आदिवासीवेगरको इन्द्रपुरी नेपाल

Author : लाल रापचा
Published on : August 01, 2009


  
लाल रापचा

अचेल नेपालका आदिवासी भूमिपुत्रहरूको नाममा विभिन्न खाले टाँचा वा लाञ्छनाहरूले मूलधारका पत्रपत्रिकाहरूको पाना भरिने गरेको छ । सर्सर्ती हेर्दा ती आक्षेपका कोहोलोहरू यस्ता छन्- "जातीय आवेश, विभाजन रेखा, नेपाललाई युगोस्लाभियाझै विलय गराउने खेल, देशलाई लेबनानको कुबाटोतिर धकेल्ने कार्य, श्रीलंका, भुटान, सोमालियापथ र लेण्डुप दोर्जेहरूको जन्म" आदि । नागरिकतान्त्रिक संघीय गणतन्त्र नेपालसम्म आइपुग्दा राज्यको तीनै अंगदेखि शैक्षिक, सञ्चार, आर्थिक, सामाजिक, साँस्कृतिक र न्यायिक क्षेत्रहरूमा नब्बे प्रतिशत हिस्सा ओगट्ने चिन्तक जात यो पल यसरी लाञ्छनै लाञ्छनामा अल्झिको छ । यी लाञ्छनाहरूमा घोतिँल्दा म आफूसाग प्रश्न गर्छु- "आजकलका +२ का कल्कलाउँदा शिक्षार्थीहरूले पनि भन्ने गरेको एक्काइसौं शताब्दीको नेपालमा एब्सोल्युट (निरपेक्ष) जातिवादको पक्षधर को हो ? उनीहरू नेपाललाई किन लेबनानको कुबाटोतिर डोर्याइ रहेछन् ? दोस्रो युगोस्लाभिया बनाउन किन खोजी रहेछन् ? किन रुवाण्डा र नाइजेरिया बनाउन खोजी रहेका छन् वा किन लेन्डुप दोर्जेहरूको अवतार हुन खोजी रहेछन् हँ ?"

कल्पिन्छु- यहाँ भनिएको "जातीय आवेश र विभाजनको रेखा" नहुने हो भने यस एक्काइसौं शताब्दीको हाम्रो संघीय गणतन्त्र नेपाल इन्द्रपुरी नै हुने थियो । हुन पनि कैंयन अलंकारहरूले सुशोभित हाम्रा विगत र वर्तमानका कविहरूले पनि नेपालबारे कान्तिपुरीदेखि स्वर्गपुरीसम्मको महात्म्य गाएका छन् । झनै कवि मविवि शाहले त सारा नेपाललाई नै रारा हौ कि अप्सरा भनी अप्सरापुरीकै उपमा दिएका छन् ।

आज नेपाललाई यी सबै युटोपिया (स्वर्यकाल्पनिक) इन्द्रपुरी, कान्तिपुरी, स्वर्गपुरी र अप्सरापुरी हुनबाट रोकेर यमपुरीको यात्रामा धकेल्ने कारकतत्व नै यी विचारक जात अनुसार "जातीय आवेश र विभाजनको रेखा" नै हुन् ।

अनि यी जातीय आवेश र विभाजन रेखा भनेकाचाहिँ के हुन् त ? सरल भाषामा नेपालको अहिलेको राजनैतिक भू-सिमानामा ठाडो-तेर्सोमा रहेका आदिवासी भूमिपुत्रहरूको जातीय, भाषिक र साँस्कृतिक पहिचान नै राज्यपुनर्संरचनाको आधार हुनु पर्ने बहस हो ।

नेपाल सभ्यताको अभ्युदयमा गोपाल-महिषपालदेखि किराँत सभ्यता हुँदै आजको यो जिउँदो इतिहासको मोडमा आइपुगेको घडीमा वर्तमानको सग्लो नेपाल आर्जेका यी बिचरा भूमिपुत्रहरूलाई जातिवादी र विभाजनकारी विल्ला भिराउनु नै एब्सोल्युट जातवादको दुःखदायी उदयको रुपमा सम्पूर्ण भूमिपुत्रहरूले बुझ्न ढिलाइ गर्नु हुँदैन भन्ने मूल सन्देश वरिपरि नै यस लेख केन्द्रित छ ।

यहाँ ओल्लो किराँतको शिक्षालयहरूमा प्राथमिकदेखि माध्यमिक शिक्षासम्म हासिल गर्दाको दिनहरूमा नेपाली भाषाका गुरुहरूले घोकाएको केही हरफहरूलाई संस्करणसहित सम्झन चाहन्छु-

तिघ्रे र पर्वते स्वाँठे आदिवासी नाम

परेका छौं हामी खस-मनुवादी पञ्जामा

हामीकन हरे पारुहोपो ! शान्ती र चैन

सपना बीच पनि आज रतीभर छैन ।

यी परिमार्जित हरफहरू राममणि आ.दी. सम्म आइपुग्दा यस्तो लेखिन पुगेको छ । उनै राममणिले सम्वत् २०१० सालमा लेखेथे-

"तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाज्यु-भाइ छन् ।

ती तेही रही बाचुन, हुनु पर्दैन सभ्य ती ।।

अयोग्य, मतुवाली र पाखंडी, नीच, निर्दयी ।

पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउँछ ।।

बाहुन क्षत्रियैबाट मन्त्री मण्डल जोरनू राज्यको सँधै ।।"

यसै गरी गोर्खा एजेन्सी कार्यालयका अरु प्रखर भाषायोजनाकारद्वय कृष्णचन्द्र अर्याल एवं वैद्यनाथ जोशी (सेढाइ) ले वैशाख १९४७ सालमा यस्तो भाषायोजना तर्जुमा अख्तियारी गरेथे- "अझसम्म एक ही ''गोर्खा भाषा" को सर्व व्यापकता हुन सकेको छैन । किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बू, सुनुवार, दनुवार, थारु, प्रवृतिका जंगली भाषाहरूले पनि आफ्ना जन्मस्थानलाई एकदम छाड्न सकेका छैनन् । जहाँसम्म एक मात्र ''गोर्खा भाषा" ले अरु सबै भाषालाई अर्ध चन्द्र (गलहत्ती) लगाउन्न, त्यहाँसम्म ''गोर्खा भाषाको उन्नति हुन्छ" भन्नु र ''मुख्य भाषा कहिन योग्य छ" भन्नु केवल मनोलड्डु मात्र हो ।

यी त भए विचारक मनुवादी मानवहरूका कुरा । र यी मानवहरूले देखेका नेपालको राजनैतिक तथा साहित्यिक आकाशका एक महामानवलाई पनि हामीले स्मरण गर्नै पर्ने हुन्छ । ती कहलाइएका महामानव वीपी कोइराला नै हुन् । ती महामानवले पूर्वीय नेपालका अनादी-आदिवासी किराँती जातिको आराध्यदेवी सुम्निमा (भाषैपिच्छे फरक नामहरू छन्) लाई निन्दा गर्दै 'सुम्निमा' उपन्यासको खोल ओढाएर आर्य-अनार्यको कुरा लेखेका छन् । जसमा उपन्यासकार महामानवले आर्य (बाहुन, क्षेत्री र दलितसहित) हरू सुसंस्कृत र अनार्य किराँतीहरू जंगली हुन् भन्ने दावी गरेका छन् ।

यसले पनि प्रष्ट पार्दछ कि संघीय गणतन्त्र नेपालमा कोचाहिँ एब्सोल्युट जातिवादी छ । यहाँ गाँठी कुरो भनेको चाहिँ के हो भने शाहनीय र जहाँनीय पञ्जाबाट अबको पालो नेपालको राज्यसत्ता मनुवादी बाहुनीया र खसानीया शासन प्रणालीमा जानु पर्दछ । यदि त्यसो भएन भने नेपाल युगोस्लाभिया, सिक्किम, रुवाण्डा आदि नहुने कुरै छैन । इन्द्रपुरीबाट यमपुरीमा परिणत भई जान्छ । यस कोहोलोमा तीन सिद्धान्तहरूले काम गरेका छन् । तिनमा छारो हाल्ने, स्वाहा पार्ने र ललिपपले किन्ने सिद्धान्तहरू नै हुन् । सर्वप्रथम त कल छल वल यिनी तिघ्रे, पर्वते र स्वाँठे आदिवासीहरूको आँखामा फेरि पनि छारो हाल्न सकियोस् । अर्थात् माछो माछो भ्यागुतो । ताकी यिनीहरू त्यो स्तरबाट कहिल्यै माथि नउठून् । दोस्रो स्वाहा सिद्धान्तले के भन्छ भने देशमा गोर्खा भाषा, संस्कृत भाषा र वाङमय, वेद, रामायण, महाभारत र आर्यहरू बाहेक सबै जाति, भाषा र संस्कृति स्वाहा वा सखाप होऊन । यहाँ पनि युगयुगान्तर ''जसो जसो बाहुनबाजे उसो उसो स्वाहा" नै चली रहनु पर्दछ । तेस्रोमा पर्ने ललीपप वा मल्खु नभए गोली सिद्धान्तले सय प्रतिशत नै आदिवासीहरू डा. स्वामी प्रपन्नाचार्यमय, हिन्दूमय, सन्तभेषमय, जोस्मनीमय, फाल्गुनन्दमय, ओमनन्दमय, कृष्णप्रणामीमय र भानुभक्तमय होऊन भन्ने चाहन्छ । त्यस्तो आग्रह छ । हालैको सचिव सूची २५ मा झण्डै पच्चिसैले सो आग्रह पूर्णरुपेण पूरा भएको छ ।

यसो भएपछि मात्रै नेपालको सार्वभौमिक, प्रशासनिक, न्यायिक, व्यवस्थापकीय क्षेत्रहरूमा पुनः सभ्य आर्यहरूको ९० बाट सय प्रतिशत नै कब्जा हुनेछ भने ८० बाट सय प्रतिशत नै हिन्दूमय हुनेछ । अनि पो नेपाल युगोस्लाभिया, सिक्किम, रुवाण्डा होइन इन्द्रपुरी हुनेछ । उनीहरूले आदिवासी/जनजातिहरूलाई बुझाउँन खोजेको धार्मिक, भाषिक र साँस्कृतिक सेक्युलरिज्म यही नै हो । यसैमा नेपालको अस्तित्व, समुन्नति र भविष्य छ । उनीहरूको जातीय, धार्मिक, भाषिक र साँस्कृतिक एब्सोल्युटिज्मले एउटै इन्द्रपुरीको सपना देखेको छ ! जहाँ अनार्य झुमा देवानहरू र सुम्निमाहरू युगयुन्तार काङसोरेहरूको नभएर नवआर्य महामानवहरू क्रमशः प्रदीप र सोमदत्त इन्द्रख्वामितहरूको पाउमा लम्पसार परेर सेवारत होऊन् । कथुंकदाचित उनीहरूको नूर उठी गयो भने देश विलय भई हाल्छ । सुनौलो त होइन कालो अक्षरमा नलेखिएको नेपालको जिउँदो इतिहासले के कहन्छ भने बन्न गई रहेको तमुवान लिगलिग कोटका भूमिपुत्र घलेहरूले द्रव्य शाहलाई गोर्खामा स्थापित गराएका हुन् । मगरातका मगर भूमिपुत्रहरूले नालापानी, काँगडा र टिष्टासम्म विशाल नेपालको निर्माण गरेका हुन् । कीर्तिपुरमा रहेका आदिवासी नेवाःहरूको १६ धार्नी कानसहित युद्घप्रायोजक पृथ्वीनारायण शाहका नाममा नेपाल उपत्यका विजय गराइ दिने आदिवासीहरू घले, मगर र गुरुङहरू नै हुन् । यी आदिवासीहरूलाई गोर्खाको नाममा ई.१८१६ बाट कूटनैतिक मानवव्यापार प्रारम्भ गरेदेखि उनीहरूले नलडेको संसारको कुनै पनि मोर्चा बाँकी छैन । भारतमा आज पनि ६० हजार हाराहारीको संख्याले भारतीय सीमा सुरक्षा गरी रहेकै छ । प्रथम र द्वितीय विश्वयुद्घमा दुई लाख ४० हजार भन्दा बढी विभिन्न युद्घ मोर्चाहरूमा खटाइए । झण्डै २०० वर्षपछिको विभेदपश्चात् मात्रै ''मै हुँ नागरिकतन्त्रको जजनी" भन्ने बेलायतले अस्ति २१ मई २००९ मा आदिवासीहरूलाई जियुआरकेएचएको नामबाट स्वीकार्यो र ई.१९९७ पूर्व र उत्तरको रेखा विलय गरायो । नेपालमा भने करिब ६ सय वर्षदेखिको आर्य अनार्य विभेदी रेखाचाहिँ विलिन हुने छाँटकाट छैन । लेखिन लागेको संविधानले मेटाउला कि भन्ने आशासम्म छ ।

.१९४७ को त्रिपक्षीयदेखि नदी नाला बेचबिखनका सन्धीहरूमा हस्ताक्षर गर्नेहरू पनि भूमिपुत्र आदिवासीहरू नै हुन् कि ? सत्ताखातिर दख्खिनी इन्द्रजाली प्रभुहरूसामु त्वं शरणम् गच्छामि भन्नेहरू पनि तिघ्रे र पर्वते स्वाँठे भूमिपुत्रहरू नै हुन् कि ? जाली शैक्षिक प्रमाणपत्रभीरु कर्मचारी र सुसंस्कृत शिक्षाका ठेकेदारी जमातहरू पनि उनै भूमिपुत्रहरू हुन् कि ? दिल्ली र वनारस सहरहरूमा कति भूमिपुत्रहरूको आलिसान महल र विदेशी वैंकमा अकूत रकम सञ्चित छ हँ ? आदिवासीहरूको रगत र पसिनाले आर्ज्याको मुलुक नेपालमा के यति पनि सत्य ओकेल्ने साहस छैन यी कोहोलो मच्च्याउनेहरूको ?

नव संघीय राज्यहरूको नामाकरणसम्म मगरात, तमुवान, थारुवान, मिथिला प्रदेश, तामाङ सालिङ, किराँत, नेवाः प्रदेश आदि इत्यादि राख्दैमा सुसँस्कृत आर्यहरूको अस्तित्व नै नामेट हुने होइन । बरु धेरै दर्जन वेदान्तचार्य डा.स्वामी प्रपन्नाचार्यहरूले जन्म लिने छन् । किनभने संस्कृत विद्यापीठहरूमा आदिवासी शिक्षार्थीहरूको नै संख्या बढी छ भनेर ढोल पिटाइएकै छ । ती संस्कृत विद्यापीठहरू भत्काइएको तथ्य छैन र ती पीठहरूमा नागरिकहरूको करसहित डलरको खोलो बगेकै छ । बगी नै रहनेछ । यसरी यी प्रदेशका भाषाहरूमा भएको साहित्यहरूलाई अघि भनिएको गोर्खा भाषामा अनुवाद गरी संसारभर फैलाइने नै छ । जसरी जियुआरकेएचएहरूले हङकङ, बेलायत र पूर्वोत्तरी भारतमा पुर्याए र भारतीय संविधानमा पहिचान नै दिलाए । अब पालो हङकङ र बेलायतमा चिनारी दिलाउने हो । गरेकै छन् त अनार्यहरूले । के गरेका छैनन् हँ सभ्य आर्यहरूको चिनारीखातिर भूमिपुत्रहरूले ? पूर्वोत्तरी भारतकै कुरा गर्दाखेरि पनि सुधपामध्येका पारशमणि प्रधानले त नेवाः भाषालाई नै फालेर गोर्खा भाषा शरणम् गच्छामि उद्घोष गरे । उनको देनलाई कसैसँग पनि तुलना गर्नै सकिदैन । त्यस्तै फाल्नेहरूमा गुमानसिं, अच्छा, इबरा आदिहरू पनि हुन् । मास्टर मित्र सेनले पनि त्यसै गरे । काइँलालेचाहिँ दुवैलाई एकै साथ वृद्घि गराए । के उनीहरूले गोरखा भाषालाई विश्वसाहित्यको हारमा उभ्याएका छैनन् ? केही समय यता हङकङ डायस्पोराले पनि विभिन्न साना मातृभाषाहरूलाई फालेर गोर्खा भाषालाई नै माथि उचाल्दै छ । ए लेभलमा समावेशी चिनारी दिलाइ नै सकेको छ । भोलि बेलायतले पनि त्यसै गर्ने छ । त्यसैको ज्वलन्त दृष्टान्त गोर्खा भाषा साहित्यकार विश्वासदीप तिगेला पनि हुन् । यहाँ उल्लेख नभएका धेरैले गोर्खा भाषाको श्रीवृद्घि गरेकै छन् । धर्म, सँस्कृतिमा पनि ८० प्रतिशत हिन्दू छँदैछन् ।

यता देशभित्र दशवर्षे जनयुद्घ र सशत्र विद्रोह (जुन इच्छा लाग्छ) मा चौध हजार नागरिकहरूको वलीदानीमा ६० प्रतिशत भन्दा बढी भूमिपुत्रहरू नै थिए । बेनामहरू त कति हुन् कति ? कृष्ण सेनको पो पहुँच थियो र कसरी मारिए भनेर कतिपय नागरिकहरूले थाहा पाए । बेखबर वलिवेदीमा चढाइएका भूमिपुत्रहरूको त लेखाजोखा नै छैन । पुछारमा लिम्बूवानको भाषा धम्कीपूर्ण छ भन्नेहरूको कोहोलो पनि आइरहेकै छ । राममणिलाई यहाँ पनि भुल्नु हुँदैन । आदिवासीहरूको भाषा औधी सोझो हुन्छ । किनभने राममणि बाजेले भनेकै छन् स्वाँठे । स्वभाविकै हो । तर त्यसलाई धम्की भन्दा पनि आफ्नो नागरिकको आवाजको रुपमा बुझ्नु पर्दछ । त्यसलाई धैर्यतापूर्वक सुन्न पर्दछ । पहिचानको रुपमा स्वीकार्नु पर्दछ । नेपालको संरचना नै त्यस्तो छ । के आदिवासीहरूले क्षेत्रीबाहुनको चिनारी र अस्तित्व स्वीकारेका छैनन् ? उल्टो पुजेकै छन् । के सुसँस्कृत आर्यहरूको त्यति बुझ्न सक्ने विशेषता होइन त्यो ? एक कुशल शासकमा हुनु पर्ने गुण हो त्यो न कि नवसुसँस्कृत गिरिजा जस्तो जातीय राजनीति गन्तव्यहीन ।

मैजारोमा ''हात्ती छिर्यो पुच्छर अड्यो" भनेझै हलो अड्काएर गोरु चुट्नु सुसँस्कृत आर्यहरूलाई कत्ति पनि शोभा दिदैन । नागरिकहरूले चाहेका संविधान समयमै लेखिनु पर्छ । सहरका टाठाबाठाहरूले मात्रै डलरको आडमा अधिकार र चिनारीको कुरा गरेका हुन् गिटी कुट्नेलाई त संघीयता र चिनारी चाहिएकै छैन भनेर फेरि पनि माछो माछो भ्यागुतो सिद्घान्तमा अल्मलाउने काम गर्नु भनेको सय प्रतिशत एब्सोल्युट जातवादको इन्द्रपुरी नेपालको इच्छा गर्नु नै हो । यसैबाट प्रष्टिन्छ कि नेपाललाई युगोस्लाभिया, रुवाण्डा बनाउन खोज्नेहरू, लेवनानपथमा हिडाउनेहरू, लेण्डुप दोर्जेजस्तै बन्न खोज्नेहरू को हुन् भनेर । भलै यस पटक आदिवासीहरू सहित २,९५,१९,११४ नेपाली नागरिकहरूको नयाँ संविधान लेखनमा सति सरापको छाँया नपरोस् । हिजोका राममणि बाजेको योजना ''...पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउँछ ।। बाहुन क्षत्रियैबाट मन्त्री मण्डल जोरनू राज्यको सँधै ।।" ले पुनरावृत्ति नपाओस् । भूमिपुत्रहरूलाई आफ्नो माटोको माया छ । इन्द्रपुरी होइन आदिवासीसहितको समुन्नत नेपाल निर्माण गर्नु परेको छ । .................