सिपाहीको सपना

Author : रामकृष्ण सुनुवार 'आँकाला'
Published on : December 08, 2009


  
रामकृष्ण सुनुवार 'आँकाला'

          उसलाई विश्वास नै भएन सिपाहीमा सफलतापूर्वक नाम दर्ता भएकोमा । मात्र सम्झना छ, चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसेपछि सिपाहीहरूको जत्थाले हुलका हुल नवजवानहरू, उस्तै उस्तै उमेरकाहरूलाई विभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन, कुनै पनि कुराको जानकारी ठप्प छ ।

          कहिले तीनकुनेबाट फोक्सो फुलाउँदै घोडा झै दौडिरहेको बेला नाक, मुख, कान, आँखा तथा चर्मका हरेक प्वालहरूबाट श्वास-प्रश्वास भै रहेको भान हुन्थ्यो । वर्षातको झरीले मूल फूटाए झै हुन्थ्यो शरीरभरी । चौतारी परेड, भोलीपल्ट बिहानै जो जसले तोकिएको समयमा दुरी पार गर्न सक्तैनन् , केही खर्च हात लगाएर ए.आर.ओ. (एरिया रेक्रुटिङ्ग अफिसर) हरूले संझाउँदै, क्याम्पको मूलद्वार कटाई दिने ।  बचेका, सफल जवानहरूको लागि अर्कै कार्यक्रमको तय गरिएको हुन्थ्यो ।  कहिले शैक्षिक योग्यताको परीक्षा, कहिले शाररिक सुगठन, दौड, खेलकुद, अप्स्ट्याकल पार गर्नु पर्ने, झुण्डिने-उफ्रिने, अनेकानेक अन्तरवार्ता सबै थोक सकिए पछि ठूलो जिम्नाजियम हलभित्र सबैलाई जम्मा पारेर नाम पुकार्ने क्रम । जो जसको नाम अगाडि मञ्चबाट डि.आर.ओ. (डिपोट रेक्रुटिङ्ग अफिसर) ले पुकार्दछ, आफ्नो पोका पत्यौरा बोकेर बाहिरिनु पर्ने अन्यौलको क्षण ।

          ऊ गतसाल पनि  यसै क्रममा हाजिर भएको थियो ।  जिम्नाजियम हलभित्र बाँकी रहेका अल्पसंख्य भित्र परेको थियो ऊ ।  हातमा पाँच सय रुपैंयाँ थमाएर फुस्लाउँदै अर्को साल अवश्य सफलता हात पर्ने आश्वासन दिएपछि सिनेमा हलभित्र हिन्दी चलचित्र हेरेर मन बहलाएको थियो उसले । जीवनमा फौजी कहिल्यै नहुने बाचा, कसम खाने उसको ऊ उक्सिएको थियो गजबले, आफ्नै कलेजका साथीहरू र अन्य लाहुरे बन्न कम्मर कसेका दौतरीहरूबाट ।

उन्नाईसौं नम्बरमा क्रमबद्ध रुपले नाम पुकारिएको उसले केही बुझ्नै सकेन । मूलद्वारबाट बाहिर निस्कनु पर्ने हो कि होईन पत्तै भएन । केहीबेर मै लामा यौवनात्मक कपाल हजाम घरमा टुक्रिन्दा र हरिया खाकीका लत्ता, कपडा, झोला निकाल्न क्वाटर माष्टरको स्टोर अगाडि लाईनमा उभिदा झस्कन्छ ऊ । यो स्वप्न हो कि बिपना ? एकक्षण अघिसम्म तपाईं, हजुर भन्दै बोल्ने गुरुजी भनाउँदो एक्कासी गर्जन्छ । "अब तँहरू बल्ल फेलामा परिस् !" एक दुई शुद्व गर्दै सबै जना यसै भन्न थाल्दछन् । कस्तो फेलामा परिने हो ? सायद सबै जवानहरूको मनमा यस्तै कुरा खेलि रहेको हुँदो हो ।

          बिहान शाररिक सुगठन-ब्यायाम, दिउँसो कवाज टन्टलापुर घाममा, बेलुकीपख खेलकुद, खाना खाई सकेपछि नाचगानमा सहभागी हुनै पर्ने बाध्यता । जो जसले आदेशको पालना गर्न असमर्थ हुन्छन्, सजायको भागिदार हुनु नै पर्ने ।  उसले दौंतेरीहरूसँग जोड-जोडले गीत गाउँदा स्फुर्तिकासाथ बुर्लुक्क बुर्लुक्क उफ्रन्दै नाच्ने जवानहरूको कमि पनि थिएन । सायद सबैलाई उस्तै उमङ्ग जागेको हुँदो हो भर्ती लागेकेामा । केही उमङ्ग अनि न्यास्रोपनाको मन बोकेर जेलिएको छ सिपाहीको जिन्दगीभित्र ऊ । 

          धरान-काठमाडौंका रमझम सकिएर काईतक (हङकङ) बिमानस्थल पुगुञ्जेल सुनाईएको छ सबै जनालाई "जुङ्गाको मुठ्ठा बाँधेर पर्खिएका छन् तिमीहरूलाई गुरुजीहरूले ।" काउलुन शहरका गगनचुम्बी भवनहरूले हङकङ टापुका डाँडाहरूलाई सहजै उछिनेको प्रष्टिन्थ्यो । एकै प्रकारका कर्मचारीहरू देखिन्थे बिमानस्थलमा । नाक, कान, घाँटी, कद सबै उस्तैउस्तै । भाषा एउटै जस्तो, रङ्ग उस्तै देखिने, काला-गोरा, अग्ला-होचा, नदेखिने ती क्यान्टोनिज जातीय हङकङका । बिजुली बत्तिको झिलिमिलि, जमिनभित्रको सुरुङ्गे सडक हुँदै गाडी घ्याच्च रोकिन्छ मलाया लाईन्सको छाउनीभित्र । फेरी लाम लगाएर नाम पुकारिने क्रम जारी, -आफ्नो जत्थामा जम्मा भई तालिम सुरु हुँदासम्म जुङ्गामुठ्ठे जुङ्गामा ताउ लगाउँदै कोही झुल्कँदैनन् अघिल्तिर ।

          छ महिने तालिम प्रथम पटक सुरुआत गरिएको त्यो रेक्रुट तालिमभरी नाना प्रकारका कार्यहरू हुन्छन्, गुरुजीहरू देखिन्छन्, तर जुङ्गामा ताउ लगाउँदै कोही उपस्थित हुँदैन । शैक्षिक योग्यताको थोर बहुत कदर गर्दै प्रशिक्षण दिने शाखाको प्रबन्ध भए पनि बिहानको झिसमिसेदेखि मध्य रातसम्मको दैनिक क्रियाकलापले थकित बनाउँदथ्यो उसलाई । उसले विद्यालय-कलेजमा अध्ययन गरेको ति विज्ञानका मूलशब्द र गणितका फर्मूलाहरू गुरुजीहरूद्वारा उदृत अश्लिल शब्दहरूसँगै घोलिएर साधरण जोड घटाऊमा झरेको प्रत्यक्षदर्शी आफैमात्र थियो ऊ ।

          पहाड, जङ्गल-झाडी, खोलानाला, बाटो, गोरेटो-घोरेटो, गाउँ-शहर आदि-ईत्यादि नक्सामा अध्ययन गर्नुपर्ने क्षण । रण कौशल मध्येको एउटा महत्वपूर्ण विषयवस्तु । आफू अवस्थित ठाउँ, दुश्मनको ईलाका र सम्भावित हलचल गर्ने दिशाबोधक युक्तिपूर्ण रण कौशलताको लागि । हुरी, झरी, टन्टलापुर घामको ताप, गर्मी, धूलो, हिलो, डाँडा-पहाड, झरना, खोलानाला, समथर मैदान, दिनका आठैपहर, दौतेरी साथीहरू, प्रशिक्षक गुरुजीहरू, एस.. एटी. (राईफल), हेलमेट, बुटपट्टी, पिठ्युँमा झोला लादिएको, मन-मष्तिष्कमा तनाव ।

          वर्मा लाईन्स, साईनो हङकङ सिमानाको ड्युटीमा आई. आई. (गैरकानूनी आप्रवासी चिनियाँ) पक्डनको लागि झरी हुरी नभनि चिनियाँहरूको कुखुरा, हाँस, सुँगुर पालनको रछ्यान निलेर कति अनिन्द्रै रात बिताउँदछ । कहिले भलबाढीले चिनियाँहरूको माछा पालन गर्दै गरेको पोखरी सबै उदाङ्गै भत्काईंदा त्यही भेलमा म्याटमाथि तैरी रहेको पाउँदछ । माछाहरूलाई जालीमा हाल्ने आदेशानुसार रमाउँदछ, ती भताभुङ्ग पोखरीहरूमा । ती माछाहरू झैं भलबाढीमा परेर लम्पसार परिने दुर्दशाको चिन्तन-मनन अव्यक्त । कहिले बोर्डर ड्यूटीमा छँदा साथै भर्ती भएको सिपाहीको अकस्मात दुर्घटनामा परी निधन हुँदा कवज खेल्न पुग्दछ क्यासिनो लाईन्सको चिहान घारीमा । हङकङको क्यासिनो लाईन्स गोर्खाली सिपाही र तिनका परिवारहरूका मृत्यु पश्चातको बासस्थान । स्वप्नहरू सिपाही भएर चुरुम चुरुम चपाई रहेछ उसले ।

कहिले ब्रुनाईको टन्टलापुर घाममा एउटा कनिष्ट सिपाही भएर पुग्दछ ऊ । बुट पड्काउँदै, सलाम छड्काउँदै मासिक तलब प्राप्त गर्नको लागि । गोर्खा सैनिकहरूले बैंक खाता खोल्न पाउने प्रावधान शुरु हुँदै गर्दा । ब्रुनाई भूमध्ये रेखाको ईर्दा गिर्दामा अवस्थित देश, गर्मीको चरमचुली, घना जङ्गल, सैनिकहरूले रणकौशल सिक्ने वातावरण, स्क्वाट वन बनेर खुकुरीले जङ्गल फाँड्दै बाटो बनाउनु पर्ने बाध्यता कनिष्ट सिपाहीको । बेतका काँडा र अन्य रुखका हाँगा, छड्केहरूले क्षतविक्षत रगताम्य हातहरू ।  तिर्खाले छटपटी आँतहरू बादेलको आहालमा तृप्त । अनेकानेक जङ्गली किराफट्याँङ्ग्रा, सर्प, बिच्छी आदिका टोकाई ।

          सैन्यदलको मुख्य अखडामा अनेकानेक कामहरूमा व्यस्त । एक कनिष्ट सिपाही, बेयरा, झाडुवाला, मेतर, कान्छा । विशिष्ठ भ्रमण ताका सिरमुर गार्ड । सँधैको चड्के सिपाही, छाला र अस्थिपञ्जरले मात्र अडिएको छड्के सिपाही । गुरुजीहरूको भनाई, "हेर चड्के, ती भर्खरै परिवार लिएर आएकाहरूलाई सहुलियतार्थ समय दिनु पर्छ ।" चड्केले चार गुणन घडीको सेकेण्ड काँटा झैं फनफन्ती घुमेर धपेडी घाममा काम गर्दा एक चौथाई तलब मात्र हात लाग्दथ्यो ज्येष्ठ सिपाहीको दाँजोमा । सँघार रुघ्ने दर्वान, सानो छहारी, रातभरीको हुरी-बतास र हात्ती सुँढे झरी । दिन दहाडै अन्याय र अत्याचारको पिरलो । कनिष्ठ र ज्येष्ठ सिपाहीको मासिक तलब समान भएको सपना सजाउने चड्केको सपना ब्रिगेड अफ गोर्खाजको नयाँ ट्याकस ।

          "कायर हुनुभन्दा मर्नु निको" मुखमा नपसेको अमिलो अङ्गुर । लाली र काली, पूर्वेली र पश्चिमेली भनेर जोसाईन्दा कठपुतली बनेर अनायसै कैंयौं पटकका नाचहरूमा बुर्लुक्क उफ्रन्दै, बर्लङ्ग पछारिएको छ भूँईमा । संकुचित भावना पालेर गोर्खा पल्टन मै मात्र सिमित नरहेर खुल्ला नीति अपनाएर दक्ष जवानहरू जल, थल र नवका सम्पूर्ण ��"हदा आँक्ने, फाईटर र ट्याँक हाँक्ने, चिकित्सक र प्रशिक्षक बन्ने सपनाहरू- खुल्लाद्वारको साघारमा उभिएर दङ्गदास ।  

          बहादुर मात्र बने ट्याड्ढले किच्न बेर नलाग्ने । पुरानो भाषिक, शैक्षिक प्रणालीमा विषेश फेर बदल हुनु पर्ने स्वप्नको साकारमा केही थप जानकारी । पल्टन घरमा सैन्यहरूलाई सिकाईने एस. एल. पि. (स्ट्याण्डर्ड ल्याङ्ग्जेव प्रोफाईल) अवकाश पछि कतै मान्यता प्राप्त नभएको मा उ अवाक बन्दछ, परिभाषित आँखाहरू लोलाएको बेला केही हेरफेर भएकोमा हषिर्त । यद्यपि, युवा पिढीहरूले कार्यरत छँदै अध्ययन जारी राख्न सके बाहिरी संसारमा अवतरण हुँदा महत्वपूर्ण भूमिका निभाउन सकिने । युगानुसार नयाँ पिढीले त्यो घुम्तिसम्म आई पुग्दा इतिहासलाई फर्किएर हेर्नु पर्ने र त्यसलाई विकसित रुप दिँदै अघि बढ्नु पर्ने स्वर्णिम स्वप्नमा चुर्लुम्मै डुबेको छ ऊ ।

          बिगतमा झैं पारिवारीक दुरी हटाईनु पर्ने, शैक्षिक-बौद्धिक, प्राविधिक कार्यक्रमको सिलसिलाबद्धरुपमा तय गरिनु पर्ने तरङ्गमा उतार चढाव हुँदै गर्दा पल्टने सन्ततिहरूले पाएको अवसरलाई सदुपयोग गर्नु पर्ने जोड ।  बिहानी झुल्को नयाँ पिँढी भविष्यको कर्णधार दर्वान देखि प्रधान मन्त्रीसम्मको सपना भविष्यको गर्भमा सुरक्षित । प्रवासमा आर्जेको बौद्धिक, आर्थिक, सामाजिक, भौतिक, नैतिक वस्तुहरू मातृभूमीको विकासार्थ प्रयोग गरिएको, विदेशिएका सबै स्वदेश र्फकदै सेवारत । नेपाल शरणम गच्छामी यत्रतत्र । निवृत्तिभरण सहितका अनेकौं सुविधामा अलग नीति हट्नु पर्ने स्वप्नमा दङ्गदास एक्काईसौं शताब्दीको संघारमा उभिएर पारदर्शिताको स्वागतार्थ ऊ ।
 
          "आँकाला"