समय अस्तित्व

Author : पूर्ण इन्फादा
Published on : November 25, 2009


  
पूर्ण इन्फादा

सडक किनारमा उभिएका

यी वर्गभेद मान्छेहरू

छेर्केर तीतेपातीको झोल

खोजिरेहका छन्- हजारौं वर्षदेखि

एउटा भयानक आँधी

सांस्कृतिक अस्मिता

आगोको हुँकार

वर्ग दर्शन

नूतन भूगोल

अर्वाचीन सभ्यता,

 

पखालेर विरासत

प्रयोगशाला समयमा

उधिनिरहेको छ- नयाँ मान्छे

नयाँ समय स्वामित्व

नयाँ समय अस्तित्व,

 

लेखिरहेको छ- अनादिदेखि सिरिजङ्गा

इतिहासमाथि इतिहास

गरिरहेको छ- खोज यलम्बर

समयमाथि समय,

 

टुङ्नाको संगीत

मुर्चुङ्गाको लय

समष्टिमा

अनन्त समयको जीवन्त मान्छे

अथवा भनौं

सभ्यताहरूको सभ्यता,

 

प्राकृतिक कुमारीत्व नतोडिँदै

निस्केर समय गर्भ इतिहासबाट

टेकेर कुर्कुचाले ताम्फुङ्ना

खोजिरहेको छ- क्रमभङ्गता

यही तङ्सिङ छेउबाट

मन्त्रोच्चारण गर्दै

दौडिरहेको छ- चोत्लुङ समय ।

 

ताम्फुङ्ना - अज्ञानता

तङ्सिङ - अनुष्ठान

चोत्लुङ - स्वर्ग