तमसुक र जिन्दगी

Author : सचित राई
Published on : April 15, 2010


  
सचित राई

डा. भट्टराई भन्छन्- 'तपाइँहरू'

कवि मुकारुङ भन्छन्- 'हामीहरू'

आमने-सामनेमा

'तपाइँहरू/हामीहरू'

'तपाइँ' हुनुको बोध

'हामी' हुनुको बोध

म भएर सोच्दै छु,

 

सोमदत्तलाई सुम्निमा मनपर्नु

सरस्वतीलाई हेच्छाकुप्पा मनपर्नु

अनि बलात्कृत भइसकेको उद्धृतांश

डा. भट्टचनबाट

पटक-पटक सापटी लिँदै छु

ल्याप्चे थिच्दै-थिच्दै

जिन्दगीको तमसुकमा,

 

म हुनुको पहिचानमा

घरिघरि जातले बाँध्ने गर्छ

घरिघरि संस्कृतिले बाँध्ने गर्छ

घरिघरि धर्मले बाँध्ने गर्छ

घरिघरि भाषाले बाँध्ने गर्छ

फुत्कन खोज्छु बाँधिहाल्छ

बाँधिहाल्छ जीवनका रंगहरूले

जिन्दगीकै तमसुकहरूमा,

 

तमसुक

डा. भट्टराईका शब्दमा 'तपाइँहरूलाई दिएको छु'

कवि मुकारुङका शब्दमा 'हामीले दिएका छौं'

बायाँ छेउमा हाम्रै ल्याप्चे छ

सोच्दै छु 'तपाइँहरू किन भयौँ'

अनि 'किन भयौं हामी'

'किन मिसियौं रंगहरूमा' ?