अन्तरवार्ता

Author : Jagadish Ghimire
Published on : November 25, 2009


  
Jagadish Ghimire

(लेखक तथा साहित्यकार जगदीश घिमिरेसँग कवि अशोक राईले बगैचा डटकमको लागि लिएको टेक्स्ट अन्तरवार्ता)

 

अहिले तपाईको स्वास्थ स्थिति कस्तो छ ?

ठिकै छ । केही महिना पहिले टेस्टहरू गराएँ । डाक्टरहरूले 'स्टेबल' भनेका छन् ।

 

भरखरै तपाईको कथा संग्रह प्रकाशित भयो भन्ने पढेको थिएँ । तपाइँलाई बधाइ छ । कस्ता कथाहरू समेटिएका छन् ?

मेरो हालै निस्केको कथासंग्रह 'बर्दी मैले २०२० सालतिर लेख्न थालेदेखि हालसम्मका रोज्जा कथाहरूको संकलन हो । यसमा मेरा २८ वटा प्रतिनिधि कथाहरू छन् । यसमा मेरो लेखनको र विचारको बिकासक्रम देखिन्छ ।

 

"अन्तरमनको यात्रा" कृति अत्याधिक चर्चामा रह्यो । अन्तरमनको यात्रा जस्तै कृतिहरू फेरी पनि आउँदैछ होला नी हैन ?

लेखकले त जहिले पनि आफूले सकेको राम्रो लेख्ने हो । कस्तो हुन पुग्छ, मर्मज्ञहरूले त्यसलाई कसरी लिन्छन्, त्यो पछि मात्र थाहा हुने कुरा हो ।

 

तपाईले आफ्नो कृति 'अन्तर्मनको यात्रा' लाई आत्मालाप भन्नु भएकोछ, के नेपाली साहित्यमा अब यो विधाले मान्यता पाएको हो ?

आफैसँग गरेको कुरा' लाई मैले 'आत्मालाप' भनेको हुँ । आत्मालाप विधा होइन । अन्तर्मनको यात्राको विधा वा आत्मकथाको निकट हुनुपर्छ । यसलाई संस्मरण भने हुन्छ । विदेशमा Antimemoir वा प्रतिसंस्मरण भन्ने विधा पनि आएको छ । अन्तर्मनलाई Antimemoir पनि भन्न सकिन्छ जस्तो लाग्छ ।

 

नयाँ लेखन र नयाँ विचारहरू आइरहेको सिलसिलामा जातीय, लैङ्गिक, धार्मिक र साँस्कृतिक अस्तित्ववादीहरू देखापरेका छन् । साहित्यमा यस्ता विषय आउनुलाई के भन्नुहुन्छ ?

साहित्य सबै विचारको फुलबारी हो जहाँ सबै विचारका फुलहरू फुल्नु पर्छ ।

 

हङकङ लगायत अन्य डायस्पोरिक नेपाली साहित्यलाई कसरी हेरिरहनु भएको छ ? विदेशमा बसेर लेख्ने लेखक तथा साहित्यकारलाई मूलधारले हेयको भावले हेर्छन् भनिन्छ नि ?

संसारैभरि जहाँ बसेर लेखे पनि राम्रो राम्रो हो र नराम्रो नराम्रो हो । मूल स्थानभन्दा पर बसेर पनि साहित्य सिर्जना गर्नेलाई म त झन गतिला भनिठान्छु । अरुले के भन्दछन् - त्यो अरुको विचार हो ।

 

एउटा असात्यिक प्रश्न- नेपाल संघिय प्रणालीमा जाने तरखरमा छ तपाई एक बौद्धिक र जिम्मेवार व्यक्तित्वको नाताले कस्तो धारणा राख्नुहुन्छ ?

केका आधारमा, कसरी र कतिवटा संघ बन्दछन् र तिनले आपसमा कसरी कार्य सम्पादन गर्छन्, सहअस्तित्व कायम राखेर सबैले विकास गर्छन्--त्यसमा भर पर्छ ।

 

बगैंचा डट् कमको माध्यमबाट हङकङ र विश्वभर रहेका तपाईको पाठकहरूलाई के भन्नु हुन्छ की ?

असल साहित्य पढ्नुहोस् । असल साहित्य निर्माण गर्नुहोस् । बहुजनको भलाईको लागि केही सोच्नुहोस् र गर्नुहोस् । मलाई यी जवाफहरू मार्फत तपाईका पाठकहरू समक्ष पुर्याउनु भएकोमा हार्दिक धन्यवाद ।