जीवन सपना र मृत्यु

Author : नरेश ठूले
Published on : August 25, 2009


  
नरेश ठूले

नरेश सुनुवार

 

प्रकृतिद्वारा प्रतिपादित

यो ब्रम्हाण्ड

यो जगत

यो जीवन

प्राणी जीवनका दुई अस्तित्व

"पशु"

"मान्छे",

 

पशु !

जो यस्तो प्राणी

ऊ न चेतनशील छ

न संवेदनशील छ

तेसैले

उसले अस्तित्व बुझ्दैन

कुनै सपना देख्दैन

केवल जन्मन्छ

हुर्कन्छ

सिर्फ वर्तमानमा बाँच्दछ 

, मर्दछ,

 

मान्छे !

जो यस्तो प्राणी

ऊ चेतनशील छ

सम्वेदनशील छ

तेसैले

उसले आफ्नो अस्तित्व बुझ्दछ

जीवन जगतलाई चिन्दछ

मान्छे भएर जन्मनुको अर्थ जान्दछ

विगत सम्झन्छ

भविष्य सोच्दछ

र वर्तमान बाँच्दछ

तेसैले मान्छे

सपना देख्छ

सपना बुन्छ

र तेही सपना साकार पार्न

कयौं संघर्षमा होमिन अग्रसर हुन्छ

, सपना पुरा गर्नकै लागि जीवन बाँचेको हुन्छ,

 

त्यही प्राणी भित्रको

एउटा प्राणी मान्छे

, त्यही मान्छे भित्रको

एउटा मान्छे 'म'

अनगिन्ती अकाशिएका सपना देखेर

यावत विचार बोकेर

कयौं योजना तय गरेर

समयको द्रूत प्रवाहसँग

जीवन अगाडि बढ्दै थियो

र जीवनसँगै 'म' अगाडि बढ्दै थिएँ,

 

यान्त्रिकतामा हतारिएको समय

जसको उचित अवसरका मौका छोप्न

आफ्नो लक्षित गन्तव्यतर्फ हतारिएर

स्वाँ स्वाँ गर्दै

फ्वाँ फ्वाँ गर्दै

देखिने तर नबुझिने

मात्र अनुमान गर्न सकिने

कुदिरहेका यी मान्छेहरूको

जो कहाली लाग्दो भीड छ

उनीहरू सँगसँगै

त्यस भीडमा म पनि कुदिरहेको थिएँ,

 

छिचोल्दै छिचोल्दै

मान्छेका भिडहरूलाई

पार गर्दै थिए सडकहरू

जो आफ्नै गन्तव्य ताकेर

निरन्तर अगाडि बढ्दै थिएँ

अचानक

चार पाङ्गाको खुट्टा टेकेर

सेतो रङले सिङ्गारिएर

अजङ्ग सवारी साधनको छदम् भेषमा

मृत्यु ! मेरो सामुन्ने आएर

निर्मम बजारियो मेरो शरीरमा

ड्याम्म...!

ऐय्या.....! म ढले सडकमा लम्पसार

अनि आलो गन्ध ठस्स गन्हायो नाकमा

यक्रतत्र छरपष्ट छरिए सपनाहरु धूलैधूलोमा

छताछुल्ल भए लक्ष्यहरु

जब म होसमा व्युझिएँ

एउटा सन्नाटा भित्र

मलाई घेरिरहेका थिए कालको जुलुसले

, मृत्यु नङ्ग्रा फिँजाएर

पुनः झम्टीन तयार थियो,

 

 

म भाग्न खोजे

त्यो मृत्युको बधशालाबाट

म मुक्त हुन खोजे

मृत्युको पञ्जाबाट

तर, मेरा खुट्टाहरु

बेकम्बा भैसकेका थिए

मेरा अंगहरु निष्कृय थिए

मात्र मेरो चेत सक्रिय थियो

मृत्युको आँखा छल्दै

म घिसारिंदै सडक किनारा पुगेँ

, छामे मेरा सवै शरीरहरू

हो ! मेरा तन्तुहरू शिथिल थिए

सशङ्कीत हुँदै

पुनः हेरेँ नियाँले मृत्युलाई

तर त्यस बखत

रित्तो झोला उचालेर

खाली हात लिएर

'मृत्यु' त्यहाँबाट कुलेलम ठोकिसकेको थियो

'मृत्यु' ! त्यो दिन विफल भएर गयो,

 

मृत्यु अगाडिबाट आउन सक्दो रहेछ

मृत्यु पछाडिबाट आउन सक्दो रहेछ

मृत्यु दायाँ बायाँ तल माथि

सबै दिशाबाट आउान सक्दो रहेछ

जुनै काल, समय र परिस्थितिहरूमा

अनेक रुप धारण गरेर

अनेक बहना बनाएर

अदृश्य मृत्यु

मौका छोप्न आउँदो रहेछ

, जीवन छिनेर लाँदो रहेछ

सावधान ! मृत्युदेखि

जो प्रत्येकको जीवनमा आउँन सक्दछ

सावधान ! मृत्युदेखि

जसले पत्तो नदिई हामी माथि आक्रमण गर्नेछ,

 

तेसैले म

पुनः जन्मेको छु दोश्रो पटक

, भङ्ग भएको विचारहरूलाई

खल्बलिएको सपनाहरूलाई

पुनः निर्माण गर्न जुटेको छु

बाँचेर जीवन जीउनको लागि

जिएर जीवन बाँच्नको लागि ।