'बाटो खोज्दा खोज्दै' जन र माटोको खोजी हो

Author : काङमाङ नरेश
Published on : March 11, 2010


  
काङमाङ नरेश

          युद्घभूमि अफ्गानिस्तानको हेलमण्ड प्रोभिन्स ग्यारेक्स भन्ने ठाउँबाट गीतकार नरेश 'नाती' १५ दिनको विदा मनाउन वेलायत आउनु भएको वेला उहाँले लेख्नु भएका ७०-८० वटा गीतहरू हेर्न दिनु भएको थियो । भर्खरै ती गीतहरूको संगालो प्रकाशित भएको छ, एउटा सुन्दर दस्ताबेजका रुपमा ।

लाहुरे अथवा सिपाहीहरूले बन्दुक र कलमको संयोजन गरेर युद्घ भुमीमा लेखेका साहित्यहरू नै युद्घ साहित्यको एउटा पाटा हुन् । युद्घ साहित्यका धेरै पाटाहरूमा एउटा पाटाको निर्माण गरेका छन् नरेश नातिले । पितापूर्खाले युद्घमा बनाएको इतिहासलाई जोगाउँदै अर्को इतिहासको निर्माण गरेका छन् । नेपालीहरूको सुन्दर जीवनको चित्रण र युद्घ गर्दा भोगेका भोगाईहरूको एकमुष्ठ नाम भएर आएको छ, नरेश नातिको गीती संग्रह 'बाटो खोज्दा खोज्दै' ।

युद्घसँगै संसारमा बन्दुक बोकेर कलम चलाउने साहित्यकारहरू पाकिस्तानी सिपाही कवि फैज अहमद फैज, चिनका सिपाही कवि लि इङ्ग मात्रै होईनन्, गोर्खाली सिपाही कवि तथा गायक मास्टर मित्रसेन, सिपाही कवि चन्द्र नेपाली राई, नाराद मुनि थुलुङ्गलाई पढ्दा मलाई धेरै गौरब लागेको थियो । जीवीतै भएका सिपाहि कवि जी.बि. लुगुन, रक्ष राई, दयाकृष्ण राई, टंक वनेम, गणेश राई, मुली वीर राई, मिजास तेम्बे, जगत नवोदित, हेम कुमार राई, ईश्वर चाम्लिङ्ग, विश्व काजी राई, लाल राना, चोक गुरुङ , भूमिराज राई, नरेश नातीहरूसँग प्रत्यक्ष भेटघाट र कुराकानीबाट वास्तविक लेख्नेहरू सिपाहिहरू नै हुन भन्ने कुरा बुझेको छु ।

संगीतका नोटेसनहरूमा शब्दको मात्रा मिलेको हुनु पर्छ यदि शब्दको मात्रा घटी वा बढी भएमा संगीतकार गीतकारको शब्दमा अतिक्रमण गर्न बाध्य हुन्छ । स्थाई र अन्तरामा शब्दको मात्रा धेरै भएमा संगीतकारले शब्दलाई काटेर संगीतको नोटमा मिलाएर गाउनको लागी तयार बनाउँछ, यदि शब्दको मात्रा थोरै भएमा संगीतकारले हो हो, हा हा जस्ता शब्दहरू थपेर गाउनको लागी तयार बनाउँछन् । मलाई लाग्छ नातीका गीतहरूलाई संगीतकारले अतिक्रमण गरे भने अनर्थ हुनेछ । नातीका गीतहरू गीत जस्तै भएर आएका छन् । नातिका गीतहरूले कस्तो खालको हावा पानी र मौसम भेट्ने हुन, हेर्न भने बाँकी नै छ । यस कृती भित्रका गीतहरूले मान्छेको जीवन भित्रका खाँटी जीवन लिएर आएका छन् । हरेक पाटाहरूलाई छोएर आएका छन् । मायाप्रिती, देशप्रेम, मिलनबिछोड र इश्वर प्रतिको इन्कार, युद्ध, माटोको खोजी, बिरही प्रकारका गीतहरू यस कृतिमा सामवेश भएका छन् । केही गीतहरू प्रगतिशील बिचारका पनि छन् ।

नातीका गीतहरू गीती लेखनमा उदाहरण बनेर आएका छन् । गीत, गीत जस्तै हुनु पर्छ । मलाई यो कृति हेर्दा नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले काठमाण्डौको गुरुकुलमा गरेको कार्यक्रमको सम्झना आईरहेको छ । त्यस कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङलाई सम्मान र गायक कुबेर राईलाई पुरस्कार बितरण गर्दा बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङज्युले भन्नु भएको थियो, एउटा कुकुरले एक पटक हार्मोनीयममा सा, रे, , म सम्म बजाएको थियो रे तर मान्छेले चाहि सा, रे, , , , , नी, सा बजाउन सक्नु पर्छ रे । त्यसरी नै गीत भावना मात्र पोखेर पुरा हुँदैन । अब गीतका हरफहरूलाई हेरौ -

भत्किएर चारै तिर, हिड्ने बाटो छैन

आफ्नो भने संसारमा, टेक्ने माटो छैन

ठेगान छैन एउटै छैन, बसी हिड्ने बास मेरो

कुन बेला कहाँ पुगी, जीवन बन्छ लाश मेरो....

आफ्नो माटोमा जन्मिएर त्यहाँको परिवेश, वातवरण, समाज र संस्कृति संग खेली, हुर्की, बढेर वैशालु जोस जाँगर जति सबै परदेशी माटोमा मुछ्नु पर्ने हाम्रो बिबशता छ, त्यही बिबशताको एउटा वास्तविक अनुहार यो गीतले देखाएको छ ।वास्तवमै लाहुरेहरू न यताका न उताका भएका छन् । परदेशबाट घरदेश फर्किदा लाहुरे आयो भन्छन् । घरदेशबाट परदेश फर्कियो विदेशी आयो भन्छन् । परदेशी अथवा लाहुरेहरूको पहिचान हराई रहेको अवस्थामा आफ्नो पहिचान खोजीरहेका छन् नातीका गीती हरफहरूले । हाम्रो देश नेपालमा जनयुद्धको घाउले पोलीरहेको बेलामा परदेशमै भए पनि देशको पिडा यसरी पोखेका छन् अर्का गीति हरफहरूमा -

बाबा किन फर्किएनन्, भन्छन् छोरा छोरी

आमा रुन्छिन् बिरहमा, हुन्छिन् एकोहोरी....

अझै पनि जनयुद्धको घाउ हाम्रो देशमा निको भएको छैन । मैना सुनारको कथा होस या पत्रकार कृष्ण सेनको, जीतमान बस्नेतको होस् या डेकेन्द्र थापाको... यस्ता कैयौं नेपालीहरूको कथा जीवीतै छन् । कति छोरा छोरीहरू आमा बाबा कहिले आउँछन् भनेर बाटो हेरिरहेका छन्, कोही आमाबाबाहरू छोरा छोरीहरूको प्रतिक्षामा छन् । प्रतिक्षाको ठिट लाग्दो आशाको बसार्इ पनि हो यो गीत -

भत्किएको झुपडीमा, दुखियाको बास

बाचुन्जेल दुखै दुख, मरे पछि लास....

अर्काको घर अथवा धनीको घरमा नोकर भएर बस्नु गरीब हुनुको तिक्त अनुभुति यो गीतले पोखेको छ ।

देशकै छोरो बन्नलाई, शिरै बाजी राख्नु प-यो

बिरहमा परिन आमा, हजारौंको आँसु झ-यो....

यस्ता विभिन्न प्रकारका गीतहरू यो कृतिभित्र समावेस भएका छन्। ती गीतहरूले मीठो संगीत र सुमधुर स्वर पाउने सम्भावना धेरै छ । 'बाटो खोज्दा खोज्दै' गीती लेखनमा एउटा शक्तिशाली कृति भएर आएको छ । तपाईको कलमले अझै नयाँ नयाँ चेतना र विचारका गीती हरफहरू जन्माउन सकुन, नयाँ प्रयोगहरू गर्दै संख्यात्मक भन्दा गुणात्मक गीतहरू जन्माउन सकुन भन्ने शुभकामना छ।

जीवन र माटो खोजीरहेको यो कृति पाठकहरू सामु उभाई दिनु भएको छ, यो एउटा शुभ थालनी हो। सिर्जनाको तपाईंको यात्रा सुगम रहोस् कामना।
 

हाल ब्रुनाई