युद्ध एम्बुसमा राइफलको संङ्गीत- सैन्य साहित्यको अर्को आयामिक कृति

Author : अशोक राई
Published on : February 09, 2010


  
अशोक राई

पृष्ठभूमी

          म सानो छँदा भू्पू गोर्खा लाहुरेहरूको बहादुरीको बार्तालापहरू सुन्दा दन्त्य कथा सुने जस्तो लाग्थ्यो । समाजमा ब्याप्त लाहुरे हुन पाउनुको आकर्षण र त्यो युद्धको डरलाग्दो कथाहरू बीच म असमाञ्जसमा पर्थें । सोच्थें यी गोर्खाली लाहुरेहरूले कसरी विश्वमा वीरता प्राप्त गरे ? के यी लाहुरेहरू साच्ची नै दुश्मनसित ज्यानको बाजी थापेर युद्ध गर्छन त ? युद्धमा दुश्मनलाई मार्ने मात्रै त हुँदैन । दुश्मनले पनि आफूलाई मार्छन् । फेरी यो दुश्मन भनेको के हो र को हुन् ? मलाई मेरा आफन्तहरूले पैसा र सुनचाँदी कमाउन लाहुरे हुनुपर्छ भनिरहेका छन् या युद्धमा होमीन ? सानैदेखि यस्तो प्रश्न उब्जिन्थ्यो मनमा । आज गणेश राईका तीनवटा कृतिहरू पढि सकेपछि बल्ल बुझ्दैछु लाहुरेको वास्तविकताहरू । म युद्धवीरहरूकै सन्तान हुँ । थोर बहुत लाहुरे/अलाहुरे कुराहरूले मेरो मस्तिष्कघात गरेकै छ । यस सन्दर्भमा मेरो अलाहुरे कविताको सानो अंश यहाँ प्रस्तुत गर्छु ।

विश्व युद्धमा मेरो बाजेले देखाएको

बिरताको कथा

बाउले लाएको छड्के टोपीको शान

अनि कम्ब्याट युनीर्फमको आकर्षण

त्यो सप्पै संझिदा कुनै दिन

लाहुरे हुने झ्वाँक्क पलाकै हो,

तर राइफलको बितृष्णा र

स्वभिमानको आदर्शले

न त लाहुरे भइयो

न त आदर्शको मू्ल्य नै पाईयो

त्यसैले,

आमाको चेप्टे सुन, सिरबन्दी, रेजी र कल्लीको भाकल

आज पर्यन्त

थाँती नै छ ।

 

          फोक्ल्याण्डको युद्ध र लाहुरेहरूको पीडासम्वन्धी कृतिहरू राइफलको नालबाट जीवन नियाल्दा (आत्मा जीवनी) अनि राइफलले फलाकेको जिन्दगी (कविता) लेखि सकेर पनि लेखक गणेश राईमा सैन्य साहित्यको धित् पूरा भएन । फेरी उनी आइपुगे अर्को कृति युद्ध एम्बुसमा राइफलको संङगीत लिएर । यो कृतिपनि सैन्य पृष्ठभूमी मै आधारीत छ । पुर्ब कृतिहरूमा नअटाएका गोर्खाली सैन्य जीवनका थप नालीबेली र कथा ब्यथाहरू बोकेको आत्माजीवनी हो यो कृतिपनि ।
 

पुनरब्याख्या र पुनरलेखन

          लेखकको कलम भन्छ "युद्ध एम्बुसमा राइफलको संङ्गीत अलिखित इतिहासको पुनरलेखन हो या इतिहासको सच्याई पनि । सूसुचीकरण ठान्दा पनि भयो यसलाई ।" प्रश्न उठ्छ किन जरुरी भयो नेपाली साहित्यमा पुनरब्याख्या र पुनरलेखनको ? किन सच्याउन पर्यो इतिहासलाई र किन गर्नुपर्यो सुसुचीकरण यसलाई ? गणेश राई पुन: लेख्छन् "वीर लडाका भनेर विश्व इतिहासमा लेखियो र चिनाइयो नेपाली जातिलाई । तर वीरत्व लडेको साहित्य लेखिएन । पात्रहरू बहादुर भनेर चिनीए । तर बहादुरीको कथा भने लेखिएन । पात्रहरूले खेपेको मर्मस्पर्शी जीवनको सम्बेदित सम्बेदनाहरू उनीहरूको जीवनजस्तै अन्त्य भए गुमनाम । लेखिएनन ती युद्ध र लडाइहरू उपन्यासका पानामा, कविताका हरफमा । लेखिएका भए ती साहित्यको मोनालिसा हुने थिए अवश्य । हाम्रो आफ्नै साहित्यको क्षितिज र चेतनाको बृत्त तन्किने थियो अनन्त ।"

          प्रथमतः मूलधार भनिएको साहित्यमा गोर्खालीहरूले लडेको युद्ध बिषयलाई उपेक्षा गरियो । दोश्रो कुरा लाहुरेहरूलाई सधैं बुद्धु र दुम्बाको संज्ञामात्र दिइयो जो सधैं पैसाको लागि लाहुरे हुने सपना देख्दछ । तेश्रो गोर्खाली लाहुरेहरूले ज्यान उत्सर्ग गरेर विश्वमा कमाएको यशलाई राज्यले राष्ट्रियतासित मात्र गाँस्यो तर उनीहरूलाई बलीको बोको हुनबाट रोक्न सकेन । यस्ता कारणहरूले लाहुरेको कथा ब्यथाहरूको पुनरब्याख्या र पुनरलेखन जरुरी भयो । आजका लाहुरेहरू अविबेकी छैनन् । उनीहरू सिर्जनशील र बौद्धिक पनि छन् । उनीहरू विचार बोक्छन् । यो मान्यतालाई स्थापित गर्न आज गणेश राईजस्ता लेखकहरू आफ्ना कलमलाई अथक् घोटीरहेकाछन् । साथमा छन् टंक वोनेम, मूलीवीर राई, दयाकृष्ण राई, रक्ष राई, विश्व दिप तिगेला, मिजास तेम्बे प्रकाश छाङ्छा र रामकृष्ण बान्तावा... आदि ।

          नेपाली समाजले लाहुरेलाई हेर्ने पुरानो दृष्टिकोणमा परिवर्तन आउनु पर्छ । लाहुरेहरूको जीवनलाई नजर अन्दाज गरिएकोछ । उनीहरूको दुःखलाई समाजले ससम्मान स्थापित गर्न सकेको छैन । सामान्यतया लाहुरे भनेका अशिक्षित, बिवेकहीन, मूर्ख र बिदेशीन खोज्नेहरू हुन् भन्ने मान्यता छ । यी र यस्ता आम पुर्बाग्रही मान्यता र सोँचहरू भत्काउन जरुरी छ । साँच्चि नै भोलि गोर्खालीहरूले विश्वमा फेरी अर्को परिचय स्थापित गर्लान् अनि फेरी राज्यले नयाँ परिचयसित आफ्नो परिचय गाँस्ने छ । तर उनीहरूलाई गरिने अवहेलना र पुर्वग्राही दृष्टिकोण परिवर्तन भएन भने उनीहरूले गरेको दुःखको के महत्व ?

 

पहिचान र अस्तित्वको जिकिर

          यो कृतिको प्रत्यक्ष या अप्रत्यक्ष उद्देश्य पहिचान (dignity)  र अस्तित्वको खोजी पनि हो । राज्यले गरेको बेवास्ता र सिमान्तकृतप्रति गोर्खाली लाहुरेहरूको गुनासो रहि आएकोछ । यो कृतिलाई एक हिसाबले भन्नु पर्दा आदिवासी जनजाति तथा डायस्पोरिक सौन्दर्य कै एक नमूना पनि भन्न सकिन्छ । नेपालका खस साशकहरूले सोझा सिधा आदिवसी तथा जनजातिहरूको राज्यमात्र खोसेनन् उनका छोराहरूलाई जानाजानी लाहुरे र बिदेशी बनायो जसबाट एकातिर राज्यले रोयल्टी कमाउने बाटो पायो भने अर्कोतिर राज्यसत्ताबाट उनीहरूलाई बञ्चीत् गर्दै लगियो । देश इतरको भूगोलमा गई लाहुरेहरूले बिदेशीको कठोर खप्की र आदेश मान्दै वलीको बोको बने । मर्नेहरूको लेखा भएन बाँच्नेहरूले उनीहरूका मालिक(बृटिश)ले दिएको आंशिक पारिश्रमीकले गर्जो टारे । अभावग्रस्त उनका परिवारहरूले त्यसलाई स्वीकारे । कालान्तरमा आज गोर्खाली भनिएकाहरूको सन्तान दर सन्तान फगत बिदेशी भएका छन्।अनागरीक र राज्यबिहीन भएका छन् । राज्य संयन्त्रसित उनीहरूको ठूलो ग्याप् छ । पहिचान र अस्तित्व माग्नु परेकोछ ।

          भूमिकामा रक्ष राई लेख्छन् "हामीले देश छाडेर बिदेश जानु वा लाहुरे बन्नुपर्ने बाध्यतालाई परम्परा र सँस्कृतिमा रुपान्तरीत गर्यौं । हिजोको हिनताबोधलाई आज हामीले स्वभिमानमा बदल्यौं । वास्तबमा हिजो मरोस र मारियोस् भनेर बेचीएका यी गोर्खाली जातिबाट राज्यले सोचेभन्दा उल्टो परिणाम पाए । ती गोर्खालीहरूले प्रथम र दोश्रो विश्वयुद्धमा आफ्नो ज्यान उत्सर्ग गरेर वीर गोर्खाली भनेर विश्वमा नाम कमाए, उनीहरूले आर्जेको वीरतालाई राज्यले आफ्नो राष्ट्रियतासित गाँस्यो । आज नेपाल वीर गोर्खालीको देश भनेर चिनिन्छ । तर गोर्खालीहरूलाई राज्यले दोश्रो दर्जाको नागरिक सरह अवहेलना र अपमान गर्दै आइरहेकोछ ।"

          यी र यस्ता बिरोधाभाषहरू गोर्खाली लाहुरेहरूको हकमा रहँदै आएकोछ । मैले गणेश राईको पूर्व कृति  "राइफलको नालबाट जीवन नियाल्दा"को बारेमा पनि उल्लेख गरेकोछु "गोर्खालीहरूको सोझोपन, बफादारी र आइपरे मालिकको लागि ज्यान दिने स्वभाव र उनीहरूको गरिबीको फाइदा उठाएर बेलायतले विश्वभरि आफ्नो साम्राज्य फैलायो । शासकहरूले पनि बेचीरहे उनीहरूलाई । हाम्रा पुर्खाहरू जति अशिक्षित र सोझा थिए उति नै निकृष्ट थिए नेपालका शासकहरू । बहादुर भनि माग्नु र दुई पैसा दाम बटुल्नु हाम्रो परम्परागत नियति बन्यो । निवृत्त भएर देश फर्किएका लाहुरेहरूलाई समेत बन्दुकको भारी बोकाइयो राणाहरूको विरुद्धमा । फेरी पनि मरे उनीहरू आफ्नै देशमा बेमूल्य । बाँचेकाहरूलाई समेत सत्तामा पुग्नेहरूले फर्केर हेरेको देखिएन । यसरी सामन्तहरूको जालझेलको कठपुतलीमात्र भए यो वर्ग । यो क्रम प्रकारान्तरले सहि आजपनि उस्तै उस्तै छ । के लाहुरे भनेको केवल डलरको लागि तयार कुनै वस्तु हो ? आज लाहुरे शब्द नेपालीहरूको लागि एउटा विम्ब भएकोछ देश छोड्नेहरूको नाममा । जो कतै अफगानिस्तान र इराकका एम्बुसहरूमा परेर मरिरहेकै छन् । कतै खाडीको प्रचण्ड गर्मी सहिरहेकाछन् । यो देश र परिवारबाट टाढिनुको दुःख झेलीरहेका छन् । राज्य भने यी सारा दृष्टान्तहरू हेरेर पनि उदासिन छ ।"

 

कृतिको ऐतिहासिक महत्व

          डा. गोविन्दराज भट्टराईले भूमीकामा लेखेका छन् -"नेपाली साहित्यमा यस्तो सिर्जना मैले पढेको थिएनछु । यो अकल्पनीय कृति हो । गोर्खाली सेनाले भोगेका आधुनिक लडाईको यो दृश्य नयाँ पुस्ताले पढेको छैन । नेपाली साहित्यमा यस्को भिन्न स्थान छ ।" हुन त गणेश राईको यो कृति अघिल्लो कृति राइफलको नालबाट जीवन नियाल्दाको दोश्रो खण्ड जस्तो पनि छ । तर नेपाली साहित्यमा सैन्य साहित्यको जुन स्थान यसले लिएकोछ त्यो ऐतिहासिक महत्वको छ । तमाम गार्खाली सेनाहरू र तिनले भोगेका युद्ध, युद्धका कठोर नियम र मृत्युका ताण्डव खेल, सैन्य जीवनभित्रका मानबीय समवेदना र मनोविज्ञान लगायत थुप्रै कथा ब्यथाहरूको दस्तावेज यो कृति । यो तिनै लाहुरेहरूको वास्तबिक कथा हो जो स्वयं लेखकले पनि अनुभव गरेकोछ । लेखक गणेश राई ती सारा गोर्खाली सेनाहरूका सजीव प्रतिनिधी पात्र हुन् जसले संसारभरिका युद्ध लड्यो, युद्धभित्रका त्रासदीहरू खेप्यो, अनेक दुःख झेल्यो ।

          गणेश राई स्वयं एक यस्ता पात्र हुन् जस्ले सैन्य जीवनका अनेक भोगाइहरू अनुभव गरे । संसारमा भएका अनेक युद्धहरू लडे । गोर्खाली सेनाहरूको दुई सय बर्षदेखिको विश्व इतिहास जो दन्त्य कथा जस्तो सुनिए तर अलिखित रहे लेखकले आज आफ्ना कृतिमा प्रस्तुत गरे । नेपाली जातिले ती सारा युद्धमा भाग लिए तर, त्यो अनुभवमा साहित्य लेखिएन । अघिका हाम्रा गोर्खा लाहुरेहरूमा शिक्षाको कमी थियो या उनीहरूमा सचेतना थिएन । त्यसैले गोर्खालीहरूको लडेका र भोगेका वास्तबिक कथाहरू साहित्यमा आएन । युद्ध नभोगेका लेखक साहित्यकारहरूले कहीँ कतै युद्धका काल्पनीक आख्यानहरू लेखे होलान् । तर, समग्रमा लाहुरेको जीवन समेटेर स्वयं ब्यक्तिपात्रले यसरी युद्ध साहित्य लेखेको इतिहास थाहा छैन । हुन त आज गोर्खाली सैन्य जीवनसित समन्धित लेखकहरू अरुपनि छन् । प्रकारान्तरले उनीहरूले पनि आफूले भोगेको कुरा साहित्यमा लेख्दै नै होलान् । तर गणेश राईले जुन नीतान्त सैन्य बिषयमा सिलसिलेवर कृति दिए त्यो ऐतिहासिक महत्वको सावित हुन आँउछ । यो कृति नेपाली साहित्यमा पूर्व अलिखित विषयको नौलो दस्तावेज हो ।

 

कृतिभित्रका कथा उपकथाहरू

          मलाई लैनसिंह बाङदेलको मुलुक बाहिर अनि डा. गोगिन्दराज भट्टराईको मुगलान उपन्यास पढ्दा जुन रोमाञ्चकता, भय र बेदना महसुस भएथ्यो, त्यस्तै प्रकारको अनुभुतीहरू मनमा आए यो पुस्तक पढ्दा । तर फरक ती दुई उपन्यासमा नेपालीहरूले इतर भूगोलमा भोगेको जीवनको यथार्थ बर्णन त गरिएका थिए तर कथा काल्पनिकतामा आधारित थिए । यो उपन्यास यथार्थवादी हो र स्वयं लेखक पात्र 

          णेश राईको यो कृतिपनि अघिल्लो कृति राइफलको नालबाट जीवन नियाल्दा जस्तै लेखकको आत्मा बृतान्त या जीवनी नै हो । अघिल्लोमा फोक्ल्याण्डको युद्धको चित्रण छ भने यस्मा बोर्नीयोको युद्धको कथा छ । फोक्ल्याण्डको युद्ध लेखक स्वयंले लडेका थिए भने बोर्नियो युद्ध भि.सी राम बहादुर बेघाहरूले लडेका थिए । बोर्नियो युद्धमा लेखकको उपस्थिति नभएको भएपनि कथा आख्यान सजिव छ । दुवै युद्धमा गोर्खालीले ठूलो वीरता देखाएका थिए । दुवै यृद्ध बिभिषिका भयानक छ । योद्धाहरूको संघर्षको कथा अनि जीवन र मृत्यू बीचको दोसाँधमा जंगलभित्रको कालो दिन अनि रात भोगेका छन् उनीहरूले । थप कुरा यो पुस्तकमा चीनमा सन १९६० को दशकको अन्तिमबाट सुरु भएर सत्तरीको मध्यमसम्म भएको मा��"को साँस्कृतिक क्रान्ती र तियानमेन विद्यार्थी आन्दोलनमा भएको नरसंहारको वर्णन पनि छ । उक्त साँस्कृतिक क्रान्तिको असरले चीनभरि उथलपुथल मच्चायो र सुरु भयो चिनीयाँहरूको राजनितिक शरणका लागि अवैधानीक हङकङ प्रवेश । तर उनीहरू (आई.आई.)लाई प्रवेशमा रोक लगाउने काम गोर्खाली सेनाको जिम्मामा थियो । आई.आई.हरू सितको द्वन्दको द्वन्दात्मक अन्तरमनलाई लेखककले कारुणिक शैलीमा प्रस्तुत गरेका छन् ।

          बोर्नियोको युद्ध जहाँ राम बहादुर लिम्बूले देखाएको बहादुरीलाई कदर गर्दै बृटिश सरकारले उनलाई भिक्टोरीया क्रशले सम्मान गरेको थियो । उनले गरेको दुःख र त्यो युद्धमा पाएको पीडाले पाठकको मन भित्रैबाट छुन्छ । पुस्तकको एउटा अध्यायमा यसको दर्दनाक वर्णन छ । सरवाकमा राम बहादुरले जीवन पातमा राखेर युद्ध गर्दैगर्दा उनको श्रीमति तयामाको दुःखद मृत्यू हुन्छ । जुन कुरा उसलाई थाहासम्म दिइँदैन । राम बहादुरले पाएको भिसी तक्माले त्यो चोटलाई सायदै पुर्यो होला । बोर्नियोको युद्धमा मारिएको मानाहाङको कथा जति हृदय बिदारक छ उति नै कारुणिक छ उनकी पत्नी साकेन्माको वियोगी हालत् । त्यसैगरि युद्ध सकेर आइपुग्नासाथ कटौतीमा परेको सोझो ईश्वरमानलाई घरको ऋण सम्झेर भक्कानो हुन्छ । सामचुन किनारमा आइ. आइ. खोज्दा बालकुमार मारिन्छ । लेखकको प्रमोसन भएपछि आफ्नो जिम्मेवारी लिएर दुईहप्ते एक्सरसाइजमा जिस्कँदा सरवाक बोर्डर नजिकको जंगलमा भेटिएको गोर्खाली एम.आइ..(लडाइमा हराएको) को जीवनको रामकहानी झनै दर्दनाक छ ।

          लिलीमा (लेखक पत्नी) जो देख्दा लाहुरेनी हुनुको कथित् भाग्यवती नारी तर पल्टने जीवनसितको तीता अनुभवले बेचैन छिन् । आफ्नो नाम बदलिएर सैंतालीसनी हुनु, फेमीली क्वाटरभित्रको कथित अनुशासनले दिक्क हुनुका साथै जि.एम.नी र कम्पनी टू.आइ.सी.नी दिदीहरूको चाकडीको दृष्टान्तहरूले तीन छक्क पर्छिन् । श्रीमान युद्धमा मरेपछि समाजले दिएको ताडना बिर्सेर साकेन्माले जीवन सार्थक बनाइन् एउटा शिक्षिका बनेर । बुलेटको टुप्पोमा जीवन उनेर सरवाकको लडाईमा भाग्य खोज्ने बुद्धिराज जसलाई म्यागाजिन पढेबापत सजायको भागिदार बनाइएको थियो पछि उनी रेडिजेन्सीमा परे तर उनले आफ्नो जीवनलाई उपेक्षित भावले हेरेनन् बरु कलेज धाएर अंग्रेजी मास्टर बने ।

सैन्य र योद्धा जीवनसितको विच्छेदन् हुँदाको क्षण लेखक निकै भावुक भएका छन् । कसैको चाकडी नगर्ने बानीले निजी प्रमोशनमा गरेको बाधा अनि युद्धरत जीवनको प्रतिजीवन भोग्दाका अनेक अनुभुति पुस्तकभरि छरिएका छन् । कृति ��"पन्यासिक शैलीमा बगेकोछ । जसले गर्दा पाठकलाई पढिरहन जिज्ञासु बनाउँछ र थप कुरा जान्न प्रेरित गराँउछ । घटना र परिस्थितिलाई मीठो शैलीमा प्स्तुत गर्न खप्पिस छन् लेखक । कृतिको कथानक भन्नु गोर्खाली लाहुरेहरूले भोग्नु पर्ने र भोगेका समय, सन्दर्भ, मनोविज्ञान, देश, परिस्थिति र परिवेशको नालीबेली हो । एउटा सेना युद्धमा निस्कदै गर्दा र युद्धमा हुँदा उसभित्र गुज्रने भयानक अन्तरद्धन्दको उजागर गरिएकोछ । वाध्यात्मक युद्धमा बलीको बोको भई होमीनु पर्दाको तित्तता, त्यस बिचमा आउने परिवार र आफन्त अनि गाँउघरको सम्झनाबीच बाँचीने समवेदना र  जीवनबोध जस्ता अनेक पक्षहरू त्रासदी एबं सम्वेदनशील बनेर पाठकको मनमा छाइरहन्छ ।

 

अन्तमा

          मैले गणेश राईको यो पछिल्लो कृतिको बारेमा लेख्नुपर्ने धेरै छुटाएँ होला । पुस्तकमा उल्लेख भएका यस्ता धेरै कुराहरू छन् जसलाई वर्णन गर्न सानो लेखमा संभव छैन । यो कृतिलाई सैन्य साहित्यको उत्कृष्ट थप कृतिको रुपमा मान्नु पर्दछ । र पाठकहरूले एकपटक यो कृति पनि पढ्नै पर्ने हुन्छ । पुस्तकमा कमी कमजोरी मैले केही देखिनँ । लेखकले आफ्नो लेखकीय इमान्दारी देखाएकै छन् । जुन बिषय वस्तुमा कृति तयार भएकोछ त्यसैको पृष्ठभूमीमा पुस्तक सकिएकोछ ।

          कवि अगमसिंह गिरीले कतै लेखेका थिए रे "तिम्रो उत्सर्ग थियो उद्देश्य थिएन" । अर्काको युद्ध गरेर वीरगति प्राप्त गर्ने तर आफू भने घर न घाटका हुने यिनै गोर्खाली नेपालीलाई सम्झेर कविले त्यो लेखे होलान् । धन्य हाम्रा गोर्खाली लाहुरेहरू ।

          सैंतालीस गुरुजीलाई अन्तमा एउटा छड्के सलाम् ।