साँझ शब्दचित्रमा

Author : प्रकाश थाम्सुहाङ
Published on : July 24, 2010


  
प्रकाश थाम्सुहाङ
Author

बैशालु  युवती झैं लजाउँदै रातो घाम

जब पहाडको घुम्टो भित्र लुक्न खोज्छ

साँझ, गाउँमा बास माग्न आउँछ

 

दिनभर खटनपछिको सकुन र सन्तुष्टी

निश्चिन्त भई फर्किरहेछन् गोठालाहरू,

धुलो उडाउँदै मुलसटकमा

निर्धक्क चरेर जीवनको एक अध्याय

उग्राउँदै फर्किरहेछन् गाईबस्तुहरू

 

कुनै मायाबी लोककथाबाट अलप भएको नायक

अर्थात आनीको आँखाबाट ओझेल भएको सपना

जस्तै अचानक बिस्मृत भएका आफ्ना प्रेमीहरू सम्झेर

जोरधारामा पर्खेर पानीभर्ने पालो

सिरबन्दी जून हेरिरहेका छन् युवतीहरू

 

बालेर जीवनको उज्यालो साँझमा

कहाँ पुग्ने होला यी जुनकिरीहरू ?

कहाँ बास बस्ने होला यी कर्याङकुरुङहरू ?

कुन गीत गाईरहेछन् यी झ्याउँकिरीहरू ?

 

साँझले  इन्द्रेनी रङहरू छर्दै छ कि जस्तो

चुलो बाल्न हतारमा छन् गृहिणीहरू

नेपथ्यमा सुनिदैछ ढिकी कुटेको आवाज

साँझ एउटा दिनको अन्तिम बिन्दु

एउटा दिन बितेको समय

घटाएर एकदिनको आयु, टाढा... कतै

सुनिदैछ गाएको ख्याली-जुहारी

 

फेरि, चढाउँदै फूलपाती देउरालीमा

सपना बेचेर फर्किरहेछन् परदेशीहरू

के कती मूल्य पाए सपनाको ?

अहो रातो देखिन्छ नदी रातै देखिन्छ मनहरू

सपना डढेर होकि रातो देखिन्छ आकाश ।
 
                                         ईलाम ।
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
   कविता अभियान ! ! आमन्त्रित कलमबाट ।