बिसे नगर्चीको बयान

Author : श्रवण मुकारूङ
Published on : August 22, 2009


  
श्रवण मुकारूङ

श्रवण मुकारूङ

 

मालिक !

म यो गोरखा राज्यमा

अढाई सय वर्षपछि बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ

जमिन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिर्मिरतिर्मिर भएर

हजुरको शिर दसवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ ?

कहाँनिर छ बिसे नगर्ची ?

मालिक !

म बौलाएँ ।

मै त महाराजको सेवा गर्नुपर्ने

इतिहासको रक्षा गर्न

यो गोरखकालीको पाउ छोएर

नुनको सोझो हुनुपर्ने

अढाई सय वर्षपछि आज के भयो मलाई ?

यो बिसेलाई दिशा लाग्यो मालिक !

म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी

नाथे मेरी छोरी न हो बलात्कृत भएकी

नाथे यो बिसेको झुप्रो न हो जलाइएको

यतिमै म बिसे उफ्रनुपर्ने ? थुइक्क बिसे...

म बौलाएँ मालिक !

म बौलाएँ ।

मेरो हात भाँचियो

अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ

नर्सिङ्गा फुक्न/सनाई बजाउन

अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ

मेरो खुट्टा भाँचियो

अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ

मेरो दिमागै ठीकमा छैन

अब म ठिक्कले बोल्न सक्दिना

मालिक ! म बौलाएा ।

मालिक !

यो गोरखा राज्यअघि उभिएका

हिजोका ती अग्ला अग्ला पहाडहरू

आज कसरी यस्तरी होचाहोचा भए ?

हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू

आज कसरी यस्तरी खुनी र कुरूप भए ?

यो दरौँदी किन उल्टो बगेको देख्छु ?

यो दरबारै किन खण्डहरजस्तो देख्छु ?

म बौलाएँ मालिक ! म बौलाएँ !

मालिक !

हजुरको तरबारले टाउको काट्छ कि फूल

भ्रममा परेँ म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?

भ्रममा परेँ म

यस राज्यलाई प्रजाले बनायो कि राजाले ?

भ्रममा परेँ म

अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक !

म कसरी आतङ्ककारी हुनसक्छु ?

म केवल बौलाएँ मालिक !

बौलाएँ ।

हो, मैले मालिकको दिव्योपदेश पालन गरिना हुँला

रक्सी खाएर

यो देश मैले पनि आर्जेको हुा भनेा हुँला

भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेा हुँला

मैले सिएका सुकिला लुगा ��"ढेकाहरूलाई

मेरो नाङ्गो आङ देखाएँ हुँला

बौलाएपछि मैले मेरै भगवानलाई पनि गाली गरेँ हुँला

मालिक !

मान्छे बोलाएपछि आफैसित पनि निहु खोज्दोरहेछ

अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका

मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ?

मैले खोज्न चाहेँ हुँला

मेरा ��"ँलामा खोपिएका छ्यान्द्रा र बगेका

रगतहरूले मलाई उक्सायो

तरबारले आर्जेको मुलुकभन्दा

मैले धागोले उनको मुलुक विशाल ठानेँ हुँला

मालिक !

यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु

म कसरी अराष्ट्रिय हुन सक्छु ?

म साँच्चै बौलाएँ मालिक !

साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ

जमिन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिर्मिरतिर्मिर भएर

हजुरको शिर दसवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ ?

कहाँनिर छ बिसे नगर्ची ?

मालिक ! म बौलाएँ ।