अन्तर्वार्ता- गणेश राई

Author : गणेश राई
Published on : October 29, 2009


  
गणेश राई
Author
(कवि तथा उपन्यासकार गणेश राई र  नित्तु सुनुवार बिच भएको अन्तर्वार्ता)
 
आधुनिक समयमा देखा परेका सम्पूर्ण ज्ञानको युद्घमैदानमा एउटा आधुनिक हतियारको माध्यम बनेको वेब पत्रिका बगैंचा डट कममा तपाईलाई स्वागत छ ।

 धन्यवाद साथै नमस्कार !  

अहिले केमा व्यस्त हुनु हुन्छ ?

हालै प्रकाशित तथा बिमोचित युद्ध एम्बुसमा राइफलको सङ्गीतको बजार व्यवस्थापन लगायत यसको प्रोमोट विशेष युद्ध साहित्यलाई कसरी आम पाठक बीच पुर्याउँन सकिन्छ भन्ने कार्यका साथै क्रिया, प्रतिक्रिया र अन्तरक्रियातर्फ मेरो ध्यान तानिएको अवस्था छ यतिबेला ।

नेपाली साहित्य क्षेत्रमा युद्घकविको रुपमा उपस्थित हुनु भएको छ । कहाँ र कहिलेबाट प्रारम्भ गर्नु भयो साहित्यिक यात्रा ? कोबाट बढि प्रभावित हुनु भयो ?

साहित्य कहिले देखि सुरु भयो भन्ने तपाइँको जिज्ञासाको ठ्याक्क उत्तर दिनका निम्ति विगतलाई खोतल्दै र सम्झनाको वृत्तलाई तन्काउँदै खोटाङ्सम्म पुर्याउन पर्ने हुन्छ मैले आफूलाई, जहाँ म साहित्यतिर नजानिदो पाराले तानिएँ करिब तीन दशक पहिले । को बाट प्रभावित ? यही हो भन्ने एकल कवि या व्याक्ति तोक्न निकै गाह्रो छ, तर म प्रभावित भएँ सायद समयको कविताबाट या भनौं साहित्यको चेतनायुक्त इन्द्रेणीबाट । युद्ध कवि हुँ भनी जिकिर गर्ने न त मेरो धोको हो न त उद्देश्य नै । सृजनाको अर्थ पगरी गुथ्ने भन्ने मलाई लाग्दैन । यद्यपि त्यो पगरी गुथाउनु भएकोमा धन्यवाद ।

तपाईले यो भन्दा पहिले नेपाली साहित्यिक क्षेत्रमा दुई कृतिहरू 'रायफलको नालबाट जीवन नियाल्दा' 'राइफलले फलाकेको जिन्दगी' पाठकलाई दिन सफल हुनु भएको छ  प्रतिक्रिया कस्तो पाउनु भयो ?

दुवै मेरा कृतिका प्रतिक्रिया सकारात्मक आए । तथापि लाहुरे साथीभाइबाट भने कविताको तुलनामा उपन्यासको बढी चर्चा भयो । सोधी खोजी भयो । किन भन्दा उपन्यासमा साथीभाइहरूले आफूलाई प्रतक्ष्य भेटे । बुझे । साथै आफ्नो भूमिका पाए । त्यसैले त्यस्तो भएको हुन सक्छ ।

हालै मात्र काठमाडौंमा 'युद्घमा एम्बुसमा राइफलको सङगीत'को विमोचित गर्नु भएको छ यसको बारेमा थोरै बताइदिनुस् न ?

युद्ध एम्बुसमा राइफलको सङ्गीत युद्ध उपन्यास त हो नै । त्यसको अतिरिक्त यो एउटा लाहुरे अथवा ऊ सित अन्तर्सम्बन्धितहरूको सम्पूर्ण जीवन भोगाईको कथा हो र व्यथा पनि । युद्ध भोगाई, सैन्य भोगाई, नोस्टाल्जिक बल्झाईको दुखाई, पारिवारिक पीडा र चिन्ताको रुझाई आदिको फ्युजन गरेको छु मैले मेरो नवीन कृतिमा ।

यो तेश्रो कृति प्रकाशन गर्नुको उद्देश्य पहिलाका कृतिहरूले सफता पायो भनेर हो ?

पहिलेका कृतिहरूले सफलता पाएको पक्कै हो । यद्यपि सफलता या असफलता भन्नुभन्दा पनि पल्टनेको अलिखित जीवनलाई मैले साहित्यमा लेखेँ । सबैले आ-आफ्नो जीवनलाई शिल्प र शैलीले तुनेर, -आफ्नो अनुभवलाई विम्ब र प्रतीकले बुनेर कलात्मक बनाउँछन् पठनीय बनाउँछन् भने सैनिक जीवनलाई चाहिँ किन नबनाउँने ? कृति रचिनुको अभिस्ट त्यति मात्र ।

एउटा पल्टने गोर्खालि आर्मीको वास्तविक समस्या, दुःख, पिडा भोगाईलाई  चित्रण गर्न सक्ने तपाईको यस कृतिले आम नेपाली समाज र साहित्यमा दिने योगदान वा ज्ञान कस्तो होला भन्ने सोच्नु भएको छ ?

नेपाली समाज र साहित्यलाई दिने योगदानको सन्दर्भमा यौटा युद्धसँग सम्बन्धित साहित्य जो दुई सय वर्षदेखि लेखिन पर्ने थियो त्यस्को अभावमा गोर्खालीको जीवन साहित्यिक दृष्टिकोणमा अपुरो रयो अधुरो रयो अर्थात गोर्खाली वीरता नेपाली समाजभित्र गुमनाम रहन पर्यो । लडाइँ त लडियो तर कसरी र कुन अवस्थासम्म भोगेर लड्न पर्यो, युद्ध सन्त्रासले कसरी मान्छेको संवेदना मार्छ साथै संवेदनाहीन मान्छेको स्वरुप कस्तो देखिन्छ ? उसले मृत्युमात्र सोच्छ कि लडाइँमा जीवन पनि सोच्छ ? यौटा योद्धाको मनोविज्ञान बुझ्नका निम्ति यी कृतिहरूले मद्दत गर्नेछन् भन्ने मलाई लाग्छ ।

सोंचौ युद्घ मौदानमा हुँदा एम्बुसमा राइफबाट निस्कने गोलि र बम बारुदले निकाल्ने सङ्गीत कतिको मिठो लाग्छ र अहिले साहित्यिक मौदानमा हुँदा कलमले निकालेको सङरगीतमा कस्तो तुलनात्मक रुपमा अनुभब भई रहेको छ ?

साहित्यिक मैदानमा कलमले निकाल्ने जीवनको सङ्गीत युद्धमा अझ् एम्बुसमा राइफल, मेसिनगन र गि्रनेडले निकाल्ने सङ्गीतकै मूल सङ्गीत अथवा त्यसैको प्रतिकपि ताल, लय र धुन हो । जीवन र मृत्युको दोसाधमा अल्झिको विवश जीवनको अमूर्त सङ्गीत राइफलले नरचेको भए कलमले मात्र सायदै रच्न सक्ने थियो ।

तपाई त आर्मि, आर्मिहरू यस्तो साहित्यि लेखन कार्यमा त्यति देखिदैनन् नि तपाईमा कसरी अङ्कुरायो यस्तो साहित्यिक विचार ?

मलाई लाग्छ प्रत्येक मान्छे स्रष्टा र द्रष्टा दुवै हो । अनुभूत सबैले गर्छ । अनुभूतिको धड्कन भने नितान्त आफ्नै हुदाँरहेछन् । सृजनाको विविधता भनेकै त्यही हो साथै मौलिकता पनि । साहित्यमा लाग्छु नै भनेर सायद मैले अनुभूत गरिनँ होला । यद्यपि मभित्रको भावना अथवा लेखकले मलाई 'तैंले लेख्नपर्छ' भनेर जब अह्रायो, हुकुम गरायो तब देखि सम्भवतः म साहित्यमा लागेँ कि ?

यदि तपाई आर्मी नभएको भए के हुन्थे जस्तो लाग्छ ?

यदि म आर्मी अथवा पल्टने नभएको भए अवश्य पनि अर्काको विचार लादिएको झोला बोक्ने भरिया (सभ्य भाषामा कार्यकर्ता) हुन्थेँ होला । नभए मास्टर हुन्थेँ कि अथवा मा��"वादी बनी मन्त्री नै पो बन्थेँ होला ।

नेपाली साहित्यमा पछिल्लो समयमा आएर मात्र सैन्य साहित्य देखापर्न थालेको छ किन होला ?

समय अर्थात चेतनाको कारण यसो भएको हो । कालो अथवा अध्याँरो रातमा तपाइँ के गर्न सक्नु हुन्छ ? जब मिर्मिरे हुन्छ तब न मान्छे केही गर्न जुर्मुराउँछ । घाम लागेपछि ऊ कुद्छ, दौडन्छ । युद्ध भनौं सैन्य साहित्यको सन्दर्भ पनि त्यस्तै हो । स्रष्टाहरू तुलनात्मक निर्वन्धित हुनु र उज्यालो पाटोमा रहनुको परिणाम हो सैन्य साहित्यको वर्तमान लेखनकार्य ।

हङकङ, बेलायत तथा नेपालमा रहँदा तपाई विभिन्न साहित्यि तथा समाजिक संघ सस्थामा आबद्घ हुनुहुन्छ यस्ता साहित्यि तथा समाजिक संघ सस्थाले नेपाली सहित्यिक क्षेत्रमा कत्तिको प्रभावकारी भुमिका खेलेको पाउनु भयो ?

सामाजिक संघ संस्था र साहित्यिक संस्था फाफाल्टै पृष्ठभूमि र उद्देश्यबाट गठित भएकाले आआफ्नो ठाउँमा आफ्नो जिम्मेवारी वहन गर्छन् नै । तथापि, जहाँसम्म साहित्यको प्रभावकारिताको प्रसंग जोडिन्छ, विदेश त्यसमा पनि हात मुख जोड्ने पहिलो प्राथमिकताको अगाडि साहित्यको प्रभावकारिता आशातीतः केही कम अवश्यै लाग्छ । तरपनि स्थिति अध्याँरोन्मुख भने छैन, त्यो उज्यालोको यात्रामै छ ।

हङकङमा रहँदा सृजनशील साहित्य हङकङबाट तपाईको कृतिहरू आयो, कस्तो पाउनु भयो हङकङमा साहित्य माहौल र हाल बेलायतमा हुनुहुन्छ त्यहााको अवस्थाको बारे बताइ दिनुस् न ?

सृजनशिल साहित्य समाज मेरो साहित्यिक लहरा(जीवन)को थाङ्ग्रो हो । जसले मलाई जीवन दियो, फैलन सिकायो, आँधी हुरी विरुद्ध उभिन सिकायो, गतिशिल बनायो, प्रेरणा दियो भनौं मेरो शुसुप्त लेखन यात्राको आड भरोसा बनेर प्रोत्साहित गर्यो । जसको कारण राइफलको सङ्गीत सुन्ने म जीवनको सङ्गीत सुनाउने भएको छु । हङकङको जस्तो उर्जाशिल एवम् प्रभावकारि साहित्यिक वातावरण त वेलायतमा निश्चय नै छैन, यद्यपि अध्याँरो हटाउँन मैन बत्तिसम्म बाल्ने जमर्को भने जारी छ ।

प्रवासबाट नेपाली साहित्य निरन्तर लेखिए पनि नेपाली साहित्यको मूलधारले वेवास्ता गरेको गुनासो पनि सुनिन्छ के यो सत्य हो तपाईलाई के लाग्छ ?

साहित्यमा मूलधार के लाई मान्ने ? कम्तीमा त्यस्को साहित्यिक, सैद्धान्तिक र सर्वस्वीकार्य न्यूनतम् आधार त स्पष्ट हुनुपर्यो । तथापि जो जसले साहित्यको कथित मूलधारको तालाचाबी हातमा लिएका ठान्छन् र सुरक्षित रहेको महसूस गर्छन् । मलाई लाग्छ त्यो भ्रम हो । पर्खाल चर्किई प्वाल पर्न लागेपछि, छानो चुहिन थालेपछि तालाचाबी जति नै जोडले अठ्याए पनि त्यो ढलेरै छाड्छ । 'र्बिसे नगर्चिको बयान' बेगर नेपाली कविताको क्षितिज कति चम्किलो देखिएला ? यथार्थलाई स्वीकार्न कञ्जुस्याई पाल्नु हुँदैन । आफ्नो वृत्त इतरको कंक्रिट सिर्जनालाई पाखा लगाउने षड्यन्त्र रचिनु भनेको तथाकथित मूलधारको जग खच्किनु हो । मक्किनु हो ।

तपाईको विचारमा साहित्य कस्तो हुनु पर्ला ? र नेपाली साहित्यलाई कसरी लिनु भएको छ ?

साहित्य साहित्य जस्तै हुनुपर्छ साहित्यभन्दा अर्थोक हुनु हुँदैन । दुखाई जस्तै हुनुपर्छ साहित्य, भोगाई जस्तै हुनुपर्यो सिर्जना । जहाँ जीवन र जगतलाई चियाँउन पाइयोस् । हृदय छाम्न पाइयोस् । र पसिनाको गन्ध पसिनाकै गन्धमा सुङन पाइयोस् । स्तुती याचना हो साहित्य होइन । कस्मेटिक सिर्जना पनि साहित्यको परिभाषाभित्र ठान्छु- पर्दैन ।

हाल नेपाली साहित्यमा बिभिन्न विधाहरूकको असंख्य प्रयोगहरू भइरहेका छन् यसमा तपाईको दृष्टिकोण कस्तो छ ?

हामी जे लेख्छौं र लेखिरहेका छौं त्यो मात्र सब थोक होइन, दुनिया होइन । साहित्य जड्सुत्रवादी हुनै सक्तैन । नयाँ चिन्तन, विचार, शिल्प र शैलि आदिका साथै त्यही अनुरुपको सामयिक प्रयोग भएन भने त साहित्य कसरी नवीन, गतिशिल र परिवर्तनशिल हुन्छ । घर बनाउन प्रयोग गरिने इटाको जस्तो उस्तै आकार, यौटै साइज, उस्तै मोटाई, उस्तै रङभएको इटाजस्तो साहित्य पनि साँचोमा ढालेर लेखिने हो भने कहाँ लेखिन्छ र सिर्जनात्मक निस्सिमता, नौलो पन, नवीन विचार-चिन्तन, विविधता समावेशिता आदि आदि । त्यसैले साहित्यिक आकाशलाई अझ् उज्यालो बाल्न नवीन प्रयोगको चिन्तनको  अत्यावश्यक छ विशेष नेपाली साहित्यमा ।

सम्पूर्ण पाठकलाई बगैंचा मार्फत के भन्न चहानु हुन्छ ?

स्तरिय साहित्यिक वेव पत्रिका बगैंचा डट कम मार्फत आदरणिय पाठकहरूलाई साहित्यलाई जीवनको अभिन्न अंगको रुपमा लि��"ं भन्ने अनुरोध गर्न चाहन्छु । जसले जीवन र जगतलाई हेर्ने र बुझ्ने तेस्रो आँखाको बिकास गराउँछ । पाठक महानुभावहरूले पढिदिनु हुन्छ र नै त हामी लेख्न हौसिन्छौं, सुर्रिन्छौं । सकिन्छ भने लेखकिय धारलाई उध्याउन सटिक प्रतिक्रिया अर्थात् छरितो समालोचना दि��"ं भन्ने निवेदन पनि गर्न चाहन्छु ।

बगैंचा डट कमको तर्फबाट तपाईको विमोचित कृति 'युद्घ एम्बुसमा राइफलको सङ्गीत'को सफताको कामना गर्दै र तपाईले भन्न छुटेका बाँकि भनाईहरू छन् भने भनिदिनुस् र अन्तवार्तामा सहभागि भै दिनु भएकोमा धेरै धन्यवाद ।

बगैंचा डट कमका सम्पूर्ण परिवारलाई मेरो हार्दिक आभार साथै उत्तरोत्तर प्रगतिको शुभकामना समेत । मलाई र मेरा सृजनाहरूलाई पाठक सामु पुर्याउन दिनुभएको योगदान प्रति म सदा कृतज्ञ रहने नै भएँ । युद्ध एम्बुसमा राइफलको सङ्गीत यहाँहरूलाई कस्तो लाग्यो-जीवनको सङ्गीतजस्तो भयो कि भएन । जानकारी सम्म पाउन पाए म आफूलाई खार्ने मौका पाउने थिएँ । अन्त्यमा धन्यवाद, नमस्कार र विदा पनि । आलङ्ने सेवा ।