गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र

Author : चेवन श्री
Published on : April 16, 2010


  
चेवन श्री

अस्ताइ जाने जीवनमा आशक्ति किन ?

आमरण कुर्सीमै निर्लिप्त किन ?

       माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो । तर म अ-राजनीतिक मान्छे, राजनीतिक चेत नभएको मान्छे अथवा भनौ स्व.भिमनिधि तिवारीको मान्यतामा राजनीतिक हिलोबाट दुर बस्न रूचाउने मान्छे, साहित्य फूलबारीमा डुल्न रूचाउने मान्छे ।

       मेरो हितैषी र साहित्यिक साथीहरू भने राजनीतिमा आबद्ध भएकोले म धेरै-थोर उनीहरूको कुरा बुझ्छु । साथीहरू मा��"वादी, कांग्रेस, एमाले अथवा यतै पूर्वैका लिम्बूवानमा पनि तल्लो तहदेखि उपल्लो स्तरसम्म कार्यरत छन् । तरपनि हामी सबै एकजुट भएर साहित्यमा बहुरङ्गवाद भन्दै सबै अस्तित्वको सिद्धान्त मान्दै, सबैको बैचारिक रङ्गलाई स्वीकार्दै, बहुलवादी चिन्तनलाई अघिसार्दै खटिरहेका छौं । साथीहरू ५०/५५ जिल्लामा पुगीसके । हामी देशव्यापी मात्र नभएर एसीया, युरोप अमेरीकातिर पनि सम्बन्ध विस्तार गर्न सफल भैसकेका छौं र अब यो बहुरङगवादको चौतारीलाई व्यवस्तीत गर्न क्षेत्रीय नेतृत्वको परिकल्पनामा डुबेका छौं । डुबीरहेको थिए कि पान्थरका धर्मेन्द्रबिक्रम नेम्बाङ्गले फोनमा भने- गिरिजाबाबु...

       हठात् गिरिजाबाबुको निधनमा स्तब्ध हुनपुगे... म हस्कोहिको निधनमा स्तब्ध हुनेगर्छु ।

       पान्थरका नेम्बाङ खलक अथवा धर्मेन्द्रविक्रम नेम्बाङका पुस्तौनीहरू गिरिजा, वि.पि.हरूका सहयात्री हुन् । गिरिजाबाबु प्रधानमन्त्री हुँदा उसले मेरै अगाडि हटलाइनमा फोन-वार्त्ता गरेको मलाई थुप्रै थाह छ । नेम्बाङजीको यो राजनीतिक चर्तिकला चाँहि मलाई अलि अपच हुन्थ्यो । र म थुप्रै पटक उसकै घरमा, बाटोमा, साहित्यिक सम्मेलनमा डिसकस गर्थे गिरिजा बारे । यो कुरा त सृजनशील अराजकताका उपेन्द्र सुब्बा, बहुरङ्गवादका रङ्गकविद्वय स्वपनील स्मृति, चन्द्रवीर तुम्बापो, दमकका रङ्गकर्मी, लेखक तथा मुक्त अभियानका प्रनेता प्रकाश आङदेङ्बेलाई पनि थाहा छ । मेरो कारण एउटै थियो, गलत छाप थियो- गिरिजाबाबुप्रति ।

तर वहाँको निधनमा शोकले स्वस्फूर्त जुन भीड निस्कियो, मा��"वादीका प्रचण्ड, बाबुरामहरूले जे भने, विभिन्न पार्टी नेताहरूले भने, राजासँगका कुराहरू भने मलामीमा अपनत्वभावको जुन शितल वातावरण बन्यो । त्यसले मेरो दृष्टिकोणमा तरलता ल्यायो । अनि मैले विगतका पुराना पत्रीकाहरू हेरे, अन्तराष्ट्रिय दबाब दाँजे, यसले केही थोरै भएपनि राजनीति बुझे भन्ने भयो र अन्तर तर्क-वितर्क भयो, विश्लेषण गरे, स्वविवेक प्रयोग गरे । अनि भ्रान्तिहरू रहेछन् हट्यो र निष्कर्ष यहि निकाले कि, गिरिजाबाबुले चाहनु भएको भए राजतन्त्र नै हुन्थ्यो । गिरिजाबाबुले नचाहनु भएको भए गणतन्त्र हुन्थेन । यहि निष्कर्ष निकाले, गिरिजाबाबुले जे भन्नुभयो, त्यहि गर्नुभयो । अरु राजनितिक अस्थिरता त स्वार्थपरक खेल र ब्यूरो क्रयाट्स रहेछ ।

       नेपालीहरू भावुक हुन्छन, असल हृदयकाहरू नै भावुक हुन्छन् असल हृदयका गिरिजाबाबुको देहत्याग पछि स्वतः उर्लिएको भीडले, भावनात्मक बतासले जुन माहोल सृजना गर्यो त्यसले यस्तै सोँच्न बाध्य पार्यो । त्यो भीँडमा कांग्रेस, कम्युनिष्ट र यो, त्यो फलाना जस्ता बैचारीक द्वन्द समाप्त पार्यो । अनि गिरिजाबाबु केवल कांग्रेसी रहन पाएनन् । मुलुककै अभिभावक भनियो । दक्षिण एसीयाकै भनियो र त्यहाँ क्रमभङ्ग देखियो ।

       हामी पनि यथास्थीतिबाट छलाङ्ग मार्दै, क्रमभङ्ग गर्दै साहित्य सृजनाबाट अघि बढिरहेका छौँ । बहुरङ्गवादको जन्म पनि क्रमभङ्गकै फल हो । साहित्य लेख्नेहरू घटना र परिस्थीतिबाट प्रभावित हुन्छन् र चुप बसिरहन सक्दैनन् । मैले पनि सकिन्, किनभने गिरिजाबाबु प्रतिको श्रद्धान्जलीमा जुन अपनत्वभाव देखियो, जुन एकत्वभावको परिस्थीति बन्यो- चाहे क्षणभर नै सहि यसले देशलाई निःशङ्कोहित गर्छ । र यस्तो हित हुने कुरालाई त हाम्रो साहित्यमा सिद्धान्त नै बनाउनुपर्छ भन्ने लाग्यो । अनि प्राण छोड्ने बेलासम्म पनि मिलेर जा��"ं भन्नुहुने गिरिजाबाबुको स्मृतिमा बहुरङ्गवादमा एउटा सिद्धान्त निर्माण भयो-अपनत्व भावको सिद्धान्त ।

       हामी साहित्यमा फरक धारबाट अघि बढेका अन्य सर्जकहरूसँग साहित्यिक वादहरूसँग पनि मिलेर नै जाँदैछौं । उनीहरूको रङ्गलाई महत्व दिएर नै रङ्गवादलाई बहुरङ्गवाद बनायौं । हामीले त सह-अस्तित्व भन्दै नै सबैप्रति अपनत्वभाव अघिदेखि दर्शाइ रहर्यौ । परिणाम यसले हाम्रो चिन्तनमा व्यापकता र विविधता ल्यायो ।अझ हामीमा एकता ल्यायो ।

       देशमा एकताको खाँचो छ । राजनीतिमा निखारीएका गिरिजाबाबु यहि एकताको डोरीलाई कस्न नै सत्तामा बस्नैपर्ने महशुश थिएछ, आशक्ति थिएनछ । त्यहिभएर उच्च राजनीतिक संयन्त्रको परिकल्पना गर्नुभएको रहेछ । ढिलैभएपनि भ्रान्ति हट्यो ।

       पोहोरसाल काठमाडौं मैतीदेवी मन्दिरमा एउटा बिहेभोजमा गिरिजाबाबुसँग भेट्ने मैले अवसर पाएको थिए । गफ गर्न सकिन्थ्यो । देह दुरी नजीक रहर्यो तर ममा सकरात्मकता थिएन । हामी आममान्छे मिडियाले जे भन्छ, त्यही सुन्छौं र चिया विश्लेषण गछौं । म त्यस्तै थिए र कुनै गफ भएन यद्यपी मैले नजीकैबाट नियाली रहे, कति चिटिक्कै परेर आउनुभएको थियो, कति अग्लो... फोटो पनि खिचाईहाल्ने । अहिले त केवल स्मृतिमा मात्र ताजा भएको छ ।

       गिरिजाबाबु नरहेपनि गणतन्त्र छोडीदिनु भएको छ । र अझैपनि यो गणतन्त्र जनताको खेतबारीतिर सिंचित हुनसकेको छैन । राजनीतिज्ञहरू सहमत-असहमत र आरोप-प्रत्यारोप मै सिमति देखिन थालेका छन् । जसले जनताको आशाको ध्रुवीकरण छरपष्टिएको छ । भारतीय नेता राजनाथ सिंहले नेपाललाई हिन्दुराष्ट्र बनाउँछु भन्नु, भारत बस्ने जोगी आएर पशुपतिमा यज्ञ गर्दै हिन्दुराष्ट्र बनाउँछु भन्नु- उसको पछि पूर्व राजा र केही राजावादी झुण्ड देखिनु । अनि सन्तनेता भनिएका र गिरिजाबाबुले बेलैमा प्रधानमन्त्रीबाट गलहत्याइदिएका बुढा नेता कृष्णप्रसाद भट्टराईले गणतन्त्रको खिल्लि उडाउँदै राजतन्त्र र हिन्दुराष्ट्रको माग गरेको देख्दा-अझै गिरिजाबाबुको आवश्यकता अथवा खाँचो महशुश हुन्छ ।

       वहाँको देहान्तपछि अभिनेत्री मनिषा कोइरालालाई पत्रकार महाशयहरूले दुनिया-दिवाना सोधे । मलाई रुची लागेको प्रश्न थियो कुन धर्म मान्नुहुन्छ ? मनिषा कोइरालाको उत्तर झन रुचीकार रहर्यो । "म अध्यात्मीक हुँ... " यसैबीच चर्चीत भारतीय स्वामी रामदेव आए र देशमा चर्चाको केन्द्रबिन्दुमा रहे । देशका प्रमुख नेता, व्यापारी कलाकार, सबै झुम्मिए । उनलाई पनि पत्रकारहरूले सोधे । हिन्दुराष्ट्र ? तर रामदेवले हिन्दुराष्ट्रको पटक्कै कुरा गरेनन् ।

       मा��"वादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दिरमा पहिलो नेपाली पुजारी राखे, डा. गोपाल दाहाल । उनीसँग पनि एकदिन भेट भयो पशुपतिको कैलाश डाँडामा, जहाँ पितृमुक्ति महायज्ञ चलाइरहनु भएको थियो, श्री अघोरी श्मशानेश्वर चण्डीबाबा ज्यूले । भु.पु. पुजारी जी दाहाल पर्नु भएको र प्रचण्ड पनि दाहाल नै भएकोले अनेक शंका थियो त्यसबेला, कतै कामरेडले आफ्नै मान्छे त हुलेनन् पशुपतिमा ? तर त्यस्तो हैन रहेछ- नाता-साइनो केही पदैन रहेछ । काशीमा विद्यावरीधी गरेर आएका जनकपुर तिरका डा. दाहाललाई परखलिएर नै मूल पूजारीमा चुनिनु भएको रहेछ ।

       भू.पु. पूजारी जीले नेपाललाई हिन्दुराष्ट्र नै बनाउनुपर्ने विचारधारा राख्नु भयो बाबाजीसँग-त्यसबेला हिन्दुधर्मको व्यापक परिचर्चा भयो । वेद, पुराण, उपनिषद्का कुरा उठे । म अज्ञानिलाई धेरै लाभ भयो । बाबाजीले भन्नुभयो, धर्म भनेको हिन्दु हैन, धर्मका चार पाउ हुन्छन्, दया, शान्ति, सत्य, अहिंसा । यिनै चारपाउ टेकेर धर्म हिड्छ, धार्मिक हिड्छ । श्री अघोरी श्मशानेश्वर चण्डीबाबाले अझै भन्नुभयोः  'म हिन्दु हैन, धार्मिक हुँ, अध्यात्मिक हुँ । नेपललाई हिन्दुराष्ट्र हैन अध्यात्मिक राष्ट्रभन्दा सबैलाई चित्त बुझ्छ । हिन्दुको प्रमुख सिद्धान्त पनि यहि हो, सबै धर्मप्रतिको अपनत्वभाव ।'

       त्यो बेला डा. दाहालजीलाई चित्त बुझ्यो बुझेन थाह भएन तर वहाँ विद्धान हुनुहुँदो रहेछ भन्ने मैले बुझे र फेरि भेट्न केही सिक्न वहाँको फोन नं. मसँगका साथीले पनि मागे । तर वहाँले भन्नुभयो, म मोबाइल बोक्दिन, टि.भी. हेर्दिन, कम्यूटर चलाउँदिन, पत्रीका पढदिन... हामी स्तब्ध भयौं । वहाँ अर्कै युगका कर्म काण्डीय हुनुहुँदो रहेछ । त्यसबेला  अघोरी बाबाजीको मोबाइलमा भने कसैले फोन गरीरहेको थियो ।

       यो अघोरको फिलोसफी के हो ? भन्दै एकदिन लेखक तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव सभासद प्रदिप गिरी जीले मलाई सोध्नुभयो । तर वहाँको मोबाइलमा पनि फोन आयो र अर्को दिन ��"शो तपोवनमा गफ गर्न आउनुहोस् भन्दै व्यस्तता तेर्साउनु भयो । त्यहि हो संसार घोर छ । यात्रा अघोर छ । गिरिजाबाबु त्यतै जानुभयो, हामीले पनि एकदिन जानुछ । तर गिरिजाबाबुको देहान्तपछि त्यो देहले बोकि हिँडेको दायीत्व, मिलेर जाने अपनत्वभावको दायित्व, के रिक्तत्तामा, शुन्यतामै त्यसै खेर फाल्ने ?    

cheyone02@yahoo.com

बक्लौरी-, सुनसरी

(लेखक बहुरङ्गवादका नेतृत्वकर्त्ता तथा तर्कवादका प्रनेता हुनुहुन्छ ।)