जीवन सम्झनाको एउटा पाटो रहेछ

Author : काङमाङ नरेश
Published on : August 12, 2010


  
काङमाङ नरेश

एस.एल.सी. उर्तीण गरे पछि, २०५१ सालमा उच्च शिक्षा अध्ययनको लागि धरान महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने तरखरमा थिएँ । मेरो माहिली नाना १ धरानमै पढेकी थिइन् । उहाँले मलाई कानुन पढ्नु भनेर जिकिर गरिरहेकी थिइन् । मेरो सोँच चाहिँ मेजर नेपाली राखेर आर्टस् पढ्ने थियो । त्यो विषयमा भर्ना गर्न नपाए काठमाण्डौ गएर ललित कला क्याम्पसमा पढ्ने र भविष्यमा आर्टिस्ट बन्ने ।

दशैं तिहार मनाई सकेर म र टिका चन्द्र दाज्यु धरान तिर बाटो लाग्यौं । उहाँ ईण्डिया आर्मीमा भर्ती भिड्नको लागि दार्जिलिङ्ग जाँदै हुनुहुन्थो । लामी बगर काटे पछि बाटोमा एक जना मान्छेसँग हाम्रो भेट भयो । उहाँ एक्लै थियो । परिचय भयो, उहाँ मधेश तिर आफन्तकोमा गएको भन्नु हुन्थो । होचो कद्को  बलियो जस्तो देखिन्थे ।

हामी त्यो दिन चतरामा पुगेर सँगै बास बस्यौं । भोली पल्ट बिहानै चतराबाट ल्याण्ड लोभरमा चढेर धरान तिर बाटो लाग्यौं । कच्चि बाटो, ल्याण्ड लोभर ज्यादै हल्लिरहेको थियो । हल्लिरहेको मौका पारेर त्यो साथीले मरो कम्ब्याट ट्राउजरको गोजीमा हात लगाएर पर्ज कोट्याई रहेको थाहा पाएँ । उस्को हात च्याप्प समातेको मात्र थिए उसको अनुहार क्षण भरमै रातो भयो । उसले सम्हालीँदै भन्यो तपाईको पर्स र्झन लागेको थियो र पक्डि दिएको । मैले केही पनि भनिन् ।

हामी धरानको चतरा लाइनमा पु्गेपछि त्यो साथी कता गयो हामी भने रिक्सामा चढेर बाँजोगरा लिला नानाको घरमा पुग्यौं । त्यसपछि सम्झे मैले केही भनेर हल्ला गरेको भए उस्ले सबैको हातको पिटाई खान्थे र स्थिति अर्कै पनि हुन सक्थो । केही नभनेकको ठिकै गरेछु । बाबाले पढ्ने खर्च लगाई दिनु भएको गेजीमै थियो । कम्ब्याट भेनाले हंगकंगबाट ल्याईदिनु भएको थियो । त्यो ड्रेस लगाएर हिँड्दा मलाई निकै घमण्ड लाग्थ्यो ।

नानाले खान बनाई दिनुभयो । धराने सुँगुरको मासुमा रायो साग मिसाएको, लहरी दाल , गोलभेडाको अच्चार मज्जाले खायौं । गाउँघरको बारेमा गफगाफ भयो । मेरो लागि छात्रबासमा बस्ने व्यावस्था गंगा नानाले मिलाई दिनु भएको रहेछिन् । म छात्रबासमा बसेर पढ्ने भए । टिका चन्द्र दाज्यु भोली पल्ट सबेरै काँकाडभित्ताको गाडीमा चढेर दार्जिलिङ्ग तिर लाग्नु भयो ।

धरान आएको २ हप्ता भन्दा धेरै भई सकेको थियो । लीला नानाले यहि बस्, सोल्टिसँग कलेज जानु आउनु तर राम्रो पढ्नु भन्नु भयो । मेरो मन खुशी भयो । म धरान क्याम्पसमा नै मेजर नेपाली , कल्चर र अर्थशास्त्र लीएर आर्टस् पढ्ने भए ।

पहिलो दिन सुरन सोल्टिसँगै क्याम्पस गए । मेरो लागि धरान नौलो ठाउँ थियो । पहिला पहिला अलिक अप्ठ्यारो लाग्यो क्यम्पसमा । केही दिन पछि देखि म जस्तै पहाड देखि आएका साथीहरूसँग चिनजान हुन थाल्यो । धेरै साथीहरू तेह्रथुम, ताप्लेजुङ्ग, धनकुटा, खोटाङ्ग, पान्थर, झापा, सोलु, संखुवासभा, र आफ्नै गृह जील्लाका साथीहरूसँग चिनजान भयो । कोही राजनैतिक गर्ने, कोही खेल्ने, कोही फेसन गर्ने, कोही साहित्यकारहरू थिए ।

१२, १३ वर्षको उमेरदेखि नै कविता लेखि टोपल्ने भएकोले कवि साथीहरूसँग मेरा संगत बढ्न थाल्यो । भलीबल खेल्ने साथीहरूसँग पनि संगत थियो त्यो बेलामा मेरो । कविहरूमा सबै भन्दा धेरै घनिष्टता कवि देवान किरातीसँग थियो अहिले पनि उती नै छ । उहाँ राजनैतिक पनि गर्नुहुन्थो । उहाँ त्यो बेलामा अनेरास्ववियू छैठौंका नेता थिए । म पाँचौको सर्मथक थिए । तर उहाँसँग हाम्रो कहिल्यै पनि राजनितिक गफ भएन । धेरै कवि गोष्ठिहरूमा, प्रतियोगिताहरूमा भाग लीन जान्थौं ।

..क्याम्पस धरानमा २०५२ सालमा कविता प्रतियोगिता भएको थियो । देवानजीले भाग लिनु भयो भएन अहिले आएर मैले भुलेछु । त्यो साल मैले पहिलो हुने मौका पाएँ । खगेन्द्र पन्धाकजी र गीता संतापजी दोस्रो र तेस्रो हुनुभयो । गिता संतापजी अहिले जापानमा छिन् रे । खगेन्द्र पन्धाकजी मेरो क्लासमेट साथी हुनुहुन्थो । उहाँ राम्रो कविता लेख्ने र साह्रै राम्रो आर्ट गर्नुहुन्थो । धेरै वर्षपछि उहाँसँग म पहिलो छुट्टी गएको बेलामा काठमाण्डौको ब्रिटिस क्याम्प अगाडि भेट भएको थियो । त्यस पछिका दिनहरूमा भेट हुने मौका मिलेको छैन । सानो सानो कदको भए पनि साह्रै राम्रो भलीबल खेल्नु हुन्थो । हामी खुबै भलिबल क्याम्पसमा खेल्थौं । उहाँ चुम लिम्बुको नाममा फेस बुकमा आउनु भएको धेरै भएको रहेछ, बल्ल केही दिन अगाडि मात्र खगेन्द्र पन्धाकजी भनेर चिन्ने मौका पाएँ । अहिले देवजीहरूसँग आलोपालो डटकम वेभ साईट चलाईरहनु भएको रहेछन् ।

देवानजी र मैले धेरै दुःखहरू बाँडेर हिँडेकाछौं । एक पटक कविता प्रतियोगितामा भाग लीन ईटहरी जाने सल्लाह गरेका थियौं तर मलाई भने डाईरीयाले अति नै थामी नसक्नु गाह्रो बनाएको थियो । एक जना साथीले केराले रोकिन्छ भन्नु भयो त्यस पछि १ दर्जन केरा किनेर खाएँ । म सँग १५ रुपैयाँ मात्र थियो आधी भन्दा धेरै रुपैयाँ सकियो ईटहरी पुगेर आउन नपुग्ने भयो । देवानजीसँग ४० जति रहेछ बसको टिकट उहाँले नै काट्नु भयो र ईटहरी तिर हुइकिऊ ।

ईटहरी नगरपालिकाको भवनमा कविता प्रतियोगीता वाचन शुरु भयो । मैले र देवानजीले पनि भाग लियौं । त्यो बेला जस बेखर्चीजी प्रतियोगितामा तेस्रो हुनुभयो । उहाँले नेताहरू खाते हुन खातेहरू नेता होईनन् शीर्षकको कविता वाचन गर्नु भएको थियो जस्तो लाग्छ, कतै भुली पनि सके की ? उहाँ अहिले धरानको विजयपुर एफ.एममा स्टेशन मेनेजरको काम गरिरहनु भएको थाहा पाएर विदाको समयमा उहाँलाई भेट्न जाँदा उहाँलाई भेट्न सकिनँ । उहाँको कुर्सी खाली थियो । देवानजीसँग भेटभयो । उहाँ मार्केटिङ्ग डाईरेक्टरको पदभार समालिरहनु भएको रहेछन् । उहाँ भन्दै हुनुहुन्थो नरेशजी भखरै साथीहरूलाई तलब दिएर बस्दै थिए तपाई आईपुग्नु भएछ । देवानजी मार्फत रितु थेबेजीसँग चिनजान भयो उहाँले झम्काभेट नामको कार्यक्रम साह्रै राम्रो चलाउँनु हुँदो रहेछन् ।

विजयपुर एफ.एमको अगाडि गोरुको सुकुटी र चिसो कोकाकोला पिउँदै थियौं त्यसै बेला साहित्यकार दाज्यु गोपाल देवान आईपुग्नु भयो । मैले धेरै सुनेको नाम तर भेटघाट भएको थिइन । देवानजीले चिनजान गराउँदै अजम्बरको भाई भन्नुभयो । मैले नमस्कार गरे साह्रै खुसी पनि भए किनकि धरान निकै बस्दा पनि मैले भेट गर्ने मौका पाएको थिइनँ । उहाँले भन्नुभयो पुर्वमा अजम्बर काङमाङको भाषणले गर्दा धेरैलाई कम्युनिष्ट बनायो । उहाँले भन्दै जानु भयो एक दिन म.. क्याम्पस धरानमा अजम्बरले भाषण गरिहेको बेलामा प्रहरीहरूले चारै तिरबाट घेरा हाल्यो ।

त्यसपछि हामी सबैले कम्बर भन्दा माथीको लुगा फुकालेर हातले हल्लाउँदै साईट गेटबाट भगाएर एउटा घरमा छिरायौं । त्यहाँ पनि प्रहरीहरूले घेरा लगायो । हामीले केस खौरी दिएर लामाको ड्रेस लगाई दिएर भगायौं । अर्को रोचक कुरा त बाटोमा हिँड्दा फाटेको चप्पल जुत्ताहरू र नरिवलका दोरीहरू भेटेमा बोक्नु हुन्थो ? किन बोकेको हो अजम्बरजी भनेर एक दिन मैले सोधे ? उहाँले भन्नु भयो यसको महत्व पछि थाहा पाउनु हुन्छ ।

कहिले कहि छात्रबासमा दाउरा हुँदैन थियो त्यो बेलामा चप्पल जुत्ताहरू बालेर भात पकाएर खुवाउनु हुन्थो र चप्पल काटेर टेबल कुर्सीको खुट्टामा मिलाएर काँटी ठोकेर जतै सार्दा पनि आवाज आउने बनाउनु भयो । त्यो डोरीहरू चाहिँ सरकार बिरोधी त्यो बेलामा कम्युनिष्टका किताबहरू बाँधेर पहाड तिर ढाकारमा लगाएर पठाउँनु हुन्थो । साहित्यकार रक्ष दाज्युलाई पर्खेर बसेका थियौं । उहाँ आईपुग्नु भएपछि हामी त्यहाँबाट आ-आफ्नो बाटो लाग्यौं।

  

धरान पढ्दा धेरै साहित्यकार साथीहरू थिए । साहित्यकार तथा पत्रकार राज कुमार दिक्पाल दाज्युले हसाएर मनोरंजन दिलाउनु हुन्थो । माया प्रेमका कुराहरू अरु धेरै कुराहरू गरेर हसाउँनु हुन्थो । उहाँले वाचन गर्नु भएको गजलको एउटा सेर अझै मलाई याद आईरहन्छ । त्यो यस्तो थियो- मेरो खबर लाने भए सुन काग, यस पछिका वाक्यहरू मैले भुली सकेछु । राज कुमार दाज्युसँग धेरै वर्ष पछि २००५ एउटा कार्यक्रममा बार यसोशीयसनको हलमा भेट भएको थियो । उहाँलाई मैले भने दाज्यु तपाईलाई काठमाण्डौले फापेछ । उहाँले भन्नुभयो किन हो काङमाङ भाई ? मैले भने मोटाउनु भएछ । उहाँ हाँस्नु भयो । यस पछिका दिनहरूमा भेटघाट हुने मौका पाउन सकिएन । पाँचवर्ष पछि  २०१० मा जनवरी ६ तारीखको दिन गुरुकुलमा हाम्रो भेट भयो । ने.प्र. प्रतिष्ठान वेलायतले नेपाली गीत संगीतको शिखर व्याक्ति वरिष्ठ संगितकार तथा गायक अम्बर गुरुङ्गलाई सम्मान र मिठो स्वरको धनी गायक कुबेर राईलाई पुरस्कृत गर्दा भेट भएको थियो । र भोली पल्ट भोजपुर प्र. प्रतिष्ठान वेलायतले गरेको कार्यक्रममा हाम्रो भेट भएको थियो । अहिले हाम्रो बाक्लै भेट हुन थालेको छ ।

प्रदिप म्याङ्गवो मेरो क्लासमेट । धरानमा हामीसँगै पढ्दा देखी उहाँ साहित्यमा र पत्रकारितामा कलम चलाउँनु हुन्थो । अहिले साहित्यमा भन्दा पत्रकारितामा बेसी कलम चलाउँनु हुन्छ । मेरो जेठो छोरो स्वप्निल जन्मेको बेलामा उहाँसँग निकै लामो समय ७ वर्ष पछि भेट भयो । अहिले आएर ५ वर्ष भयो भेट हुन सकेको छैन तर उहाँले लेख्नु भएको समाचारहरूमा बाक्लै भेट भैईरहेको छ ।

अनुशील श्रेष्ठ, उहाँ मेरो धरान कलेज पढ्दा क्लासमेट साथी । उहाँ धरानमा त्यो बेलामा विजयपुर साप्ताहिकमा काम गर्नु हुन्थो । अहिले हिमाल खबर पत्रिकामा काम गरिरहनु भएको छ । मा��"वादीको आक्रणमा पनि पर्नु भएको खबर परदेशमा पढ्न पाएका थियौं । २००३ को मे महिनामा उहाँसँग धरानमा  भेट भएको थियो त्यसपछि भेट भएको छैन । उहाँले लाहुरे साहित्यकारहरूको बायोग्राफी उपलब्ध गराईदिनु होला भन्नु भएको भियो । मैले ब्रुनाई गएपछि ९ जनाको पोष्ट गरेर पठाएको थिएँ पाउँनु भएन रहेछ भन्ने कुरा पछि थाहाँ भयो । २००९ के डिसेम्बरमा हाम्रो फोनमा बोलचाल भयो तर भेट गर्न सकेनौं किन भने उहाँ काठमाण्डौ भन्दा बाहिर जानु पर्ने काम भएकोले बाहिर जानु भयो ।

मेरो अर्कौ क्लासमेट साथी देव राज राई । उहाँ हालमा हङकङमा हुनुहुन्छ । धरानमा सँगै पढ्दा उहाँ फोटो पत्रकार हुनुहुन्थो । उहाँसँग हाम्रो प्रत्येक्ष भेट नभएको १४ वर्ष पुरा भैई सक्यो । फेस् बुकमा १३ वर्ष पछि भेट भयो । अहिले हाम्रो भेट भईरहेको छ । एच के नेपाल डट् कममा उहाँले लिनु भएको अन्तरवार्ताहरू धेरै हेर्न पाईन्छ । उहाँले आलो पालो डट् कम् चलाईरहनु भएको छ ।

अर्को कलास्मेट कवि साथी विद्रोहि साईला । उहाँसँग २०५२ सालबाट अहिलेसम्म भेट भएको छैन । उहाँको वैवाहिक सम्बन्ध धनकुटा निवासी कवयत्री सुमीत्रा चेम्जोङ्गसँग भयो भन्ने सुनेको छु ।

गीतकार बलबहादुर राई । साह्रै मिजासीलो मान्छे । उहाँ मलेशियामा रेस्टुरेष्ट चलाई रहनु भएको छ । उहाँसँग बेला बेलामा भेट भैई रहको छ ।

साहित्यलाई नजीकबाट बुझ्नु हुने क्लासमेट साथी हर्क राज राई । उहाँसँग पहिलो छुट्टीमा हाम्रो भेट धरानको भानु चोकमा भएको थियो । उहाँले भन्दै हुनुहुन्थो नरेशजी म पनि लाहुर लाग्ने कोशिश गर्दैछु । केही उपायहरू सिकाई दिनु पर्यो । मैले भने गुच्छा भन्दा कलम कापीसँग धेरै खेल्नु भएको छ । तपाईलाई समस्या हुँदैन । अहिलेको समयमा तपाई जस्तो पढ्नु भएको मान्छेको लागि लाहुरे भर्तीको ढोका खुलेको छ । साँच्चै उहाँ अर्को साल भर्ती लागेर वेलायत आउँनु भएको खबर पाएँ । २००९ मा हाम्रो भेट साहित्यिक कार्यक्रममा वेलायतमा भयो । गजलकार बहिनी अन्जु अन्जलीसँग विवाह बन्धनमा बाँधिनु भएको रहेछन्  दुवैजना आउनु भएको थियो । 

कवि साथी जगत नवोदित । म महेन्द्र बहुमुखी कलेजमा पढ्दा उहाँ हात्तिसार कलेजमा पढ्नु हुन्थो । हामी वक्तित्व कला प्रतियोगीतामा भिढ्ने गर्थ्यौ । उहाँ हात्तिसार कलेजको प्रतिनिधित्व गरेर आउँनु हुन्थो भने म र कुमार मणि दाहाल महेन्द्र बहुमुखी कलेजको प्रतिनिधित्व गरेर जान्थे । जगतजीसँग हाम्रो साहित्यिक कार्यक्रमहरूमा भेट भैईरहन्थो । एक पटक धरानको सैनिक भवनमा नेपाली संस्कृति माथि विदेशी संस्कृतिको अतिक्रमण भन्ने शीर्षकमा धरानको जेसीसद्वारा आयोजना गरेको वक्तित्व कला प्रतियनेगितामा हामी भिडेकोनि थियौं । जगत जी प्रथम हुनुभयो, कुमार मणि दाहाल दोस्रो हुनुभयो । २०५३ साल तिर म बरालिनु काठमाण्डौ तिर हानिएपछि धेरै साथिहरूसँग भेटघाट हुन छाड्यो । कामाण्डौमा मैले खोटाङ्ग जिल्ला निवासी साह्रै मिजासीलो साथी देव राज राईलाई पाउँन सफल भए उहाँ आर.आर कलेजमा पढ्दै हुनुहुन्थो ।

जगतजीसँग त्यसपछि २०५६ सालमा लाहुर बन्ने रहर बोकेर पोखराको ब्रिटिस क्याममा जाँदा त्यहाँ भेट भयो । हाम्रो भेट कुक हाउस र नाफीमा फल फुल किन्न जाँदा हुन्थो । त्यो साल उहाँ भर्ति लाग्न सक्नु भएन । फेल भएर घर फर्किनु भयो । म भने लाहुर लाग्न सफल भएँ । उहाँ अर्को वर्ष लाहुर लागेर आउनु भयो । म नेपाल कप फुटबल खेल्न क्याट्रिक जाँदा उहाँ त्यहि तालीम गरिरहनु भएको थियो । उहाँसँग छोटो कुराकानी मात्र भयो । उहाँसँग धेरै गफ गर्ने ईच्छा हुँदाहुँदै पनि हामी गफ गर्न पाएनौं । आर्मी त्यो पनि तालिमको समय उहाँलाई फुर्सत थिएन । एकै छिनको भेट पनि लामो जस्तो लाग्यो । उहाँ तालिम सकेर कुइन्स् गोर्खा सिग्नल जानु भयो । म २ आर.जी.आरमा कार्यरत । त्यस पछिका दिनहरूमा वेलायतमा भएको साहित्यिक कार्यक्रमहरूमा बाक्लै भेटघाट् भईरहेको छ ।                        

हाम्रो भेट फोनमा भैईरहन्छ । उहाँमा साह्रै राम्रो वाक शक्ति छ तर उमेर भन्दा तालुले उहाँलाई बुढो बनाई सकेको जस्तो मलाई अहिले आएर लाग्न थालेको छ । गायक मिलन राई । उहाँसँग धरान छाडेपछि भेट्घाट् भएको छैन । कहाँ हुनुहुन्छ थाहाँ पनि छैन । गायक किशोर थुलुङ्गसँग बेला बेलामा भेट् हुन्छ ।

गायक राज कुमार समालजी कलास्मेट साथी । धरान छाडेपछि काठमाण्डौमा भौतारिएर फिरन्ते भएर हिँड्दा भेट भएको थियो । ललितकला क्याम्पसमा पढ्दैछु भन्नु हुन्थो । त्यसपछि हाम्रो भेट भएको छैन ।

किसन चन्द्र राईसँग धरान छाडे पछि भेट भएको छैन । कवियत्री बिमला तुम्खेवाजी लामो कपाल सेतो साडी र चोली ��"डेर पथ्रीबाट साहित्यिक कार्यक्रममा धरान आउँथिन् । उहाँको कविता संग्रह नदी छाल र तरंग पढेको छु । बिमला सालिन्, अहिले हङकङमा छिन् । अहिलेको समयमा कविता लेख्न छाड्नु भएको भान भईरहेको छ मलाई । उहाँ कवि भरुपलसँग विवाह बन्धनमा बाँधिनु भएको छ । उहाँसँग हङकङमा एक पटक भेट भएको थियो । सुमित्रा प्रवृति, राम्रो कविता कोर्थिन् । उहाँसँग पहिलो छुट्टमिा धेरै पटक भेट भयो । उहाँको विवाह गायक भिषण मुकारुङ्गसँग भएको छ । धरानमा उहाँ स्कुटरमा चढेर नारीको पहिचान  खोज्दै हिँड्थिन् पछिल्लो समय तिर । कवियत्री रोशना गुरुङ्ग । उहाँ हाासपोसा तरहराबाट साहित्यिक कार्यक्रममा धरान आउँथिन् । धरान छाडे पछि उहाँसँग भेट भएको छैन । राज कुमार दिक्पाल दाज्युले भन्दै हुनुहुन्थे भाट्भाटीनीमा जागिरे छिन् ।

मान्छेले जीवनमा धेरै गन्तव्य विहिन बाटाहरू किल्चन पर्दो रहेछ । ति बाटाहरू धेरै पछि सम्झानाका छायाँहरू बनेर दिमागलाई घच्घच्याउँदो रहेछ । धरानको अग्रज साहित्यकार दाज्यु मान बहादुर शाक्यलाई धेरै सम्झेको छु । छाता चोकमा चिया पिउँदै फेशनवाल धराने युवतीहरूलाई हेरेर कविता कोर्थे । उहाँको दाँतहरू झरिसकेको थियो त्यो बेलामा नै । ल्याम्थो स्वारमा कविता वाचन् गर्नु हुन्थो । तर अहिले सम्झाना मात्र बाँच्न विवश भएको छ किन भने उहाँ यो धर्तीमा हुनुहुन्न । उहाँलाई सम्झानको श्रदान्जली ।

यसरी नै दाज्यु गोविन्द विकललाई पनि धेरै नै सम्झेको छु । उहाँले लेख्नु भएको गीत म सानो छँदा चाडबाडको बेला गाउँघरमा धेरैले नाँच्थे । तर त्यो बेला के थाहा को गोविन्द विकल भनेर ? 

संघर्ष हो जीवन

जीवन संघर्ष हो

जीवन देखि थाकेर मर्छु नभन

हार भयो भनेर दुःख नमान

संघर्ष हो जीवन

जीवन संघर्ष हो

संघर्ष संघर्षमै उहाँले बाचुञ्जेल जीवन बिताउनु भयो । उहाँलाई सम्झिदा कवि देवान किरातीजीलाई भुलीयो भने ठुलो गल्ति हुन जान्छ । जीवनमा धेरै दुःखका रेखाहरू देवानजीसँग कोर्नु भएको थियो । त्यो रेखा अब देवानजीसँग मात्र बाँकीरहेको छ । उहाँलाई पनि सम्झनाको श्रदान्जली । उहाँले हाम्रो संयुक्त कविता संग्रह आँसुको दोभानमा भुमिका लेखिदिनु भएको छ । सम्झना जति सम्झियो उति नै आलो हुँदो रहेछ । कहिल्यै नसुक्दो रहेछ सम्झना । झन सम्झियो झन बल्झिने । जीवन एउटा सम्झनाको पाटो पनि रहेछ ।