उत्तरवर्ती सोचः केही सन्दर्भ केही अनुभूति

Author : हाङयुग अज्ञात
Published on : July 21, 2009


  
हाङयुग अज्ञात
Author

वि.सं. २०६५ चैत्रमा बुबाको अन्तिम दर्शन गर्न नेपाल गएको बेला आर्यघाटमा धेरै नामी स्रष्टाहरूसित भेट भयो र नेपाली साहित्यका सन्दर्भमा मैले 'अपडेट' हुने अवसर पनि पाएको थिएँ । नेपालका सर्वोच्च कवि वैरागी काइँला, संस्कृतका प्रकाण्ड विद्घान डा. तुलसी भट्टराई, विशिष्ट संस्मरणकार अमर नेम्बाङ, नेपालका अत्यन्तै लोकप्रिय कवि श्रवण मुकारूङ, शालिन र भद्र कविद्वय शशी लुमुम्बू र पदम गौतम, प्रखर कवि तथा समालोचक पूर्ण इन्फादा, रङ्गवादी कविद्वय स्वप्नील स्मृति र चन्द्रवीर तुम्बापो, सृजनशील अराजकताका अभियन्ता कवि उपेन्द्र सुब्बा, उत्तरवर्ती कवि राज माङ्लाकलगायत समकालीन नेपाली साहित्य, कला तथा सङ्गीतका अन्य हस्तीहरूसितको भेटले मलाई सहानुभूति मात्रै मिलेन बुबाकै बाटोमा हिँडिरहने हौसला समेत प्राप्त भयो । र, आज त्यो आकस्मिक दुःखबाट केही तङ्ग्रिएर काठमान्डौ-केन्द्रले बिर्सिएको पान्थर-मोफसलबाट विगत ५ वर्षदेखि निरन्तर क्रियाशील रहेको साहित्यिक आन्दोलनको विषयमा सोचिरहेको छु ।

 

पछिल्लोकालमा चलेका साहित्यिक आन्दोलनहरूलाई गहिरिएर विश्लेषण गर्ने यदी कसैले इच्छा राख्दछ भने ती आन्दोलनहरूभन्दा अघिको 'सृजनशील अराजकताको आग्रह' नामको साहित्यिक अभियानलाई बुझ्न नितान्त आवश्यक देखिन्छ । वि.सं. २०५७ सालमा सार्वजनिक रूपले घोषणा गरिएको यो अभियानले 'वास्तविक नेपाली साहित्य निर्माण'का लागि प्रष्ट रूपमा पाँचवटा सर्तहरू अगाडि सारेको थियो- ) वैचारिक अनेकानेक २) साँस्कृतिक वैविध्य ३) नश्लीयबोध ४) कवित्व निस्सीमता ५) र सृजनात्मक निर्णय । नेपाली साहित्यमा वि.सं. २०६० तिर घोषणा गरिएका रङ्वादी र उत्तरवर्ती आन्दोलन मूलतः यीनै पाँचवटा सर्तहरूको वरिपरि घुमेको देखिन्छ । तथापि, यिनीहरूको तर्क गर्ने र लेख्ने आफ्नै शैली छ । हर्क लाग्ने कुरा के भने वास्तविक नेपाली साहित्य निर्माणमा उत्तरवर्ती र रङ्गवादी यी दुवै खटिरहेका छन् । नेपाली साहित्यसापेक्षमा अघिका आन्दोलनहरूले भन्दा पनि नयाँनयाँ कुरा गर्दै आइरहेका छन् । तर, नेपाली साहित्यमा जति उत्तरवर्तीहरूको चर्चा हुनुपर्थ्यो, भएन, भइरहेको छैन । यसको प्रमुख कारण यो आन्दोलनसित आबद्घ स्रष्टाहरू मोफसलमा रहनु नै हो । एकजना उत्तरवर्ती राज माङ्लाक राजधानीमा बस्छन् उनले दुखेसो गर्दै थिए- 'खै ! दाजु, उत्तरवर्तीहरूलाई कसैले पत्याएन । आफूलाई उत्तरआधुनिक समालोचक र साहित्यिक सिद्घान्तहरूको व्याख्याता ठान्ने डा. गोविन्दराज भट्टराईले समेत हाम्रो आवाज सुनेन । खालि रङ्गवादीहरूलाई बोकेर हिँड्छ ।' उहिले सृजनशील अराजकताको आग्रह गर्दा हामीले इन्द्रबहादुर राई, वैरागी काइाला, ईश्वरवल्लभ, मोहन कोइराला, डा. गोविन्दराज भट्टराई, कृष्ण धरावासीलगायत हामीभन्दा अघिका साहित्यकारहरूलाई तर्क गरेरै मन जितेका थियौं । आन्दोलन भनेपछि बल पनि चाहिन्छ र त्यो बल भनेको तर्क हो । लेखेर मात्रै हुँदैन, आफूले लेखेकोमाथि बोल्नु पनि पर्छ । कवितामा बुट्टा भरेर मात्रै हुँदैन, बुट्टा किन भरेको चित्तबुझ्दो तर्क पनि गर्न सक्नुपर्छ । इन्द्रबहादुर राई नेपाल आउनु भएको बखतमा काइँल्दाइको घरमा उहाँहरू दुवैजनालाई अगाडि राखेर मैले भनेको थिएँ- 'तेस्रो आयाम त पूर्वपश्चिमका महानमहान दार्शनिक र स्रष्टाहरूबाट असलअसल थोक टिपेर थुपारिएको मौलिक चिन्तन पो रहेछ ।' तत्क्षणै वैरागी काइालाले भनिहाल्नु भो- 'थुपारेको होइन, उनेको क्या ! उनेको ।' यस्तो वाक्पटुता आन्दोलनका लागि सहयोगी हुँदोरहेछ ।

 

वि.सं. २०६० कार्तिकमा पान्थरको राँके भञ्ज्याङमा अग्रज कवि थाम्सुहाङ पुष्प सुब्बाको नेतृत्वमा अहिलेका यी उत्तरवर्ती साहित्यकारहरूको आहृवानमा 'सृजनशील साहित्यकारहरूको नादङ' सम्पन्न भएको थियो र म आमन्त्रित कविका रूपमा उपस्थित भएको थिएँ । तेसै भेला (नादङ) ले राजधानीले मोफसलको जीवन लेख्न नसक्ने जिकिर गर्दै पान्थरबाट पनि 'उत्तरवर्ती सोच'का नाममा आन्दोलन गर्ने र आन्दोलनको मुखपत्र 'साहित्यिक चक्रव्यूह' प्रकाशन गर्ने निर्णय गर्यो । थाम्सुहाङ पुष्प सुब्बा र भवानी तावाका कविताकृतिहरू पनि प्रकाशन गर्ने मिलेमतो भयो । चक्रव्यूहको शीर्षस्थविन्दुमा भवानी तावा, केन्द्रविन्दुमा सगुन सुसारा, मध्यविन्दुमा थाम्सुहाङ यलम्बर र राज माङलाक रहने सहमति भयो । भवानी तावाको कविताकृति 'न्वारान नभएको अक्षांश' र चक्रव्यूहको पहिलो अङ्क म नेपाल हुँदै प्रकाशन भएको हो । वि.सं. २०६१ असारतिर म हङकङ लागेँ । तिहाँदेखि उता कहिलेकाहीँ भवानी तावासित फोनमा कुराकानी हुने गरेको छ । राज माङलाकले उपलब्ध गराएका विषेश सन्दर्भ-सामाग्रीहरूको अध्ययनबाट यतिबेला 'उत्तरवर्ती सोच'ले लेखन र वैचारिकताका सवालमा निक्कै लामो छलाङ हानेको निक्र्योलमा म पुगको छु । यो आन्दोलन हुर्किसकेको रहेछ, फक्रिसकेको रहेछ । तर, जङ्गली फूलजस्तै  'आफैमा भइबसेछ' । आफैमा भइबस्नुको मूल्य महान् हुन्छ । यद्दपि, सूचना र संचारको जमानामा आफैमा भइबस्नु पनि एकखालको सीमान्ततिर रहनु नै रहेछ । मङ्गल ग्रहमा पुगेर मान्छेले सूचना ल्याइसक्यो, यो काठमान्डौ के भाको हँ ? तिँहीपर पान्थरको यत्रो ठूलो साहित्यिक चिन्तनलाई थानकोट भित्र्याउन सक्दैन । काठमान्डौ उस्तो कि नेपाली साहित्यका पण्डितहरू उस्तो ? कि राज्यव्यवस्था उस्तो ? धेरैधेरै प्रश्नहरू छन्, जसका नयाँ उत्तरहरू खोज्ने बेला भइसकेको छ । यस्सै भएर अस्तिभर्खरै मैले भवानीजीलाई भनेँ- 'तपाइँहरूले लिम्बुवान आन्दोलनलाई सर्पोट गर्नुस् ।' अब काठमान्डौलाई उतातिर लैजानुपर्छ ।

 

मसित भवानी तावा र साथीहरूले सृजनशील अराजकताका विषयमा उबेला बुझ्न आउँदा मैले नेपाली साहित्य कुनै जाति विषेशको मात्रै पेवा भइरहेको र अब हामीले चाहिँ सम्पूर्ण किसिमका नेपालीहरूका लागि साहित्य बनाउनु पर्दछ भन्ने आग्रह गरेको थिएँ । यो आग्रहसित सहमत हुँदै 'चक्रव्यूह'को पहिलो अङ्कले सृजनशील अराजकताका कुराहरूलाई आफ्नै ढङ्गले व्याख्या गरेका छन् । सम्पादकीयमा भवानी लेख्छन्-' जमाना पाश्चतेली हिप्पीहरूले पनि खोजेकै हुन् । तर, आकांक्षित चरम आनन्दको तकाजा टेक्न खोज्दा पुनः पुरातन संरचनाराम्भमा र्फकनु पर्ने भयो । त्यसो र हामी संरचना, नवसंरचनाले नअघाएर उत्तरवर्ती चाहादै छौं सम्पूर्णमा ।' यो प्रारम्भ थियो उत्तरवर्तीहरूको । यौटा बौद्घकि यात्रामा फेरि पनि निस्क्यो पान्थर उत्तरवर्ती सोच लिएर जस्तो पनि लागेको थियो मलाई । वैरागी काइँलाभन्दा एकपुस्ता पछिका कवि थाम्सुहाङ पुष्प सुब्बाले सैद्घान्तिक नेतृत्व गर्ने भए तत्काललाई । तेतिबेला उत्तरवर्तीहरूको कुटनीति यस्तो थियो- 'हामी उत्तरवर्तीहरू सृजनशील अराजकताको पक्षमा यौटा पत्रिका निकाल्दै छौं । अहिलेलाई समन्वयका पाँच सिद्घान्तहरू मात्रै हामीसँग छ ।' हाम्रा आग्रहका पाँच कुराहरूलाई उत्तरवर्तीहरूले शुरूका एक वर्ष खुबै खेलाए । दोस्रो अङ्क चक्रव्यूहमा यिनीहरूले साँच्चिकै आफ्ना सिद्घान्तहरूलाई अगाडि सारे । जम्मा ६ बुादामा विभक्त गरिएका उत्तरवर्तीहरूका यी सिद्घान्त या सोचहरू पढेपछि म खुशीले गदगद भएँ । चेतनाको यो अद्भूत विकास हो । घोषणापत्र-२ चक्रव्यूह-) मा उत्तरवर्तीहरू भन्छन्-

) तथाकथित भूमण्डलीकरणको अस्विकार

) समग्रतावादी सार्वभौमिक सत्यको अस्विकार

) स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको दावी

) बहुलवादी नेपाली साहित्यमा नयाँ अस्तित्वको दावी

) नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी

) उत्तरआधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्घान्तिक खोज ।

 

सृजनशील अराजकताले यी कुराहरूलाई बुँदागत गरेन । सृजनशील अराजकता र उत्तरवर्तीहरूमा भिन्नता यहीँनेर छ । रङ्गवादी कवि चन्द्रवीर तुम्बापो (पहिले उत्तरवर्ती)ले काठमान्डौमा उत्तरवर्ती सोचका विषयमा मसित टिप्पणी गरे- 'हन् हौ दाजु, उत्तरवर्तीका कुराहरू त बा ठ्याक्कै मिल्छ सृजनशील अराजकतासित ।' मैले उनको जिज्ञासालाई शान्त पार्ने प्रयत्न गरेको थिएँ- 'अहिले काङ्ग्रेसबाहेक सबै पार्टी सत्तामा छन् । यसको अर्थ यो होइन कि सबै पार्टीहरूको विचार यौटै छ । राष्ट्रलाई द्वन्द्वबाट मुक्ति दिन एकै ठाउँमा यिनीहरू भेला भएका हुन् । तेसोरी नै नेपाली साहित्यमा हाबी एक सास्कृति, एक धर्म, एक जाति र एक विचारलाई परास्त गर्न रङ्गवादी, उत्तरवर्ती, लीला लेखन, मुक्त अभियान, सृजनशील अराजकतालगायत सप्पै साहित्यिक आन्दोलनहरू एउटै मञ्चमा हुनुपर्छ । यसरी साझा उद्देश्यका लागि एउटै मञ्चमा आउँदैमा यौटै हो भन्नु जायज होइन ।' तेसो र कतिपय मुद्दाहरूमा रङ्गवादीहरू पनि सृजनशील अराजकताका समिपमा छन् । कवि प्रकाश थाम्सुहाङले पनि मसित भने- 'तपाइँहरूको वैचारिक अनेकानेक र साँस्कृतिक वैविध्य रङ्गवादलाई देको हो ?' यस्ता कुरा र प्रश्नहरू सुनेर मलाई ताज्जुब लाग्छ । कवि श्रवण मुकारूङ पनि भन्दै हुनुहुन्थ्यो- 'छलाङवादीहरूले पनि सृजनशील अराजकताकै कुराहरू लगेछ है ।' सृजनशील अराजकताको आग्रहले स्रष्टाहरूलाई चेतना जरूर थपिदिएको हो । हाम्रो विचार या कुरा भनेको समयको आवाज हो, आम नेपाली जनमानसको पुकार हो । नेपाली समाजलाई सुहाउने साहित्य लेखिनुपर्छ भनेर नेपाली समाजले हामीसित भन्यो, तेही कुरा हामीले नेपाली साहित्य जगतलाई भनेका हौं । अहिले सबैतिरबाट समाज सुहाउँदो साहित्य लेख्ने प्रयत्न भइरहेको छ । हामीले व्याख्या गर्न नभ्याएका कतिपय धारणाहरूलाई अन्य आन्दोलनहरूले मज्जाले सप्रमाण व्याख्या गरिरहेका छन्, इतिहासले ती व्याख्या गर्नेहरूलाई श्रेय दिनुपर्छ । हामीले त माटो मुछ्यौं मात्रै, मूर्ति बनाउनेहरूलाई जस दिनुपर्छ । यी उत्तरवर्तीहरूले पनि 'चक्रव्यूह'को पहिलो अङ्कमा तेसै गरे, सृजनशील अराजकताको आग्रहले अघि सारेका बुँदाहरूको व्याख्या गरे । तेस्सै र दोश्रो अङ्कमा यिनीहरू खारिएर आएका देखिए । यिनीहरू अहिले सृजनशील अराजकताभन्दा अगाडि गइसकेका छन् । हो, यत्ति भने जरूर हो कि पचासको दशकको उत्तरार्धमा नेपाली साहित्यलाई परिवर्तनको नयाँ विचार चाहिँ दिएकै हौं । हामीलाई पछिसम्म इतिहासले स्वीकार्ने कुरा पनि यही हो । परिवर्तनका लागि सप्पै तत्पर हुनु पर्दछ । पान्थरबाट यी उत्तरवर्तीहरू हस्याङफस्याङ गर्दै आए र नेपाली साहित्यको विकासमा अत्यन्तै महत्वपूर्ण योगदान दिइरहेका छन् ।

 

केन्द्रबाट निक्कै टाढा बस्ने यी स्रष्टाहरूलाई तेसअर्थले म सलाम गर्न चाहन्छु । रातो, नीलो, पहेँलो, हरियो जेजस्तो रङ्गको भए पनि तपाइँहरूलाई मेरो सलाम । कवि समिर पनि अहिले नेपालमा छैनन् भन्ने खबर प्राप्त गरेँ । उनको उपन्यास 'पारूमा'बाट अभिप्रेरित भएर नै कृष्ण धराबासीले 'राधा' लेखेका हुन्, धराबासी दाजुले स्वीकार गरून्-नगरून् तर यो कुरा मलाई राम्ररी थाहा छ । पारूमा र राधाको अवधारणा मिल्छ पनि । अभिप्रेरणाको यौटा विशिष्ट सिद्घान्त छ । तेही सिद्घान्तअनुसार नयाँ पुस्ताबाट अग्रज पुस्ताले मानवीय संज्ञानहरू लिइरहेको हुन्छ । नेपालमा भने 'सुड्डोहरू'ले नै सबथोक जानेको बुझेको देखेको हुन्छ भन्ने मान्यता पाइन्छ । सायद यो गुरूकूलीय मान्यता होला । उत्तरवर्तीहरूलाई झापामा बसेर माया(लीला) गर्ने कृष्ण धराबासी र थाम्सुहाङ पुष्प सुब्बाको क्षेत्रीय पीडा यौटै छ तर फेरि उपक्षेत्रीय पीडा फरक छ । सबैको उद्देश्य आ-आफ्नै हुन्छ तर तेसमा मान्छेले साझा उद्देश्य खोज्नु पर्ने रहेछ । उत्तरवर्ती कवि बसन्त निरौला अहिले इलाममा छन् अरे । थाम्सुहाङ यलम्बर सुब्बा कता छन् थाहा छैन । इन्दु फोम्बो सायद फिदिममै छन् कि ? हङकङेली नेपाली साहित्य जगतबाट उत्तरवर्ती कविहरूलाई चिहाउँदा कतिकति थोकहरू त नदेखिने रहेछ । तस्बीरहरू पनि धुमिलधुमिल भइसकेका छन् । केही अगाडि रङ्गवादी कवि धर्मेन्द्रविक्रमनेम्बाङका कविताहरू हेरेर दुई दिन बिरामी भएको थिएँ उत्तरवर्ती कवि सगुन सुसाराका कविताहरू हेरेर निको भएँ । गज्जब कविता लेख्छन् हिजोआजका यी नयाँ कविहरू । हिजोआज हङकङका कविहरूलाई यी दुईजनाका कविताहरू व्याख्या गर्ने काम पाएको छु मैले । अस्ति कवि गणेश इजमलाई 'माङफुनको कायाकल्प'बारे थाहा दिएँ । विश्वमा चलेका र चलिरहेका कविता लेखनका टेक्निक र टेक्चरहरूका विषयमा थाहा नदिई नेपाली चित्रात्मक कविताहरू बुझाउनै सकिन्न । 'दादावाद' शिरदेखि पुच्छरसम्म कोट्याउनु पर्छ । 'क्रंक्रिट' कविता लेखनको इतिहास बखानेर मात्रै धर्मेन्द्र र सगुनका कविताहरू थाहा पाउन सकिन्न ।  

 

नेपाली साहित्यमा उत्तरआधुनिक देखिने होड चलेको छ स्रष्टाहरूमा । उत्तरआधुनिक चिन्तनको बुझाइले होइन शब्दमोहले तेस्तो होड चलेको देखिन्छ । उत्तरवर्ती कवि सगुन सुसाराले पनि माङफुनको कायाकल्पमा उत्तरआधुनिकतावादको यौटा शब्दावली हालेका छन्- अनुपस्थितिको उपस्थिति । उपस्थिति(Presence)को निक्र्यौल अनुपस्थिति(Absence)ले गर्दछ भन्ने धारणा उत्तरआधुनिक चिन्तकहरूको छ । तेसोर उत्तरआधुनिक रूपको अनुपस्थितिले उपस्थितिको पराभौतिकता नै उल्टाउँछ र त्यो उल्टाइले 'ईश्वरको मृत्यु', विषयताको विमर्श र भाषाको विनिर्माणमाथि उत्तरआधुनिक पाराको व्याख्या-रूप तयार गर्न सकिन्छ । फेडरिक नित्सेको ईश्वरको मृत्युभन्दा अघि ईश्वरलाई सत्य या अर्थको एक मात्र स्रोतका रूपमा दर्शनशास्त्रले हेर्यो । ईश्वर मरिसक्यो भन्ने चिन्तन आइसकेपछि उत्तरआधुनिकवालाहरूले पनि तेसो भए सत्य या अर्थ पनि मर्यो भन्न लागे । बहुसत्य, टुक्रासत्य, बहुअर्थ, टुक्राअर्थ जस्ता विविध धारणाहरूलाई उत्तरआधुनिकतावाद अन्तर्गत विकास गराउने काम बिसौं शताब्दीका चिन्तकहरूले गरेका छन् । नेपाली स्रष्टाहरूले विश्वमा चलेका या चलिरहेका चिन्तनव्यवस्थालाई नेपाली समाज अनुकूल स्वीकार गरेको अवस्थामा मात्रै तेसको केही फलदायी उपसंहार रहला । नत्र पिँजडाको हरियो सुगाको 'गोपीकिस्न को हो ?'को स्थिति आर्थिक, सामाजिक र राजनीतिक रूपले पछि परेको नेपालजस्तो गरिब राष्ट्रका स्रष्टाहरूको हुनेछ । विश्वका समृद्घ र शक्तिशाली राष्ट्रका चिन्तकहरूको विचारधारा हाम्रा निम्ति सहयोगी बन्न सक्दछन् तर त्यो नै हाम्रो विचारधारा होइन । हाम्रा स्थानिय विचारहरूले मात्रै हाम्रा समस्याहरूको निराकरण गर्न सक्छन् । उत्तरवर्तीहरूले तेसोर भूमण्डलीकरण र सार्वभौमिक सत्यको अस्वीकार गरेका हुनसक्छन् । उनीहरूको यो मान्यतासित म सहमत छु । अन्तमा कवि इन्दु फोम्बोको कविता-टुक्रालाई टाँस्दै फेरि अर्को आलेखमा भेट्ने वाचा गर्दै उत्तरवर्तीहरूसित यो क्षण बिदा माग्न चाहन्छु ।

सेवारो !

 

हायुङ् ! जिन्दगीलाई सोम्दोङफूले सिँगारौं

हायुङ् ! जिन्दगीलाई लेक्वासेन्ले जगा��"ं"

हायुङ ! जिन्दगीलाई वाधुम्वक्वाले छर्कौं ।