मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित

Author : वैरागी काइँला
Published on : August 06, 2009


  
वैरागी काइँला
वैरागी काइँला
 
आधारातपछि

रक्सी दोकानबाट म के निस्किएको छु :

प्रत्येक खोंगी र खोरभित्रबाट

पखेटा फट्फटाउँदै विद्रोहको

कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्,

यहाँको बातावरणको निम्ति

यहाँको निर्जीवताको निम्ति

यहाँको व्यवस्थाको निम्ति

मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि

आज, ठुलो आँधीसरह भइसकेको छ

सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरू

आफ्नो जगसहित आफ्नो कमजोरि माटोमुनि गाडिदिनु

अब, अब, अब लड्नलाई तयार छ,

 

आज मेरो प्रत्येक पाइलामा यौटा-यौटा भूकम्प छ

आज मेरो प्रत्येक अनुभवमा यौटा-यौटा ज्वालामुखी पड्कन तैयार छ

कसरी बसेछु यो उमेरसम्म

यौटा पाइलासम्म पनि नअटाउने

ढल्न लागेका यी साँगुरा घरहरूमा ?

मलाई दुःख लाग्छ :

अझै सुत्छन् गनाउलाझै गुजुल्टिएर

आत्म-पराजित मानिसहरू

धरतीको अस्वस्थ्यकर घरहरूमा,

अनि यति अबेरसम्म ?

आज मेरो विशाल्ता पृथ्वीमाथि अटाउदैन

यो सडकभरिको देशमाथि सास थुन्छ

अनि मैले सडकभरि आँदाखाँद गरेर हिड्दा

मानिस भन्छन्- यो मातेको छ ।,

छेउ लागेर बाँयापट्ट हिंड्नु पर्छ

हो हामीले छेउ लागेर हिंडनु पर्छ

धेरैले सडकमाथि अटाएर हिंड्नु पर्छ,

 

गगनचुम्बी भवन र धरहराका

सिरान-सिरानका कोठाभित्र

रात-रातभरि बल्दछन्.......नीलो-नीलो गुलुप :

लाटकोकोसेराका आाखाहरू,

यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछन,

यहाँ रातभरि लाटकोसेराले कसकसको बाटो ढुक्छ ?

टाउकोभरि अफिसको कागजपत्रका अक्षर,

छातिभरि अफिसको दिवाल घडीका काँटाहरू

फेरिनै आटेका पूर्जाजस्ता जिन्दगी

काँधमाथि टाउको लतारेर यो सडकमाथि हिंडदछन्,

यिनलाई घिसारेर हिंडदछन्

अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर

रात-रातभरि यो सडकमाथि !

फलतः आजकाल सडक घटेको छ,

 

कसले चोर्दछ सडकका छेउकुनाहरू ?

किन घट्दछन यो सडक प्रत्येक रातको आगमनसित ?

यो सडकलाई उधारेर फेरि ठुलो पार ............

जब म भन्छु, छेउको मुर्ख पुलिस

मलाई पक्रन तयार छ किनकी म मातेको छु !

अनि रक्सीले छात्ति भरेपछि

मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,

कि यो सडकको संकीर्णतामा अब अब नअटाउने भइसकेको छु !

इन्जिनियरले सुनुन्

नेता, प्रध्यापक र कविहरूले सुनुन्

इतिहासको प्रत्येक आन्दोलनले सुनुन्

यसर्थ, पोष्ट अफिसको पेटीबाट

म वक्तव्य प्रसारित गर्दछु :

ए सडक हो !

यौटा मानिस तिमीमाथि हिंडदै छ,

म अटाइना तिम्रो फैलावटमा

थसर्थ, म हुकुम गर्दछु .....

अझै तिमीहरू-फट्टिदेऊ, च्यात्तिदेऊ, फैलिदेऊ......

तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने

प्रतिक्षण इतिहास बनिरहेका क्षणसित

यी ठूलठूला बिल्डिङका पेटीहरू

मात्र कोतपर्वका विजेताका

मात्र शासन गर्ने परिवारका

प्रशस्ति र वंशावली लेखिएका इतिहासका इतिहास नाङ्गा पन्ना जस्ता

यी पेटीहरूलाई

मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर

तिमीले च्यात्तिदेऊ........फाट्टिदेउ......

कोलम्बसको पैतालाले

यस सडकमाथि टेक्न पाउनु पर्छ ।

यौटा विद्रोहले यहाँ शिर उचालेर हिंड्न पाउनु पर्छ,

 

यसर्थ, म हुकुम गर्दछु :

ए सडक हो !

अझै च्यात्तिदेऊ.......अझै फाट्टिऊ....

जति खाडल बन्दछ त्यत्ति नै

रक्सीको तरलताले भिजाएर

, मेरो सद्भावनाले रसाइदिन्छु

म मेरो विशाल्ताले ढाकिदिन्छु

नत्र ता म यहाँ अटाउनै सकिनँ,

नत्र ता बिहान नौ बजे स्कूलको बखत

सानो बालकलाई

उसको आमा र मैले कसरी स्कूल पुर्याउनु यहाँबाट

जहाँ अटाउदैन यौटा खुट्टाको पनि पैतालाको फैलावट !

सयौ बूटले प्रतिक्षण किच्चिएर

मोटरका चक्काले प्रतिक्षण पिल्सिएर

लम्पसार र उत्तानो परिसकेका ए जिन्दागी हो !

निष्क्रियताको हुस्सुले थुनिएर

साइनबोर्डका खम्बाले सीमित

घुम्तिघुम्तिले टुक्राटुक्रा खण्डित

चक्रवर्तीको चोइटिएका पराक्रमको सहस्र चोइटा......

ए सडक हो !

अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका

सगरका ए शापित सहस्रदश पुत्र हो !

आकाशबाट बोतलको स्वर्गङ्गाको जल

भगीरथको आस्थाले छर्किहेछु तिमीमाथि,

तिम्रो निधारमाथि, आँखामाथि, छात्तिमाथि !

यो जो बगाइरहेछु बोतलका बोतल....

रक्सी सडकमाथि,

थोपाथोपा पिएर

उठ, उठ बौरिएर ए मेरा पिताहरू हो !

ए सगरका शापित सहस्रदश पुत्र हो !

अनि एस पल्ट हिमालजत्रो मुठीले

क्षितिजका गहबाट कचेराको कुइरो पुछेर

मसित हेरिदेऊ.......प्रथमपल्ट :

आँखाले भ्याउञ्जेलसम्म

हामी हाम्रो चारैतिर

विजयका निम्ति युद्धभूमी र

जिन्दगीका निम्ति उज्यालै उज्यालोमात्र देख्दछौं !