गजल

Author : अशोक राई
Published on : December 23, 2009


  
अशोक राई

गजल १

 

हातमा प्याला थमाएर लेखेँ

तिम्रो फोटो समाएर लेखेँ

उकुस मुकुस भयो अनि पिएँ अलिकति

शब्द आँसु खसाएर लेखेँ

हेर्दै थिएँ तस्विरमा मुस्कुरायौ तिमी

भित्र भित्रै रमाएर लेखेँ

टुक्रीएको सपनीमा तिमीलाई देखेँ

अनि तिम्रो संझनाले सताएर लेखेँ

अटाएनन् सबै कुरा फगत एउटा चीठ्ठीमा

कति कुरा त चपाएर लेखेँ ।

 

गजल २

 

समयको मोड्मा फेरी तिम्रो याद आयो

जिन्दगीको दौड्मा फेरी तिम्रो याद आयो

तिमीलाई बिर्सौं भनी यति टाढा आएँ

नसकेर बिछोडमा फेरी तिम्रो याद आयो

तिम्ले मलाई पछ्यायौ की मैले तिमीलाई

यस्तै यस्तै होड्मा फेरी तिम्रो याद आयो

अतीतका यादहरुले दुखाई रन्छ' छाती

भावनाको जोडमा फेरी तिम्रो याद आयो

लम्कदो'छु छितीज तिर यात्रा जिन्दगीको

घुम्तीहरुको कोणमा फेरी तिम्रो याद आयो ।

 

गजल ३

 

तिमी यस्तो पहिले थियौ नै कहाँ र

प्रेमरस पिलायौ केवल पियौ नै कहाँ र

भित्र भित्रै म मात्रै जली रहेँ एक्लै

म भएर तिमीले जियौ नै कहाँ र

तिम्रा लागि महत्वहीन भएँ उसबेला

बे'भाउको मेरो वास्ता लियौ नै कहाँ र

म भत्कीएर पनि सम्हालीएँ मुस्कीलले

त्यो फाटेको मनलाई सियौ नै कहाँ र

गल्ती मेरो नै थियो भन्छौ अझै मलाई

मनको कुरा भन्ने मौका दियौ नै कहाँ र ।

 

गजल ४

 

यतापनि उता पनि चलाउने तिम्रो निती

दियो चाही अर्कैको जलाउने तिम्रो निती

यसो माया देखाएर जंघार तरि जाने

मलाइ चाही भित्र भित्रै खल्बलाउने तिम्रो निती

आशाहरु देखाएर किन पार्यौ दोधारैमा ?

हुन्छ हुन्छ भन्दै अलमलाउने तिम्रो निती

कहिले तिमी जमीन टेक्छौ कहिले समुन्द्रमा

दुइ दुइ वटा नाउँमा खुट्टा लाउने तिम्रो निती ।

 

गजल ५

 

मेरो पनि तिम्रो दिलमा ठाँउ होस अलिकति

'अशोक' भनी संझनलाई नाउँ होस अलिकति

संझीरहनु पर्ने त को हुँ र म हजूरको

म चाहन्छु मेरो पनि भाउ होस अलिकति

टेकी हेर कहिलेकाही मेरा यी गल्लीहरु

दुःखीको गोरेटोमा त्यो पाउ होस अलीकति

जिन्दगीमा धेरै चोट खाइसके पछि

केही छैन तिम्रो नामको घाउ होस अलिकति ।

 

गजल ६

 

तिम्रो निम्ति सिंगै शहर बोकी आँए

नपाएर अमृत मैलै जहर बोकी आँए

डगमगाउँछ सागर चल्छ ज्वारभाटा

किनारालाई छाडी लहर बोकी आँए

छाडी राखेँ कथा सबै केवल ल्याएँ मन

आफूसित अलिकति कहर बोकी आँए

भेटे जति प्रवासमा खोजी गरेँ सबको

खाडीबाट डोल्माको खबर बोकी आँए ।