बहुरङ्गवादको बाटो, बौद्ध दर्शन र चलित ध्यानको सिद्धान्त

Author : चेवन श्री
Published on : June 29, 2010


  
चेवन श्री

       यो बहुरङ्गवादको भनेको नेपाली माटोमा जन्मेर खाइखेलेको यस्तो साहित्यिक वाद हो जो आफ्नो पृथकतामा समग्रता देखिरहेछ । रङ नै त्यो तत्व हो जो समग्रतामा पनि पृथकता बोकिहिँड्छ ।

हिँड्नलाई बाटो चाहियो, हाम्रै मित्र कवि मोनोलिथ लेख्छन्- बाटो सफा छ, गन्तव्य छर्लङ्गै छ, तर, मनभरि छेकवारहरू छन् । मनोरम काँडेतारहरू छन् । यिनै काँडेतारहरूबीच अहिले 'सामान्य बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसफीको परिकल्पना' भन्ने लामो नामको पुस्तक धर्मेन्द्रविक्रम नेम्बाङले लेख्यो । शिर्षकको मूल्य भन्छ, बहुरङ्गवाद ।

मेरो प्रज्ञाले भन्छ, रङ्ग आफैमा बहुरङ्ग हो । यो न सामान्य हुन्छ न असामान्य हुन्छ, न विशेष हुन्छ न अविशेष नै हुन्छ । एउटै रङको अणु अणुमा हजारौं रङ व्याप्त हुन्छ । विज्ञानले चार हजार रङ देखाइसक्यो, अरु प्रयत्न गर्दैछ । यो 'रङ' हो रङ्ग ? अस्ति धरान महेन्द्रबहुमुखी क्याम्पसमा 'तर्कवाद' को प्रोग्राम थियो- तर्क निस्किहाल्यो, रङ र रङ्गमा के फरक छ ? बृहत नेपाली शब्दकोशले नै भनेको छ रे, एउटा रङले रङलाई बुझाउँछ जो देखिन्छ, पोतिन्छ । अर्को रङले रङ्गमञ्चलाई बुझाउँछ जहाँ नाटकसाटक के के देखाइन्छ ।

'रङ' 'रङ्ग'मा मात्र होइन, यसका हजार अर्थलाई पनि बहुरङ्गवादले समेट्छ । यसमा यो वा त्यो भन्ने हुँदैन । कुनै सामान्य वा विशेषलाई पक्रेर अन्यलाई छोड्ने, वास्ता नगर्ने, पुरानो परम्परा हो वा जडचिन्तन हो, हामी त्यही पुराना मान्यताहरूलाई लात हान्दै अघि बढिरहेका छौं । फेरि कवि मोनोलिथ लेख्छन्, बाटो खुला छ, आँखा खुलेकै छ, तर, मुटुवरिपरि पर्खालहरू छन्, जहीँतहीँ रमणीय ग्रेटवालहरू छन् ।

हो, रमणीय ग्रेटवालहरू बहुरङ्गवादले बनाउँदैछन् । तर, मुटुवरिपरिका पर्खालहरूलाई केही बुझाउनु/बुझ्नु आवश्यक छ ।

बहुरङ्गवादमा वादलाई यसको भावार्थलाई बुझ्न आवश्यक छ । वादको एक अर्थ हुन्छ, रङ्गीय मान्यतालाई स्वीकार गर्ने जमात । वादको अर्थ हुन्छ, 'नहुनु', बहुरङ्ग नहुनु । दुवै अर्थ बहुरङ्गवादले उपयोग गर्छ । यो साहित्यमा बज्र भएर आएको छ । बज्रको पनि दुई अर्थ हुन्छ, एउटा हतियार र अर्को शून्य । अरु पनि होला ।

बौद्ध धर्मावलम्बीहरूमा महायान सम्प्रदायअन्तर्गत बज्रयान पर्छ जसको आचार्यलाई बज्राचार्य भनिन्छ । अर्थात् शून्यवादी आचार्य, चलित ध्यान, बुद्धले सिकाइआएको विधि हो जसलाई आजकल प्रमुखतामा हिनयान सम्प्रदाय वा यसअन्तर्गतका थेरवादीहरूले मानिआएका छन् । यसरी बौद्ध धर्मका दुवै सम्प्रदायका काम लाग्ने रङ पनि बहुरङ्गवादले उपयोग गर्छ ।

साहित्यमा बहुरङ्गवाद 'राहु' होइन, बुद्धले पो छोरो जन्मेको सुनेर राहु उत्पन्न भयो भने अनि छोरोको नामै राहुल रह्यो । ऊ घर छोडेर हिँडे, ज्ञान पाए र वर्तमानको व्याख्या गरे । जिउने त वर्तमानमा नै हो । आजको वर्तमान भोलि गएर विगत हुन्छ । फेरि आजको वर्तमान भोलि गएर हाम्रो जिउने आधार हुन्छ, भविष्य हुन्छ । मानिसहरूको विगत हेर्छन, विगतका दुःख हेर्छन र दुःखी हुन्छन् । भविष्य कल्पन्छन् र दुखिया हुन्छन् । त्यसअर्थमा विगत र भविष्य वर्तमान दुःखका कारण हुन् ।

सुखका कारण खोजौं, विगतका बुद्धलाई हेरौं, भविष्यका बुद्धलाई कल्पौं, यो बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसफीको परिकल्पना त्यही कल्पना हो, साहित्य सुखमा प्रेरित छ । जो वर्तमानमा केन्द्रित छ । बुद्धले सिकाएको चलित ध्यान नै त्यो विधि हो जसले वर्तमानलाई सचेत गर्छ । चलित ध्यानमा दुई कुरा मात्र हुन्छ जो हामी पल पल गरिरहेका हुन्छौं । श्वास तान्ने र फ्याँक्ने । यो श्वास तान्ने र फ्याँक्ने प्रक्रियालाई निरन्तर सचेतरुपमा ख्याल गरिरहनाले वर्तमानलाई सचेत गर्दै क्रियाशील बनाउँछ । वर्तमानमा जिउन सिकाउँछ । यो चलित ध्यान, जीवनको हर क्रियाकलापमा गर्न सकिन्छ । यसमा कुनै विशेष समय छुट्याइरहन पर्दैन, न त सन्यासी भएर घरबार, श्रीमती, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड नै छोड्नु पर्छ मात्र ध्यान चलिरहन्छ, प्राण आइरहन्छ गइरहन्छ । रङहरू परिवर्तन भइरहन्छन् ।

यसलाई (श्वास छोड्दा र लिँदा उत्पन्न भएको ध्वनिलाई) सनातनी धर्मावलम्बीहरू (कथित हिन्दू) ले 'शिव- सोहं: हंसो' को मन्त्र भनेका छन् । त्यही मन्त्र रङलाई एउटा ट्राभलिङ फिलोसफीले जीवमा शिव देख्छ र शिवमा जीव देख्छ । यो नै पृथकतामा समग्रता र समग्रतामा पृथकता देख्नु हो । मुख्य कुरा त यो रङ यात्रामा आफ्नो क्षमता अनुसारको यात्रा सबैले गर्छन् । तर, क्षमतावृद्धि गर्नु फिलोसफिको परिकल्पना, एउटा बाटो बहुरङ्गवादले तयार गरेको हो । मोनोलिथ लेख्छन्- चिल्ला सडक र मेघरहरू गोरेटो अनि डगरहरू छन् । कोही नहिँडेको बगर पनि छन् । हरेक पाइला रहरहरूको झिलिमिली सहरहरू छन् ।

सीसाहरू छन्, ऐनाहरू छन् । बहुरङ्वाद हाम्रो ऐना हो । नेपाली साहित्य हेर्ने ऐना । साहित्य सिर्जनामा टल्किएको वर्तमान ऐना । सोही ऐना धर्मेन्द्रविक्रम नेम्बाङले पाठकको आँखामा देखाइरहेका छन् । यो ऐना बनिने क्रममा छ र भर्खर पहिलो अंश पोतियो अब अरु भाग पोतिँदै जानेछ । आखिर साहित्य कसरी रङ्गविहिन हुन सक्छ ? हामी रङ पोत्दै जानेछौं जसरी सादा सिसा पछाडि रातो वा खैरो रङ पोतिन्छ र एउटा ऐना निर्माण हुन्छ, प्रतिबिम्व झल्कन्छ । हामी त्यो देखाउँदै जानेछौं । तर, यहाँनेर बहुरङगवादले के ख्याल गर्नु पर्छ भने आफ्नो सृर्जनामा त्यो रङ, त्यो मर्करीक असाइड, समतल र पारदर्शी सीसामा नै पोत्नुपर्ने हुन्छ, नत्र प्रतिविम्ब उसको रङगाकृति, उसको बाटो बाङ्गोटिङ्गो र नमिलेको देखिने छ ।

ट्राभलिङ फिलोसफी यानि हामी यात्रारत दर्शनमा छौं, घुम्दै छौं । यो पृथ्वीमा अरु पनि घुमेर गए । ��"शो पनि घुमेर गए । ��"शोको फिलोसफी पनि घुम्यो । उसको रङ पनि चम्क्यो । ऊ आध्यात्मिक आनन्द पनि उठाउँथ्यो, भौतिक भोग पनि गर्थ्यो । उसैको भनाइमा आशक्तविहिन भोग वा भोगरहित सम्भोग । ��"शो कवितात्मक बोल्थ्यो, भन्थ्यो, , "रङ्ग्याउनु तिम्रो सललाई, रहस्यको अनन्त अनन्त रङहरूमा, रङ्ग्याउनु छ, तिम्रो प्राणलाई रसको नयाँ नयाँ आयामहरूमा ताकि नयाँ नयाँ भावभङ्गीमा तिमीमा उदा��"स् नयाँ नयाँ मन्दिरमा तिम्रो शिखर उठोस् नयाँ गीत जन्मि��"स् नयाँ नृत्य तिमी नाच, नयाँ वीणा तिमी बजाउ, नित्य नयाँ बजाउ" हामी त्यही नयाँ बाजा बजाइरहेछौं । धर्मेन्द्रले त्यही भावभङ्गीमा देखाइरहेछ । साहित्यको सल, साडी र चोलोहरूलाई रहस्यको अनन्त रङमा रङ्ग्याइरहेछ । यति हो, उसको फर्मुला म्याथमेटिकल छ । भाषा हस्तक्षेपकारी छ र यो पुस्तकमा बहुरङ्गवादको स्ट्रक्चर मात्र छ । यसले पाठकलाई वर्गिकरण गरेको छ र सामान्य साहित्यका रस चुस्ने गुलाबी पाठकहरूलाई यो ढुङ्गासरह भइदिएको छ । तर, बौद्धिक उचाइका पाठकहरू जो साहित्य संरचनाको प्रकृति, सिद्धान्त र यसले उघारेको/उघार्न खोजेको नयाँ क्षितिज हेर्न चाहन्छ, बुझ्न चाहन्छ, वा जो समालोचकीय क्षमता राख्छ, जो नेपाली साहित्यको ताजा र उत्तरोत्तर गतिविधिबाट पछि पर्न चाहादैन, जसको चेतनाले साहित्यको सर्वाङ्गीण विकासमा ठोस उपस्थिति जनाउँछ, तिनीहरू सबैको लागि यो पुस्तक उपयोगी ठहरेको छ ।

सिद्धान्त, सैद्धान्तिक समालोचना र सानो सिर्जनाले तीन खण्डमा सकिएको यो पुस्तक हात परेपछि बहुरङ्गीय चिन्तनमा डुबे, विशेषगरी सिद्धान्तबारे नसोची भएन, सिद्धान्त भनेको के हो ? सिद्ध+अन्त को योगमा सिद्धान्त बनेको छ । सिद्धको अर्थ हुन्छ पूर्णता । अनि पूर्णता नै कुनै पनि विषयको अन्त हो । त्यसैले सिद्धान्त भन्नाले यसले, त्यस सिद्धान्तको विषयलाई पूर्णता दिलाउँनु कुनै पनि विषयको अन्त हो । त्यसैले सिद्धान्त भन्नाले यसले, त्यस सिद्धान्तको विषयलाई पूर्णता दिलाउँछ भन्ने बुझिन्छ ।

गौतम बुद्ध जन्मँदा नै हरेक अर्थमा सिद्ध हुने योग परेकोले उसको नाम सिद्धार्थ (सिद्ध + अर्थ) राखिएको थियो । ऊ 'राहु' उत्पन्न भयो भन्ने सोचेर भौतिकतातिर दगुरेको भए पनि ठूलै शासक हुने योग थियो रे । खैर, कुनै पनि विषय र वस्तुलाई व्याख्या गर्ने एउटा आधारलाई त्यसको सकारात्मक र नकारात्मकतालाई पक्रेर विश्लेषण गर्ने तरिकालाई सिद्धान्त भनेर बुझएिको हो यस्ता हजारौं लाखौँ ढङ्ग र दृष्टिकोण हुन्छन् जसलाई सिद्धान्तवाद भनिहिँडे पनि त्यसलाई व्यवस्थित गरिएको छैन । त्यसैले बहुरङ्गवादमा अब सिद्धान्तको पनि विशिष्टीकरण गर्ने बेला आएको छ । बुद्धले चार आर्यसत्य, चार आशक्ति भनेजस्तै दुःखका कारण र निवारणहरूलाई विशिष्टीकरण नगरेको भए दुःखका लाखौँ कारणहरू भड्किरहने थिए, बरालिरहने थिए ।

फेरि कवि लेख्छन्- युगौं पाइला चालेपनि परिधिमै घुमिरहन्छ । केन्द्र पुग्ने अर्धव्यासहरू छन् बाटो मुहानकै भए पनि नमेटिने प्यासहरू छन् ।

हो, तृष्णाहरू रहने छन्, यही तृष्णामा त बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसफीको परिकल्पना गर्छ । तृष्णाकै कारण भववृत्तमा घुमिरहनु पर्छ' बुद्धले भनेको ।

बुद्ध पनि ट्राभलिङ फिलोसफीको परिकल्पनामा चलेको थिए । त्यसैले बुद्धले सधैँ यात्रा गरिरहे आफ्नो फिलोसफी मजबुत बनाउँदै लगे, प्रचार गर्दै लगे, अनि शिष्यहरूलाई धर्मको शरणमा लगे । संघको शरणमा लगे, यसर्थमा हे ! भन्ते हो, बहुरङ्गवाद त्यस्तै एउटा संघ हो ।

बुद्धले आफ्नो बुद्धत्व प्राप्तिपछिको पुरै यात्रालाई एउटा ध्यान भने, चलित ध्यान र यही सिकाए पनि, त्यसअर्थमा यो पुस्तक बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसफीको परिकल्पना चलित ध्यानको सिद्धान्तमा हिँडेको छ, हिँड्ने छ भन्नेमा शंका छैन ।

यो पुस्तकको अन्तमा सृजना खण्ड भनेर 'पृथ्वीगाउँ' दिइएको छ । यो पृथ्वीगाउँ भन्ने नाटकीय कथा पढेपछि जोकोही हुत्तिन्छन्, ठोक्किन्छन्, लड्छन्, त्यतिमात्र होइन, मस्तिष्क, आँखा र जिब्रो पनि दुख्छ अनि पाठकलाई रिस पनि उठ्छ । त्यहाँ बुद्ध, कृष्ण, राम, मोहम्मद, जिसस पात्र छन्, त्यही कथाको भाँडामा डेरिडा, डार्बिन, हिटलर, आइन्सटाइन छन्, फ्रायड, सुकरात, मार्क्र्स छन् । क्लिका क्लियोपेट्रा छ, नटालि डिलेन भन्ने छ । भनौं न लेखकले गाईगुई हल्लासम्म सुनेको नामलाई पनि पात्र बनाएका छन् जस्तो लाग्छ । पात्रलाई दसतिर छरेर भ्रमित पारेका छन् । शुरुमै लिम्बू मुन्धुम भनेर ध्यान अर्कैतिर मोड्न खोजेका छन् । यसलाई कुन मस्तिष्कले समालोचना गर्ने, वा समालोचना, समीक्षा गर्ने आधारभूत हैसियत के के हुन् ? मलाई लाग्छ, एउटा लेखकले आफ्नो कृतिको समालोचना आफैँ गर्न सक्नु पर्छ । त्यसअवस्थामा समालोचकीय चेतनाभन्दा लेखकीय चेतना तल पर्दैन र लेखक मर्दैन । उपरोक्त कृतिमा लेखकीय चेतना के हो ? भन्न खोजेका चाहिँ के हो ? के उसलाई ब्रम्हाण्डीय ज्ञान छ र पृथ्वीगाउँ लेखियो ? वा टिपटापे ज्ञानले पृथ्वीगाउँ बुझे भन्ने त होइन ? कृति पढुन्जेल सामान्य र मै हुँ भन्ने पाठकले पनि यस्ता मनस्थितिबाट गुज्रिरहनु पर्छ ।  

��"सत पाठकबाट माथि उठेर हेर्दा उसको लेखनले जबर्जस्ती र सुनियोजित जटिलता दिँदै गइरहेको भान मिल्छ । कतै ईन्द्रबहादुर राईको "कठपुतलीको मन" भन्दा अझ जटील बनाउन त खोजिरहेको होइन ? संवादै संवादले भरिएको यो नाटक, यो नौटङ्की पढिरहुँ, पढेको पढ्यै गरुँ भन्ने लाग्दैन । जबकि संवादयुक्त साहित्य नै सरल पाठकको पहिलो रुचि हुन्छ । यसर्थमा यो कृति ती तमाम सामान्य पाठकका निम्ति होइन ।

यसलाई सैद्धान्तिक विश्लेषण भने सजिलै गर्न सकिन्छ । यो बहुरङ्गीय स्वार्थ सिद्धान्तमा लेखिएको कृति हो । यो नेम्बाङ्गीय स्ट्रक्चरमा लेखिएको छ । आजको एक्काइसौँ शताब्दीमा पनि सबै ती पुरातन पात्रहरू जागृत हुनु र पुरातन पात्रका पुराना थ्यौरीहरू नै चलिरहेको देखाइएको छ । पात्रको मिश्रण र विविधताले जाति, धर्म अनि गाउँ, ल्यापटप, कार, नेट, रकेट आदि विषयभोगले बहुरस सबै ती पुरातन पात्रहरू जागृत हुनु र पुरातन पात्रका पुराना थ्यौरीहरू नै चलिरहेको देखाइएको छ । पात्रको मिश्रण र विविधताले जाति, धर्म अनि गाउँ, ल्यापटप, कार, नेट, रकेट आदि विषयभोगले बहुरङ्गीयताभित्र बाँच्न सहअस्तित्व, वार्ता, सहमतिको महसुसता दिलाइएको छ । अनि खम्बुवान, लिम्बुवान, तामाङसालिङ, के के भनेर जातीयता, संघीयता आदि अहिलेको नेपाली राजनीति पनि गरिहाल्ने सोच पृथ्वीगाउँमा राखेको बुझियो । अथवा विश्वराजनीतिको खेल र त्यसले विरक्ताएको मनस्थितिले लेखक आफ्नै गौरवको मुन्धुम र मुनातेम्बे गाउँको रङ सम्झाउने परिकल्पनामा हराइदिएको छ र पुस्तक सिद्ध्याइएको छ ।

समग्रमा यो पुस्तकले सिद्धान्तको गरीबीमा दुखलाग्दो अनुहार बोकेको नेपाली साहित्य र यसका दरिद्र अभियन्ताहरूलाई चम्काउनमा भूमिका राख्नेछ साथै यो पाठ सिकाएको छ कि हामी आफैँ आफ्नो नेपाली सिद्धान्त निर्माण गर्न सक्छौँ । आफ्नो बाटो बनाउन सक्छौँ र सृजनाको बहुरङ्गीय विश्लेषण गर्न सक्षम छौँ भन्ने प्रमाणित गरेको छ ।

नेम्बाङका अन्य कृतिहरू, ढुङ्गा कि त भगवानको आत्महत्याको जग्गा, मनको बाघ/बाघ मा पनि यस्तै हस्तक्षेपकारी भाषा म्याथमेटिकल फर्मुलासहितमा लेखिएकोले बहुरङ्गवादभित्रै पनि नेम्बाङको रङ जो कसैले देखिहाल्छ । पाठकलाई यो नेम्बाङको खेलले कतिको ढल्काउँछ त्यो समयले देखाइ जानेछ तर, सदुर पूर्वका पान्थरेहरूले भने यो हस्तक्षेपकारी भाषा र म्याथमेटिकल शैलीमा आफ्नोपन अवश्य महसुस गर्नेछन् । किनकि त्यतैहुँदो भिरतिर कविता खोप्दै, सिलौटी डाँडातिर चिप्लेटी खेल्दै, तल निभूखोलामा माछा मार्दै राजनीति गरिहिड्ने केटोले त्यहीँको भाषिक रङमा अंग्रेजी मिसाएर यो पुस्तक विश्वबजारमा प्रक्षेपण गरेका छन् ।

cheyone02@yahoo.com

(लेखक बहुरङवादका नेतृत्वकर्ता तथा तर्कवादका प्रवर्तक हुन् ।)