एक पक्ष निदाउँदा

Author : रामकृष्ण सुनुवार 'आँकाला'
Published on : January 28, 2010


  
रामकृष्ण सुनुवार 'आँकाला'

स्वप्नमा आकाशको अर्ध चन्द्रमा

ग्वार्लम्मै धर्तीतिर घुँईकिँदा

चुक घोप्टिए झैं अँधेरी रातले

मस्त निद्रामा आलिङ्गन गर्यो

मलाई ऐंठन परेछ क्यारे !

एक्कासी म भौंतारिएर बकबकाउन थालेछु ।

 

पानी उस्तै हुन्छ महासागरहरुको

लोभी मान्छेले सिमाना लगाउँदछ

अंशबण्डा गर्दछ धर्ती माताको

अलिकति फाल्टै भाषा, भेषभूषाको

अनेकौं नियम कानून बनाउँदछ

यो र यत्ति मेरो हो

गर्वकासाथ अधिकार जमाउँछ  (अहंकार)

 

लक्ष्मण रेखा पार गरेर कोही घुसे भने

नानाथरीको लाञ्छाना लगाउँदछ

तँ गरीब शक्तिविहिन देशको मान्छे

सामर्थ्य छ टिक्न यहाँ ?

धम्की बर्साउँछ, नानाथरी गरी तर्साउँछ

म अवाक छु, तमासा हेरि रहेछु ।

 

पंक्तिमा उभिएका दुई सय वर्षदेखि घाँटी दबाइएका

जे भने पनि हुन्छ हजुरको मूलमन्त्र सिकाइएका

अति सोझा मामाहरुको उस्तै व्यथा देख्दछु

अर्कातिर अति आधुनिक ठहरिएका

विदेश त स्वर्ग भन्ठानेर

शिक्षा र पेशाको लालच बोकेर

गाँस, बास, कपास विहिन

कमण्डलु बोक्न बाध्य बनाइएका

भाञ्जाहरुको व्यथा सुन्दछु

समय र परिस्थिति मात्र फरक

उही मान्छे, उही व्यथा, उही दुर्दशा ।

 

कुर्सीको अभिलाषा बोक्ने च्याउ नेताहरु

अल्लाहको दाह्रीमा अल्झिएर

गुरु नानकको फेटाभित्र निसास्सिएका जुम्राहरु झैं

चहल पहल सल्बलाएको देख्दछु

मात्र सुक्ष्म सुरुङ्गे दृष्टि लिएर ।

 

संसार एउटै भए देखि

किन हकाधिकार समान रहन्न

सिमाना लगाई छेकथुन गरिनु हुन्न

उही माटोमा जन्मिएर

स्वतन्त्रताका साथ धर्ती टेक्न पाउनु पर्छ

जल सेवन गर्न पाउनु पर्छ

राहादानीमा  सिमित रेखाङ्कन तोकिनु हुन्न

व्यक्ति व्यक्ति बिच भेदभाव गरिनु हुन्न

बौद्धिक तथा भौतिक उपभोग्यहरुको

फरक फरक बातावरण सृजना गरिनु हुन्न ।

 

चन्द्रमा जुरुक्क उठिन भद्र मुस्कुराहटमा

हरे ! म त एक पक्ष नै निदाएछु क्यार !

पूर्णिमाको चहचह उज्यालो

शितल, कोमल हातले सुमसुमाई रहेकी

मामाहरुको मुस्कुराई

उच्च अदालतले

समान अधिकारको फैसला सुनाएछ क्यारे ।

भाञ्जाहरु अति व्यस्त

गाँस, बास, कपासको टुङ्गो लागेछ क्यारे !

आहा ! सगरमाथाको चुचुरो

टलटल टल्कि रहेको

संसार एक भेदभाव रहित भएछ क्यारे !

अट्टाहासपूर्ण खित्काले स्वप्न भङ्ग हुन्छ

धत्तेरीका ! एक पक्ष नै निदाईएछ ।