कोठा खोज्नुको पीडा र छाँया

Author : केदार 'संकेत'
Published on : February 23, 2010


  
केदार 'संकेत'

            ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ?

भोली !

कतिबजे ?

ठीक तीन बजे !

हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ?

केबी !

हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है आउनुभन्दा अगाडि ।

मैले  त्यसमा कुनै समस्या नभएको बताए ।

साँच्चै टेलिफोनमा मलाई फ्रेडले निक्कै चित्त बुझ्दो कुरा गरेका थिए । जो चाँडो आउँछ उसैको हुनेछ कोठा, किनकी म दिक्क भैसकेको छु तिमी जस्ताहरूको फोनको वार्तालाभले ।

पुर्वनिर्धारित समयमा म फ्रेडको घरमा पुग्छु । फ्रेडको घर २ मिन्ली रोड फानब्रो नजिकै कोभमा पर्दछ । उनी चिया पिउँदै कुनै किताब पढिरहेका थिए, जुन कुरा मैले कार पार्क गर्दा गर्दै देखिहालें । झट्ट हेर्दा अलिक मुडी जस्तै देखिन्थे । सेतै फुलेका उनका दाह्री जुँगा छिमलेका थिएनन् । कपडा पनि लथालिङ्ग पाराले लगाएका थिए । मलाई देखेर उनी अलिक झस्के ।

 गेटमा ठूलो झम्म परेको धुपीको बोट थियो । बगैंचामा विभिन्न वासनादार फूलहरू आधुनिक अंकुसेमा झुण्डाईएका गमलाहरू फनफनि घुमीरहेका थिए । वातावरण रमाईलो थियो । मुख्य सडकबाट फ्रेडको कारपार्कमा जाने बाटो साँगुरो भएतापनि घरको प्राईभेट कारपार्कमा झण्डै चारपाँचवटा कारहरू सजिलैसँग पार्क गर्न सकिन्थ्यो । 

मैले आफ्नो परिचय दिएपछि उनले कुन नामले बोलाउ भने, मैले केबी भनेर बोलाउँदा फरक नपर्ने बताए ।

हुन्छ केबी ल भन तिमीलाई कहिलेसम्मको लागी कोठा चाहिएको ?

छ महीना देखि एक वर्षसम्मको, मैले छोटो उत्तर दिएँ ।

ठीक छ तर मलाई तिमीले दुइसय पाउण्ड एडभान्स दिनुपर्छ, पछि तिमीले कोठा छोड्दा उक्त रकम पाउनेछौ, चियाको घुट्को  पिउँदै बोले उनी ।

सहमति नहुने कुरै थिएन । किनकी म बसेको कोठा तुरुन्तै छोड्नु पर्ने थियो ।

कोठा देखाउनको लागि फ्रेड आफु बसेको कुर्सिबाट जुरुक्क उठे  । म फ्रेडको पछि-पछि  लागे । किचेन, बाथरुम र कोठाहरू क्रमशः देखाउँदै लगे । सबैकुरा राम्रै लाग्यो । दुईसय पाउण्ड बैना दिएर म बाटोभरी डेरा सर्नको घटना सम्झन्दै लुलवर्थ क्लोज तर्फ फर्के ।  

राज दाइ, चक्र र म तीन परिवार एउटै घरमा खुब मिलेर बसेका थियौं । एउटै घरमा बसेपछि सबैले एकअर्कामा गर्नुपर्ने सहयोगको कुनै मापनीयतानै थिएन । मानव जातिमा धर्म र सहयोग गर्न भुलेमा नैसर्गिक चेतना हुनुको ��"चित्य पनि के नै रहन्थो र ।

घर स्वदेशीकै हो । घरधनीसँग हामी सबैको केही न केही एक किसिमको नाता गाँसेको थियो । तर एउटा सानो घटनाले सबैले कोठा एक हप्तामा छोड्नुपर्ने उर्दी जारी भयो । हामी मरुभूमिमा पानी खोजेर हिडेजस्तै भौंतारी रहेका थियौं ।

डेरा सर्न कोठाको खोजिमा दौडधुप गर्न थाल्यौं । राम दाइ केही दिनमानै सरि हाल्नु भो आफ्नै मित्रकोमा । मित्र चन्क्रजी पनि आफ्नै गामलेकोमा सर्ने भए । मेरो त न गामले न मित्र परेन फसाद ! त्यसैले जे पर्ला पर्ला भन्दै गोराको घरमानै बस्ने निर्णय गरे ।

भरखरै घामको किरण बगैंचामा चिहाउन खोजिरहेको थियो । बगैंचाको छेउमा आगोको भुम्रोमा सुँगुरको करङ् र कुखुराका पखेटाहरू चटटट गर्दै रापिन्दै थिए । एका बिहानै पोलेको तिख्खर मासुले सोमरसको चुस्कीलाई साथ दिदै थियो ।

शिरुता बैनी (चक्रजीको श्रीमती) भान्सामानै व्यस्त भएकोले चक्रजी आफै भित्र  लगि दिन्छन् पोलेर टुक्रयाईएका मासुका चोक्टाहरू । शितल बहिनी (राज दाइको श्रीमति) भने काममा गएको हुनाले निर्धक्कसँग दिदै थिए काला जाुङ्गा हल्लाउँदै । मेरोत कुनै रोक टोक थिएन । बिल्कुल एक्लो मान्छे, त्यसैले होला सबैले माया गर्थे । दिन छिप्पीन्दै गयो । बिहानै चियाको रसको पारा पनि चड्दै गयो । सर-सामानहरू यत्रत्रत्र छरिएका थिए चउरभरी, मानौ भुटानका रैथानेले नेपालीका सामानहरू आफाल्दैछन् घुरेनमा २० सालको जसरी ।

गफै-गफमा आजभोली मेरो कोठाको ढोकामा रातको समयमा कसैले कोठा ढकढकाएको घटना सुनाएँ । उनीहरू झस्किएको आभाष भयो ममा । ढोका खोल्दा कोहि नहुने तर एउटा अदृश्य छाँया भने देख्नेगरेको पनि बताए । उनीहरूले किचकन्नी होला, राती खुकुरी सिरानीमा राखेर सुत्ने सल्लाह पनि दिए तर मैले त्यो छाँया किचकन्नीको नभएको बताए । खैः किन हो कुन्नी हो मा हो थपिन शितल बहिनीले पनि । तर उनीहरूको कोठामा भने आजसम्म त्यस्तो कुनै सङ्केत दिएको थाहा नभएको बताए ।

साहेद सबैको टाउको रन्किसकेको थियो, घाममा फलामे छड ताते जसरी । यस्तो बेला केहीपनि चाहिन्न, दिमागका नसाहरू जता तन्किन्छन् उतै लम्कन्छदारहेछन् यी अंगहरू पनि । नेपत्थ्यमा अगिनै मासुपोल्ने भाँडा एकातिर उत्तानोटाङ् परेछ । मासुका चोक्टाहरू बगैंचा भरि छरपस्ट । तीनजना होलीवालाहरू भने बगैंचा र चउर भरी लडि-बडि खेल्न थालेछन् आ-आफ्नै तालमा । हल्ला नहुने कुरै भएन त्यो समयमा । सखाप पारिएछ ! बगैंचाका फूलहरू, रायोको साग अनि अरु थुप्रै चिजहरू पनि । पछि पो थाहा भयो हामीले होलि खेल्दा माडिएका रे ती सब चिजहरू। एक प्रकारको गल्ति महशुस भयो हामी सबैमा । साँझपख सरसफाई गरेर केही हदसम्म सपार्ने कोसिश त भयो तर हुन सकेन पहिलेका जस्तो । हो, त्यही चमत्मारीताको कारणले गर्दा नै हामी "नोटिस टु मुभमा" परेका थियौ घरमालिकबाट ।

काम सलाउमा बसाई फानब्रोमा, निक्कै समस्या थियो मेरो दैनिकी जीवनमा । अझ भएन खाना पीना आफैले बनाउनु पर्ने, "चोक्टा खान आएकी बुढी झोलमा डुबेर मरी" भन्ने उख्खानको पात्र भएर हिडीरहेको थिए म ।

घरबेटी फ्रेडको कुरा सुन्दा पनि वाक्क भैसकेको थिए । उही व्यापारको कुरा, घरी उस्का पुराना कम्पूटर अपग्रेटका कुरा । कहिलेचैं क्याफे खोलेर चाँडै धनीहुने जस्ता सस्ता कुरा, आदि ईत्यादिले । तर पनि उनी एउटा लेखक भएको कारणले गर्दा उस्ले बोल्ने गरेका गहन शब्द र विचारहरूबाट मैले एक प्रकारले फाईदा लिईनै राखेको थिए । 

उनले फौजी जीवनबाट अवकाश प्राप्त लिएपछि एउटा किताब लेखेका रहेछन् । किताबको नाम हो "ह्याविट अफ दी डग" अर्थात कुकुरको आनिबानि । उनको कुकुर प्रतीको माया र खोजले होला चिया पिउने कप देखि लिएर पर्दा, सिरानिको खोल, फ्रेम सबैमा विभिन्न जातिका कुकुरका फोटोहरूले सजिएको थियो फ्रेडको घर । छोटै समयमा पनि राम्रो सम्बन्ध जोडिसकेका थियौ हामीबीच । सुक्रबारै पिच्छे चियर्स गर्थ्यौं र भन्थ्यौं यो हो हाम्रो घनिष्टाबाद !

सँधैको जसरी काम सकेर म बेलुकी कोठामा आएं । भान्साकोठामा पसेर खाना तयार गर्न थाले । घर शून्य लाग्यो, फ्रेडलाई बोलाए तर कतैबाट पनि आवाज आएन । फ्रेडको कार घर अगाडि पार्क भई राखेको थियो । चराहरू चिरबिराई रहेका थिए बगैंचामा । पछाडिको कार पार्कमा गएँ, फ्रेडलाई कतै पनि देखिन । केही मधुरो आवाज आयो कतैबाट, पुनः बोलाएँ । आवाज घर भित्रै कतैबाट आएजस्तो लाग्यो । नुहाउने कोठा तर्फ लागेँ। हेल्प, हेल्प भन्ने मधुरो आवाज बाथरुमबाट आएझै लाग्यो । कोठा खोल्ने प्रयन्त गरे तर खोल्न असमर्थ भए कारण उनी ढोकाको छेउमै लडिरहेका थिए । नुवाएर बाहिर आउन खोज्दा चिप्लेर लडेछन् । दाहिने हात र टाउकोमा एकदम पीडा भएको बताए फ्रेडले मलाई । मैले तुरुन्तै एम्बुलेन्स मगाएँ र साथ-साथै उनका छोरा डेविड र उनका केएर टेकर म्यारीलाई पनि । उनी केहि क्षणमानै फाम्ली पार्क हस्पिटलमा लगियो एम्बुलेन्समा । त्यो रात निन्द्रानै लागेन । गर्मिको मौसमले गर्दा नौ बजेसम्म घामको प्रकाश पश्चिम तर्फको झ्यालको पर्दाको कापबाट मेरो कोठामा केही खोजिरहेको भान भैरहेको थियो ।

मैले यहाँ पनि पुरानै कोठाको झै डेरा सरेकै दिनदेखि फेरी त्यस्तै छायाँ देख्दै आएको छु जुन पुरानो कोठामा छँदा देख्ने गर्थे । त्यो छायाँमा एउटा चाहनाका निस्तेज आँखाहरू सलबलाएका भान हुन्थ्यो । लाग्थ्यो त्यो छायाँमा अतृप्त तृष्णाका लहरहरू पग्लिन खोजेका थिए यो साक्षार मुर्तीमा । जब त्यो छायाँ मेरो कोठामा सलबलिन थाल्थ्यो कोठाका पर्दाहरू आफै बन्ध हुन्थे एक्कासी । डरका पोकाहरू बाँधिन्थे ममा, तर ती एकाएक फुटेर छताछुल्ल हुन्थे मेरो वरिपरि । कता-कता एउटा अनौठो वासना आउथ्यो र म त्यस्तो अप्रत्यासित वातावरणबाट डराई रहेको हुन्थे । कसैले निरुपण त गरेको छैन यो छायाँलाई ? किनकी मैले त्यो छायाँलाई  गण्डकी संझिन थालेको थिए त्यस बखत ।

तीन दिन पश्चात म फ्रेडलाई भेट्न गएँ हस्पिटलमा । उनी बेडमा बसेर टीभी हेरीरहेका थिए । पछि निको भएर घरफर्किएपछि मीठा-मीठा गफको साथ-साथै भविष्यमा अरु आधुनिक प्रजातीका मिश्रण बेलायती कुकुरहरूका खोजि गर्ने वाचा राख्दै बिदा भए त्यहाँबाट ।

समय बित्दै गयो । फ्रेड अस्पताल भर्ना भएको पनि तीन हप्ता भैसकेछ । बेला-बेलामा उनीले फोन गरिरहन्थे । उनका घरमा बसेका अरु दूइजना क्रिस र इस्टिभसँग पनि भाँडा उठाएर मलाई ल्याईदेऊ भने तर मैले माग्दा तिनीहरूले दिएनन् । फ्रेडको स्वर पहिलेको जस्तो चकिलो र प्रस्ट थिएन फोनमा ।

आज शनिबार, एक्लै पछाडिको बगैँचामा कार सफा गर्दै बसिरहेको थिए । एक्कासी टेलीफोनको घण्टी बज्यो ।

म डेविड बोलेको, फ्रेडको जेठा छोरा ।

अत्तालिंदै बोल्दै थिए उनी ।

तपाई अब यो घरबाट सर्नुपर्ने भयो एक महिना भित्रमा । किनकि हिजो राती मेरो बाबाको देहान्त भयो । यो घर अब मेरो बाबाको नभै मोर्गेज कंपनीको हुने छ । धन्यवाद, समयको लागि भन्दै फोन राखे ।

अब फेरी कता कोठा खोज्ने, कहिले सर्ने जस्ता कुराहरूले झन् रिङ्गटा चल्न थाल्यो । मैलेदिएको त्यो एक गुच्छा फूलनै फ्रेडसँगको अन्तिम भेटहोला भन्ने मैले सोचेको पनि थिईन ।

म आफ्नो साथी फ्रेडको देहान्तमा दुःखी त छँदै थिए तर त्यो भन्दा पनि बढि म डेरा सर्नुपर्नेमा दुःखिद भए ।सामानहरू कार्बोडको बाकसमा प्याक गर्न कोठा तर्फ लागे ।

फेरी कोठामा उही छायाँ हिड्न थाल्थ्यो । हत्त न पत्त एक गिलास वाईन सिनित्त पारे ।      तर अर्को एउटा खाली गिलास पनि मेरै टेबलमा थियो म जिल्ल परे । त्यो गिलासको गोलाईमा रातो लिपिस्टिकको हल्का दागथियो । म किकर्तब्यबिमुड हुन्छु । झन भौंतारिन्छु ।

पल्लो कोठा क्रिसको हो । उनको गर्लफ्रेण्ड शनिबारै पिच्छे आउँथिन् । कोठामा आएको केहिबेर पश्चातनै क्रिसको कोठा एउटा आवाजमा परिणत हुन्थ्यो, मानौ त्यो आवाज वर्षायामको कालो बादल बिच बिजुली चम्किदाको गड्याङ-गुडुङ् गडगडाहट  भन्दा कमि छैन । एकछिनसम्म त्यो क्रम यसरिनै चलिरहन्थ्यो, वर्षा पश्चातको धर्ती भिजेजस्तै ! त्यो आवाज पनि मत्थिन्थ्यो र सफा जुनेली आकाश झै उघ्रिन्थ्यो, नितान्त शान्त र चकमन्न भएर ।

त्यो आवाजहरू सुनेर मेरो कोठामा ढुनमुनिने छायाँले पनि अनाआवश्यक तवरले प्रतिबिम्बित हुँदै वाइनका बोतलहरू थाहै नपाई रित्याई दिन्थ्यो मानौ त्यो अदृश्य निर्मल छायाँले पनि साँझमा टेम्केको क्षितिजमा घाम डुबेझैं मसँग डुब्न खोजिरहेछ । म त्यो छायाँबाट आफै अदृश्य हुन खोज्द्छु । तर, मेरा ती प्रयासहरू निरर्थक भैदिन्छन् । म निस्सासिएर  कोठामानै ढुलमुलिन्छु ।

यो समय मेरो बिच्छ्यौनामा एक्कासी कोही सुतिरहेको भान भैरहेछ म मा । मानौ एउटा जिउँदो आत्माले यो पार्थिक शरिरलाई कोपर्न खोजिरहेछ बिना संकोच, बिना कसुर । साँच्चै यी छायाँहरू कस्ता मापाका हुदाँ रहेछन् अदृश्य भएर हिड्न सक्ने ।

कुनबेला-कुनबेला निदाएछु । थाहै भएन । जब म बिँउझे, मेरा अधरहरू दुःखिरहेका थिए । रिङ्गटा लागेजस्तो भान भैरहेको थियो । खालि रक्सिका बोतलहरू लडिरहेका थिए । कार स्टार्ट गरेको आवाज आयो । झ्याल खोलेर हेरेँ । तर कार सडकको चौरस्तामा पुगिसकेको थियो ।

फेरि लथालिङ्ग भएका सामानहरू मिलाउन थाले किनकि कोठा सर्नुको पीडा त आलै नै थियो त्यो अदृश्य छायाँले छोडेको पीडा भन्दा पनि अझ बढी ।