नेपाली गद्यको विकासमा युके सञ्चारको देन

Author : केदार 'संकेत'
Published on : August 08, 2009


  
केदार 'संकेत'

पृष्ठभूमि

आजको विश्वमा करिब ७ हजार भाषाहरू बोलिन्छन् र ती विभिन्न परिवारमा विभाजित छन् । नेपाली भाषा भारोपेली परिवारको हो । भारोपेली भाषा तथा आर्यभाषा भारत-इरानेली शाखाको प्रमुख मानिन्छन् । नेपालमा बोलिने भाषाहरूमा भारोपेली परिवारका नेपाली, मैथिली, भोजपुरी, थरुवाली, अवधि, राजवंशी, दनुवार, दरै, कुमाले, माझी, बोटे आदी पर्दछन् । 

भोट-बर्मेली वा चिनिया-तिब्वती परिवारमा प्रायः सुनुवार, राई, लिम्बु, याक्खा (यी ४ भित्र जम्मा २७ किराँती भाषाहरू छन्), नेवार, तामाङ, मगर, गुरुङ, शेर्पा, राजी, मेचे, धिमाल, चेपाङ, थकाली, जिरेल, धामी पर्न आउछन् । आर्यहरूको सबभन्दा पुरानो रुप वैदिक भाषा संस्कृत हो । सामान्य जनताले बोल्ने भाषा भने प्राकृत थियो । ती हुन् मागधी, अर्धमागधी, महाराष्ट्री र शौरसेनी । त्यसमा पनि अरु अपभ्रंश भाषाहरू बन्दै गए ।

नेपाली भाषाको प्रारम्भिक रुप र मूल स्थानको बिषयमा खोजी गर्दा सुदुर पश्चिमको खस जातिको विषयमा जान्नु आवश्यक छ । वि सं ८५० तिर खसहरू गढवाल, कुमाउँ र पश्चिमी नेपालमा फैलिएको पाइन्छ । सिंजा उपत्यकालाई यिनीहरूको केन्द्र मानिन्छ । १४ औ‌ शताब्दीमा भारतका मुसलमान शासकहरूको आक्रमणमा तीव्रता बढेपछि  यही बोली लिई क्षेत्री, ब्राम्हमण, सार्की, कामी र दमाईहरू पूर्वतिर लागे तेसपछि नेपाली भाषा क्रमशः फैलिएको अनुमान विज्ञहरूको छ । र यसको चरम विकास भने दार्जिलिङमा भएको हो ।

 

यसको विकास

नेपाली भाषामा लेख्यरुपको सबैभन्दा पुरानो प्रमाण साके ९०३ को दामुपालको दुल्लु शिलापत्र मानिएकोले अर्को प्रमाण फेला नपरुञ्जेलसम्म नेपाली लेख्य भाषाको इतिहास त्यसैबाट सुरु भएको हो भने पुरानो ताम्रपत्र वि सं १३१२ को हुम्ला जिल्लाको रेलिङ गुम्बाको मानिन्छ । यसको भाषा यस्तो छ "हाम्रा आलि अटली अटल परि अक्य्रा छु ।" अथवा "हाम्रो देशको सिमाना दिगो गरेका छौं ।" त्यसपछि मात्र नेपाली गद्य भाषाले व्यवहारोपयोगी विषयका ग्रन्थहरू जन्माउदै गयो।

गद्य भाषाले पन्धौं शताव्दीतिर आफुलाई अभिलेखबाट फैलाउदै लगेको अनुमान छ । १५५० तिर राजा गगनीराजको यात्रामा आइपुग्दा केही मात्रामा भए पनि साहित्यिक स्वरुपले ग्रहण गर्न थाल्यो । यसरी १६४८ मा भास्वती, गगनीराजको यात्रा र खण्डखाद्यले प्राचीन नेपाली गद्यको झल्को, १७०० तिर वाज परीक्षा, १७७३ तिर ज्वरोत्पति, प्रायश्चित् प्रदीप आदिमा गद्यले माध्यमिक कालीन गद्यको विकास भएको विज्ञहरूको धारणा पाइन्छ । नेपाल एकिकरण पश्चात देखिएका महाभारत विराटपर्व-१८२७, हितोपदेश मित्रलाभ-१८३३, हास्यकदम्ब-१८५५, मुद्राराक्षस-१८९२, दिव्योपदेश-१८३१, ले आधुनिक गद्य स्वरुपको मिठो झल्को दिलाउछ । अन्वेसकहरूको भनाइअनुसार सुन्दरानन्दको रामायण (नेपाली अनुवाद) तथा शक्तिबल्लभ अर्यालको वयरत्राकर  आदिलाई केलाउने हो भने प्रारम्भिक जग राम्ररी हालिएको पाइनेछ । यसरी नेपाली गद्य भाषामा प्रारम्भिक र अभिलेखककालीनमा बाक्लै भिन्नता र विशेषता पाइन्छन् ।

नेपाली गद्यको क्रमिक अध्ययनका आधारमा यो भाषा प्रारम्भमा कामकाजी ब्यबहारको माध्यमका रुपमा मात्र सीमित थियो । सम्भवतः नेपाली भाषा र यसको गद्य रुप लामो समयसम्म लोकजीवनको श्रुतिपरम्परा अभिव्यक्ति दिँदै आएका लोककथा, लोकोक्ति आदि लोकसाहित्य र सामान्य लावाणीका माध्यममा हुर्कदै गयो ।

नेपाली बृहत शब्दकोशले छन्द र लयको औपचारिक बन्धनमा आधारित नभएको भेद, नेपाली साहित्य कोशले छन्द विहीन रचानको अर्थमा र नेपाली शब्दभण्डारले निश्चित नियममा नबाधिने रचना भनेर ब्याख्या गरेको पाइन्छन् -सबैको भनाईहरू निचोडमा एउटै देखिन्छ) । गद्य छन्दविहीन भएर पनि लयात्मक र सुललित हुन्छ । त्यसैले महाकवि देवकोटाले पोथी गद्यको नाउँ दिएको हुनुपर्छ यसलाई । काव्यमा प्रमुख तीन गुण हुन्छन् ! माधुर्य, औज र प्रसाद । यी तीनै गुणको अपेक्षा पद्यमा जत्तिकै गद्यमा पनि रहन्छ । साहित्य कोशका अनुसार बुद्घी वा तर्कपरक पक्षसँग  गद्यको बढी सरोकार रहने हुँदा वस्तुनिष्ठ रुपमा विवेचना गर्नुपर्ने गहन तथा गम्भीर विषयको द्विविधामुक्त, सुस्पष्ट तथा एकार्थक अभिव्यक्तिमा गद्यको अपरिहार्यता रहन्छ ।

 

सञ्चारमा यसको देन

सञ्चार तथा पत्रकारिताले समाजमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पत्रकार तथा साहित्यिकारका प्रमुख भाषा-शैली गद्यमानै भएको हुनाले यी एकअर्काका पुरक भएर अगाडि बढेका छन् । यसले लोकको रुचिसँग कुनै सम्झौता नगरिकनै भाषिक-साहित्यिक दृष्टिले स्तरयुक्त सामाग्री दिएर लोकरुचि र अभ्यासलाई प्रशिक्षित तथा सुसंस्कृत तुल्याउने मद्दत गर्दछ । आमसञ्चार र पत्रकारको भूमिका पनि सच्चा लोकनायक र साहित्यिक मनीषिको जस्तै हुन्छ ।

साहित्यकारले जस्तै सञ्चार र पत्रकारले पनि दिग्भ्रमित समाजलाई दिशा निर्देश गर्ने र प्राचीन ज्ञानसम्पदा तथा देश-प्रदेशको ज्ञानचेतनालाई गतिशील भविष्यतर्फ उन्मुख गराउने गर्दछ । पत्रकारितामा नेपालको गोरखापत्रले-१९५८ देखि निर्वाह गरेको भूमिका जस्तै बेलायतका आप्रवासी जनजीवनकोलागि बी के खनाल तथा गोविन्द बेलवासेद्वारा सम्पादित नेपालीसन्देश-२००३ देखि,  डा.चन्द्र लक्सम्बाद्वारा सम्पादित नेपालीपत्र-२००५ देखि, हरी कुमार गुरुङ तथा शशी पौडेलद्वारा सम्पादित एभरेस्ट टाइम्स- २००८ देखि, लगायत अरु विभिन्न पत्रपत्रिका तथा बी एफ बी एस गोर्खा रेडियो युकेका निर्देशक खेमराज गुरुङको भनाई अनुसार सिङ्गापुरबाटै १९५२ देखि सञ्चालित हुँदै आएको यो रेडियो कार्यक्रमले आज बेलायत तथा ब्रुनाईबाट प्रत्यक्ष प्रसारण तथा अप्रत्यक्ष रुपमा साइवरको माध्यमबाट विश्व भर सुन्न सकिन्छ ।

त्यसै गरी नेपाली टि.भी. बेलायतका निर्देशक विजय थापाको भनाइमा नोभेम्बर २००५ देखि यता प्रत्यक्ष्य प्रसारण गर्दै आएको छ । उक्त प्रसारित कार्यक्रमहरू विश्वका ५८ राष्टहरूसम्म हेर्न सकिन्छ । अब आउने नयाँ सालबाट यसलाई कार्ड सिस्टममा लगेर अझैं दृश्यमा परिमार्जन गरिने छ । यी सबै कुराले नेपाली भाषा र गद्य शैलीको विकास क्रममा सन्चार माध्यमले पारेको प्रभाव अतुलनीय देखिन्छ ।

भाषिक शुद्घता वा मौलिकताको आधारमा चालिएको झर्रोवाद-२०१३ सालको भाषा आन्दोलनले सन्चारमाध्यम तथा  पत्रकारितामा यसको प्रभाव पर्नु स्वभाविकै थियो । संकृतका तत्सम र हिन्दीका आगन्तुक शब्दको गठनले ग्रस्त हुन थालेको नेपाली भाषा र यसको गद्य शैलीलाई विशुद्घ गद्य शैलीको रुपमा अगाडि बढाउन महत्वपूर्ण सहयोग पुर्याएको कुरा बिर्सन सकिन्न ।

तर पनि वर्तमान परिप्रेक्षमा आएर वाक्य संरचना तथा शब्द चयनमा भाषा शुद्घतामा देखिएको केही विचलनलाई पत्रकार तथा सन्चारकर्मीप्रति जिम्मेवारी खन्याइएको छ । आमसञ्चारको परिवेशमा देखिने केही विचलनने यो भनाइलाई एकदमै गलत भन्न भने मिल्दैन । आजको नेपाली भाषा र गद्य शैलीको मौलिकातमा यसको निख्खरपन हट्दै जानुको कारण सम्पादक, लेखक तथा समाचारदाताको विभिन्न कारणहरूले हो ! जुन हामीहरूले स्वतः स्वीकार्नै पर्छ । भाषामा निख्खरता र शुद्घता अपनाउन सक्नु अति गाह्रो कुरा हो । ब्याकरणमा भलै पोख्त भएपनि बेला बखत साधारण गल्तीहरू भाषाविद्हरुले पनि गरेको नभेटिने भने होइनन् । यद्यपि यी सबैलाई मध्यनजर राखेर आफु मुक्त हुन सक्नु आज आप्रवासी लेखक, साहित्यकार तथा पत्रकारहरूको ठुलै चुनौती देखिएको छ ।