सुसाइड नोट, यो देशलाई एक नागरिकको

Author : Parihas Subba
Published on : August 31, 2009


  
Parihas Subba
परिहास
 

यो देश, लडेको आदिम ढुङ्गा नअडिने

ब्वाँसाहरू खानेखेल्ने ��"इलेनी पखेरा'

तल जति आँखिभौं तन्काए'नि

आँखाले नभ्याउने भयङ्कर खोंच

माथि चढ्नै नसकिने भयानक ढुङ्गे पहाड

दिन बिग्रे कुनै पनि समय

अलिकति खुट्टा चिप्लियो कि त

अडिने ठाउँ कहीँ कतै नभएको...

 

भीरनेर महादुःखले काटेका आङ सिरिङ्ग्याउने बाटाहरू

कहिले तानिन्छन् पहिरोले तल, तल तिर

कहिले पुरिन्छन् पहाड खसेर माथि, माथिबाट

र बर्षौंदेखि बटुवा गन्तीमा झैं बसेको बूढो रुखको ठुटो

पहिरोसँगै हराउन सक्छन् मेरो तालु घोटेर

भैरबनाथ गणमा बेपत्ताहरूको

चास उल्टाउन कुनै पनि साँझ ।

 

अराजकताको चरम उत्कर्षले

राजीनामा दिइरहेछन् जी-वनबाट

जीवनका  'फ्युचर प्लान' भाँच्दै सपनाहरूले भाँच्दै... भाँच्दै...

आक्रोशित चाहानाहरू 'आउट अफ् अर्डर' भएर

भत्काइरहेछन् मानबताका रेलिङ्हरू भ त् का इ र हे छ न्...

र फुटपाथनेर आफ्नो भोक दलालीमा बसेका छन् पसलहरू

खोजिरहेछ बतास पनि यहाँ पलायनका दिशाहरू ।

 

मेचीकाली फैलिएर

खङ्ग्रंग ढलिरहेछ देश

सुख्खा राज्य ब्यबस्थाले झन् झन् चर्किरहेछन क्षेत्रहरू

किसानहरू उहिले शासकहरूले नष्ट गर्न नभ्याएका

इतिहासका लाहाछाप ताम्रपत्र देखाएर

छरिरहेछन् नाराहरू

आफ्नो राज्यका सिंचाइ योजनाले कहिल्यै नभिजेको ��"इलेनीमा

र साँध किल्ला बाँधिरहेछन्

संधियार नक्साको फैलावट छात्ति ठोक्दै ।

 

यी भ्यागुता- दलहरूको गर्जमान जाँतो

यी सशस्त्र समुहहरूको स्वचालीत घट्ट

र यो सरकारीय बिलाशी ढिक्कीले

कहिल्यै बुझ्न चाहेनन् मलाई

जिन्दगी भकुण्डो होइन

त्यसैले बिधानबाट कहिल्यै नपाएको

आत्म निर्णयको अधिकारको प्रथम उपयोग स्वरुप

आत्महत्या गर्न गइर'को छु ।