युद्ध एम्बुसमा राइफलको सङ्गीत : नेपाली उपन्यासमा नयाँ विषयवस्तुको प्रवेश

Author : पूर्ण इन्फादा
Published on : October 07, 2009


  
पूर्ण इन्फादा

          विश्वका अनेकन युद्धमा साम्राज्यवादीको साम्राज्य फैलाउन नेपाली रगत नबगेको कुनै ठाउँ बाँकी छैन । राष्ट्रिय सांस्कृतिक पीडालाई जीवन भोगाइका बीभत्स अनुभूतिसँग साट्दै वर्षौंदेखि उर्वर नेपाली युवाको स्वाभिमानयुक्त शिल्प आफ्नै भूस्वर्गमा खन्याउने उत्कट चाहनालाई सामन्तकृत सत्ताले सीमान्तकृत बनायो । न्यायसङ्गत र सहअस्तित्वपूर्ण अधिकारको आवाजमाथि निर्मम र नग्न बुट बज्रिएको दृश्य हेर्दै र जहान परिवारको आँखाबाट खसेको बलिन्द्र आँसु पुछ्दै युद्धमा धकेलिन विवश भए । पलपलको सकसपूर्ण कहर पिउँदै र थिलथिलाउँदै प्रत्येक दिन दुख्ने इतिहास ममताले सुमसुम्याइरहनुपर्ने के ब्रिटिस गोर्खाको नियति हो ? अनागरिकजस्तो दुर्भाग्यपूर्ण युद्धपीडा युद्धवीर बनेर भोगिरहनुपर्ने असङ्ख्य नेपालीले ! यिनै दुर्दान्त प्रश्नहरूको प्रतिसन्धानका रूपमा प्रस्तुत गरेका छन् स्रष्टा गणेश राईले भर्खरै प्रकाशित उनको तेस्रो कृति "युद्ध एम्बुसमा राइफलको सङ्गीत" कृतिमा ।

          विश्वमा चलेका विभिन्न युद्धमा प्रत्यक्ष संलग्न गणेश राईसँग राइफलको अनुभूति मीठो र नमीठो दुवै खालको छ । राइफल शब्दलाई साहित्यमा अनुवाद गर्दा पाठकलाई मीठो लाग्ने शैलीमा पीडात्मक अनुभूति पोख्छन् भने वस्तु राइफललाई जीवनको जोखिम उठाउँदै जीवनमाथि प्रहार गर्दा तीतो अनुभूति सुनाउँछन् । यसभन्दा पहिले प्रकाशित कृतिहरू "राइफलको नालबाट जीवन नियाल्दा" (उपन्यास, २०६२) र राइफलले फलाकेको जिन्दगी (कवितासङ्ग्रह, २०६३) दुवैमा राइफल शब्दको प्रयोग हुनु र तेस्रो कृतिमा त्यसलाई नछोड्नुले बीभत्स युद्धपीडाको त्रासदीले कुनै न कुनै रूपमा गणेश राईको मस्तिष्कमा नमीठो प्रभाव पारेको छ भन्ने कुराको पुष्टि हुन्छ ।

          युद्ध एम्बुसमा राइफलको सङ्गीत (२०६६) नेपाली उपन्यास साहित्यमा आएको एउटा विशिष्ट युद्ध उपन्यास हो । यस उपन्यासमा ब्रिटिस गोर्खा सैनिकले मलाया, इन्डोनेसिया, बोर्नियो, बर्मा आदि ठाउँमा अङ्ग्रेजी साम्राज्य बढाउनका लागि रगत र पसिना बगाउँदाको नग्न चित्र उतारिएको छ । असङ्ख्य नेपालीले अर्काको स्वार्थका लागि लडेको पीडा पस्किएका छन् उपन्यासमा राईले । साम्राज्यवादी बेलायतले नेपालीको गरिबी, रोजीरोटी, इमानदारिता र सोझोपनको फाइदा उठाउँदै सस्तो मूल्यमा कसरी युद्धमा लदाएको हुन्छ भन्ने कुराको प्रत्यक्ष दृष्टान्त हो यो उपन्यास । बेलायती स्वार्थका लागि युद्धमा होमिएका नेपालीले ज्यान गुमाउँदा र अङ्गभङ्ग हुँदा  के पाए भन्ने प्रश्न गरेको छ युद्ध एम्बुसमा राइफलको सङ्गीतले । अनि बाँचेकाहरूप्रति किन विभेदपूर्ण व्यवहार गर्छ भनेर पनि ��"ालो ठड्याएको छ ।

          युद्धवीर पात्रलाई उपन्यासको नायकका रूपमा चित्रण गरिएको र छाया नायकका रूपमा "" पात्रलाई सँगसँगै दौडाइएको यस उपन्यासले सन् १८१५ देखि हालसम्म नेपालीहरूले ब्रिटिस गोर्खा रेजिमेन्टमा रहेर युद्ध लड्दाको ऐतिहासिक पीडालाई देखाइएको छ । ब्रिटिस गोर्खा सेनालाई मान्छेका रूपमा होइन जनावरका रूपमा हेर्ने बेलायती दृष्टिकोणको उपन्यासमा धज्जी उडाइएको छ । करिब २५० वर्षको ब्रिटिस गोर्खा सेनाको इतिहासमा अहिलेसम्म आइपुग्दा पनि स्वत्वको अनुभूति नभएको कुरालाई टड्कारो रूपमा देखाइएको छ । यतिसम्म कि युद्ध एम्बुसमा पड्किएर छरपस्ट अवयवलाई गिद्ध र स्यालले आहारा बनाउँदा पनि अभिलेखीकृत नहुनुलाई उपन्यासमा देखाएर उपन्यासकारले एकदमै कारुणिक पक्षलाई उपन्यासमा देखाएका छन् । कतै स्वास्नीको लास अस्पतालमा पल्टिँदा लोग्ने युद्धमा लडिरहनुपर्ने बाध्यता त कतै युद्ध एम्बुसमा लोग्नेका अङ्ग-प्रत्यङ्ग छरपस्ट हुँदा स्वास्नी बेखबर भएर बस्नुपर्ने अनेकन पीडा छन् उपन्यासमा । उपन्यासमा सान्केन्मा र मनाहाङजस्ता पात्रहरूले यस्तै नियति भोगेका छन् ।

          उपन्यासकार गणेश राईले उपन्यासमा राष्ट्रिय सांस्कृतिक प्रेमलाई असाध्यै कलात्मक ढङ्गले देखाएका छन् । आफ्नो थातथलोबाट धरानको घोपा क्याम्पमा प्रवेश गरेपछि अपनत्वमा क्रमशः क्षयीकरण हुँदै जाने कुरालाई देखाएका छन् लेखकले । यतिसम्म कि आफ्नै देशमा विदेशी झन्डा छोएर कसम खाँदाखेरिको बीभत्स पीडाले जो कोही स्वाभिमानी नेपाली मुटु चरक्क चिरिने दृष्टिबिन्दु उपन्यासमा छ । युद्धका हरेक मोर्चामा नेपाली जातीय पहिचानको खोजी गरेका छन् लेखकले उपन्यासमा । घोपा क्याम्पको प्रवेशदेखि रेजिमेन्ट स्थल र युद्ध मोर्चाहरू सबैमा नेपाली सांस्कृतिक पहिचान, राष्ट्रिय र योद्धाको स्वत्वको हुर्मत लुटिएको कुरालाई उपन्यासले नग्न पर्दाफास गरेको छ । यस्तो हुँदा पनि नेपालले राज्यको तर्फबाट आफ्ना नागरिकलाई नहेर्नु विडम्बनाको विषयमा रूपमा देखाइएको छ ।

          काव्यात्मक भाषा शैलीको प्रयोग गरिएको उपन्यास "युद्ध एम्बुसमा राइफलको सङ्गीत" मा जनबोलीको प्रयोग भएको छ । काव्यात्मक भाषाले उपन्यासलाई अझ सशक्त बनाएको छ । पात्रहरूले बोल्ने भाषा खाँटी झर्रो पाइन्छ । सांस्कृतिक मिथहरू र कतिपय पात्र सांस्कृतिक नामकै छन् । लाहुरेहरू स्वदेश फर्किंदा दुहुनो गाई सम्झि प्रवृत्तिप्रति सटिक व्यङ्ग्य गरेका छन् उपन्यासकारले कृतिमा ।

          उपन्यास यति सशक्त हुँदाहुँदै र साम्राज्यवादको चर्को विरोध हुँदाहुँदै पनि उपन्यासले वैचारिक स्पष्टता भने लिन सकेको छैन । चीनमा भएको सांस्कृतिक क्रान्ति र तिमानमेन स्क्वायरमा भएको साम्राज्यवाद र छाडा प्रवृत्तिमाथिको दमनलाई उपन्यासले चर्को विरोध एकातिर गरेको छ भने अर्कोतिर बेलायती साम्राज्यको विरोध झन् चर्को छ । यहाँनेर चिनियाँ सांस्कृतिक क्रान्ति साम्राज्यवादी संस्कृति विरूद्ध अभिव्यक्त विचार हो भन्ने कुरालाई बुझ्न नसक्नु लेखकको वैचारिक अस्पष्टता हो कि भन्ने शङ्का उत्पन्न भएको हुन्छ उपन्यासमा ।

          जे होस्, नेपाली उपन्यास साहित्यमा आजसम्म लुकेर बसेको विषयवस्तुलाई उपन्यासकारले उजागर गरेका छन् । युद्धमा प्रयोग हुने कोड भाषाको प्रयोगले उपन्यासलाई आकर्षक बनाएको छ । पाठकले यो उपन्यास पढेर युद्ध मनोविज्ञान र नेपाली सांस्कृतिक मनोविज्ञानसमेत बुझ्न सक्नेछन् । आजसम्म नेपाली उपन्यास जुन परम्परा र ढर्रामा लेखिँदै आएका थिए त्यसमा "युद्ध एम्बुसमा राइफलको सङ्गीत" उपन्यासले क्रमभङ्ग गरेको छ र नयाँ क्रमको सुरुआत गरेको छ । उपन्यास लेख्ने लेखकहरूलाई नयाँ विषयवस्तुमा घोत्लिन बाध्य पारेको छ । नेपाली उपन्यास लेखनको परम्परामा यस उपन्यासले नयाँ विषयवस्तु, शैली, कला र शिल्पलाई भित्र्याएको छ । नेपाली उपन्यास साहित्यको विशिष्ट र गर्व गर्न लायकको उपन्यास हो भन्न हिचकिचाउनु पर्दैन ।