दु:ख, पिडा र मर्म बुझ्ने थोरै

Author : Thule Rai
Published on : November 07, 2009


  
Thule Rai

यहाँ नसा पिएर, मान्छे नपिटेको धेरै भएको छ भन्ने ध्वाँसेहरू अनगिन्ति छन्

यहाँ झ्याप भएको झोंकमा, अर्काको च्यापु ताक्दा

अनुहार सिमेन्टमा परेर, आफ्नै दाँत गन्ने भगुवाहरू पनि अनगिन्ति छन्

अर्काले पैसा तिरेको जाँड, ऊँटले पानी पिए जस्तो पिउने

आफ्नो पाला आउँदा, पैसा बोक्न भुलेछु भनी  

सक्कल गायब हुने भिक्षुहरू पनि अनगिन्ति छन्,

 

यहाँ गोली राम्रो हान्छु, निशानेबाज हुँ, भनि अहम दिने

तर अर्काको तार्गेट ध्वस्त पार्ने झाँक्रीहरू पनि अनगिन्ति छन्

ईनलाई आउट, आउटलाई ईन भन्ने कुख्यात खेलाडी पनि अनगिन्ति छन्

गर्छु त भन्ने तर पारा नल्याउने जोशीहरू पनि अनगिन्ति छन्,

 

यहाँ बाजी नखेली नहुने तर हारे पछी कुलेलम दिने चण्डाल पनि अनगिन्ति छन्

कचेडा गरेर मात्र सुत्न सक्ने कुम्भकर्णहरू पनि अनगिन्ति छन्

अर्ध नेपाली तर अंग्रेजीमा ढल्किएका बहुभाषी पनि अनगिन्ति छन्

अर्कालाई उचाल्ने-पछार्ने बलवान पनि अनगिन्ति नै छन्

अर्काले गरि खाएको, आँखाको कसिंगार बनाउने इर्शालु पनि अनगिन्ति छन्

नारदमुनि झैं जाल बुन्ने जालहारीहरू पनि अनगिन्ति छन्,

 

तर

अर्काको भलो चाहने, प्रगतिको कामना दिने शुभेक्षुक थोरै छन्

अर्काको दुस्ख, पिडा र मर्म बुझ्ने अन्तरज्ञानी थोरै छन्

अरु बाँचुन भन्ने र सहयोगको हातेमालो दिने हितैषी थोरै छन्

शुभचिन्तक र भातृत्व सम्झने नेपाली थोरै छन्,

 

यहि छ मेरो शुभकामना

 

नेपाली भै नेपालको माया र माटो नभुल्नु

नेपाली भै नेपाली बिच मित्रता नभुल्नु

नेपाली भै नेपालको परिस्थिति र रहनसहन नभुल्नु ।

नेपाली भै विदेश मै पलायन भए पनि नेपालीको गौरव नभुल्नु