मृत्यु…………….

Author : दिलिप योन्जन
Published on : January 07, 2010


  
दिलिप योन्जन

मस्त जवानीमा

सात समुन्द्रपारी

कल्पनामा डुब्दै

यातनामा जल्दै

सम्झनामा रुँदै

एकान्तमा भुल्दै

रुन्चे हाँसो हाँसेर

मान्छेहरूको भिडमा

ज्यानको बाजि लगाएर

युद्घको तयारीमा

मेसिनगन पड्काएर

नाङ्गो खुकुरीको भरमा

बहादुर हुन्छौ……………?

 

सीमारेखा पारिको देशमा

चुप चाप कति बस्ने

हामी गधा होइनौं

जति भारी बोकाए पनि हुने

जमिन्दारको जग्गा हैन

ठेक्का र अधियाँमा लाग्ने

किनबेच हुने

सिठीको भरमा होमिनु पर्ने

बीर गोर्खाली बनी

बीरता बेच्नु पर्ने

रुँन्छ यो आत्मा रुँन्छ,

 

पाखा पखेराले सोध्छ

बनपाखा सुसाउँछ

चाड पर्बले खोज्छ

दियो रुँदै पिलपिल जलिरहन्छ

सयपत्री र गोदावरीको माला उनेर

दिदी बहिनी बाटो हेरिरहन्छन्,

 

तर तिमी हातमा मेसिङन बोकेर

कम्मरमा खुकुरी भिरेर

कुन साहेब वा सिमाना

मृत्युबाट डराई डराई

कहालि लाग्दो ठाउँमा

खाई नखाई खुल्ला आकाश मुनि

सुनसान सुनसान सडकमा

त्रसित मुद्रामा

न रात न दिन

छुट्टी र हाजिरीमा

मस्त जवानी बित्छ,

 

कहाँ कुन बेला मृत्यु

बम बिच्छ्याएका डोबहरूमा

नाङ्गो खुकुरी टल्काएर

आत्मा नमानी नमानी

रगत सहितको खुकुरी

बिरानो माटोको लागि

मृत्युको पीडाले छटपटिई

मुखभरि रगत च्यापी

सम्झनामा दुई थोपा आँसु

बेदनामा डुबेर

बालुवा र पखेरामा लड्दै

रितो हातसँगै

खोक्रो तक्मा थापेर

फर्किने त फर्किए

नफर्किने हराए,

 

सुनसान बगर अनि सहरमा

चुपचाप उभिरहेछ

आश्चर्य मान्दै प्रस्न गर्छ

बहादुरी के को लागी……………?

मर्नु के को लागी……………?

कुन माटोको लागी……………?

कुन अधिकारको लागी……………?

 

सडक रक्ताम्य छ

आफ्नै खुकुरी र गोलीले

रगत जताततै बग्दै छ

पाइला राख्ने ठाँउ छैन

रुँदैछ कराउदैछ

बाँच्ने आसा लिएर

के थाहा लडाकुहरूलाई……………?

यो कस्को रगत हो……………?

किन जिवन बलि चढाउँदैछन……………?

कस्को माटोको लागी……………?

न त रगतको महत्व छ

न त माटो नै रङिएको छ

न त खोसिएको अधिकार फिर्ता हुने हो

न त हाम्रो झन्डा नै फहरिएको छ

न त समानता र स्वतन्त्र नै छ

न त माटोमा समान हक अधिकार नै छ

त्यहाँ त मान्छेहरूको

केवल मृत्यु मात्र हुन्छ।