तुम्हे अपने बनानेकी कसम खाई हे, खाई हे

Author : कोरङ्गी प्रेम
Published on : November 07, 2009


  
कोरङ्गी प्रेम

प्रसङ्ग आज भन्दा ठिक १८ वर्ष अघि (२०४८ साल) को हो । २०४६ सालको जन आन्दोलनको हुलमुलसँगै एसएलसी को फलामे साङ्लो तोड्न सफल भएं र उच्च शिक्षाको निम्ति राजधानी काठमाडौं हानिने तानाबाना बुन्न थालें । उ बेला अहिलेको जस्तो एस. एल. सी परिक्षा वैशाखमा नभई माघको पहिलो हप्तामा हुन्थ्यो र ५,६ महिनापछि श्रावण भाद्रमा नतिजा प्रकाशित हुन्थ्यो । पास वा फेल भएको खबर आकाशवाणी सेवा (आवा) बाट प्राप्त हुन्थ्यो जुन खबर गाउँका हुनेखाने, टाठाबाठा जो शहर बजारमा बस्दथे तिनैले पठाउँदथे । जाँच दिएर गाउँमा बस्ने विध्यार्थीहरू चाँहि सपनामा उकाली चढेको र ओराली झरेको सम्झदै विभिन्न अड्कलबाजीहरू काट्दथे । राजधानी गएर धेरै पढि ठूलो जागीर खाने र ठूलो मान्छे बन्ने उत्साह र उमङ्गले म भित्रभित्रै पुलकीत भैरहेको थिएं । सानो छँदा दशैंमा टिका लगाउँदा बुबाले "माथिल्लो घरको ठूल्दाई जस्तै हुनु" भनी आशिर्वाद दिनुहुन्थ्यो । उहाँ एउटा सरकारी कर्मचारी भएकोले गाउँमा सबैले ईज्जत प्रतिष्ठाको दृष्टिले हेर्दथे राम्रो कमाई गर्नुहुन्थ्यो । जब उहाँ गाउँ पस्नुहुन्थ्यो गाउँको सबैभन्दा ठूलो भाले वा पोथीले अनाहकमा दुःख पाउँथ्यो । गाउँमा पस्नसाथ उनको पहिलो चारो तिनै भाले वा पोथी बन्दथे । म पढेर ठूल्दाई त बन्न सकिन तर मेरी अर्धाङ्गीनी र सानी बचेरीको निम्ति दालभात र डुकुको जोहो चाँहि गरिरहेको छु ।

श्रीपञ्चमीको दिन थियो । पुष माघको कठाङग्रीने जाडोको कुनै पर्वाह नगरी नुहाई धुहाई गरी घरैमुनीको विद्यालय त्यसबेलाको श्री जनता नि.मा.वि. वाघामा सरस्वतीको पुजा गरी गुरुहरूबाट आर्शिवाद ग्रहण गरें । जुन विद्यालयले मेरो जिन्दगीमा यो संसारलाई चिहाउन ज्ञानको ज्योती सल्काई दिएको थियो । विहानको भोजनादी पश्चात बुबाको पुछारे बनी ढाडमा किर्न झैं ट्याप्प टाँसिने सुर्किने झोला भीरी लागें मावली गाउँ मादीमूलखर्क र्तफ । आफू जन्मेको ठाउँ, -साना भाई बहिनीहरू, साथीभाई र ईष्टमित्रहरूसँग छुट्नु पर्दाको पिडा कस्तो हुन्छ त्यो त भुक्तभोगीलाई मात्र थाह हुन्छ । त्यसरी मनभरी आँसु बोकी आमालाई "राम्ररी बस्नुहोस् है पुगेर चिठ्ठी पठाई हाल्छु" भन्दै अघि बढें । हिड्नु नै थियो त्यसैले भारी मन लिई अघि बढें जुन यात्रा पहिल्यै तय भैसकेको थियो ।

संखुवासभा जिल्लाको मेला बजारको नाम लिनुपर्दा क्षेत्र नं. १ मा एकादशीको मेला अरुण र वरुण नदीको दोभानमा लाग्ने वरुण मेला, ढाडे बजार, देवीटार मेला, हरेलो मेला आदि थिए भने क्षेत्र २ को सन्दर्भमा नुन्ढाकीको तातोपानी मेला, भाले मेला चैनपुरको हिलेजात्रा, मंगलबारे चौकीको राँके बजार, माढी सम्वेनीको राम नवमी मेला र मादीमूलखर्कको कृषि मेला आदि थिए । श्री पञ्चमीको अवसरमा ३ दिनसम्म लाग्ने उक्त कृषिमेला त्यस भेगको ठूलो मेलाको रुपमा चिर परिचित थियो । पूर्वान्चलका पहाडि जिल्लाहरू तेह्रथुम, ताप्लेजुङ, भोजपुर र तराईबाट समेत ठूलो संख्यामा बजारेहरू मेला भर्न आउँथे । उक्त मेलामा कृषकहरूद्वारा उत्पादित वस्तुहरूको प्रद्धर्शनी एवं प्रतिस्पर्धा गराईन्थ्यो र उत्कृष्ट सामाग्रीलाई प्रमुख जिल्ला अधिकारीद्वारा हातमा पुरस्कार थमाइन्थ्यो ।

अर्को रोचक पक्ष सो मेला लाग्ने स्थानमा ठूलो खेलकुद मैदान भएकोले फूटबलको घमासान प्रतिपर्धा हुन्थ्यो । मानौ की त्यहाँ खेलको जात्रा नै लाग्दथ्यो । २०-२५ समूहको बिचमा प्रतिस्पर्धा हुन्थ्यो । खेलाडिहरू चट्टान जस्तै मैदानमा घुँडा मिल्दाउँदै, टाउको फोर्दै खेल प्रदर्शन गर्दथे । के बच्चा के बुढो, तरुनो, तरुनी उत्रो विधि चाख मानेर हेर्दथे की आफूलाई मनपर्ने टिमको बारेमा सुकुटी र तोङ्वाको समेत बाजी थाप्दथे । विशेष गरी सट हान्ने सटरहरू सबैको नजरमा बस्दथे । तरुनीहरूको चाहिं राजा नै बनेर राज गर्दथे ।

दिन ढलेर साँझ पर्दै गएपछि लिम्वु जातिको धाननाच जस्लाई पालम पनि भनिन्छ, घन्किन्थ्यो जुरुक्कै त्यो गाउँ नै उचालुँला झैं गरी । तरुनो तरुनीहरू बिच सामाजिक मान मर्यादा भित्र रही माया परिती साटासाट हुन्थ्यो । देवी देउराली भाकी सँगै मर्ने सँगै बाँच्ने वा कसमका कुराहरू हुन्थ्यो । खल्तीमा दाम हुनेहरू होटलमा पसी दालभात, मासु बजाउँथे भने नहुनेहरू घरबाट ल्याएको चाम्रेभात सिन्की र फिलुङ्गेको अचारसँग खान्थे भने कोहिकोहि चाँही टाटनको खास्टो र ढाकाको टोपीभरी हालेर कालो भटमास र मकै मुर्काउँदथे । यसरी तीनदिनको मेला भरी मामासँग लागें वसन्तुर । जस्ले संखुवासभा, तेह्रथुम र धनकुटा ३ जिल्लालाई छोएको छ, त्येहि ठाँउ भएर ताप्लेजुङ पनि जाने भएकोले सबै जिल्लाका यात्रुहरूको अखडा बनेको थियो वसन्तपुर । अहिले वसन्तपुरबाट मुढे संसारे, माम्लीङ, राम्वेनीहुँदै चैनपुर पोखरीसम्म कच्चि सडक पुगेको छ । वसन्तपुर जहाँ म २ महिना अघि नै आएको थिएँ, कस्तो हुन्छ "बस" भनेर हेर्न किनकी २-४ महिना पछि म काठमाण्डौ जाँदै थिएँ पढ्नलाई । त्येतिन्जेलसम्म मैले "बस"को दर्शन पाएकै थिईनँ, सिर्फ चित्रमा, तसर्थ वसन्तपुर आई "बस" को दर्शन गर्ने मनोकांक्षा त पुरा गरेँ तर बदलामा २० केजी नुन र ५ लिटर मटि्टतेलको जरकिनले मेरो ढाडको सातो पुत्लो नै उँडाई दियो । बल्ल थाह पाएँ "बस"को करामत । मेरो ढाड यति थाङथिलो बनाई दियो की हप्ता दश दिन सुत्केरी आईमाई झैं थलिएर बस्नु पर्यो । यसरी वसन्तपुर पुग्दा मेरो ढाडमा नुनको भारी र हातमा तेल जरकिन छ की भनेर झस्किए । करिब ७-८ बजेतिर हाम्रो सानो टुकडी निख्खर कोदोको तोङ्वा र राँगाको सुकुटीसँग थोरै भुजा ज्यूनार गरी निन्द्रा देवीको काखमा पल्टियो । भोलिपल्ट बिहानको नित्यकर्म मलमुत्र त्यागगरी मामा र म त्यो सानो टुकुडीबाट विदा हुँदै धरान जाने "बस" चढ्यौं । जिन्दगीमा म पहिलो पल्ट "बस" चड्दै थिएँ । यसभन्दा अघाडि देखेको मात्र थिएँ ।

घन्द्राङ र घुन्द्रुङ गर्दै बसको आवाज आउन थाल्यो, हल्लिन थाल्यो । यो के भएको होला भनि सोंच्न थालें । यो बस गुड्दैन ? भनी मामालाई सोधें । जवाफमा मामाले हँस्दै भन्नुभयो लाटा बाहिर हेर बस कहाँ पुगिसक्यो ? यसो मुन्टो उचालेर बाहिर हेरें बसले त १०-१५ मिनेटको बाटो काटिसकेछ, म चाहिं बस हल्लिएको र थार्किएकोले सीटमा बसेर घोत्लिरहेको रहेछु । सम्झदा हाँस उठ्छ अहिले पनि ।

करीब १ डेढ घण्टाको यात्रापछि पुग्यौं हिले बजार । पुर्वाञ्चलको प्रसिद्ध व्यापारी केन्द्र । जहाँ जडीबुटी अलैंची र तोड्वाको राम्रो व्यापार हुन्छ । दैनिक लाखौं रुपैयाको व्यापार हुन्छ तोङ्वाको । तोङ्वाकै खेती गरेर अमेरीका, अष्ट्रेलिया, यूके आदि देशहरूमा आफ्नो छोराछोरीहरू पढाउनेको संख्या बढ्दो छ । त्यहि हिले बजार देखि पूर्वाआञ्चलको ठूलो लाहुरे बस्ती धरान बजारसम्म कालोपत्रे पक्की सडक छ जस्लाई पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाले बनाएका हुन् । त्यसभन्दा माथि वसन्तपुर खण्डको सडक हालसम्म कसैले कालोपत्रे बनाउँन सकेनन् । पूर्वान्चलबाट धेरै नेता मन्त्रीहरू बने, तर कसैले पनि त्यो सडकलाई कालोपत्रे बनाउने तर्फ ध्यान दिएनन् । सँधै आफ्नो कुर्सी जोगाउने र नातागोताको उपकार कसरी गर्ने भन्ने सोँचमा मात्र मग्न भए ।

बिस्तारै हाम्रो गाडी धनकुटाको सल्लेरी वन हुँदै अघि बढ्यो । धनकुटा जिल्लाले एउटा छुट्टै विशेषता बोकेको पाईन्छ जस्तै "खुकु छिन्ताङ काण्ड" त्यसै गरी भेडेटार लाग्ने क्रममा खुकुको सुन्तला डोकोभरी । बाटोभरी पहेलपुर सुन्तला । उक्त सुन्तलाको स्वादले बसको धङधङी र भोकतिर्खा सबै मेटी दिने । करिब १०-११ बजे तिर सुन्दर पर्यटकीय बजार भेडेटार पुग्यौं जहाँ हाल कान्तिपुर एफ एमको टावर छ । पुष माघमा हिँउसँग खेल्ल धरानबाट मान्छेहरूको ओईरो लाग्छ त्यहाँ । वाह्य एवं आन्तरीक पर्यटनको प्रभावले भेडेंटार आफूलाई आधुनिकिकरण गर्दै थियो, त्यो समय अहिले त धेरै अघि बढेको होला । अब हाम्रो बस अघि बढ्यो धरान बजार तर्फ  नागबेली सडक, मनोरम दृश्य, पारीपट्टी साँगुरी भन्ज्याङको ओह्रालो ती सुन्दर दृश्यहरूलाई नियाल्दै एकनासले हुईकियौं धरान तर्फ । उहिले उहिले बुढापाकाहरू त्यहि साँधुरी भन्ज्याङको बाटो हुँदै नुनतेल बोक्न धरान आउँथे । करीब १ डेढ बजेतिर विजयपुरको बुढासुब्बालाई दर्शन गर्दै धरान बजारसम्मको यात्रा पुरा गर्यौं । त्यस तका हाट बजार बसहरू सबै ठाउँमा हिन्दी गीत मात्र घन्कीन्थ्यो । त्यसमा पनि धरानलाई त भारतीय गीत संगीतले यति नराम्ररी गाँजेको  थियो की त्यहाँ नेपाली चलचित्रहरू अत्यन्तै न्यून रुपमा हेरीन्थ्यो । जताततै रिक्सा मात्रै, भीडभाड, कोलाहल गर्मी र मान्छेको दोहोरीलत भिंडले पाहाडबाट झरेको म गाउँले ठिटो रणभूल्लमा परें । त्यसताका रात्री बस मात्र एउटा उपाय थियो राजधानी आउने । दिवासेवाको बस पछि मात्र संचालन भएको हो । तसर्थ बेलुकाको ४-५ बजाउनु अनिवार्यता थियो हाम्रो लागि । त्यसैले बसपार्क नजिकै रहेको चौतारीमा बसेर दिन कटानी गर्यौं । मामा चाँहि चौतारीमा बसेर घुर्न थाल्नु भयो म चाँहि खल्तीमा बोकेको २-४ कौडी दाम चोरले व्यवस्था गरिदियो भने परेन फसाद भनेर उङ्दै बसिरहें । बेलुकाको ६-७ बज्यो । बिस्तारै काठमाण्डौ जाने बसहरू घारघार-घुरघुर गर्दै डुर्किन थाल्यो । मुलुक कै राजधानी कस्तो होला ? त्यहाँको मानिसहरू कस्ता होलान् ? आदि प्रश्नहरू मनभित्र मच्चि मच्चि पीङ खेलिरहेको थियो । दशैंमा मावली हजुरआमाले टिका लागाई दिँदा भन्नु हुन्थ्यो तिमीपनि धेरै पढ्न काठमाण्डौ जानपर्छ, तिम्रो मामा जस्तै धेरै पढ्न पर्छ भन्नुहुन्थ्यो । त्यसताका मामा सानोठिमी क्याम्पस भक्तपुरमा B.Ed पढ्दै हुनुहुन्थ्यो । उक्त क्याम्पस वि.सं. २०२८ (१९७१) मा अमेरीकन सहयोगमा स्थापना भएको थियो । मैले हजुरआमालाई सोध्दथें- कस्तो हुन्छ रे काठमाण्डौंको क्याम्पस ? हजुरआमा भन्नु हुन्थ्यो त्यही खाने, त्यही सुत्ने, आदि आदि। तिनै कुराहरू मनमा सोंच्दै न्यू हारती ट्राभल्स (नम्बर भूलें) चढेर लाग्यौं चतहरा, ईटहरी हुँदै काठमाण्डौ स्थित सानोठिमी क्याम्पस तर्फ । त्यो क्याम्पस मुलुककै केन्द्रीय कृषि क्याम्पस भनि लेखिएको तर त्यहाँ कृषि क्याम्पस चल्न नसकेर भरतपुर चितवनमा सारियो जुन अहिले रामपुर कृषि क्याम्पसको नामले सुपरिचित छ ।

-४ घण्टाको यात्रा पछि सबै यात्रुहरूलाई खाना खुवाउन हेटौडा झारियो । कसैले दालभात त कसैले मासुभात बजाए र भाते निन्द्रामा मस्त भए । फाट्टफुट्ट बच्चाहरू (परिवार नियोजनका विरोधीहरू) च्याँ च्याँ गरेको बाहेक केही सुनिदैनथ्यो । चारैतिर सान्नाटा सडकको घुम्तिमा बस टर्निङ गर्दा बस नै पल्टे जस्तो लाग्थ्यो । १२०-२५ प्रतिघण्टाको गतिमा दौडिदै बसले आज बाँकी नराख्ने भो सिध्याउने भो भन्दै डरले काँपीरहें, निदाउने कुरै भएन । मामा चांहि बसबाट लुसुक्क बाहिर निस्की केराउको गेडा, दालमोड, चना ल्याई दिनुहुन्थ्यो ताकी  म ति चिजहरू खाएर वान्ता गर्नबाट वन्चित होऊ । हिउँदको जाडोले कठाङ्ग्रिएको ति केराउको दाना टोक्दा मेरो गिदी नै हल्लीन्थ्यो, थर्किन्थ्यो । त्यो सुनसान रातमा हिन्दी चलचित्र सडकको गीत "तुम्हे अपने बनानेकी कसम खाई हे, खाई हे" एकनासले बजिरहेथ्यो । अर्को अन्तराले भनिरहेथ्यो "मेरी नशा नशा मे तु बन के लहु छाई,  हे छाई हे: । यसरी जीवनमा पहिलोपल्ट बस चढेर एकैचोटी राजधानीसम्मको यात्रा पुरा गरें । आजभोली रोडियो, टेलिभिजनबाट त्यो गीत बजेको सुन्दा एउटा १६ वर्षे गाउँले ठिटो धेरै पढिलेखी गाउँ, समाज, र मुलुककै मुहार फेर्न भनी राजधानी छिरेको घटनाको झझल्को मेरो मानसपटलमा छाईरहन्छ । मेरो जिन्दगीमा विशेष महत्व राख्ने उक्त यात्रा मेरो शरीरको नशा नशामा खुन (लहु) बनेर दौडिरहेको छ र मृत्यु पर्यान्त पनि दौडिरहने छ, बस दौडिरहने छ।

 

अस्तु ।

अस्टुबर २६, २००९