कविताको व्याप्ती

Author : Balkrishna Sam
Published on : March 11, 2010


  
Balkrishna Sam

एक साधु ठूलो डालो लिएर

कविता बटुल्न वनतिर लाग्यो,

डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,

छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,

कतै पाएन,

उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;

हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो ।

प्रश्न सुनिसकी रसिक बोल्यो- "कहाँ छ जहाँ कविता छैन,

शुष्क आँखाले हेर्यो भने त छैन त त्यै झरना पनि नीरस छ,

त्यो रौँझैँ जोबन झरिरहेको शून्यमात्रको उद्घोष छ,

क्यै पछि पानी सब निख्रन्छ र त्यो पाखो खल्वाट हुन्छ !

तर साधु, अनुरागले आफ्नो छाती लिपिहरे,

ठाँटो जमीकन सम्म भएको रक्त-हृदयको सतहमाथि

दुःखी संसारको चोट एकत्रित पारी

उच्छ्वासले शक्ति प्रहार गर,

अनि अनुभूतको छाल उठाई मस्तकसम्मन् छिटा पठाऊ,

आँखा जलजल रसिलो भएपछि सबै नियाली हेर,

सहानुभूतिले नानीलाई सूक्ष्मदर्शक पार,

अनि त ढुङ्गाका नसा-नसामा पनि रगत चलिरहेको देख्छौ,

पत्थरको मुटु छाम्न सक्दछौ,

अनि पहराले रस बहाउँछ,

तिमी बविता पाउँछा !

यति भनेर घामको मइनझैं

रसिक लत्याकलुतुक भै पग्ल्यो, साधुको आँखा पनि पग्ल्यो,

रूखहरू खोटोझैं पग्ले, फलफूल महझैं पग्ले,

हरिया फाँट पोखरीझैं पग्ले,

समस्त ब्रह्माण्ड हिउँझैं पग्ल्यो, आकाशगंगा भै पग्ल्यो,

ताराहरू सारा जलबिन्दु बने,

साधुले आफूलाई आफैँ जत्रो आँसुको एक थोपो पाएँ,

अनि दिग्दिगन्त विश्वभरि नै अणु-अणुको गर्भान्तरमा उनले

प्रलय घनघोर गर्जनमा ओतप्रोत भएर

कविता उर्लिरहेको पाएँ ।