नागरिक सर्वोच्चतामा मेरो मत जाहेर

Author : डि बि पालुङ्वा
Published on : October 15, 2009


  
डि बि पालुङ्वा

धार्मिक अपनत्व र सहिष्णुता उल्लङ्घन गरेर

मैले आफ्नो धर्म छाड्नै सकिनँ

कि यो सत्य हो

यो सत्यमा कायर र काँतर, आदर्श र सिद्धान्त

प्रतिपादन गर्न मेरो आत्माले मन्जुर गरेन,

 

अझ यो राजनीतिक अवतरणमा

यहाँ लोगो र झण्डा फरक भएर

आखिर के नै भो ?

जहाँ नीति र सिद्धान्त एकातिर भए पनि

सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा 

यी दुईवटा अनुहारमा एउटै आँखा, एउटै दृष्टि,

एउटै दृष्टिमा एउटै दर्शन

नत्र यिनीहरूको छातीमा पक्रेर सोधि हेर त,

कि यिनीहरू एउटै आमाका

सहोदर दाजु भाइहरू हुन की होइनन् ? 

 

जसले भ्रष्ट, शोषक, सामन्ती, र साम्राज्यबादीहरूको सधैं

कुटी र दरबारमा ईटा लगाई रह्यो

र ठुलठुला गेट र ढोकाहरूमा

रक्षाकवच बनेर उभियो, अनि

हरेक ढोका र झ्यालमा कालो सिसा लगायो र

कालो सिसामा कालै पर्दा लगायो अनि

त्यही भित्र कुकृत्यको श्रृंखलाहरू थप्दै र

सम्पादन गर्दै गयो, 

अब यस श्रृंखलाका खलनायकहरूको छिट्टै अवसान हुँदैछ,

 

किनभने

जसले धेरैलाई अनि म समेतलाई बिरोधी बनायो

तर आजका यी निस्क्रिय दिनहरूलाई आजलाई यही बिदाई

आजको यो खैरो साँझलाई आजलाई यहि बिदाई

तर भोलिको साँझ तिम्रो शोक गीत लेख्न

मलाई फुर्सद हुने छैन

किनकी यो कुटिल डबलीमा

अब म चिहान खन्दैछु,

 

जहाँ इतिहाँसको कालखण्डहरूले पुरेको

प्रजातन्त्रको बर्खिलाप गर्नेहरूको बिरुद्धमा

आम विचारहरूसाँग हिड्नेहरूको बिरुद्धमा

सडक अवरुद्ध गर्नेहरूको बिरुद्धमा

अब म ब्लास्टिङ पड्कन्दैछु र

नागरिक सर्वोच्चताको सडक विस्तार गर्दैछु,

 

अब म मोराकोट आउँदैछु

जहाँ नियतबस लेखिएका दर्शन र आदर्शका

दास्तावेजहरू च्यात्न

कुख्यात घुस्याहा र कामचोरहरूको

कठालो पक्रेर, जनताको अदालतमा घिसार्दै

एउटा बृत्तबाट उत्तराजनीतिक संरचनाको

गजबार भत्काउँदै पुनराबृत्तबाट

पुनःसंरचनाको घोचा गाड्दै

बिकेन्द्रीकरणको शेरमा

कम भन्दा कम मुल्य र मान्यतामा

एउटा महत्वपूर्ण टेन्डरको आव्हान गर्दैछु ।

 

के तिमीलाई मन्जुर छ ?

 

छ भने आउ, यो सम्झौता पत्रमा

एउटा जटिल एवं महत्वपूर्ण हस्ताक्षर गरौं ।