उत्तरआधुनिक विमर्शमा डायस्पोरा साहित्यको मन्थन

Author : केदार 'संकेत'
Published on : December 15, 2009


  
केदार 'संकेत'

वास्तवमा इतिहासमा उत्तरआधुनिक साहित्यिक आगमनको थालनी कुनै पनि लेखक तथा साहित्यकारले आधिकारिक रुपमा ठयाक्कै प्रस्टाएको छैनन् ।यद्यपि आधुनिकवादको बल्दो-चल्दो समय १९१०-१९३० भित्र नयाँ परिवर्तन आएको विज्ञहरूको तर्क छ ।

विषेश गरेर कला तथा साहित्य क्षेत्रमा यो घुलिन गयो अनि तेसैताकादेखि उत्तरआधुनिकतावादको  ध्यानाकर्षण समाजशास्त्रमा मात्र नभैकन जस्तैः मनोविज्ञान, इतिहास, राजनीतिशास्त्र, मानव-उत्पत्तिशास्त्र, आर्किटेक्ट, विज्ञान, कला, दर्शन र सङ्गीत आ-आफ्नो विधाहरूतर्फ सैद्धान्तिकरुपले एकाएक विश्वव्यापीरुपमा परिवर्तन ल्याए ।खासगरेर पश्चिमी मुलुकहरूबाट १९६० का दशकतिर साहित्यको फाँटमा इहाव हसन, फाँङ्क कर्मिड, हृयारि लेभिनजस्ता नामचलेको व्यक्ति पाउँछौ ।तेसैताकादेखि कुनै योजना बिना एकाएक आफै प्रस्फुटित भएर कलमका मसिमा मिसिन पुग्यो जहाँ भ्रमात्मक वस्तुहरूको अन्य र भाषामा विषमता बोकेर क्लिस्टभावनामा एउटा पूर्ण मार्गदर्शनतिर जाने अभिभारा लिएर अनवरत रुपमा तक्किरह्यो।यसलाई हरेक क्षेत्रका प्राविधिक उपकरणले पनि प्रत्यक्ष्य-अप्रत्यक्ष्य रुपमा प्रभावित पारिरहेको हुन्छ ।तेसैले साहित्य विज्ञानबाट अछुत रहन सक्दैन।सरल भाषामा मैले बुझेको कुरो भन्नुपर्दा "पुराना घरको रंङ्ग उप्किएर जाँदा नयाँ रङ्गले पोत्नु हो, जहाँ नयाँ चमक आउँदछ"।यो उत्तरआधुनिवादले पनि वर्तमानलाई बेजोडले प्रस्तुत गर्दछ ।तर, विगत बिर्सन्न र भोलिको आशाहरूलाई खोतलेर विमर्शगर्ने अपेक्षा राख्दँछ।उत्तरआधुनिकवादलाई स्टेनली फिजजस्ता विचारहरूले वामसाँस्कृतिक सिद्धान्त तर्फ ढलेको ठान्छन् भने फेडरिक जेम्सनजस्ता विचारकहरू यसलाई उत्तरवर्ति पूजीवादको साँस्कृतिक तर्क मान्छन् ।

हामी अगाडि बगेको नदि ठूलो देख्दछौं तर त्यसको मुहान खोज्दै जाँदा झन आकार घट्दै सानो हुँदै गएको पाउँदछौ, किनकि नदि थुप्रै स-साना खोलाहरू र भाङ्गालाहरू मिलेर बनेको हुन्छ ।त्यस्तै, कुनैपनि कुराहरूको अनुसन्धान गर्दा सबैथोक एकै ठाँउमा पाइन्नन् । आफ्नै घरमा भएको चिज-बिज त पाइन्नन् भने झन अर्काको घरमा भएका कुराहरूलाई खोतलेर-निकालेर विश्लेषण गर्नु भनेको चानचुने कुरा होइन ।तर यहाँ डा. गोबिन्दराज भट्टराईद्वरा लिखित उत्तरआधुनिकतावाद -postmodernism_ विमर्शमा डायस्पोरा अर्थात आप्रवासी साहित्यकारहरूलाई खोतलेर उत्खनन् गरेका छन् नेपालको साहित्यिक इतिहासमा यस्तोखाले खोजमुलक कार्यको न्वारन गर्नेमा उहाँनै पहिलो समालोचक तथा साहित्यकार हुनुहुन्छ ।त्यो ताका आफ्नो लेख आफै मात्र अर्थात मन गढन्ते साथीहरू माझ बेला बेला टीकाटिप्पणी गरिन्थ्यो ।यिनीहरू पढेकै हुदैनन् के साहित्यमा बगबास छाँटेका होलान भनेर ओठ लोप्य्राउथे माथिमा हाकिमहरूले ।कत्तिले त पदोन्नतीका गहन भार सम्हाल्ने क्षमता वा दक्ष भएतापनि बेलैमा अवकाश पठाइन्थ्यो ।आजभोली (उहाँहरू वेल्स र मिडल्याण्ड) तिर हुनुहुन्छ ।गायकहरूलाई गीतारका माला लगाइन्थ्यो (उहाँ हाल फोक्सटोनका मेयर हुनुहुन्छ) । हाम्रा रचना भनेको पर्वते पत्रिका र गोर्खा रेडियो बीएफबीएसमा आइतबार प्रसारित गरिन्थ्यो । ती प्रसारित कवितामा वियोगका निश्चल चोखो मायाहरू र विदेशि भूमिमा विभिन्न रंगहरूले पोतिएका वास्तविक यथार्थताले  गाँथिएका हुन्थे । आजभोली निक्कै हेरफेर आएपनि कत्तिले त पदोन्नतीका कारण कलमका निवहरू दोबारेका छन् ।

जम्मा ६७५ पेजरहेको उत्त उत्तरआधुनिक विमर्शमा देशी-विदेशी गरेर जम्मा जम्मी ६९४ जना लेखक तथा ६५० वटा पुस्तककहरूको नाम समावेश गरिएको छ भने ११७-१९८ अर्थात जम्मा ८१ वटा पेजमा डायस्पोरा साहित्यको मन्थन गरिएको छ । अरु पानाहरूलाई छोडेर आज हो म तिनै मन्थनको अति छोटो गन्थन गर्ने जमर्को गर्दैछु ।

ग्रीक भाषाबाट आएको डायस्पोराको शब्दार्थ हुन आउछ विभिन्न कारणले आफ्नो देश छोडेर अन्य मुलुकमा बसोबास गर्ने समुदाय । आज हामी विभिन्न कारणले डायस्पोरी भएका छौं ।तर पनि आफ्नो मातृभाषा र साहित्यलाई विदेशमा रहेर पनि अनवरत तवरले सृर्जना गर्नु एउटा छुट्टै पाटो हो नेपाली साहित्य फाँटमा । जहाँ आज आएर एउटा चासोको विषय बन्न पुगेको छ ।उक्त चासोलाई नासोको रुपमा लिएर नेपाल भित्रै भित्र्याउने शुभकर्म गरेका छन् डा. भट्टराईले । अब तिनकै छोटा-मीठा कुरा गरौ सरसर्ती ।

यात्रा/निबन्ध/नियात्रा

जम्मा ४५ वटा यात्रा निबन्धहरूमा लेखकका कृतिको सूची र नामावली समावेश गरिएकोले छ । प्रायः जसो सबैका मन राख्ने तवरले हल्का समिक्षा गरिएता पनि नियात्रा तर्फ विश्वाशदीप तिगेला र ध्रुवचन्द्र गौतमको क्रमशः देश बोक्नुको पीडा र जर्मनी नयाँ आँगनमा पाइला टेक्दालाई विशेष प्राथमिकता दिनखोजिएको देखिन्छ । दुई-चार दिन विदेश भ्रमण गरि फर्किदा लेखिएका केही कृतिहरूलाई पनि आप्रवासी साहित्यको कित्तामा राख्दा आम पाठकहहरूप्रति न्याय दिन नसकेको हो कि भन्ने भान पर्छ । बिष्णु बहादुर सिंहको तीस पाइला, बुलु मुकारुङको बाइस जाघार, ईश्वर मानन्धरको लन्डनदेखि बद्रीकेदारसम्म यसका केही नमुनाहरू हुन । बरु मुगलानमा रहेका साहित्यकारका लेख र पाहुना भएर कलम चलाएर नेपालभित्र घुस्स्याइएका लेखकहरूको बेग्लै शिर्षकमा समावेश गरिएको भए उहाँको विद्वत्तामा अरु प्रचुरता थपिन्थ्यो ।

 

कविता संग्रह

२३ वटा वाहेक अरु विविध प्रकाशोन्मुख कृतीहरूलाई पनि समावेश गरेर एउटा कौतुहलता थपिएको छ ।बेलायत, अमेरीका हङकङ लगायत अन्य बिभिन्न मुलुकहरूको पायः सबै कवि कवयित्रीका नामावली र कृतीको सुहाउँदो समिक्षा समेत गरिएको यो बृहत आप्रवासी साहित्य भित्रका विभिन्न माध्यमबाट समावेश गरिएको एउटा लघु-समीक्षाले सबैको मनमा शितलता दिन्छनै । 

होमनाथ सुवेदीको सात समुन्द्रपारका नेपाली पद्य पुस्तकको इतिहासमा १७ वटा किताबको छोटो परिचय, सीमाहीन विम्बहरू, हङकङमा कविता र सेतु, मध्ये सीमाहीन विम्बहरूको प्रायः सबै कविका कवितांशहरू उद्घृत गरिएका छन् । तर कवि रक्ष राईको देश दुःखेको छ  (२०५६) दयाकृष्ण राईको लाहुरेको कथा जापानको बेथा र भूपू क्यप्टेन तीलक बहादुर सुनुवारले (१९८३) ताका हङकङमा लेखेको केही कविता केही सुनुवारी भाषाका गीतलाई (सम्भवतः प्रथम डायास्पोरिक लघुकाव्य) लाई बेजोडले बिर्सिदा नमिठो लाग्छ ।

 

उपन्यास र पत्र-पत्रिका

यहाँ होमनाथ सुवेदीको यमपुरीको महललाई प्रथम डायास्पोरिक उपन्यास मानिएको छ । हुनपनि यसका कथा वस्तुको सारांश पढ्दा यिनै कुराको रस्वास्वादन लिन सकिन्छ । यी बाहेक बिभिन्न मुलुकमा प्रकाशित पत्र पत्रिकाहरूको सम्पादकहरूका परिचय र यसबाट नेपाली साहित्यमा पर्नगएको टेवाको बारेमा पनि अति सूक्ष्मताकासाथ प्रस्तुत गरिएको छ ।त्यसो त साहित्यिक संस्थाहरूको जन्म दिँदै बिचैमा बेवारिसे लास बनाउने सर्जकहरू प्रति दुखेसाहरू पोखेका छन् उनीले ।

 

साराशं

यसरी नेपाली वाङ्मयमा बेजोडले नेपालबाहिरका साहित्य र त्यसमा लागी पर्ने स्रष्टाहरूको खोजिनीति डा. गोबिन्दराज भट्टराईले जस्तै पटुकिले कम्मर कसेर केही दशक अगाडि नै अरु कसै-कसैले कहि-कतै खोतली दिएको भए आजको भन्दा अरुधेरै नौला-नौला लोभ लाग्दा कोशेलीहरूको जन्म दिदैनन् थिए भन्न निक्कै गाह्रो पथ्र्योहोला ।अझै पनि समिक्षकको धरालतमा बाक्लै चिल्ला शब्दहरूले मात्र कुँदेर लेख्नाले भोली पर्नआउने असर त छँदै छनै तर पनि भोलीका दिनहरूमा अरु गहकिला साहित्यको अपेच्छा भने गर्न सकिन्छ ।

अन्तमा, नेपाली साहित्यमा नयाँ भविष्य हेर्न चाहनेले, बुझ्न चाहनेले, लेख्न चाहनेले र सोच्न चाहनेले यो उत्तरआधुनिक विमर्श (डा.ध्रुवचन्द्र गौतमकै शब्दमा एउटा अद्भुत कृती) एकचोटि सर्सर्ती पढ्नाले आप्रवासी साहित्यिकहरूमा मनग्य टेवा मिल्न सक्छ ।