घृणा गरेको बिरुवा

Author : बिष्णुनन्द चाम्लिङ
Published on : December 23, 2009


  
बिष्णुनन्द चाम्लिङ

नहुँदा उर्बरा तिम्रो फूलबारीमा

खन्ने इसारा दियौ

तेसैले

तिम्रो फूलबारी मैले सुम्सुमाएँ

न मल

न जल

न स्याहार डङ्ग लडेको तिम्रो त्यो जमिन

लाग्थ्यौ बर्षे भेल बगेको बगर जस्तै

न बालुवा छ

न माटो छ

न चिस्यान

गिङ्गग्रीङ्ग साना देखि ठूल्ठुला ढुङ्गाहरु मात्र

मानौ मात्र बगर

उजाड हुनुको त्यो कथा

बगर हुनुको त्यो ब्याथा

सुनायौ मरुभुमि हुनुको त्यो पीडा

मलाई टिठ लागेर आयो

तेसैले

तिम्रो फूलबारि जोतेँ मैले,

 

सिँचे पसिनाहरुले

बनाएँ उर्बरा ब्याड मेरा पाखुरीहरुले

मेरो परिश्रम र तिम्रो मोह बीच नाता गाडा बन्यो

बिश्वाश र माया मौलाउदै जाँदा

छरेँ बिजन ब्याडेमा

उम्रियो राम्रो बेर्ना

बढ्दै थियो हाम्रो बिश्वाश र मायाको एउटा बिरुवा

सुनायौ उजाड हुनुको त्यो पीडा

बिछट्टै माया लागेर आयो

तेसैले

तिम्रो फूलबारी सजाएँ मैले,

 

आखिर

घृणा गरेउ मलाई र हुर्किरहेको त्यो बिरुवालाई

दिन्न भनेउ तिम्रो जमिन 

बिर्सेउ हिजोको त्यो मरुभुमि

त्यो उजाड हुँदाको पिडाहरु

भोलि

तिम्रो बगैंचा फेरि त्यहि मरुभुमि हुनेछ

फेरि त्यहि बगर हुँदै छ

तिमीसँग मात्र त्यो जमिन

अनि

मात्र घमण्ड छ

फेरि खेताला खोज्नु पर्नेछ उकेरा लगाउन

अनि

बिरुवा उमारि फूल फुलाउन

तिम्रो खेताला

मात्र खेल्ने छन् तिम्रो फूलबारि भरि

मात्र खेल मैदान बनाइ दिने छन् तिम्रो जमिन

कहिलै सुकोमल फूल फुलाइ दिने छैनन् तिम्रो फूलबारिमा

सुनायौ बगर हुनुको त्यो ब्याथा

तसैले

तिम्रो फूलबारिमा उकेरा लगाएँ थेँ मैले,

 

तिमीले जितेनौ जमिन नदिएर

किनकि तिम्रो बगैंचा मरुभूमि बन्दैछ

फेरि बगर हुँदैछ

म हारिनँ तिम्ले जमिन नदिएर

म सधैँ हराभरा रहने छु

किन कि मसँग तिमीले घृणा गरेको बिरुवा छ  

त्यो एक दिन फुल्ने छ ।