चौतारा

Author : केदार 'संकेत'
Published on : October 28, 2008


  
केदार 'संकेत'
 
स्थानः

पिपलबोट चौतारा

पात्रहरू:

जङ्गबहादुर- रिटाएर्ड मेजर

नवध्वज- पढेलेखेका युवक

कान्तिराम- शिक्षक अधबैंशे

सरिता- गाँउकै एक पढेलेखेकी युवती

शान्ति- जङ्गबहादुरको नातिनी

 

                                                                                      दृश्य एक

 

(सबै पिपल बोटको चौतारा वरिपरि कावा खाँदै बसेका छन्, यही चौतारा हो जहाँ यो गाँउका बुढापाकादेखि लिएर नानी केटाकेटीसम्म रम्ने ठाउँ । अनि, भरिया दाजुभाइका तोक्मासँगै झर्ने निधारका पसिनाका ढिक्का र महाजनसम्मले भुँडी बिसाउने एउटा साझा बिसौनी ।)

 

जङ्गबहादुर-     (सेतै फुलेको जुँगा मुठार्दै) ए ! टोलका केटा हो के को आवाज हो, त्यो पल्लो गाँउतिर हँ?

नवध्वज-         (टाउकोको टोपी मिलाउँदै) के भन्ने काका आवाज पनि त्यही चिरपरिचित गोली र बारुदको त होला नी । हिजो राती यही बाटो हुँदै लस्करै निधारमा रातो फेटा र काधँमा बन्दुक बोकेर तल्लो गाँउ पसेका थिए आज जम्काभेट भए जस्तो छ ।

जङ्गबहादुर-     (गलफनलाई काधँतिर फाल्दै) ए ! तेसो भए फेरि जम्काभेट भएछ क्यारे कति जनाले फेरि ज्यान गुमाउने भए रेडियोमा समाचार सुना है बाबु भरै ।

कान्तिराम-      (चौताराको एउटा ढुङ्गामा बस्दै) रेडियोमा पनि एकैखालका समाचार हुने भा पो, कसैले तीन मरे दश भन्छन् । कस्को कुरा सुन्ने कस्को नसुन्ने । कति मरे, कति अपहरणमा परे, कत्तिको ईज्जत लुटे, यस्को लेखाजोखा अब के होला र मेजर काका ? (हातले निधारमा परेको घाम छेक्दै)

जङ्गबहादुर-     (हातमा बेतको लौरौ खेलाउँदै) म त झन् के भन्नु र बाबु हो, तिमीहरू नै हौ यो गाँउका टाठाबाठा, गर्लान् नी केही, अब नयाँ सरकार बने पछि ।

सरिता-            मेजर काका, नवध्वज दाइ (हस्याङ् र फस्याङ् गर्दै सरिता चौतारामा अइपुग्छिन्, अतालिएको स्वरमा) लौन, मेरो भाइ बसन्तलाई मुख छोपेका एकहुल आएर तान्दै लगे । आजै उनीहरूसँग नगए गोली हान्ने रे । आमा भने रुँदै बसेकी छिन् घरमा । लौन के गर्ने अब ?

नवध्वज-              (चौताराबाट झर्दै, हतारिदैं) ल, लिन जान पर्छ, नत्र बेपत्ता पार्छन् तिनीहरूले ।

कान्तिराम-      (चस्मा मिलाउँदै) एकछिन्, नवधोज भाइ, (बसेको ठाँउबाट उठ्दै) आवेगमा आएर तुरुन्तै हामी जान उचित हुँदैन । हामी गयौं भने त हामीलाई पनि उतै राख्छन् । मलाई त अस्ती तिनीहरू मानेडाँडाबाट झरेको थाहा पाए पछि गोठमा गएर लुके, घरमा गएर मेरो नाम सोधेका थिए रे, आमाले गोठमा गएको छ बाबु हो भनेपछि अर्कोचोटि आउँदा जनमुक्ति सेनामा नगए 'गोठमा हुन्छ की कोठामा' भन्दै गएकाछन् भनेपछि आज हामी गएर हुनेकुरा केही छैन ।

                            (सरितामा मौनताले छाउँछ, केही बोल्दिनन् उनी)

जङ्गबहादुर-     (घुँडामा हात राख्दै) हो, बाबु हो त्यो त ठीकै हो । आज नजाऊ तिमीहरू बरू यो सरितालाई सम्झाऊ कति रून्छे यो पनि, हुन पनि अस्ति भर्खरै दाइ राजलाई लगेर बेपत्ता पारे । न सेनामा खटाए, न मारे, अब बसन्त भने कहाँ छ के गर्दै छ ? खैः मैले त यो समयको माग बुज्नै सकिनँ । सधैँ मारकाटका कुरा मात्र, मान्छे मारेर के पाउलान् यिनीहरूले ? ठूलाठालु मान्छे कहिल्यै मर्दैनन्, उही गरीब, शोषित, पीडित, दलित र अनपढका छोराछोरी त हुन् मर्ने ।

नेपत्थ्यमा-   (एक्कासि माथिल्लो गाँउतिर गोली पड्केको आवाज आउँछ ।सबै चौताराबाट जराक जूरुक उठ्छन्, गाँउलाई लाँकुरी डाँडाले छेकेको छ तेतै हेर्छन् सबैले)

कान्तिराम-      (रिसाएको भावमा) हरे ! यो गोली र बारुद पनि कति पड्काएको होलान् ? नानी केटाकटीहरू तर्सन्छन्, सबैको मन भयभित हुन्छ, किसानहरू काम छोडेर लाखा-पाखा लाग्छन्, -साना नानीहरू स्कूल जान नै मान्दैनन् डरले । जनताले स्वतन्त्रसँग बाँच्न त पाउनुपर्छ ।

सरिता-            (आँखाको आँशु पुछ्दै रुन्चे स्वरमा) म गए है तपाईहरू बस्दै गर्नुस् । घरमा आमा एक्लै रूँदै छिन् ।

                          (घरतिर लाग्छिन् । सबै उतैतिर हेर्छन्, एकार्कामा मुखामुख मात्र गर्छन् ।)

जङ्गबहादुर-     (पलेटीमा शान्ति राख्दै) ठीक भन्यौ कान्तिराम, मेरो सानी नातिनी शान्ति त गोली पड्केको सुन्ने बित्तिक्कै बाख्राको खोरतिर लुक्न जान्छे । तर, नाती बिकुल भने जता बन्दुक पड्कन्छ उतै दौडन्छ । मिलिटेरीले लगाएको लुगा खुबै मन पर्छ रे, उस्कै बाउको थोत्रे लुगाहरू ठुलै भएपनि लगाएर हिँड्छ । बहिनीलाई भने गाली गरी बस्छ बजिया । 

                           (नातिनी शान्तिलाई सुम्सुम्याउँदै)

नवध्वज-         (चौताराको पिपलबोटलाई एक हातले अडेस लगाउँदै) साँच्ची शान्तीको बाबा कता छन् आजभोली ह ? यसपालीको दशैमात आउलान्नी हैन मेजर काका ?  

जङ्गबहादुर-     (टोपी मिलानउदै) उही रोल्पा रूकुमतिरै हो नी, कहाँ होस र अन्त त ? जता ततै आˆनै मान्छे हुनुपर्छ आजकाल, नत्र जता जता जंगलका मान्छेहरू छन् तेतै पठाउँछन् ।

शान्ति-           (हजुरबाबाको नजिक जाँदै) बाबा आउने बेला भयो हैनत हजुरबुबा ? बाबा आउँदा त कत्ति धेरै नाना र मिठाई दिएर आउनुहुन्छ है । बाबाले त मलाई कस्तो माया गर्नुहुन्छ आमा र दाइले त सधैँ गाली गर्नु्हुन्छ ।

जङ्गबहादुर-     (आकाशको कालो बादल हेर्दै) हो नानी तिमीलाई धेरै नाना लिएर आउनेछन् । तिम्रो दाइ बिकुल पनि आर्मीमा जाने रे, बाबा जस्तो पुलिसमा नजाने रे बिकुल दादाले पनि भोलि पर्सी मिठाई (बीचैमा कुरा काट्दै)

कान्तिराम-   (अलिक नजिक जाँदै) हैन काका पनि भर्ती मात्र पठाउने कुरा गर्नु हुन्छ, यी स-साना नानीहरूलाई । काकाको समयमापो ठीकै थियो आजभोलीत पुलिस आर्मीले पनि कहाँको राम्रो काम गरेका छन् र । गाँउका सोझा साझा चेलीबेटी देख्न नहुने बिहे गर्छु भन्दै अलपत्र पार्ने, केटाहरू देख्नेबित्तिक्कै मावोबादी कित गुण्डा भनेर हातखुट्टा भाँचि दिने । सबैलाई एउटै दृष्टीकोणले हेर्न त भएन नी, सबै छाडा भएका छन् यो देशमा आज शान्ति भने कतै छैन ।

                             (सबै मौन हुन्छन् एकछिन)

नवध्वज-        (यताउता घुम्दै) ठीक त ठीकै भन्यौ तिमीले पनि, हाम्रो देशमा एउटा बिहानिको खाँचो छ । जुन बिहानीको मिर्मिरेले सधै सबैलाई छावस्, सबै रमिन सकुन, बाँच्न सकुन्, सबैले समान हक र अधिकार प्रयोग गर्न सकुन् । शिक्षाको ज्योतीले सबैलाई चुमुन्, आखिर यिनै त हुन जनताका आधारभूत आवश्यकताहरू भनेको ।

सरिता-            (बाटैबाट आउँदा आउँदै) त्यो बिहानी आउन त अवस्य आउँछ जुन सुकै आजका विकास त मुलुकमा क्रान्ति आएर नै देशमा विकास भएको इतिहास पढ्न पाईन्छ । बुढो रूख ढलेपछि फेरि नयाँ रूख उम्रन्छन् । फेरि त्यो रूखको पनि त पालो आउँछ, चर्खा न हो यो जीवन र समय भनेको । कसैले प्रभुत्व जमाएर कालन्तरसम्म बाँच्न नखोजे पनि हुन्छ, स्वभिमानी भएर जिउन पाउँनु आजको आवस्यकता हो । कि कसोत मेजर बाजे ?

                            (सबैले ताली लगाउँछन्)

जङ्गबहादुर-     (भावुक बन्दै) मनासिवै कुरा गर्र्यौ सरिता तिमीले । २००७ सालमा भएको क्रान्तीमा मैले आफै राम्ररी भोगे र देखेके छु। त्यसपछिको २०१७, २०४६ सालको परिवर्तन । तर यी सबै परिवर्तनले खै के ल्यायो हाम्रो गाँउमा ?  न उज्यालोको लागी बिजुली, न शिक्षाको लागी स्कुल, न शुद्वपानीको ब्यबस्था बेक्कार हुन यी सब कुराहरू, अब राजा हटाउनेरे राजा हटे पनि देशमा हुनेकुरा भने केहिपनि हैन, म मरेर गए पनि देख्नेछौ तिमीहरूले । क्रमश: