जति बृहत छ उसको देश

त्यत्ति नै विशाल छ उसको हृदय ।

- एउटा राष्ट बोकेको सानो गाउँ

स्वाभाविक हो यस्ता कविताहरूको भाव नेपालका कविहरूलाई मन पर्दैन । तर नोर्जाङ स्याङदेनले त इमान्दार भएर यो कविता लेखेका हुन् । उनी भारत कै नागरिक हुन् । यसरी भाषा मिले पनि राष्टियताको फरकताले कविता पनि बेगल भयो । यसर्थ, भारतबाट आएर काठमाडौंलाई कर्म क्षेत्र बनाईरहेका अधिकाशं संगीतकर्मीहरूलाई भारतीय भन्दा चित्त नदुख्नु पर्ने हो । तर सिक्कीमका कविहरूले यस्तो कविता लेख्दा धुरन्धर समालोचकहरूले के भन्ने हुन् खोई ? लेण्डुप मार्ग कि राष्टवादी कविता ?

बहकिएँ कि क्या हो ? म त राग रन्थरुमा पढेर लागेको कुरा लेख्न खोजेको । लेख्न खोज्दा जोडिएर अरु थोक मिसीएर आएछ । हुन त मैले लेख्न पनि बिर्सेछु लागिरहेछ । अँ, राग रन्थरुमामा लामो छोटो गरेर ५३ ओटा कविताहरू समाविष्ट भएका छन् । कुनै त गीतहरू पनि हुन् जुन गीतको संरचनामा लेखिएका छन् । यो कृति सन् २००१ मा प्रकाशित भएको रहेछ । त्यो बेला अहिलेको जस्तो गोर्खाल्याण्ड आन्दोलन चर्केको थिएन । चर्केर पनि सेलाएको थियो । फलस्वरुप राजनीति कविताको विषयबस्तु भएको छैन । राग रन्थरुमा कृति कुनै डा. विष्टलाई सर्मपण गरिएको छ । कृतिको पहिलो कविता "लेजण्ड" सम्भवत उनै विष्टको सम्मानमा कोरीएको हो । यसले उनलाई आम समाजको भन्दा ब्यक्तिको पक्षपोषण गरेको आरोप पनि लाग्न सक्ला । लेजण्ड किनारिएका आम मानिसहरू पक्कै बन्न सक्दैनन् होला ।  त्यसो त कविताको सौंन्दर्यलाई अनुभूत गर्ने आ-आफ्नै तरिकाहरू छन् । बुझाई आ-आफ्नै छ । यद्दपि, कविताले सामाजिक न्यायको पक्षपोषण गरोस् भन्ने मेरो चाहाना हो ।

एउटा युद्घको घोषणा गर्छौं

आङ तन्काएर अल्सीलाग्दो बिरालो जस्तो भएर

कति बसोस

यी गाउँ,सहरहरू

यी देश,राष्टहरू

यी मान्छे, भगवानहरू

यिनीहरूलाई पनि कोइबेला एउटा भागदौड चाहिन्छ

एउटा ब्यस्तता चाहिन्छ

एउटा जोसिलो खेल चाहिन्छ ।  

- युद्घ

राग रन्थरुमाका कविताहरू हामीलाई अलि पृथक लाग्ने स्पेसको कारणले रहेछ । अर्को समाज,अर्को राष्टको कविले जीवनलाई कसरी बुझ्छ कौतुहल लाग्दो रहेछ । संसारभरिकै मान्छेहरूको संवेदना त साझा हुन्छ नै तर पनि केही स्थानीक निजत्वहरूले मान्छेको जीवनलाई फरक पारेको हुन्छ । राग रन्थरुमा भित्रको यस्तै स्थानीक निजत्वहरूले यो कृतिलाई नयाँपन दिएको हामीलाई आभाष हुन्छ । कविताको शब्द संयोजन पनि हामीलाई केही नौलो लाग्छ । ती शब्दहरू ब्याकरणीय रुपले शुद्घ वा असुद्घ के छन् त्यो त भाषाविज्ञले भन्ने कुरा हो । जस्तो-जलाएर आफ्नो वर्तमान जीवनको सिङ्घै बस्ती, म त तिमीमा आबाद हुँदछु ।  हुँदछु कि हुन्छु ?  हुँदछु पनि शुद्घ हुन्छ कि । कि दार्जिलिङको बोली हो यो ? 

राग रन्थरुमामा एउटा लामो कविता छ । उक्त कवितामा कविले नयाँ संरचनात्मक शैली वा छन्द बनाएका छन् । कवितामा प्रत्येक पद तीन पंक्तिका अनि प्रत्येक पंक्ति क्रमशै आठ, आठ र सात मात्राका छन् । जसलाई कविले नजल नाम दिएका छन् । जस्तो -

कुनै यात्रामा सरेको

कुनै डाँडामा झरेको

त्यो आकाश म सँग छ ।

- नजलका केही रंङ रेखाहरू  

कवि नोर्जाङ स्याङदेन दार्जिलिङका चर्चित कवि हुन् । उनको चर्चा यता नेपालतिर पनि सुनेको हुँ । जे होस् दार्जिलिङमा उनी अघिल्लो पक्तिकै कवि हुन् लाग्छ । यही विविध कारणले उनमा कविता लेखन प्रति अधिक आत्मविश्वास देखिन्छ । उनको आत्मविश्वास हो कि आत्मरती ? यो चाहिँ पाठक र धुरन्धर समालोचकहरूले खुट्याउनु पर्ने भएको छ । प्राक्कथनमा उनी लेख्छन् - "मेरा कविताहरू राजा कविता हुन् । जब पनि मेरा कविता प्रकाशनको खुल्ला सडकमा सवारी हुन्छन् अरु कविताका भीडले बाटो छोड्दछन् अनि सडकका दुई किनारमा उभी मेरा कवितालाई अवाक् बनेर हेर्दछन् । मेरा कविताहरू शक्तिशाली छन्, तेजस्वी छन् ।" अझै निकै थोक लेखेका थिए सबै मैले उल्लेख गरिन ।  कुनै पनि कविमा आफ्नो कविताप्रति यस्तै विश्वास हुनुपर्छ कि क्या हो ?

आउने ए दिनहरू

ए रातहरू

तिमी आऊ

फाटेको गुन्युले तिम्रो यौवन

छेक्न सक्दैन भने पनि तिमी नलजाई आऊ 

- कुनै पनि नयाँ वर्षसित

कवि स्याङदेनको एउटा विषेशता भनेको सरल लेखन रहेछ । राग रन्थरुमाका अधिकांश कविताहरू सरल छन् । सरल भए पनि दिमाग रमरम पार्ने कविताहरू छन् । यर्सथ सतहमा होईन गहिराईमै पुग्नु पर्ने हुन्छ अर्थ ब्यापकताको लागि । तर एउटा पाठकको हैसियतमा मलाई कस्तो लाग्यो भने उनी कलामा चाँहि अलि चुकेकै हुन् । कि यता नेपालको कविताहरूको स्वादले मेरो दिमाग र हृदयको जिब्रो बिगार्यो । कवि स्याङदेनलाई मैले भेटेको, चिनेको छैन । यर्सथ एउटा पूर्वाग्रह राखेर कविता पढेँ भन्ने पनि होईन । हुनसक्छ डा. राजेन्द्र भण्डारी र मनप्रसाद सुब्बाका कविताहरूको स्वाद मैले अपेक्षा राखेँ । कि धेरै अन्तरालपछि पढेको हुनाले कविताको स्वाद बिर्सें ?