आइमाई

Author : केदार श्रेष्ठ
Published on : July 28, 2009


  
केदार श्रेष्ठ

आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट ।

गाउँमा उनीहरूको जीवन सामानय र अनुकरणीय थियो पहिले । सबैजना उनीहरूलाई आदर गर्थे । तीन जनाको सुखी र आदर्श परिवार थियो । विहान सखारै उठ्थे दुबै वूढावूढी नै । वूढा गोठधन्दामा लाग्थ्यो । वूढीचाहिँ घरधन्दातिर लाग्थिन् । गोठधन्दा सकेपछि घर नजिकैको धारामा स्नान गरी धोती फेरेर पूजा कोठामा गइ पूजाआजा गर्थ्यो । त्यसपछि एकआधा घण्टा रामायण गरिसक्दा वूढीले चिया पकाई सकेकी हुन्थिन् । वूढा चिया खाई लाग्थ्यो खेतिपातीको काम गर्न खेततिर ।

वूढावूढीको जाय जन्मको रुपमा एउटा मात्र छोरो रत्नको जन्म भएको थियो । रत्न एउटा मात्र छोरो भएकोले केही काम लगाउदैनथे उनीहरू । तर पुलपुलिएर हो कि किन हो उसले एसएलसी पनि पास गर्न सकेन । अरु साथीहरू क्याम्पस पढ्न सहरतिर लागे ऊ भने एउटा गाडी किनेर गाडी चलाउन थाल्यो । त्यसको केही वर्ष पश्चात वूढावूढीले रत्नको विहे धुमधामसँग गरेका थिए । वेहुली भित्र्याएपछि मसँग वूढाले अर्थात हजुरवुवाले भनेका थिए हेर नाति हाम्रो घरमा पनि लक्ष्मी भित्रिन् । अब दुःखका दिन गए हाम्रा । तर छ महिना नपुग्दै ती वूढी अर्थात हजुरआमाको आँखामा आँसु देख्दा छक्क पर्छु म । उसको आँखाको आँसुको मुहान पत्ता लगाउन खोज्छु ।

-किन रुनुभएको हजुआमा ? म प्रश्न गर्छु ।

-बुढेसकालमा दुःख पाइने भो बाबु । रुँदै भन्नुहुन्छ ।

-चारजनाको सुखी परिवार छ, ठूलो परिवार पनि हैन । सम्पति पनि टन्नै छ किन दुःख पाउनु र ? खोतल्ने प्रयास गर्छु ।

-सम्पतिले हुँदोरहेनछ बाबु । घरमा सबैजना मिलेर बस्न सकियो भने मात्र सुखले जीवन बित्ने रहेछ । अझै पनि हजुरआमाको आँखाबाट आँसु बग्दै छ ।

-भाउजु पनि राम्रो हुनुहुन्छ  । रत्न पनि राम्रै हुनुहुन्छ । त्यस्तो नराम्रो त म देख्दिन नि हजुरआमा ? म सोध्छु । हामी दुबैजना एकअर्काका श्रीमतिलाई भाउजु भनेरै सम्बोघन गर्छौ ।

-के गर्नु र बाबु रुपदात्रै राम्रो भएर हुन्न रैछ वानी पनि राम्रो चाहिने रहेछ । छोरा आफ्नो भएपनि वुहारी आफ्नो हुँदो रहेनछ । फेरि छोरा पनि विहे गरे पछि अर्कै हुँदोरहेछ । सुँक्कसुँक्क गर्दै भन्नुहुन्छ ।

       कस्तो होला यो संसार । आइमाइ-आइमाइ कहिले पनि मिल्न नसक्ने । मैले जाने, बुझेँ र सुनेँ अनुसार जति पनि ब्यवहारिक मामलामा कलह र झगडा भएका छन् । ती सबै स्वस्नी मान्छेबाटै भएका छन् । के एक आपसमा मिलेर समझदारीमा आफ्नो समस्याको समधान गर्न सक्दैनन् यिनीहरू ? ती आइमाई आफैँ हुन् पहिले एउटी प्यारी छोरी। पछि कसैको श्रीमति, वुहारी, सासू र सौता हुने । त्यही आइमाई घरबाट छोरी भएर माइत जाँदा आफू वुहारी भएको बिर्सदै आमासँग भाउजु वा वुहारीको कुरा काट्दै दिन बिताउने, आफ्नो जन्म दिने आमाबाबुलाई भूलि सासूससुराबाट श्रीमानलाई अलग गराउने कुनै दिन आफू पनि वुहारी भइ वुहार्तन खपेको बिर्सी वुहारीलाई सास्ती दिने र त्यही आइमाइ हो आइमाइकै श्रीमान खोस्न सौता भएर जाने । किन यस्तो हुन्छ ? यिनीहरूले नजानेर हो वा बुझ पचाएर ? आखिर आइमाइहरूले कति दिनसम्म लाग्नेमान्छे माथि दोष थुपार्ने हुन् ? भाइ फुटे गवार लुटे भनेझैँ भएन र ? हामीलाई अधिकार दिएनन् । अवसर दिएनन् । हामीलाई वरावर हक दिएनन् । के सबै कुराहरू लोग्ने मान्छेले कुम्ल्याएर राखेका छन् ? आफू सक्षम भए के लोग्ने मान्छेहरूले प्रतिस्थापित गर्न सक्थे ? अंश-अंश भनेर आन्दोलन्  गर्ने ठाउँमा उच्च शिक्षा अनिवार्य छोरीलाई दे भनेर भन्न किन कन्जुस्याइँ गर्छन् ? आफू सक्षम वा स्वाबलम्वी हुने कुरा किन उठाउदैनन् ? के सबैभन्दा ठूलो कुरो अंशै हो त ? यो त दिदी-भाइ, दाजु-बहिनी वीच फाटो ल्याउने एउटा माध्यम होइन र ? माइती-चेली वैमन्यष्यता उब्जाउने बाटो भएन र यो ? किन घरधन्दे र कोठे कुरालाई लिएर एकआपसमा जोरीपारी हुन्छन् ? यस्ता धेरै कुराहरू उब्जायो मनमा ती वूढी हजुरआमाको रुवाइले । र, अर्को सर्वब्यापी हुने स्वास्नीको कुरा किन सुन्छन् लोग्ने मान्छेहरू ? आफ्नो मातृत्व भूलेर । हुने कुरा पो सुन्नु पर्छ त । हुने नहुने सबै कुराहरू सुनेर हुन्छ ? मष्तिष्कमा तर्क-वितर्क चलिरहन्छ ।

       हजुरआमाको कुरा सुन्दासुन्दै टोलाउन पो पुगेछु । झल्यास्स हुन्छु । र, फेरि सोध्छु-

-रत्नले केही भन्नुहुन्न त भाउजुलाई ?

-के भन्थ्यो र बाबु । स्वास्नीले जसो भन्यो उसै । के गर्नु पहिले जानिएन । एउटा छोरो भइहाल्यो भनियो । अरु जन्माउनलाई बुढाले भन्दाभन्दै पनि मैले मानिन । आज यो गति भो । तिम्रो त हाम्रो रत्नेको जोइपोइ साथी हो । तिमीले सम्झाइदिन मिल्छ नि । लौन बाबु सम्झाइदेऊ । मान्छे र अन्नले पेट भर्ने भए अलि वुद्धि पलाउथ्यो कि ? आशा राख्नुहुन्छ ममाथि ।

-भइहाल्छ नि । म आश्वासन दिन्छु ।

-ल बाबु म जान्छु घरतिर । सबै घरधन्दा लथालिङ्ग होला । बाचुन्जेल लाउनुखानु परिगो । उठ्दै भन्नुहुन्छ ।

-भाउजुले धन्दा गर्नुहुन्न र ? म प्रश्न गर्छु ।

-त्यस्तो गरेर घरब्यवहार मिलाउने काम गरे किन मेरो मन यसरी रुन्थ्यो होला । एउटा भाको छोरो थोत्रो गाडी लिएर हिड्छ । महिना- दुई महिनामा आउँछ । वुहारी भने राम्रा-राम्रा लुगा लगाएर घुम्न जाने, घर बसे सुत्ने र कोठाबाटै ननिस्कने । हामी गाउँको मान्छे खेतिपाती गर्नै परिगो । त्यतिका गाईवस्तु छन् । नगरौँ र नपालौ भने पनि नहुने । आम्दानीको स्रोत भनेको त्यही हो । के गर्नु र बाबु । तिम्रो हजुरबा कहिले अधेँरो मुख लाएको देखेको थिइनँ तर आज वूढाको आँखामा आँसु देख्दा मेरो मन कसरी बुझ्छ ? उभिएर यति भनिसकेपछि लाग्छिन् घरतिर ।

       हजुरआमा घरतिर गएपछि मेरो दुईवर्षे छोरीसँग खेलेर बस्छु । र, हेर्छु अवोध छोरीको मुहारमा । के मेरी छोरी पनि हजुरआमाहरू अर्थात सासूससुराहरूलाई रुवाउने हुन्छिन् होला त ? भगवानसँग पूकारा गर्छु । कहिले त्यस्तो बुद्धि नआवस् घर भाड्ने किसिमको ।

       भन्नलाई त हजुरआमालाई उसको  छोरा वुहारीलाई सम्झाइदिन्छु त भनेँ तर कसरी सम्झाउने हो । म असमन्जस्यमा पर्छु । अर्काको घरायसी मामलामा चासो लिनु त्यति राम्रो होइन भन्छ मेरो मनले । फेरि सुत्ने बेलामा श्रीमतिलाई भन्छु हजुरआमाले भनेका कुराहरू । तर घरवूढीले भनिन्-तपाई मात्र हुनुहुन्छ उनीहरूलाई सझाइदिन ? अरु कोही छैनन् ? उसका दाजुभाइहरू छन् त उनीहरूले सम्झाइदे हुँदैन ? वेकारमा दुश्मनी कमाउनलाई वाठो हुनु पर्दैन । कम्तकी छिन् ती रत्नीनी दिदी । म मेरी अर्धाङ्गनिको कुरा स्वीकार्छु । म पनि त्यही लोग्ने मान्छे र त्यही आइमाईको श्रीमान् न परेँ । त्यही पनि रत्नलाई चाहिँ भन्नुपर्ला भन्ने निर्णय गर्छु र ऊ आउने बाटो हेरेर बस्छु ।

       मेरो मनले एउटा कुनाबाट मधुरो प्रश्न गर्छ- के हजुरआमाले भनेझैँ एकभन्दा बढी बढी छोरा वुहारी भए यो रडाको हुँदैन थियो होला घरमा ? कि बाह्र छोरा तेह्र नाति वूढाको धोक्रो काँधैमाथि भनेजस्तै हो ?