नगर बधुहरूको आवाज

Author : दयाकृष्ण राई
Published on : June 03, 2010


  
दयाकृष्ण राई

लाटाको देशमा गाँडा तन्नेरी

भएर आयो गणतन्त्र

दरबारबाट काँचुली फेरेर

संग्रहलय बनेर,

डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर

फिस्स हाँसिरहेकोछ नारायणहिटी !

 

नयाँ नेपालको नयाँ संविधान चाहि

के भएर आउने हो कुन्नी ?

सबै कुरा नाँपे,

सबै कुरा लेखे भन्लान

नेताहरू.......!

ईस.......तिनीहरूको संबिधान !

खै कहाँ अटायौं हामी ?

 

नयाँ संबिधान लेख्न जनमत संकलन गर्न

हाम्रो कोठीसम्म,

किन आएनन प्रचण्ड,

किन आएनन गिरिजा,

किन आएनन माधव नेपाल

 

बल्ल-तल्ल एक चिम्टी नुन जति

बैस साँचेर आएका मधेसी प्रतिनिधिलाई

नेल ठोकेर, जेलमा कोचारे

हामी भनि रहेछौं

कठैबरा-बिचरा

हामीलाई माया गर्ने एउटै मात्र सभासदज्यु

आई लभ यु !

तर अरुले भन्छन बेसै भयो

अझै थोरै भयो सालेलाई

 

यो भन्दा पहिला

को वरिष्ठ को कनिष्ठ सबै आई रहेकै थिए

हामीले नयाँ नेपालको

नयाँ जिन्दगी चलाई रहेकै थियौं

 

एउटै थालमा खाएर,

एउटै ओछयानमा सुतेर

सानो कुरामा चित्त नबुझे पछि

रङ्गेहात पक्राउ,

हामीलाईनै नेल ठोकेर जेल चलान गरेर

पालेको चराले आँखा ठुग्ने

ईन्स्पेक्टर, डेस्पी र एस्पी सबै

मुर्दाबाद !

 

ईन्क्लाव-जिन्दाबाद !

गणतान्त्रिक नयाँ नेपाल

जिन्दाबाद ! 

खोई हाम्रो बाँच्ने अधिकार ?

खोई हामीलाई अर्को रोजगार ?

हाम्रो स्वतन्त्र बाँच्ने अधिकारबाट

बन्चित गराउने सबै

मुर्दाबाद !

 

रेड लाईट एरिया घोषणा गर

हाम्रो घर परिवार को लागि हामी मरिसक्यौ ।

प्रतिष्ठित समाजको लागि हामी मरिसक्यौ ।।

तरै पनि

बेश्या बादिनी

जिन्दाबाद !

गणतान्त्रिक नयाँ नेपाल

जिन्दाबाद !

 

नोट: दुई वर्ष अघि संविधान निर्माणकालागि गाउँ-गाउँमा जनमत संकलन गर्न जाने समयमै सभासदलाई कोठीमा रङ्गेहात पक्राउ गरिएपछि यो कविता लेखिएको हो । निर्धारित समयमा संविधान निर्माण नभएपछि भरखरै एकवर्ष म्याद थपिएको शुभअवसरमा नगरवधुहरूबाट फेरी पनि नेताहरूलाई खवरदारी ।