बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

Author : पूर्ण इन्फादा
Published on : September 18, 2008


  
पूर्ण इन्फादा

समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका स्रष्टाहरूले आत्मसात् गरेका छन् । हङकङेली नेपाली कविताका स्रष्टाहरूले विशेषतः उत्तरआधुनिक चिन्तनसागै सैद्धान्तिक रूपमा आफूलाई एकाकार बनाउने जमर्को पनि गरिरहेका छन् । प्रवासमा बसेर उनीहरूले नेपाली रीतिरिवाज, नेपाली भूगोल र नेपाली भाषा-साहित्यलाई औधि माया गरिरहेका छन् । हङकङमा बस्ने यी स्रष्टाहरूको स्मृतिमा जतिखेर नेपाली भूगोलको चित्रले विद्युतीय झड्का दिइरहेको हुन्छ । आफ्नो भूगोलबाट जतिसुकै टाढा भए पनि र प्रवासमा यान्त्रिक जीवनले बिर्सन नसक्ने प्रमाणको नमुना हो यो ।

समकालीन नेपाली कविता लेखन परम्परामा भिन्नै नवीन प्रयोग, शैली शिल्प र विचारका साथ कवि नरेश सुनवार जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले ...' -कवितासङ्ग्रह-२०६४) लिएर देखा परेका कवि हुन् । भावसघनता र बौद्धिक सघनतालाई रूचाउने कवि नरेश सुनुवारको यस कविताकृतिभित्र बाह्रवटा कविता सङ्ग्रहीत छन् । सबै कवितामा वैचारिक सशक्तता उम्लिएको छ । अस्तित्ववादी चेतना मडारिएको छ । जातीय मुक्ति र अस्तित्व पहिचान खोजिएको छ । चित्रात्मक र अमूर्त कलाको संयोजन गरेर लेखिएका यी कविताहरूले बौद्धिक पाठकको पहुाच मात्रै खोज्छन् । इतिहासमा आफू हेपिनु परेको, ठगिनु परेको र विभेदकारी राज्यको नीति विरूद्ध सबै कविता पहाड जसरी ठिङ्ग उभिएका छन् । आक्रोश, क्रन्दन, चीत्कार र पीडाहरू कविताभरि उकुसमुकुस भएर छरपस्ट छन् । गयास्पोरिक पीडा र नोस्टाल्जिक मोह जताततै रूमल्लिएको भेटिन्छ । पुरातनपन्थीहरूको क्रमको अन्त्य र नवीनताको प्रारम्भ हुनुपर्ने कुरालाई आगोको लप्काजस्तै उकेलिएको भेटिन्छ । अर्को उद्घोष घाम पड्किनु पर्छ, राँकुदेलेको अनुष्ठान र जिन्दगी लिखुजस्तो र सेक्सेलेले...तीन कवितामा अत्याधिक मात्रामा जातीय साँस्कृतिक बिम्व, प्रतीक र मिथकको प्रयोग गरेका छन् । यिनै बिम्व, प्रतीक र मिथकका माध्यमबाट जातीय साँस्कृतिक अधिकारको पक्षमा आवाज मुखरित भएको छ । नयाँ चेतनाको खोजी भएको छ । नयाँ विचार र नश्लीय बोधको हुँकारलाई अक्षरमा सुन्दर ढङ्गले कोर्ने काम गरेका छन् कविले यहाँ ।
कवि नरेश सुनवार विगतको इतिहाससाग असहमत छन् । यो इतिहासमा खिया लागेको छ र बाङ्गिएको छ । यो बाङ्गगिएको इतिहासका क्रम भङ्ग गरेर अर्को सम्पूर्णतासहितको सोझो र सरल इतिहास लेखिनुपर्छ भन्ने उदेघोष यसरी गरेका छन् ।
सिधा उभिएको सोझो मान्छे
च्याप्टिएको माटो टेकेर
किचिएको आकाश हेरेर
कति घोक्नु बाङ्गो इतिहास
र, त्यसैको समर्थनमा
कति पड्काउनु ताली ?
सेसेन झ् सोंईसेन झ् ए वार्चैपुकी -अर्को उद्घोष घाम पड्किनु पर्छ, जिन्दगीको पहाड र अस्तित्वको राकुदेले, पृ.२८)
यहाँनेर कवि नेरश सुनुवारले नेपाली समाजका सोझा मान्छेहरूलाई अहिलेसम्म इतिहासकारले टेडोमेडो इतिहास लेखेर ठगेको र यही घोक्नलाई अभ्यस्त बनाएको तथ्यलाई अघि सारेका छन् । जातीय मिथकका माध्यमबाट यसको तेजोबध गर्नुपर्ने र यो च्याप्टिन लागेको राष्ट्रियतालाई सोझो र समतल बनाउनुपर्ने अवस्थाको नग्न चित्रण गरेका छन् ।
कवि नरेश सुनवार यथास्थितिलाई कायापलट गर्न हरेक मान्छेले चेतनाको भ्रुण मस्तिष्कमा बोक्नु पर्छ भन्ने आग्रह गर्दछन् । विचारसहितको सङ्गठनमा सङ्गठित भएर मात्र हरेक किसिमका उत्पीडनबाट मुक्ति मिल्छ भन्ने कुरालाई उनले सारेका छन् ।
अब सधै सधै
निलेर होसको मदिरा
दिमागजस्तो धारिलो हतियार
चम्काएर साँद लगाइराख्नुपर्छ
टल्काइराख्नुपर्छ चेतना
जो होमिनुका निम्ति तम्तयार
विचारको युद्ध मैदानमा
(राँकुदेलेको अनुष्ठान र जिन्दगी लेखुजस्तो, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.३५)
कविले यहाँ अभिव्यक्त गरेको वा इङ्गित गरेको कुरा मनमस्तिष्कलाई चेतनाको धारले उद्याउनुपर्छ भन्ने नै हो । होस पुर्याएर यसो गरेका खण्डमा मात्रै वैचारिक युद्ध होस वा बख्तरबन्द युद्ध दुवै सजिलैसाग जित्न सकिन्छ । जोसाग वैचारिक चेतनाको भ्रुण बोक्न सक्ने क्षमता छैन त्यसले कुनै किसिमको पनि बिजयको छेक्खुए गर्न सक्तैन ।
कवि नरेश सुनुवारमा तीब्र रूपमा नश्लीय बोधको चेतना मडारिएको छ । उनले नश्लीय विम्व, प्रतीक र मिथकको पनि बोधगम्यताका साथ अधिक प्रयोग गरेका छन् । यति मात्र होइन उनका सेक्सेलेलेले ...जस्ता कतिपय कविता पढ्दा त अमूर्त चित्र पढेको अनुभूति हुन्छ । यही अमूर्तताभित्र गम्भीर किसिमको आक्रोश, पीडा र व्यङ्ग्यको अनुभूति पाठकले गर्दछ र हजार भोल्टको विद्युतीय झड्काको अनुभूति पनि ।
याब्रेगुब्रे पुकारेर
ष्यारा उठाउनु पर्छ
अब हरेक साँझ
बजाएर ज्ञानका झ्याम्टा
निलेर आगोका नाचहरू
अचेतलाई ढ्याङ्ग्रो ठोकेर सीमा कटाउनू
छर्केर निक्अवाकु प्रतेकको चेतमा
सेक् सेलेले ... ...
(सेक्सेले ले ले..., जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले ...पृ.४०)
यस कवितांशमा कवि नरेश सुनुवारले जातीय उत्पीडनका विरूद्धमा विद्रोहको शङ्खघोष गर्नुपर्ने वैचारिक आगो उकेलेका छन् । परम्परागत विसङ्गति र रूढिलाई वा अचेतनलाई निक्अवाकुको चेतना ब्यूझाउनुपर्ने बोध गरेका छन् । यहाँ कविको यति मात्रै आग्रह नभई नश्लीय स्वत्वको पनि गम्भीर खोजी हो भन्ने बुझ्नुपर्छ पाठकले । ष्यारा, ढ्याङ्ग्रो र याब्रेगुब्रेजस्ता नश्लीय र ग्रामीण बिम्बका माध्यमबाट कविले अधिकारविहीन मान्छेको स्वरलाई उरालेका छन् ।
नेपालीहरूको उर्बर बैँस शक्ति राष्ट्र र शक्ति केन्द्रको अस्तित्व रक्षाका लागि अहिलेसम्म निरन्तर बगिरहेकोमा एकदमै चिन्तित् र आक्रोशित देखिन्छन् । अर्काको भूगोलको निम्ति अनाहकमा ज्यान गुमाउनुपर्ने जुन किसिमको विवशताको पराकाष्ठा नेपालीहरूले भोग्नु परिरहेको छ, यो अवश्य नै सुखद् कुरा होइन ।
पड्के म पहिलो युद्धमा
पड्के म दोस्रो युद्धमा
पड्के म कार्गिल र कोसोभोमा
पड्के म इराक अनि अफगानिस्तानमा
र अझै पनि  तैनाथ छु
पड्किनुको निम्ति
विष्फोट हुनुको निम्ति
तेश्रो युद्धमा
चौथो.. पाँचौ.. छैठौ.. ईत्यादि /हरूमा
दोकानमा झुण्डिएको अस्तित्वको तक्मा र मेरो नामको आतङ्क, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले ..., पृ. ५५ ।
आफ्नो अकबरी सुनजस्तो यौवनलाई पित्तलको भाउमा बेचिनुपर्ने र पित्तलका नक्कली तक्माहरू जो दोकानमा बेच्नका लागि सजाएर झुण्डाइएका छन् तिनैमा र्याल चुहाउनुपर्ने नेपालीहरूको निर्मम विवशताप्रति इङ्गित गरिएको छ यहाँ । अहिलेसम्म विश्वमा जुन प्रकारका युद्धहरू भए ती सबैमा नेपालीहरूले सहभागिता त जनाए तर ती सबै आफ्नो जाति र देशको लागि नभई अरूकै स्वार्थका लागि । पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन कार्गिल, कोसोभो, इराक र अफगानिस्तानसम्म युद्धमा नेपाली रगत बग्यो तर उनीहरूले के पाए ? नेपालले के पायो ? नेपालले शून्यताबाहेक केही पाएन र आफ्नो देशजस्तै गरिब जनताको छातिमा बुर्कुसी मार्नुबाहेक । अब यस्तो कार्यको अन्त्य यथाशीध्र हुनुपर्ने हुँकार अभिव्यक्त गर्दछन् कवि नरेश सुनवार ।
उनको कविताले डायास्पोरामा नेपाली जीवनले भोग्नु परेका पीडाहरू प्रशस्तै पोखिएका छन् । यन्त्रवत् जीवन भोगाइका छटपटीहरू मडारिएका छन् । दोस्रो दर्जाको नागरिक हुनुपर्ने पीडाहरू लहलहाएका छन् ।
महलका नेपथ्यहरूमा
टेकिने सङ्गमरमरका भर्याङहरूमा
जीवनका खुड्किलाहरू
उक्लनु छ
��"र्लनु छ
ठोक्किनु छ
चिप्लिनु छ
(महल बाहिर म, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ. ५७)
जीवनको उर्वर बैँस खन्याएर भीमकाय महलहरू बनाउँछन् । अर्काकै देशको उद्योग व्यवसाय फस्टाउने काम गर्छन् । महत्त्वपूर्ण उपलब्धी कहिल्यै हात पार्दैनन् । तिनै अभागी नेपालीहरूको डायास्पोरिक पीडा कविले आफ्ना कवितामा मुखरित गरेका छन् ।
म त्यो महलको फेदमा उभिएको छु
मेट्रो सिटीको बीचमा उभिएको छु
टाइम स्क्वायरको आँगनमा उभिएको छु
कजवे बेमा उभिएको छु
हङकङमा उभिएको छु
एसियामा उभिएको छु
र, भूगोल टेकेर
म सिङ्गो नेपाल उभिएको छु
(समयले घिसारेर जिन्दगी झुत्रो छ -तर छ, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.६३)
विकसित मुलुकको सुविधा सम्पन्न स्थानमा पुगेर पनि कविलाई नोस्टाल्जिक प्रेमले सताउन छोडेको छैन । उनले सिङ्गो नेपाल भूगोलले त्यसलाई किचेको अनुभुति गरेका छन् र आफू नेपाली भएर बाँचेको गर्व गरेका छन् । ती कुनै पनि वैभवले नेपाली हुनबाट बञ्चित गर्न सकेको छैन कविलाई । जस्तोसुकै झुत्रो र कमजोर भए पनि आफ्नो राष्ट्रको स्वत्वलाई बिर्सन नसक्ने अभिव्यक्ति दिएका छन् कविले ।
डायास्पोरामा नेपाली अस्तित्वलाई कतिसम्म खिसि गरिन्छ भन्ने कुरा उनले आफ्ना कवितामा सटिक ढङ्गले प्रस्तुत गरेका छन् ।
आफ्नोपन भुलेर लघुमान्छे
लघुचिता वरिपरि
जो डङ्का  पिट्दछ
जङ्की विचार
नक्कली स्वरहरूले
हाँस्छन् गगनचुम्बी महलहरू
(हङकङमा मौसम, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.६८)
विदेशीका अगाडि नेपालीहरूको मस्तिष्कको कदर नहुने, ऊसाग जतिसुकै बुद्धि, विवेक र सीप भए पनि त्यसको कदर नहुने र सधै लघुमानवजस्तो भएर आत्मग्लानि बोकेर बस्नुपर्ने क्रूर विवशतालाई कविले यस कवितांशमा प्रस्तुत गरेका छन् । नेपालीहरू विदेशीको उपहासको पात्र बन्नु परेको नग्न यथार्थलाई देखाएका छन् ।
.....र ढल्छन् भोका मान्छेहरू
आतङ्कको नाममा
फेरि ढल्छन् मान्छेहरू
शान्तिको नाममा
र ढल्छन् प्रजातन्त्रको नाममा
(यौटा मान्छेको स्वरूपभित्र ड्राकुलाको विचार, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.७१)
यहाँ कविले एउटाएउटा बहानामा मानवीय अस्तित्वमाथि हिंस्रक र रक्तपिपासु साम्राज्यवादीले धावा बोलेको कुरालाई नग्न सत्यका रूपमा अघि सारेका छन् । भोकाहरूको रक्षक भएको भन्दै भोकाहरूलाई नै, आतङ्क नियन्त्रणका नाममा निर्दोषहरूलाई शान्तिको नाममा शान्तिप्रेमीलाई र प्रजातन्त्रका नाममा स्वतन्त्रताप्रेमीलाई नै चिहान बनाएर आफ्नो शक्तिको दम्भ देखाउँनेहरूप्रतिको कटु व्यङ्ग्य प्रहार गरेका छन् कविले । विभिन्न बहानामा जनतामाथि दमन गरेर आफू शक्तिशाली बन्ने र अस्तित्व र अधिकार खोस्ने परम्पराको अन्त्यको लागि आवाज उठाइएको छ यहाँ ।
कवि नरेश सुनुवार नेपाली कविता साहित्यमा बौद्धिक र प्रयोगवादी कविका रूपमा आएका सशक्त हस्ताक्षर हुन् । उनका कवितामा नवीन विचार, शब्दशिल्प र बिम्ब, प्रतीक र मिथकको प्रयोग पाइन्छ । उनका कविताले मान्छेलाई वैचारिक रूपमा मजबुत हुन हार्दिक आग्रह गरेको भेटिन्छ । नश्लीय बोधबाट ��"तप्रोत कवि नरेश सुनवार विनिर्माणवादी उत्तरआधुनिक चिन्तनतिर ढल्किएका हुन् कि भन्ने शङ्का गर्न सकिन्छ । उनका कविताले सामान्यभन्दा बौद्धिक पाठकहरूलाई बढी खोज्छन् । मानवीय संवेदना मन पराउने, डायास्पोराको पीडालाई बुझ्न खोज्ने पाठक र  समालोचकको खोजी गरेका हुन्छन् उनका कविताले । यति मात्र होइन, नेपाली भूगोल, नश्लीय साँस्कृतिक रूचाउने र दमित आदिवासी चेतनाको पक्षमा बोल्न सक्नेहरूको खोजी गरेका छन् कवि नरेश सुनुवारका कविताले । मै हुँ भनेर नेपाली कविता साहित्यमा दादागिरी गर्नेहरूको मुन्टो झुकाइदिएका छन् कवि नरेश सुनुवारका कविताले ।