गीत शुभ र मंछी गल्ली

Author : प्रकाश थाम्सुहाङ
Published on : September 07, 2009


  
प्रकाश थाम्सुहाङ
Author

यो क्षण म गीतको बारेमा लेख्न बस्दैछु । धेरै गीतकार साथीहरूले गीतको बारेमा लेख्न उहिल्यै भनेका थिए । मलाई आँट आएको थिएन । बाहिर ठूलो झरी परिरहेछ । धेरै दिनको खडेरीपछिको झरी हो यो । हा ! यो मौसमसँग मेरो लेखनलाई कसो नदाजूँ ? म धेरैपछि गीतको बारेमा लेख्न आँट गरिरहेछु । फेरि "एभरेस्ट"मा दुई हप्ताको अक्षर खडेरीपछि बर्सेको यो झरी हो (अलि ज्यादा पो भयो कि) । अघि मैले एउटा नयाँ गीतको रेकर्डिङ सुनेँ । सम्भवतः उक्त सङ्गीतको प्रभावले होला गीतमाथि केही शब्द लेख्न उत्प्रेरित भएको । अराजक कवि हाङयुग अज्ञातको नयाँ गीत । सायद यो उनको नेपालमा रेकर्ड भएको पहिलो गीत हो । काउकुती लागेर आउँछ, उपेन्द्र सुब्बाको बाटो पहिल्याउँदै दुई अराजक कविहरू अहिले गीतमा मरिहत्ते लागिपर्दैछन् । समायन्तरले विचार यसरी बदलिँदो रहेछ । जे होस्, यो गीत क्षेत्रको निमित्त सुखद घटना हो ।

लगेजभरि भयवादीय विचार बोकेर देश सुब्बा अहिले यता काठमाडौँमा छन् । 'भयवाद वैचारिक चिन्तन समालोचना पुस्तक उनको कोसेली हो । अनुमान गर्दैछु, यो मेरो लेख छापिन्जेल उनले भय लट्ठीले यहाँका बौद्धिक पण्डितहरूको टाउकोमा फुरौला उमार्ने छन् । त्यसको तयारी पनि हुँदैछ । कि भोगेनजीले भनेजस्तै आठ नम्बरको टाइफून आउने पूर्व आभास हो यो ?

कता पो बरालिँदै छु हौ ? मैले त गीतको बारेमा लेख्नुपर्ने । सायद चानचुने गीत नभएर होला म केही लेख्न भूमिका बाँध्दैछु । पख्नुस्, म अहिले नै गीतभित्र पसिहाल्दिना । पहिले गीतकारलाई यसो खोतलखातल पारौँ ।

लगभग ५-६ वर्ष अघिको कुरा हो । म यहाँको साहित्यिक माहौलदेखि पूरै अनभिज्ञ थिएँ । बेखबर थिएा । केही वर्ष विदेश बसाइले होला यहाँको वातावरण मलाई अप्ठेरो लाग्दै थियो । मसँग एउटा साथीको कविताको पाण्डुलिपि थियो, त्यसलाई प्रकाशन गर्नुपर्ने । म दुबई प्रवास छँदै हाङयुग अज्ञातमार्फत शुभ मुकारुङको फोन नम्बर लिएको थिएँ । त्यसै नम्बरमा मैले फोन गरेँ, बागबजारमा भेट्ने हाम्रो निधो भयो । धर्मेन्द्रविक्रम नेम्वाङको निम्तोमा रसियन कल्चर सेन्टरको कार्यक्रममा एकैछिन् उपस्थित भएर म उधो बागबजार झरेँ । शुभ मुकारुङ एक पत्रकार, दुबईबाट प्रकाशित हुने 'परदेश पत्रिकाको विशेष सम्पादक र एक समय 'गोर्खा सैनिक आवाजको कार्यकारी सम्पादक । मैले शुभ मुकारुङको व्यक्तित्व यसरी बुझेको थिएँ । प्रत्यक्ष अनुहार याद थिएन । फोनमा उनले दिएको लोकेसन पछ्याउँदै म बागबजारको मंछी गल्ली पुगेँ । अहिले राम्ररी थाहा भयो, त्यो ठाउँ साथी प्रकाशन छिर्ने मूल गेट थिएछ । एउटा पातलो-पातलो मान्छे, कालो चस्मा लगाएको, पेन्ट-सर्ट लगाएको र गोजी नै गोजी भएको हाफ ज्याकेट लगाएको मान्छे भित्र पस्न खोज्दै छ । उनैलाई बोलाएँ र सोधेँ -शुभ मुकारुङ कहाँ भेटिएला ? 'म नै हुा- उनको पातलो सी माइनर जवाफ ! म ढुक्क भएँ ।

उक्त दिनको पहिलो भेटघाटपछि हामी प्रगाढ बन्दै गयौँ । त्यसपछि हाम्रो मित्रता र साहित्यिक सम्बन्धले पछाडि फर्केर हेर्नुपरेको छैन । हो, कुनै बेला ज्यादा नजिक भएपछि ढुस्कियौँ होला, धुक्र्यायौँ होला । बुझाबुझ भएन होला तर सम्बन्धको निरन्तरतामा ब्रेक लागेन ।

मेरो जीवनमा अनौठो संयोग छ । मेरा साहित्यिकदेखि लिएर अन्य क्षेत्रका साथीहरू मभन्दा उमेरले पाका हुन्छन् । अनुभवले खारिएका हुन्छन् । हुनसक्छ मेरो मोटो ज्यान र प्रौढ देखिने अनुहारको करामत हो । शुभ मुकारुङ पनि मभन्दा पाका र अनुभवले खारिएका । यसले मलाई फाइदा नै गरेको छ ।

कति वर्ष भयो होला उनले बागबजारको मंछी गल्ली धाएको ? मैले धाएकै पाँच-छ वर्ष पुग्यो भने उनले धाएको एक दशक नाघ्यो होला । त्यत्रो वर्ष बागबजार धाउादा उनी कहाँ पुगे त ? कतै आत्मसमीक्षा होइन उनको गीत -

कुन मोडदेखि बाटो बिराएँ

पुग्नु कहाँ थियो यतै अल्मलिएँ

वेदना होइन यो उनको गीति अभिव्यक्ति सायद संवेदना हो । अम्बर गुरुङको भनाइअनुसार सम्वेदना साझा हुन्छ । यसर्थ, सम्वेदनाले सबैलाई छुन्छ र गीत उत्कृष्ट बन्छ । गीतको विशेषता नै हृदय छुने हुनुपर्यो । तर हामीलाई लाग्छ शुभ मुकारुङले बाटो बिराएका छैनन् । उनले बाटो बिराउँदा हुन् त हामीले 'सायद 'संवेग, 'स्वीकृति र 'पुग्नु कहाँ थियो जस्तो उल्लेख्य कृतिहरू प्राप्त गर्ने थिएनौँ । निरर्थक र उपलब्धि शून्य, त्यसै बागबजार धाएका छैनन् उनले । यदि उनी बङ्गुर काट्ने व्यवसायतिर लागेका भए मसल ठूलो बनाएर यहाँ घर ठड्याउँथे होलान्, तर उनी पैसाको पछि लागेनन् । उनले स्रोताको, पाठकको मनमा घर बनाएका छन् । यति भएपछि एउटा सर्जकलाई के चाहियो र ? शुभजी, हामीले कहीँ पुग्नु छैन । यद्यपि, सिर्जनाचाहिँ गर्दै जाऊँ ।

थोरै तर धेरै खराएर उत्कृष्ट गीत लेख्ने गीतकारमा पर्छन् शुभ मुकारुङ । उनको गीतको प्रमुख विषय प्रेम भए पनि गीति संरचनामा विविधता छ । प्रेम सार्वकालिक र सार्वजनिन विषय भए पनि त्यसलाई एउटा गीतकारले कसरी प्रस्तुत गर्छ यो महत्वको कुरा हो । उनले प्रेमलाई पुराना गीतकारहरूभन्दा पृथक् ढङ्गले प्रस्तुत गरेका छन् । यो उनको खुबी हो । जस्तो :

यो कस्तो अभियोग मलाई लगायौं

र जुनिभरिलाई कैदी बनायौं

मैले बुझेको गीतलाई कविताभन्दा बेगल गीतमा निहित गेयात्मकताले बनाउँछ । कविता मुक्त भएर लेखिन्छ भने गीतमा केही त परम्परागत मान्यताहरू छन् । यद्यपि, कुनै गीतकारले ती मान्यताहरू मान्नै पर्छ भन्ने बाध्यता छैन । तर स्थायीले एउटा विषय उठान गरेपछि अन्तराले त्यसलाई पुष्टि गर्नुपर्छ । यो चाहिँ गीतकारले ख्याल गर्ने पर्छ । किनकि गीत र गजलमा धेरै अन्तर छ । झन्डै दुई दशक गीतिकारितामा लागेका शुभ मुकारुङलाई यसको हेक्का नरहने कुरै भएन । फलस्वरूप उनका गीतहरू मर्मस्पर्शी भएका छन् ।

किन मैले तिमीजस्तो पत्थर हुन नजानेको

सधैं तिम्रो सम्झनामा पग्लिरहेा हिउँजस्तो

गीतको प्रकार ६ वा ८ वा १० हरफ सबै प्रकारका गीत उनले लेखेका छन् । तर संरचना र प्रयोग त तपसिलका कुरा हुन् । प्रयोग साध्य होइन । प्रमुख कुरा त भाव, विषय, सौन्दर्य र शब्दशिल्प नै हो । शुभ मुकारुङले आफ्ना गीतहरूमा भाव, सौन्दर्य र शब्दशिल्पलाई विशेष महत्व दिएका छन् । सरल पनि होस् र सुन्दर पनि होस् -गीतलाई निर्माण गर्न निक्कै हम्मे पर्छ । यो परीक्षामा केही गीतकारहरू मात्र सफल हुन्छन् । यो मानेमा सफल गीतकार हुन्- शुभ मकारुङ । विशेष गरी किराती स्रष्टाहरूमाझ अहिले चलिरहेको ट्रेन्ड - आफ्नो जातीय मिथक, बिम्ब, संस्कृतिलाई सिर्जनामा उतार्नुरहेको छ । यो ट्रेन्ड कवितामा जति सहज होला गीतमा निश्चित रूपमा नहोला । तर यो चुनौतीलाई गीतकार शुभ मुकारुङले सहर्ष स्वीकारेका छन् । फलस्वरूप आफ्नो जातीय संस्कृतिलाई आफ्नो गीतमा सुन्दर प्रस्तुत गरेका छन् ।

 

भत्किएको घरजस्तो न झ्याल न ढोका

बेहिसाब भो जिन्दगी छैन लेखाजोखा

न त जोड घटाउ, न त भाग गुणा

कस्तो होला जीवन मेरो ? भन त विधाता

यो १२ हरफको संरचनामा लेखिएको गीत सम्भवतः शुभ मुकारुङको सर्वोत्कृष्ट रचना हो । आम मानिसको जीवन भोगाईलाई यहाँ उनले सुन्दर चित्रण गरेका छन् ।

बागबजारको मंछी गल्लीमा फगत रूमल्लिएको भेटे पनि सिर्जनाको शिखर शुभले चुपचाप चढ्दै रहेछन् । झन् अहिले उनी गीतकार मात्रै होइन, संस्कृतिकर्मी पनि भएका छन् । उनको सम्पादन पक्ष त छँदैछ । वैयक्तिक जीवन अर्थात् सांसारिक जीवनमा उनले बाटो बिराए-बिराएनन् त्यो त थाहा भएन । तर उनले सिर्जनामा भने बाटो बिराएका छैनन् । दसी उनको कृति आफै बोलिरहेछ ।