सबथोक भएँ

Author : Khagendra Pandhak
Published on : January 13, 2010


  
Khagendra Pandhak

खहरेको डिलमा बसेर...

मेरो मुटु टुक्रिने गरी
आमा हथ्यौडाले गिट्टी कुटथिन

जनबादी गीत गाएर ताली बटुल्थें
उज्यालो नहुदै चारकोसे झाडीबाट
बुबाले दाउराको भारी ल्याएर
धरान बजार डुलाउनु हुन्थ्यो

भानु चोकमा उभिएर
देश हाँक्ने भाषण गर्थें
बहिनीले पराई घरमा भाँडा माझ्थिन

चुनाब-प्रचारमा
सडक-गल्लीका भित्ता कोरी भ्याउथें
घरको चिसो अगेनु भूलेर
तातो-तातो कविता वाचन गर्थें
मैलो पत्लुंग धुने फूर्सद थिएन

सडक नाटक गर्थें,
स्कूल-कलेज बन्द गर्थें
बा-आमाले मायाले सांचिदिएको
बासी-भात दन्क्याएर
चप्पल र जुत्ता फटाउँदै
उकालो-��"रालो दौडिदै
साँस्कृतिक कार्यक्रममा झ्याउरे नाच्थें
शुद्ध नाम लेख्न नजान्दै
ब्यस्त पत्रकार नि भएँ
पंचायतको खोरबाट निस्केका
हामी भेडाहरूको ठूलो बथान थियो
त्यो धरान नगरी थियो
म त्यहीं थिएँ
त्यसैले त -

सब थोक भएँ....