सृजनशील साहित्यको आवरण नियाल्दा

Author : किराँती भोगेन एक्ले
Published on : October 23, 2008


  
किराँती भोगेन एक्ले
 
 

सृजनशील साहित्य समाज हङकङले प्रकाशित गरेको 'सृजनशील साहित्य' अर्धवार्षिक प्रथम अङ्कको विमोचन कार्यक्रममा हङकङे व्यस्तताको कारण सहभागी हुन सकिएन । दुईचार कुरा सुन्नेबुझ्ने मौका चुकेकोमा मन उधुम भुतभुतिरहेकै छ ।

पुस्तक जब सार्वजनिक भयो, लगतै फोन समिक्षा चालु । पुस्तकको रङ्गरूप, आकार प्रकारदेखि तौलसम्म, आदानप्रदानको माम्लामा मोलसम्म । केही गुनासाहरूका माझ प्रशस्तै प्रशंसा थुरियो मेरो कानसम्म पनि । जस्ले झनै सुखद उत्सुक्ता जगायो सपनामा धरी । समयको थोरै प्रतिक्षा पश्चात हात लागि भयो एउटा सुन्दर आवरणमा 'सृजनशील साहित्य'

सरसर्ति हेर्दा मात्रै पनि आवरणमा आँखा अल्झ्यो आठदश मिनेट । चाखैले पढ्ने रहर गर्दा एकाध घण्टा आवरणको रङ्गहरूमै टाँसिन पुगे आखाँसँगै मन । त्यही मनमा टाँसिएका रङ्गहरूलाई श्यामस्वेत शब्द चित्रमा कोर्ने चेस्टा गर्दछु । म चित्रकला अत्यन्त कम मात्र बुझ्छु, जस्तो मात्र लाग्छ । चित्रकला भनेको प्रमुख रूपमा रङ्ग रेखाहरू हुन् रे । तेसैको ज्ञान फिटिक्क छैन, कसरी बुझ्ने ? रातो- रगत, क्रान्ति, खतरा, शुभ । सेतो-शान्ती, शोक, शुभ । खै के के हो, के के । एउटै रङ्गको सयथरी अर्थ सयथरी रंगको हजारथरी । रंगको महिमा बुझिनसक्नु  । अनि कसरी बुझ्नु त्यो रंगैरंगले पोतिएको  रेखाभित्र जेलिएको चित्रलाई ! स्वयम चित्रकारले पनि कति त नबुझ्ला आफ्नै चित्र भोलि । तर यो 'सृजनशील साहित्य' प्रथम अङ्कको आवरण चित्र भने पहिले कतै देखेझैं चिनेझैं लाग्यो मनमा । आफ्नै शरिरको गन्ध चित्रबाट आइरहेझैं लाग्यो नाकलाई । चित्रको अग्रभागमा प्रस्टै देखिएको एउटा मानव, जस्लाई रुखमा बाँधेर निसाना बनाइएको छ तीरको, देखिन्छ रगताम्य । यो पक्कै आदिम मानव हुनुपर्छ । आजको नेपाल भन्ने देशको, मेरो आजको अस्तित्वको सुत्रधार । यो चित्रमानव किन र कसरी आदिम हो भन्न सकिन्छ भने, उसको शीरको सेतो पगरी, कम्बरमा बाँधिएको कक्षाडको उस्तै फेरा, जो आज पनि म पहिरने गर्छु विशेष अवसरहरूमा, आफ्नो पहिचान स्वरूप गर्वले । अझै आदिम नै भनेर त के ले किटान गर्छ भने, उसको आङभरि साँधिएको तीर र भूमिमाथि लडिरहेको धनुले । आजको आदिम सन्तानलाई त बरर भुटेकाछन् नी मेशीनगन र बमका छर्राहरूले । प्रमाण छ प्रथम र दोश्रो विश्व युद्ध । तेसो हुँदा यो तीर दागिएको मानव पक्का पनि गोली र बमले एकै छाक बनाइएकाहरूका पिता, पुर्खा हुन् । यसमा कोही शक छैन ।

चित्रकै अर्को भागको अग्रभूमिमा आदिम जातिको आदिमताको प्रमाणको रूपमा अझै जिउँदै रहेको आदिम बाजा ढोल देख्न सकिन्छ । परापूर्व कालमा यसको आविस्कार ताका, जुन बेला सभ्यताको यो चरणको परिकल्पना पनि गरिएको थिएन । जतिबेला मानिसहरू यायावर जीवनको पनि पूर्व कालमा थिए । हो, त्यसै सभ्यतामा जन्मिएको यो ढोल आजको जस्तो बाजाको रूपमा प्रयोग नभएर एउटा संचार माध्यमको रूपमा प्रयोग हुन्थयो'रे । सिकार गरिएको जनवारहरूको छालालाई ढलेका रुखका टोड्का परेका टुनाहरूमा मोहोरेर बनाइएको यो आदिम आविस्कार, दिनभर सिकार र कन्दमूल खोज्नको निम्ति जंगलभरि छरिएका आफ्नो परिवारका सदस्यहरूलाई एकत्रित गर्नको निम्ति संकेतको रूपमा बजाइन्थ्यो'रे । यसैलाई पछिलो समयमा हामी आदिम सन्तानहरूले आफ्नो पित्री पूजा, भूमि पूजा आदि अवसरहरूमा मंगल धुनको लागि प्रयोग गर्दै आइरहेकाछौं । हो यही हाम्रो आदिमताको चिनोलाई यहाँ प्रतिविम्वित गरिएको छ । महत्वपूर्ण कुरो, चित्रमा प्रतिविम्वित यस ढोलको मोहोरीमा प्रस्टसँग एउटा प्वाल परेको देखिन्छ । मलाई लाग्छ, चित्रकारको कुचिले त्यसै यो प्वाल पारेको होइन ।  वास्तवमा यो हाम्रो संस्कृतिमाथि भएको अतिक्रमणको सुन्दर अनि सटिक प्रतिक हो । चित्रको पृष्ठभूमिको मध्यभागमा एउटा सानो झुप्रो रहेको छ । हाम्रो गाउँघरको छाप्रोजस्तै, यस झुप्रोको आँगनमा, अल्लि माथितिर ढिस्कनोमा गाढारातो रंग अर्थात रगत पोतिएको प्रस्टैसँग देखिन्छ जसरी आजको नेपालमा, नेपालीहरू बस्ने बस्तिहरूमा अचम्मकै बेथितिसँग रगतहरू बगिरहेको छ । तर यो झुप्रो, आँगन, ढिस्को अनि पोतिएका रगतका टाटाहरू लाग्छ आजका होइनन् बर्षौंदेखिको हाम्रो आदिम इतिहासका प्रतीक हुन् । चित्रको पृष्ठभूमिको माथिल्लो अनि तल्लो दुबै भाग निक्कै नै महत्वको लाग्छ मलाई । त्यहाँ मूर्तअमूर्त रूपमा धेरै अर्थहरू कुचिकारको भावनाबाट लिपिएका छन् । मेरो टाउकोको आँखाले भ्याएसम्म नियालेर खिची छातीको प्रशोधन शाखाबाट पानीफोटो उतार्दा देखिएका तस्विरहरू हुन्/माथ्लो भागमा एउटा कालो अनुहारमा डरलाग्दा खुनी आँखा जसले उँधो धर्तितिर हेरिरहेको छ । त्यस्कै अर्थात त्यो अर्धअमूर्त कालो अनुहारको ठीक पछाडि झन्डै त्यसकै खोपडीनेर एउटा सिकारी बाज तिखो थुतुना सोझ्याएर कुनै पनि बेला बेग मार्ने काँटमा बसीरहेछ  । त्यहिँनेरको कालो भागको वरिपरि मज्जाले खोज्दा बाजजस्ता लाग्ने, गीद्धजस्ता लाग्ने अन्य थुप्रै तिखा धारिला थुतुनाहरू खुनी पञ्जाहरू उडिरहेझैं ढुकिरहेझैं देख्न सकिन्छ । भने, तल्लो उज्यालो सतहमा सेता  परेवाजस्तै चराहरू कतै उडिरहेका त कतै बसीरहेका देखेजस्तै लाग्छन् आँखाहरूलाई चित्रमाथि केहीबेर नियाल्दा । यी सप्पै माथिल्लो अँधेरो सतहमा देखिएका बाज नै हुन् र तल देखिएका जति चराहरू हुन भनी खुट्याउन सजिलो त केले पार्छ भने, चित्रको माथिल्लो खण्डको माझनेर एउटा सानो थोप्ला रातो रंग देखिन्छ । त्यो रातो रंगको थोप्ला ठीक त्यहाँनेर देखिन्छ, जहाँनेर कालो बाजले आफ्नो पञ्जाले किल्चिरहेको छ । अर्थात भनौं, गाँजीरहेको छ । मनले ननियाले कतिपय यी केवल देखिन्छन् रंगहरूका सानाठूला टाटाहरू । ठाडा, तेर्सा, गोला, बाङ्गा रेखाहरू मात्र तर साँच्चै डिस लाएर हेर्ने हो भने अझ धेरथोक देख्न, भेट्न सकिन्छ । यति लेखिसक्दा मलाई लागिरहैछ, यस चित्रभित्र कुँदिएका धेरै रंग र रेखाहरू खुट्याउन मेरो बुताले भ्याएन । तसर्थ त्यसको जिम्मा चित्रकलाका पारखी आँखाहरूकै भागमा पस्कन चाहन्छु ।

अन्तमा, निख्खर नस्ल बोधगम्य कविताभन्दा हजार गुणा शसक्त छ यो आवरण चित्र मेरो ठम्याईमा  । एउटा कविले लेखे जति सबै कविताहरूमा लेखेर पनि लेख्न बाँकि नै रहने विषयहरूलाई चित्रकार विवेक मुकारुङले एउटै चित्रमा एकैचोटि लेख्न सफल हुनुभएको ठहर छ मेरो । जस्को लागि समर्पित गर्दछु माथिका मेरा छन्द नमिलेका सप्पै शब्दहरू ।