मजबुरीहरू

Author : रामकृष्ण सुनुवार 'आँकाला'
Published on : April 01, 2010


  
रामकृष्ण सुनुवार 'आँकाला'

एउटा नव युवक

जो चोरीको अभियोगमा

हातमा कडी बाँधिएर

जेलखानातिर लगिएकोलाई सोधें

किन चोरी गरेको मित्र ?

उसले भन्यो परिस्थितिबश

कामको खोजीमा आधा यौवन बिति सक्यो

जाति, नाता, कृपा र चाकडीबादको मात्र

हात-मुख हुँदो रहेछ

कैयौं दिन भोक प्यासले भौंतारिएर डुल्दा डुल्दा

एकदिन पापी पेट भर्नै पर्ने

यो मजबुरीले गर्दा चोरी गरेको रे !

 

अर्का युवक

जो स्वदेश छोडी बिदेशिएकोलाई

कालो धन कमाउने आशा बोकी

भागेर हिंडेकोलाई सोधें

किन बिदेशिन मन पर्यो मित्र ?

उसले भन्यो

स्वदेशमा केही छैन रे !

बल्लतल्ल बिदेशी सहयोग पाए पिन

ठीक ठाउँमा लागु हुन्न रे !

काम दाम र मामको खोजीमा

सपनाको स्वर्ग खोज्न हिंडेको

उसको मजबुरीको कथा थियो यो ।

टाढा टाढा बिरानो ठाउँमा

घुम्दा घुम्दै बाटो भुलेर

कोठरीका नगर नायिकाको कथा सुन्दा

गाँस बास कपासको खोजिमा

मजबुरी निभाएको उत्तर थियो त्यो ।

 

एउटा रोई रहेको बालकलाई सोधें

किन रोएको बाबु ?

बिचरा ! भोको छ रे !

कपडा थोत्रिएका थिए

हात-मुखमा फोहर जमिएका थिए

��"ंठ फुस्रो सुकेको थियो

शिक्षाको त के कुरा

भिक्षा पनि नमिल्ने अवस्था थियो

उसका जन्मदाता छैनन् रे !

यस धर्तीमा दयनिय थियो

उसको मजबुरी थियो त्यो !

 

थाप्लोमा नाम्लो सजाएर

पिठ्यूँमा ढाकर बोकेका भरिया दाइलाई सोधें

साहुको भारी बोकेर

ऋणको व्याज मात्र मिन्हा हुन्छ रे !

मात्र एक छाक टार्न

चरक्क चर्किएको पाउ बजारेर

सानी र भुन्टेलाई भतुवा लगाएर

कर्तव्य पथमा लम्कि रहेको

बिचरा ! भरिया दाईको मजबुरी !

 

अनुहारमा कालो मोसो पोतिएर

बालुवा पैंत्तिस पाउण्ड लादिएर

राईफल छात्तीमा भिरेर

कालो बुटमा पट्टी कसेर

तालिम गर्न हिंडेको सिपाहीलाई सोधें

उत्तर मिल्यो मजबुरीको ।

 

मुखमा जे आयो

त्यही प्वाक्क बोल्ने सज्जन बृन्दहरूसँग

मेरो बिन्ति छ

कतै चोर नगर नायिका बिदेशिएका वा

बेचिएकाको

कलेजो छियाः छिया हुने गरी गाली नगर

केही भन्नु पहिले केही सोंच सोध

किन ती त्यस्ता भए

सक्छौ भने हल गर्ने प्रयत्न गर

तिनका मजबरीहरूको ।