निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती

Author : डि बि पालुङ्वा
Published on : March 07, 2010


  
डि बि पालुङ्वा

प्रियतमा के म तिमीबाट एउटा सुन्दर

तर श्वेत पंखको उडान भन्दा कोमल

असिम आकाशबाट

यी धर्तिका क्षितिजहरू माथि पुरै

स्वेत एवं रेसादार पर्दा खसालेर

एउटा अनौठो स्पृहतामा

अनुपम भेटको आशा गर्न सक्छु ?

 

किनभने यतिखेर म

यो धर्ति र महासागरको छातीमा टेकेर

गहन तर रहस्यमय प्रवृत्तबाट अथवा

यो उदेक लाग्दो दलदलबाट

एकै क्षण मुक्त भएर

एउटा आँधीले भत्काएको चाँदमुनि

तिम्रो मायाको पछयौरीको फेरो समाएर

तिम्रो हृदयको सिकुवासम्म आउने आँट गरेँ,

 

यद्धपी कृपया तिम्रो हृदयको आँगनमा

गुलाफको फूलले कुनै महत्व नराखे पनि

यस महान घडीमा यी बन्द ��"ँठमुनि

एउटा इतिहासको किताबलाई तासीमा राखेर

खाली माया र स्पृहताको चाँदमुनि सुनसान फाटकमा

यो म प्रतिको तिम्रो प्रेम या घृणाको दहबाट

गोप्य तवरले बाहिर आएर

वैजयन्ती मालाले सिंगारिएको एउटा

स्वर्गिय स्वप्निल स्मृतिको देउरालीमा

तिमीलाई मेरो हार्दिक निमन्त्रणा छ लाई

स्वीकार गरी देऊ र आउ एकै क्षण

यो निख्लाम आकाश माथि

यो अप्ठयारो ठाँउको घाउ अथवा पिलोको कुरा

यहाँ अभिव्यक्ति अथवा प्रदर्शनको कुनै गुन्जायस नभएता पनि

जहाँ एउटा तिर्खाएको छाती र

यी म्याद सकिएर मुर्झाई सकेका फूल र पातहरूबाट

अलग हुँदै उराठ लाग्दो र रुग्ण रुखका

फैलिएका हाँगाहरू छन्

आएर लहराई दिने धृष्टता गरी दिन सक्छौ ?

 

यो तिमी प्रतिको मेरो अनुकम्पाले

तुरुङ घिसार्दै निस्पृहतामा अथवा

तिम्रो पछयौरीमा

एकै क्षणको मेरो समर्पणलाई

स्वीकार गरिदेऊ मेरी प्रमोदिका

म यो विनोदको काबिल छु या छुईन

तर यो मेरो सरोकारको

पूर्णता भने होईन,

 

किनभने मैले तिम्रो हृदयलाई जितेको

अथवा त्यो विजयउत्सवको महान क्षणलाई

म कुनै पनि महान पुरस्कारसँग तुलना गर्न सक्दिन,

 

किनभने जतिखेर अर्को एउटा हृदय

यति रोमान्चित अनि विलक्षण बनेको थियो

जस्ले त्यो सालिन कोमलता र सौन्दर्यको थुङगालाई

अरु लोभी आँखाहरूको अगाडी छोपेर सँधै

आफ्नो आँखाहरूको अगाडि राख्न चहान्थ्यो,

 

यद्धपी सुन्दरता र सौंदर्यको आकर्षण र शक्ति

न कसैको बसमा हुन्छ

न कसैले आफ्नो बनाएर राख्न सक्छ

न त सँधै छोपेर राख्न सकिन्छ, 

 

अत, यो संसारलाई उस्ले

अविश्वासको आँखा भित्र बन्दि बनाएर राख्यो

या त उस्ले स्वयंलाई

एउटा असल कलाकार सम्झ्यो,

 

किनभने बाँच्नलाई कला एउटा अपरिहार्यता

एवं सार्थकतामा , बहाना अदभुत विषय होइन,

 

परन्तु, यसो भन्दैमा एउटा असल कलाकार

खाली दर्शन र आदर्शको कुन्जमुनि

दोष मुक्त भने हुनै सक्दैन,

 

किनभने दर्शन र आदर्शमा मात्रै

वास्तविकताले सँधै सम्झौता गर्न सक्दैन 

तर मलाई विश्वास छ क्षमा एउटा अपवाद होइन,

 

तथापी एउटा फकिरलाई

ईश्वरबाट कुवेरको आशिर्वाद भन्दा पनि

महान कृपा हुन सक्छ,

 

त्यसो भए आऊ एउटा सम्झौता गरौं प्रियतमा

यो दुनियाँ भन्दा पर, एउटा सहृदयको चाँदमुनि

यो असिम आकाशबाट, यी धर्तिका क्षितिज भरि

स्वेत एवं रेशादार पर्दा खसालेर

म प्रेमको गीत गाउँछु, तिमी कोरश भर

म बाँसुरी बजाउँछु, तिमी घुंघुरु बजाउँदै सरगम नाँच

किनभने समर्पण छन् यहाँ यी काँधहरू

तिमी यस माथि तिम्रा कोमल हातहरू राख

म तिम्रो केशराशी विस्तारै हटाउँछु, तिमी मेरो ��"ँठ चुम

म पहाड भई उभि दिन्छु, तिमी यसै माथि लहराई देऊ

म प्रेमको महासागरमा निदाई दिन्छु

तिमी यसै माथि एउटा गहन समर्पणमा

मायायुक्त हातहरू फुकाएर जाऊ ।