सगरमाथा नाङ्गै देखिन्छ

Author : Bikram Subba
Published on : September 29, 2009


  
Bikram Subba

कुनै छलकपटको चीसो योजना थाल्ने हो कि

या कुनै झुप्रोहरूको छातीमा सर्दी हाल्न हो ?

शान्तिको कुनै ��"स्याइलो गीत गाउन हो कि

या कुनै गुराँसको कलकलाउँदो थुंगा अठ्याउन हो ?

आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर

सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ

पहाडै पहाड घुइँचो घारीमा

सबैभन्दा माथि उछिट्टीएर फक्रेको

हिमालको थुंगा उदांगै देखिन्छ

जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ !

 

प्रायः कुनै आरोहण दलको

पाइतालाले शीरमा टेकेको देखिन्छ

कहिले कुनै कुनै अराइएका चित्रकारहरूले

एकटुक्रा क्यानभासमा लेखेको देखिन्छ

बादलको थोत्रे बक्खु पनि फाटिसकेका

गौरवको बिचरो चुचुरो ह्वाङ्गै देखिन्छ

जहाँबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !

 

बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखाहरू

स्तुपहरूमा टाँसेर गुम्बाहरू हेरिरहेका छन्-

विदेशीको भरौटे भएका सपुतहरू,-

स्वदेशी डोकोमा विदेशी झण्डा बोकिरहेका छन्

नेपाली चुचुराको सिउँदोमाथि फरफराउन

ढुक्कै विदेशी झन्डाहरू उक्लिरहेका छन्

झोक्रिएर बसेको सिंगो हिमाल विवश र उदाङ्गै देखिन्छ

जहाँबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ !