मिजासको अर्थ अवतरण, एउटा नयाँ विचारको अवतरण हो

Author : काङमाङ नरेश
Published on : June 30, 2010


  
काङमाङ नरेश

       ढुङ्गेसाँघु ताप्लेजुङ्गबाट २०५४ सालतिर उभार मासिक साहित्यिक पत्रिकाको सम्पादन गरी नेपाली साहित्य र पत्रकारीतामा सार्वजनिक भएको नाम हो मिजास तेम्बे । उनले २०५५-२०५६ सालमा ईटहरीबाट उत्साह त्रैमासीक पत्रिकाको सम्पादन गरे । त्यो बेला देखी नै मिजासले खाली ठाउँहरू खोजीरहे । खाली ठाउँ खोजी रहँदा रहँदै २०५६ सालमा पहिचानवादसंगै पहिचान त्रैमासीक पत्रिकाको जन्म गराए उनले । पहिचान त्रैमासिक पहिचानवादको मुख पत्र थियो । उनि थिए प्रधान सम्पादक ।

स्रष्टा आाफूले आफैलाई चिनौं, भन्ने आग्रह र जीकिर थियो पहिचानवादको । जब, आफैले आफैलाई चिन्न सकिन्छ, अनि मात्र एउटा स्रष्टाले एउटा स्पष्ट विचारको विकाश गर्न सक्छ । त्यस पछि मात्र एउटा स्रष्टाले राम्रो सृजना जन्माउन सक्छ भन्ने बुझाई थियो मिजासको । यसरी उनले साहित्यको क्षेत्रमा केही नयाँ विचारहरूको प्रयोग गर्दै आईरहेका छन् । प्यास नजरको गजल संग्रह, सीमाहीन विम्बहरू संयुत्त कविता संग्रह सम्पादन, उद्गार गीती एल्बम, ग्रिनवीचका प्रतिध्वनिहरू संयुत्त कविता संग्रह सम्पादन गरी अर्थ अवतरण कविता संग्रहसम्म आई पुगेका छन् उनि ।

मान्छेले  हरेक  क्षेत्रमा संघर्षको  बाटोबाट चेतना प्राप्त गर्दछ । त्यहि चेतनाले मान्छेलाई पक्का मान्छे बनाउँछ । साहित्यको क्षेत्रमा संघर्षको बाटोबाटै कवि मिजास तेम्बे यतिवेला अर्थ अवतरणसम्म आई पुगेका हुन् । उनका सृजनाहरूलाई हामीले राम्ररी पढ्नु पर्ने र बुझ्नु पर्ने भएको छ, जस्तो लाग्छ ।

कविता संग्रह अर्थ अवतरण नयाँ विचारलाई बोकेर त्यो विचारलाई अवतरण गराउन हामी माझ आईपुगेको छ । कसरी अर्थहरूलाई अवतरण गराउन खोजेका छन् त उनले ? कवितांश हेरौं........

मान्छेले समयलाई हाँकिरहेछ

या,

समयले मान्छलेलाई घिस्याइरहेछ ?

मलाई सोच्न देऊ

मलाई विचार गर्न देऊ

म यी तमाम चिन्तनहरूमाथि

(चिन्तन गरिरहेछु)

एकछिन पर्ख !

मलाई खाली ठाउँहरूबाट बोल्न देऊ

मलाई खाली कोणहरूबाट हेर्न देऊ

मलाई खाली जग्गाहरूमा पाइला राख्न देऊ

म सत्यको अन्वेषणमा निस्किएको छु

 

म पागलजस्तो

न त पूरै पागल

सद्दे मान्छेजस्तो पनि

न त पूर्ण सद्दे मानिस

अलिकति नमिलेको

अलिकति नपाकेको

सधैं अल्पज्ञ

सधैं अर्ध

सधैं अपुरो

ठ्याक्कै यो समयजस्तै

र यो समयको मान्छेजस्तै म ।

                   (समय, मान्छे र म)

 

जीवन र जगतलाई टाढाबाट नहेरेर नजिकबाट हेर्नु पर्छ । खाली ठाउँहरूबाट बोल्नु पर्छ । यो मानव जीवनको हरेक क्षेत्रमा प्रयोग हुन्छ । शब्दका रसायनहरूलाई बुझेर, शब्दको बहुआयामिकता अथवा शक्तिलाई चिन्न सक्यो भने मात्र अभिप्रायहरूको जागरण हुन सक्दछ । लेखनका क्षेत्रमा यस्ता खाले चिन्तनहरू माथि चिन्तन गर्नु पर्ने बेला छ । भिड्हरूमा पाइला राख्नको लागि खाली ठाउँ चाहिन्छ, भिड्हरूमा भिड् थपिनको लागि पनि खाली ठाउँमै टेक्नु पर्दछ । खाली ठाउँ उस्को धरातल हो । त्यहि धरातलमा उस्ले शत्तिशाली सृजनाहरू गर्न सक्दछ । जुन स्रष्टाले कुनै पनि बस्तुलाई नबिनतम चेतनाले बुझ्दछ र त्यसलाई सृजनामा अभिब्यक्त गर्दछ भने उसको सृजनामा पाठकहरूले नयाँपनको आभाष पाउछन् । र यस्ता चेतनावादीय स्रष्टा र सृजनाले नै समयलाई हाक्न सक्दछ ।तर जुन स्रष्टा र सृजनामा नविन सोंच र दृष्टिकोण छैन भने उस्लाई समयले घिस्याईरहेको हुन्छ । साहित्यमा मिजासले यीनै कुराहरूको प्रयोग गर्न चाहेका छन् ।

 

मान्छे,

सधैँ विरोधाभाष देखिरहन्छ/लेखिरहन्छ

सधैँ अनिणिर्त बोलिरहन्छ/खोलिरहन्छ

सधैँ अन्धाधुन्द गरिरहन्छ/सरिरहन्छ

सधैँ बेठेगान हिँडिरहन्छ/दौडिरहन्छ

समय बहमा

छमछम नाचिरहन्छ

मात्र भ्रम बाँचिरहन्छ

 

सबै अनियन्त्रित, फेरि नियन्त्रितजस्तो पनि

सबै अस्तव्यस्त, फेरि व्यवस्थितजस्तो पनि

सबै भद्रगोल, फेरि संगोलजस्तो पनि

आजको मान्छे अनेकन धर्महरूले किचिएको छ

विविध दर्शनहरूले थिचिएको छ

राजनैतिक साँध-सीमाहरूले मिचिएको छ

यान्त्रिक चटकहरूले खिचिएको छ ।

                     (समय, मान्छे र म)

 

प्रत्यक्ष वा अप्रत्यक्ष, मान्छेलाई विचारले र दर्शनले घुमाईरहको हुन्छ, थिचिरहेको हुन्छ । धर्म, राजनिति, साहित्य र विज्ञानको वरीपरि मान्छे हिडिरहेका हुन्छन् । यी चीजहरूलाई जस्ले नौलोचेतनाले हेर्दछ, पढ्दछ, अनि बुझ्दछ भने ऊ हरेक क्षेत्रमा शसक्त हुन सक्तछ । जस्ले कुनै पनि विचारलाई बुझ्न सक्दैन तर त्यस्लाई स्वीकार्न वाध्य हुन्छन् भने त्यस्तो स्रष्टाको सृजना दोधारमा वित्ने गर्दछ र अन्धाधुन्धमा अलमल गरीरहन्छ । उस्ले अस्पस्टताको साहित्यिक यात्रा गर्दछ र फेरी गरिरहन्छ । ऊ जुनै पनि विचारको भ्रममा पर्दछ । त्यसैले हरेक क्षेत्रलाई राम्ररी बुझ्नको लागि सधैं नौलो दृष्टिकोणको आवश्यकता पर्दछ । अस्पष्ट विचार, अस्पष्ट लेखले पाठकहरू र सर्बसाधारणलाई भ्रममा पार्दछ, अपुर्ण वनाउँदछ । कुनै पनि बस्तु वा घटनालाई हल्का रुप हेर्नु हुँदैन । त्यसलाई वहुआयामीक चेतनाले हेर्नु पर्दछ । मिजासका कविताहरू यस्तै वैचारिक उठानहरूको नव पिरामिड हो ।

 

चेप्टिएर मान्छे

माईक्रोचिप्समा अटाएको छ

डेटा बेस भित्र

विचार देखी बिचारसम्म

ईतिहास समयको

ताराहरू ब्लेकहोलहरूमा

होसियार !

संङ्कुचन व्रह्माण्डको

 

संस्कार- संस्कार- संस्कार

गणितीय सभ्यता

विनिर्मित परम्परा

संशोधित धर्महरू

यी मिश्रीत दर्शनहरू

झन् झन् - झन् झन्

कम्प्लेक्सिटी जीवन

यो ग्लोबलाइजेसनको कुरा ।

                 (विचार देखि विचार सम्म)

 

जो कोहि मान्छेले आफ्नो पहिचान बनाउँन चाहन्छ । आफ्ना संस्कार संस्कृति, भाषा, धर्म र रितिरिवाजहरूको जगेर्ना गर्न चाहन्छन् । एकातिर मान्छेहरू यी कुराहरूको जर्गेन गरिरहेका छन् । तर यसै माथि अनेकौ धर्म, दर्शन, विज्ञान, र विचारले थिचिएर अल्प जातीहरू लोपोन्मुख अवस्थामा छन् । विज्ञानले संसारलाई सानो डेटाबेस भित्र अटाउनसक्ने बनाई सकेको छ । अर्को तिर सिंगो ब्रमाहण्डका ताराहरू ब्लेकहोलहरूमा हराई रहेका छन् । दिनानु दिन पृथ्वीको आयु घटिरहेको अवस्था पनि छ।तर विज्ञानको सहयोग विना संसारका मान्छेहरू बाँच्न नसक्ने भैईसकेका छन् ।अब यस्लाई गम्भिर भएर सोच्नु पर्ने भैइसकेको छ ।

एकातिर विज्ञान, अर्को तिर धर्म । एकातिर ग्लोबलाइजेसन, अर्कोतिर संस्कार संस्कृतिको जगेर्ना । यस्ता मिश्रीत कुराहरूले मिश्रीत दर्शनहरूले, विर्निमित परम्पराहरूले आजको मान्छेलाई कम्प्लेक्सिटीको जीवन विताउन बाध्य वनाएका छन् । त्यसैले यस्ता धेरै कम्प्लेस कुराहरूलाई आजको स्रष्टाहरूले नजिकबाट बुझ्न अति आवश्यक भएको कुरा मिजासका कविताहरूले वोलीरहेको छन् ।

यी सन्तानहरू

कहिल्यै मिलेर बस्न सकेनन्

कहिले रोटीमा झगडा गर्छन

कहिले भेटीमा लुछाचुडीँ गर्छन्

आफै नियम बनाउँछन्

आफै बिर्गाछन्

अंश बण्डा मागीरहेका छन् अहिले

यो पिरोलो घरको पनि

कहिल्यै बिसेक नहुने भयो

इतिहास देखि नै यहाँ

किसिम- किसिम हुँदै आएको छ

यसखेप

कानले केके सुने पनि

आखाँले थरी थरी देखे पनि

अखबारमा बाङ्गोटिङ्गो पढे पनि

टि.भि. मा नौटङ्कि हेरे पनि

मेरो मनको देवता मान्दैन

यहाँनेर तुस छ है तुस .......

                (गन्थन सुभाज्यूसँग)

 

सिंगो देशको पोट्रेट उतार्न सफल भएको यो उहाँको एउटा बैशालु कविता हो । भुपरिवेष्टित हाम्रो देश नेपाल आफै रोगी, झन त्यस माथी भ्रष्टचारले हुईपाल बनाएको छ । अन्य देशका दात्री संघ संस्थालाई रिझाएर पाएका केही सहयोगमा पनि देशका शासकहरू हड्ढीमा कुकुरहरू जुधे झै जुध्दछन् । फेरि नेपाली जनता हामी पनि यस्तै नेताहरूलाई पटक पटक निर्वाचनमा जिताएर सिंहदरबार पठाईरहेका छौं । हामीले कुरोको चुरो कहाँनेर बुझिरहेका छैनौं ? मिजासका कविताहरूले भनिरहेकै छन् नी, यहाँ नेर तुस छ है तुस ....... 

मिजासको यस्तै अर्को कवितालाई पढौ-

सुर्केनी खुस्किरहेछ

सुरुवाल फुस्किरहेछ

म निरन्तर

लाज छोप्ने यत्नमा छु

थुईया गतिछाडा ईजार ।

                (ईजार र स्वाभिमान)

              

ईजारलाई देशका शासकहरू सम्झे हुँदोरहेछ । ईजार खुस्केर झरि सक्दा पनि लाज लाग्दैन देशका शासकहरूलाई । नैतिकता कहाँ छ ? कता हरायो ? नैतिकवान नेताले त्यो ठाउँलाई छोड्छ अथवा छोड्नु पर्छ । शाशकहरूले पाए भने २ मिनेट भए पनि जनता माथि शाशन गर्न छाड्दैनन् । यो नै फुस्किएको ईजार र नेताको पहिचान हो ।

               

(निसाम् ! तिम्रो छात्ती पो विशाल)- यो एउटा उनको युद्ध कवितालई हेरौ ।

निसाम् !

युद्धभुमिबाटै यो पत्र तिमीलाई

बाँचेरै आउँछु लागेकै छ

तर

सानी छोरीलाई भन्नू

बाबा चाँडै आउँदैछन्" भनेर

 

मैले त अगाध माया पो गर्दोरहेछु

लड्ने सिपाही भएँ

म भित्र तिमी र म भित्र छोरी

मार्छु होला संग संगै

 

एउटा सिपाहीको पत्नी

तिम्रो हृदय पो बिशाल

तिम्रो छाती पो विशाल ।

 

निसाम् ! तिम्रो छाती पो विशाल

 

एउटा लडाईमा गएको सिपाहीको मन कस्तो हुन्छ ? दुस्मनसँग पनि लड्नु छ । सकेसम्म जित्नु छ । हारे पनि ज्यान जोगाउँनु छ, त्यसै वेला घर परिवारलाई पनि सम्झनु छ पाल्नु छ टाल्नु छ । यो हृदय विदारक सिपाहीको जिन्दगीले भोगीरहने वास्तविक कथाहरू हुन् । यो त हरेक सिपाहीहरूले जीवनमा भोग्छन् नै तर विश्वका ६० भन्दा धेरै देशहरूमा युद्ध लडेका गोर्खालीहरूको पहिचान कहाँ छ ? ठाउँ कहाँ छ ? किन गोर्खालीहरूको देश भन्न चाहान्दैन देशका शासकहरूले ?

अन्तमा यहाँ भन्दा धेरै नलेखौ होला, धेरै लेखे धेरै गल्ति हुन सक्छ, आवश्यक भएमा फेरी फेरी लेख्दै गरौला । नविनतम कविता कृति अर्थ अवतरण प्रकाशीत गर्नु भएकोमा उनलाई लाख बधाई !