बुद्घ हराएको देश

Author : दाजु गुरूङ
Published on : February 09, 2010


  
दाजु गुरूङ

उसले आकाशवाणी सुनेको रे

बुद्ध अफ्गानमा घाइते पछि मध्ये एशियामा छैनन् रे

कसैले सानो दृश्य पर्दामा हेरेको रे

बुद्ध दिल्ली हुँदै गया तिर बिहार गर्दै थिए रे

उसले अखबारमा पढेको रे

बुद्ध ल्हासा हुँदै ठूलो पर्खालतिर शयर गर्दैर थिए रे

अनि अन्तर-संजालको लहरहरूमा हेर्नेले भनेको रे

बुद्ध पश्चिमी गोलार्द्धको भ्रमणमा निस्केका छन् रे

कसै कसैले यस्तो हल्ला पनि गरिरहेका थिए

बुद्धको भिसा मिल्यो रे उतै बस्ने रे,

कसैले अमिलो मन बनाएर भन्दै थिए -

घर मसान बने पछि बुद्ध हराउने नै भए

त्यसैले त यहाँ भन्दै छन्

घोषणा हुन मात्र बाँकी छ

यो बुद्ध हराएको देश,

 

भन्दै थिए-

हिजोसम्म हातमा हात काँधमा काँध मिलाएर

पौरखीहरू सँगै खोला नाला तर्थे रे

बाटाको रोडा र संकटका पहाडहरू

एकताको मुठ्ठीले फोर्थे रे

असारे हिलो र मंसिरको दाईमा

साग सँगै मालश्री गाउँथे रे

एउटै पँधेरोमा पानी भर्थे रे

तर आज सुनिन्छ-

पल्ला घरे अन्तरे वल्ला घरे जन्तरे बिच पानी बारबार छ अरे

तल्ला घरे कलुवा दादाले

मुसा पनि छिर्न दिन्न भनेर लाठो लिएर बसेका छन् रे

माथ्ला घरे ठबुले जन्ती मलामी नजाने

कसम खाएका छन् रे

सुनिन्छ-

तल्लाघरे माथ्लाघरे

वल्लाघरे पल्लाघरेहरू

वारुद भरि नाल तेर्स्याएर बसेका छन रे

आँगन भरि वारुद सुकाउँछन रे

लाग्छ एक झिल्को फिलुङ्गोको खाँचो छ,

 

कुन्नि किन

दलालहरूको भावी "ल्पटीङ्ग सिस्टम" देखि त्रसित

पालाम, सोरठी र रोधीं राहदानी र भिसाको लाईनमा उभिएका छन् रे

डम्फू, ढोलक, टुङ्ना र मादलहरू

सुरक्षित संग्राहलयको खोजीमा निस्केका छन् रे

त्यसैले यहाँ भन्दै छन्

घोषणा हुन मात्र बाँकी छ

यो बुद्ध हराएको देश,

 

आजकल गाम् घरतिर

गोधुली साँझ हराई सक्यो रे

चरनबाट गाई वस्तु गोठघरमा र्फकन छाडी सके रे

दिनदहाडै आँगनबाट खोरहरूबाट

सिँगारीहरू हराउन थाल्यो रे

भन्छन्-

चरनका झाडी बुट्टाहरूमा फाँटहरूमा

हिंस्रक चितुवा र ब्वाँसाहरूले डेरा जमाई सकेका छन रे

पर-पर क्षितिज भरि

शिकारीबाजहरू दाउ हेरि रहेका छन रे

कुन बेला कस्को बाछो हराउने, चल्लो हराउने

पत्तो हुँदैन रे

सुनिन्छ -

परेवाहरू हावामा स्वछन्द कावा खेल्न छाडी सके रे

गाई वस्तुहरू गोठघरबाट हर्किसके रे

हिंस्रक ब्वाँसाहरूको बहुलठ्ठिपनले दुर्गन्धित आकाश माथि

गिद्घहरू घुम्न थालि सके रे

त्यसैले यहाँ भन्दै छन्

घोषणा हुन मात्र बाँकी छ

यो बुद्ध हराएको देश,

 

कस्तो बिडम्वना-

भस्मासुर महिषासुर वृषासुर जस्ता जल्लाद् अगस्तीहरू

मायावी खेलले देवदूत बनेर 

दिनहुँ बुद्ध फर्काउने

बुद्ध खोज्ने

मायावी नाटक मञ्चन गर्छन्

सल्लाह गर्छन

अनि लुछाचुडी गर्छन्-

-एउटा बुद्धलाई हिमालपारी खोज्ने

-अर्को बुद्धलाई गंगा स्नानबाट फर्काउने

-त्यस्तै अर्को पताललोकमा जाने

जलाद्हरूको यस्तै यस्तै विमतिहरू

अनि विष वमन र स्खलन पछि रोद्न चिच्याउँ छन्

-बुद्ध हामी ल्याउँछौ ।

-बुद्ध हामी ल्याउँछौ ।।

-बुद्ध हामी ल्याउँछौं ।।।

मायावी खेल र रोद्न देखि चकित

देउताहरू आपसमा कुरा गर्छन्-

"बुद्ध त यहि छन किन  जलाद्हरूको आँखामा परेनन्"

त्यसैले त भन्न थाली सके

घोषणा हुन मात्र बाँकी छ

यो बुद्ध हराएको देश ।

 

dajuup@yahoo.com