म हङकङ भइसकेछु Author : हाङयुग अज्ञात Published on : April 02, 2010 |
||||||
सातिन र हेप्पीभ्यालीमा दौडिने बाजीको घोडाजस्तै अथवा जमिनमुनि दौडिने रसआवरको रेलजस्तै यो एसियाको विश्वसहरमा श्रम बेच्न दौडेको पनि थाहै नपाई एक दशक भएछ र हिजो बेलुकी जब माया सेलुनमा ऐना अगाडि उभिएँ तब देखेँ फुल्न थालेका रहेछन् कनसिरीमा कपालफूलहरू ओहो ! देश फर्किन्छु भन्दाभन्दै म त हङकङ भइसकेछु, ताइमोशान र मंकीहिलको जङ्गलमा चासोक, साकेवा र ल्होसार मान्दामान्दै बिबिक्यूमा पोलिपठाइएछ उमेरको पखेटा इन्डियाक्लव र कङ्गनको बफेमा पुलाउ र पर्ककरी पस्किादापस्किदै कतिबेला रित्तो पारिएछ मस्तिष्कको प्लेट कतिबेला रेड वाइनले कुल्ला गरिएछ आदर्शको फट्फटाइरहने जिब्रो कतिबेला बियरले पखालिएछ देशको तस्बीरलाई मनको कुनाबाट र कतिबेला टोस्ट गरिपठाइएछ कायाकल्पको नाममा आफ्नो सर्वहारा पृष्ठभूमिको गरूङ्गो मुट्ठी ! ओ, मेरा साथीहरू हो, युनलङ थियटर र चुनवान टाउनहलमा होस् अथवा कम्युनिटी हल यायातेइमा होस् थाहै नपाई मैले बिर्सेछु मेरो रगत, पसिना र आँसु ! अथवा, नाचघरमा कम्मर मर्काउँदामर्काउँदै कतिबेला भुाडीले आकास ताक्न थालेछ र आँखाका चेपबाट रेखाहरू तन्किन थालेछन् मार्कसिक्सको सपनाबाट ब्यूँझेर हिजो बेलुकी जब उभिएँ माया सेलुनमा तब देखेँ घामले डढेको आफ्नो दिक्कलाग्दो अनुहार ओ हो ! देश फर्किन्छु भन्दाभन्दै म त हङकङ भइसकेछु, ओ, मेरो देश म हङकङ भइसकेछु तेसैले मेरो काखीमा हिजोआज डुङ्डुङ्ती समुद्र गन्हाउन थालेको छ मेरो नङमा गन्हाउन थालेको छ लापसाप मेरो हातमा गन्हाउन थालेको छ इनामेल मेरो ढाडमा गन्हाउन थालेको छ बासीभात मेरो खुट्टामा गन्हाउन थालेको छ बाह्रघण्टा मेरो मुखमा गन्हाउन थालेको छ तिउलेलम्बू मेरो छातीमा गन्हाउन थालेको छ नेपोइः हो, म हङकङ भइसकेछु ! मेरो सिङ्गो शरीरमा गन्हाउन थालेको छ आइडी, तेसैले ओ मेरो देश अब इमेल नगर तिमी नपठाऊ तिम्रा दुःखहरू यहाँ तिम्रो गोर्खा छोरा यहाँ तिम्रो कवि छोरा हङकङ भइसकेको छ र तिमीले लाहुरेको गफमा सुनेजस्तो यो हङकङ साँच्चैमा सुन्दर र सुखी छैन, यहाँका अग्ला भवनहरूमा धेरै होंचा विचारहरू बस्तछन् यहाँका सफा सडकहरूमा धेरै फोहरी नियतहरू हिँड्दछन् तेसैले ओ मेरो देश तिम्रो इमेलको जवाफमा म सुखहरू पठाउन सक्दिनँ म शान्तिहरू पठाउन सक्दिनँ मात्र पठाउन सक्छु अहङ्कार, इर्ष्या र जलनहरू ! हो, कति चाँडै म हङकङ भइसकेछु देश फर्किन्छु भन्दाभन्दै देशको नामै बिर्सिसकेछु म त हङकङ भइसकेछु म त हङकङ भइसकेछु । |