तमसोत्सव अर्थात् अँध्यारो उत्सव

Author : प्रकाश थाम्सुहाङ
Published on : October 27, 2009


  
प्रकाश थाम्सुहाङ
Author

कवि साम्ब ढकालको "तमसोत्सव" अँध्यारो उत्सव कविताकृति पढ्दै थिएँ झ्याप्प बत्ती गयो । अचम्म भो, उज्यालो छिनमै अँध्यारो भएर आयो । संयोग, अँध्यारो उत्सव के पढ्न थालेको थिएँ मलाई अँध्यारोले छोपेर ल्यायो । पानी पर्यापर्यै छ, अझै लोडसेडिङ निर्मुल भएको होइन । उदेक लाग्छ अँध्यारो सिवाय हामीले के पायौँ र ? आँधी त पटकपटक आएको हो यो देशमा । तर आँधीसँगै अँध्यारो आयो ।

आँधी र अँध्यारो उस्तै हुन् कि क्या हो

अँध्यारो र आँधी उस्तै हुन् कि क्या हो

आँधी आएको ठाउँमा अँध्यारो आउँदो रहेछ

अँध्यारो आएको ठाउँमा आँधी आउँदो रहेछ

सङ्ग्रहको पहिलो कविता पढ्दै थिएँ बत्ती गयो । अरू उज्यालोको विकल्पहरू कहाँ राखेँ पत्तो छैन । अलि अव्यवस्थित खालको छु म । जीवन व्यवस्थित बाँच्न कहिल्यै जानिनँ मैले । अब अँध्यारोमा चुपचाप बस्नुको विकल्प रहेन । अन्धकारमा मोबाइलको मधुरो उज्यलोले थोरै राहत दिन्छ । अब एक घण्टा बत्ती आउँदैन । यो एक घण्टा के गर्दै बस्ने होला ? बाहिर डुल्न जाऊँ झरी परिरहेछ । फेरि आज आँखामा दिनभरि देखेको रातो बिम्ब मात्र छ । रातो रङ्ग देख्यो कि वेगल मनोविज्ञानले पिरोलिन्छु म । कलरिस्टहरूलाई सोध्न मन लागेको छ, रातो रङ्गको अर्थ के हुन्छ हौ ? रातो - रगत - हिंसा, यस्तै कि ? आज देखिएको रातो बिम्बहरू कतै हिंसाको प्रकटीकरण त होइन ? हा ! फेरि हिंसा शब्द किन र कताबाट आयो सोचाइमा ? यो अँध्यारो, यो एकान्त अब सम्पूर्ण सोचाइहरूबाट सम्बन्धविच्छेद गरी ध्यानमग्न हुनुपर्यो । यो ध्यानमग्न अवस्थामा कृष्ण प्रसाईको जस्तो जेन कविताको जन्म हुन के बेर ?

आगोसँग डराउाथ्यो ऊ

जीवनको अन्तिम पल

अग्निस्नान गरेर

आगोमै बिलायो ।

 - कृष्ण प्रसाईं

त्यसो त सृजना गर्नु पनि ध्यान हो, योग हो भन्छन् जानकारहरू । सृजना पनि ध्यानको विधि नै होला । यद्यपि, सृजनाको ध्यान विधिमा परिपक्क भएर योगीको समकक्षीमा पुग्ने सृजनाकर्मीहरू चाहिँ थोरै होलान् । बैरागी काइाला, आई.बी. राई, कृष्णभूषण बल, श्रवण मुकारूङ सृजनाको ध्यान विधिलाई पार गरेर योगी बनिसके । हाङयुग अज्ञात, राजन मुकारूङ, उपेन्द्र सुब्बा लगायतका अनगिन्ती सृजनाकर्मीलाई अहिलेसम्मलाई ध्यानको चरणमै छन् । यो त भविष्यले बताउला उनीहरू योगी हुन्छन्, हुँदैनन् । कुनै बखत झोक चल्छ- के यी सृजनाकर्मीहरूको यो देशमा कुनै ��"चित्य छैन ? यिनीहरूप्रति यो देशको जिम्मेवारी वा उत्तरदायित्व छैन ? अस्ति श्रवण मुकारूङ र म बैरागी काइँलाको घर जाँदा उहाँले दुखेसो पोख्नुभयो- "हामी त बैठक कोठा सजाउन टेबलमाथि राखिएको गमलाको फूलजस्तै रहेछौँ ।" त्यत्रो वर्ष यो राष्ट्रको संस्कृति निर्माणमा लागेका स्रष्टाहरूको नियति यस्तै हुन्छ त ? निरङ्कुशताको विरूद्ध सडकमा ��"र्लेका स्रष्टाहरूको ठाउँ यस्तै हो त ? सृजनाकर्मीहरूलाई वेवास्ता गर्ने यो देशका नेताहरूको गिदीको गुणस्तर शून्यप्रायः रहेछ ।

बत्ती आयो । फेरि उज्यालो भयो । तर यो उज्यालो कतिन्जेल हो कुनै भर छैन । अब म कवि साम्ब ढकालको "तमसोत्सव" भित्र फेरि छिर्न चाहन्छु । तमसोत्सव माने अँध्यारो उत्सव । हो, हामी अँध्यारो उत्सव मनाउन अभिशप्त छौँ । कवि साम्ब ढकालसँग पोहोर नारायणघाटमा चिनजान भएको हो । हेटौडाबाट आएका कवि साम्ब ढकालसँग कालिका एफएमले गरेको बृहत् कविता गोष्ठीमा भेट भएको थियो । धेरै नबोल्ने, अन्तर्मुखी स्वभावका कवि साम्ब ढकालको आनीबानी मेरोसँग समानान्तर पाएँ । धेरै नबोल्ने भए पनि उनले कविताबाट भने धेरै बोलेका रहेछन् । उनले २०५७ सालमा "मान्छेहरू अजङको यात्रामा" कविता सङ्ग्रहबाट बोलिसकेका थिए । वर्तमानमा "तमसोत्सव"बाट बोलिरहेका छन्-

गीतको नाममा मसँग शोकगीतको विकल्पै छैन

जितको नाममा मसँग आदिम ऐतिह्यबाहेक केही छैन

मान्छे बन्न हिँडिरहेको मेरो युगीन यात्रामा

अजङ बाधाको गजबार तेर्सिरहेको छ

- दुर्घटित अर्को एउटा बिम्बबाट

 

जम्मा एक सय एक कविताहरूको सागालो हो "तमसोत्सव" । यी कविताहरूमाथि आफ्ना केही विचारहरू राख्नु अगाडि यो सङ्ग्रह विमोचनमा समीक्षकहरूले राखेका अभिव्यक्तिलाई सम्झिन चाहन्छु । विमोचनमा कविताको संरचना, सौन्दर्यदेखि लिएर शब्द छनौटसम्मको कुरा उठेको थियो । कवि श्यामलले भने-"तमसोत्सव" शीर्षक नै मलाई मन परेन । उच्चारण गर्न गाह्रो लाग्यो । अँध्यारो उत्सव मात्रै भनेको भए पनि राम्रो सुनिन्थ्यो । त्यस्तै, यो सङ्ग्रहका कविताहरूमा यस्ता केही शब्दहरू परेका छन्, जसले कवितालाई क्लिष्ट बनाएको छ । ती शब्दहरू नराखेको भए हुन्थ्यो ।

जिजीविषा हरेक पल

नयाँ खालका अनुभूतिले काँचुली

फेरिरहन्छ

-क्रमभङ्गबाट

त्यस्तै, श्रवण मुकारूङ बोले- "कविलाई कुनै पनि शब्द बर्जित हुँदैन । यति हो त्यो शब्दको प्रयोगले कविताको सौन्दर्य र बजनलाई कत्तिको बढायो ध्यान दिनु जरुरी हुन्छ ।" अनि तुलसी दिवस बोले- "कविले आफ्नो कविताको सुरक्षा आफै गर्न सक्नुपर्छ । यद्यपि, हिजो ठीक लागेको मान्यता आज गलत लागिरहेछ । त्यस्तै आज ठीक लागेको मान्यता भोलि गलत पनि लाग्न सक्छ । यसअर्थमा मान्यताहरूको अन्तिम निष्कर्ष नहुँदो रहेछ ।"

गजब लागेको थियो कवितामाथिको वैचारिक विमर्श । तीन पुस्ताका कविहरूको काव्यिक विमर्श । बीसको दशकको कवि तुलसी दिवस । तीसको श्यामल र चालीसको श्रवण मुकारूङको काव्यिक विमर्श सुन्दा गज्जब लागेको थियो ।

भग्न परिवेशको सपाट छायामुनि

धन्न तिमी आफूभित्रको उफानी गुम्फन सम्हालिरहेछौ

मलाई थाहा छ, यतिखेर तिमी धेरै अन्यमनस्क छौ

-नामहीन प्रसङ्गहरूबाट

मलाई लाग्छ प्रत्येक कविलाई कुनै न कुनै क्षण यस्तो बोध हुन्छ कि क्लिष्ट शब्दहरू राख्दा कविता बौद्धिक र सुन्दर लाग्छ । मलाई पनि कुनै क्षण यस्तै लाग्थ्यो । मैले मेरो कविता सङ्ग्रहमा पनि त्यस्ता केही कविताहरू राखेको छु । त्यो गलत थिएछ । हुन त कविताको बुझाई प्रत्येक मान्छेमा पृथक हुन्छ । परिभाषा बेगल हुन्छ । आफ्नै शैलीले कविता लेख्न प्रत्येक कविहरू स्वतन्त्र हुन्छन् । पुराना कविको शैलीगत सौन्दर्यगत, वैचारिक आंशिक प्रभाव नयाँ कविहरूमा अवश्यै पर्छ । तर, भीडबाट आफ्नो निजत्वले कुनै कवि एक्लो उभिन सक्छ कि सक्दैन ? मुख्य प्रश्न यो हो । श्यामल, श्रवण, तुलसी तीनै जना आफ्नो तर्कमा सही छन् । तर आफ्नो कविताको पहिलो समीक्षक साम्ब ढकाल नै हुन् । "तमसोत्सव" मा कवि साम्ब ढकालले उठएको वैचारिक चेतना समकालीन छ । विषयवस्तु हाम्रो समाजभन्दा पृथक् गएको छैन । प्रायः सबै कविताको वाक्यांशहरू लामा-लामा छन्, बल दाइको जस्तो । बल दाइले लामो वाक्यांशबाट पनि जुन कला दिन सके कवि साम्ब ढकालले दिन सकेनन् कि मात्र लागेको हो । त्यस्तै, कवितासङ्ग्रहको ४८ ��"ं कविता छ "टिप्पणी" । विषय राम्रो छ । यद्यपि, यो कविताको शैली र संरचना अरू कविको कवितासँग मिलेको पाएँ । शैलीमा निजत्व कुनै पनि कविको पहिलो सर्त हुनुपर्छ । अवचेतनले यस्तो मिल्यो भने सायद त्यो संयोग थियो । अन्त्यमा कवि साम्ब ढकाल अँध्यारो उत्सवमा रमाए पनि उनको काव्यिक यात्रा उज्यालो देखिरहेछु । उनलाई बधाई छ । तमसोत्सव बन्द गर्नुअघि उनको यो कवितांश-

नागासाकी र हिरोसिमाका वैराग्य

कुनै सांस्कृतिक कार्यक्रमको मञ्च अगाडि प्रचण्डको भावविह्वल मुखाकृति

बर्दीवालबाट बलात्कृत चेलीको उच्चाट लाग्दो चीत्कारमा

कुन बढी संवेदनशील छ कविज्यू ?

- टिप्पणीबाट