म बसाइ सरेको होइन

Author : बिष्णुनन्द चाम्लिङ
Published on : October 04, 2009


  
बिष्णुनन्द चाम्लिङ

मेरो प्यारो गाँउ

म बसाइ सरेको होइन

मेरो जन्म स्थानको आघात माया छ

मेरो पुर्खाले सृजेको सुन्दर भूमी

मृत्यु शैयामा पुग्दासम्म भूल्न सक्दिन

मेरो शैसवकाल बितेको त्यो खोला नालाहरू

वन जङ्गल, डाँडा पाखाहरू

भञ्ज्याङ्ग चौतारी र देउरालीहरू

वर पिपलको सित्तल ति छहारीहरू

मैले मेरो मातृत्व र भातृत्व भुलेर

मेरो प्यारो गाँउ

म बसाइ सरेको होइन

 

वयस्कसम्म त्यहिको पानी

फल फूल, अन्न, कन्दमुल

सिस्नुका झयाङ्गहरू सुम्सुम्याएको क्षण बिर्सेको छैन

प्रत्येक खेत बारीका गह्रा र कान्लाहरू

रचने, फुर्के, कथुरे,गाजले, अर्चने

भन्दै उर्वरा बनाएको भुलेको छैन

छोरीचेली दाजु भाइसागै देउसी भैले खेलेको क्षण भुलेको छैन

उद्यौली उभौली साकेला नाच्दै भूमी पुजा गरेको बिर्सेको छैन

मेरा पित्रीहरू साँचि छन्

अझै पनि म भन्दैछु तिमीलाई

मेरो प्यारो गाँउ

म बसाइ सरेको होइन

 

वन पाखामा मृग मृगिनीहरूको लस्कर

कालिज र लाँचे को बथान

अन्य प्रजातिका  चिर्बिर चिर्बिरे चराहरू

रङ्गी बिरङ्गका पूतलीहरू

आकाशको इन्द्रेणी हेर्दै नृत्यमा मस्त ति मयूरहरू

सेताम्य फुलेका ति चाँप सिमलहरू

रक्ताम्य फुलेका लाली गुराँसहरू

भीर पाखा भरी फुलेका ति सुनाखरी र

सुनगाभाका फुलहरू

गाँउ घर भरी फुलेको त्यो सयपत्रि, मखमली, बाबरी, चमेली

यस्तै यस्तै ..........

साँच्चै त्यो मेरो गाँउ स्वर्गकै टुक्रा हो

मैले ति सुन्दर प्रकृतिलाई बिर्सेर

मेरो प्यारो गाँउ

म बसाइ सरेको होइन

 

जीवन चालाउने क्रममा समयको हुरीले

हुत्याएर प्रवासि बनायो

हरेक हण्डर खेप्दै यो परदेशमा गुजारा चलाउँदै छु

दिन दिनै अनुहारमा चित्र रेखाहरू कोरिन थाले छन्

ऐना हेर्दा पो थाह पाएँ

अनुहारमा अचेल मेरै देशको नक्शा कोरिन थाले छु

कैले आफु जन्मेको 

त्यो घुर्यान र करेसा बारीको नापिले कागजमा चटकै छुटुयाए जस्तै

झस्किन्छु र भन्ने गर्छु

हातगोडा बस्न अगावै मेरो पि्रय मातृभूमी

मैले समयलाई पछयाउने क्रममा तिमीबाट टाढा भएँ

मेरो जिन्दगी भरीको थकान

तिम्रो कखमा मेटाउन पाउँ

मेरो जिन्दगीको अन्तिम निन्द्रा

तिम्रो त्यो न्यानो काखमा निदाउान पाउँ

मेरो प्यारो गाँउ

म बसाइ सरेको होइन