बेनाम बस्तीका पहरेदारहरू

Author : मोहन गुरूङ
Published on : July 15, 2009


  
मोहन गुरूङ

शान्तिको शूललाई त्रिशुल बनाई

युगौ देखी घोच्न पल्केकाहरू हो

तिम्रो गरी खाने भाडो

प्वक्लक्कै फुटिसक्यो

एक्काईसौं शताब्दीको संघारसँगै

फेरी तिनै तिमीद्वारा अपहेलित

विश्वकर्मालाई रसाएर गाँसी दिन

उनको सिकुवामा

छलकपटी भीख माग्न जान बेकार छ

किनकी यहाँ सबै

रातलाई निद्रा र दिनलाई

आँखा दिने भैसकेका छन् ।

 

पूर्वसर फाट्न अगावै

भालेको डाक सँगै

ऊँ हर हर आङ्गमा पानी नपार

एक आमखोरा तातो पानी

शीर पुच्छर सफा गर

अन्ठानब्बे प्रतिशत छुटमा पनि नबिक्ने

अजीबको वाणी

जनाई वा सहनाई जे बजाए पनि

अझै कहि कतै आदात भए

भन्नु पूर्व हेर्ने गर, नत्र भने

ऊँ को तीन पवित्र अक्षरहरूलाई

टोकी दिनेछ तिमीलाई जस्तै

तिम्रो जनाईको जुम्राले ।

 

जिल्ला-जिल्ला, किल्ला-किल्लाका

पहरेदार अनि

जिवीत क्षेप्यास्त्र बनाई

प्राण पखेरु लुट्न उक्साउने

तिम्रा ति हर्कतहरू

बिर्सिसके भन्छौ भने

अझ पनि

कांगडा र टिष्टाको पुल मुनि

दुईचार भाडो रगत आलै छ

अफशोच ! रगतहरू

कथाका पात्रका भागीदार बनेनन् किन ?

 

बन्द कोठा भित्र लेखिएका इतिहासका पानाहरू

उपल्लो बर्गका झुठो गाथा

जस्ताको तस्तै मुक्तकष्ठ पार्न

तयार छैनन् अब

बेनाम बस्तीका पहरेदारहरू ।

 

बैतर्नी नदी पारी

अन्तिम रात्रि भोजमा

खाएको गाईको हड्डीको खातबाट

एउटा गतिलो नलिखुट्टा छानी

शंखध्वानी फुक अनि

बुढानिलकण्ठको किरांतेश्वरलाई

जाँडको छोक्राले हान्दै

मुन्धुम भन्ने आँट गर ।

 

बुढासुब्बाको पुजा गर्दा

बाँसलाई पनि हेर्ने गर

तिमी टुप्पा देख्दैनौं

तर बाँसमाथि टुप्पा छ

टुप्पामाथि पलेटी कसेर

ध्यान मग्न बुढा सुब्बा छ

उसको काँधमा धनुकाँड छ

तिनै धनुकाँडमा तम्तयार छन्

बेनाम बस्तीका पहरेदारहरू ।

 

खवरदार !

साडुदाई र साडुभाईको पालो गनी

अथाह पल्टीरहेको धरती र

अविरल बगीरहने पानीलाई

सुकाएको विस्कुन सरी

बेच्न पल्कीएको कुजात

देशद्रोही घुस्याहाहरू हो

सांवा ब्याजको हिसाब गरी

फिर्ता नगरे अब

भुस्याहा कुकुरको हाल हुनेछ

जब फुत्कने छ काँड

धनुष्धारीको हातबाट ।

 

एकाध बस्तीका लेखहरू

घुम्ती र देउरालीका अभिलेखहरू

थाती राखी

हल गोरु मरे पूर्पुरोमा हात

बाउ आमा मरे घिउ र भात

खान लगाउने यथास्थितिबादीहरू

पुराणका नाममा दन्ते कथा सुनाएर

भोको पेटमा विद्वान बन्न सिकाउने

कटु धुर्तहरू

थोत्रो किताबको पाना हेरी

गोत्रो छुट्याउदा

लोहो र पाउ पनि गन्ने गर

त्यो विस्थापित सिमास्तम्भलाई

आफ्नै ठांउ देउ

गाँउ र बस्तीलाई

पुरानै नाम देउ

भोलिको लाली उषासँगै

किल्ला-किल्लाको सम्हार गर्न

आतुर छन्

समयको उदघोष सँगै

बेनाम बरुतीका पहरेदारहरू ।।