कविताको फौदारी

Author : Upendra Subba
Published on : January 13, 2010


  
Upendra Subba

मान्छे खतरनाक नभए पनि

ती अग्लाइएका पर्खालहरू

नभत्काइकन स्वात्तः आफै होचिदैनन्

 

अब, यहाँ कविताको फौदारी चल्दछ

 

हरेक पर्खाल,

असुरक्षित समयले उमार्छ

त्रास-सन्त्रास बुनेर पर्खाल उभिन्छ

, अनिष्ट भयमा पर्खाल बाँच्दछ

 

म यसो भनेर पनि भान्दिनँ

तिमी यसो भानेर पनि नमान

तब,

जाति सक्छौ उमार ग्रेटवाल तिमीभित्र

तिम्रो मनलाई कविता तुवाउँछु

 

तिमी,

आफूलाई धर्मले बार या

मन्त्र, ऋचा, शब्द, वाणी, अक्षरहरूले घेर

तै, तिमी कविताबाट सुरक्षित छैनौ

हुनेछैनौ अनन्तकालसम्म

चाहे भाग

काशी तरी भाग

मेरो टेवैबाट भाग

 

तिमी तिमीभन्दा टाढा पुगे पनि

तिमी तिमीछोडी अन्त कतै लुके पनि

तिम्रो मनलाई कविता छुवाउँछु

 

जात

धर्म

वर्ग

वर्ण

जे-जस्तो जोडेर गाह्रो अग्लाए पनि

कविताको सर्वोच्चता आँक्न सक्दैनौ

तिमी राजा

देउताभन्दा पनि ठूलो

अरु कोही नै भए पनि

कविताभन्दा प....र कालजयी हुन सक्दैनौ

अब, हार स्वीकारेर

ती तिम्रा अघिपछि

अहम्ले ठडिएका पर्खालहरू

स्वयम्ले भत्काएर

तिमी

कविता सामु आत्मसमर्पण गर

,

तिम्रो मनलाई कविता छुवाउँछु

 

ती तिम्रा मस्तिष्कनेर

हुर्केका झ्याँगिएका हात्तीबारहरू

तिम्रो मुटुभरि उमारेका घँगारु-काँडाहरू

सप्पै सप्पै मासे हुन्छ

किनभने,

कविताभन्दा कदापि मान्छे खतरनाक हुँदैन

 

मान्छे खतरनाक नभए पनि

ती अग्लाएका पखौलहरू

नभत्काइकन स्वात्तः आफै होचिदैनन् ।