कवि देवेन्द्र खेरेसको रुङरीको बयान र नदी किनारा

Author : अशोक राई
Published on : July 15, 2009


  
अशोक राई

यौटा सानो कोठा

यौटा न्यानो ओछ्यान

यौटा प्यारो नीन्द्रा,

यौटा मीठो सपना ।

 

एउटा मध्यम वर्गीय मान्छेले खोज्ने जीवनको लागि न्यूनतम कुरा सायद दुई छाक खाना, एउटा कोठा, न्यानो ओछ्यान, प्यारो नीन्द्रा र मीठो सपना नै हो । तर गाँस, बास, कपास जस्ता आधारभूत तत्वहरू भित्रको यथार्थ असामान्य छ जीवनमा । त्यतिले मात्र पूरा हुँदैन मान्छेको जीवनचर्या । कोठा, ओछ्यान, नीन्द्रा र सपनाभित्र र बाहिरका अनेक अवयवहरूले मान्छे सोचे झै बाँच्न सक्दैन । गाँसमा ढुङ्गा लाग्छ, कोठाभित्र चिन्ताले बास गर्छ, ओछ्यानमा बिझाउने कुरा हुन्छन्, नीन्द्रा निश्चिन्त छैन र सपनाले उतिकै दुःख दिने गर्छ । यस्तै यस्तै कारणहरूले हरेक मान्छे सिसीफस भएर बाँचीरहेका हुन्छन् जगतमा ।

'' शिर्षकको यो कविताले कवि देवेन्द्र खेरेसलाई चित्रण भने गर्छ । कवितामा भने जस्तै कवि देवेन्द्र खेरेस साधारण व्यक्तित्व तर मिलनसार एवं बौद्धिकताका धनी मानिस हुन् । दर्जनौं वर्षहरूलाई हङकङको व्यस्त दूनीयाँमा बिताइसकेका र अनुभवले खारिएका कवि हुन् खेरेस।

हुन त देवेन्द्र खेरेस आज हङकङमा छैनन् । यो कविता कृति हङकङलाई सुम्पेर उनी बेलायत प्रस्थान गरेको पनि करिब एक वर्ष हुन लाग्यो । सादा जीवन र उच्च विचारका जुझारु कवि देवेन्द्र खेरेसको हङकङमा साहित्यिक छवि पनि उच्च थियो । कवितामा विचार पोख्ने एक जना शसक्त कवि थिए उनी । काव्य शिल्पचेत उनको कविताहरूमा राम्ररी पाउन सकिन्छ । त्यसैगरि आदिवासी सौन्दर्यप्रति उति नै सचेत छन् उनी । उनको कविताहरूमा प्राय: अस्तित्वको खोजी गरिएकोछ । पहिचानको आग्रह छ, साँस्कृतिक चेतना छ र बैचारीक आयाम छ ।

यो कंक्रीट्को शहरमा रुङरीको खोजी गर्छन् कवि खेरेस । तर पाउँदैनन् फगत संकुचीत विचार बाहेक केहिपनि । यान्त्रीकता र मानवीय दूरत्वबीचमा जीवन साघुरो पाँउछन् उनी ।

कति साँघुरो जीवन

कति साँघुरो बिचार

कति साँघुरो शहर

रुङरी बिनाको यो शहर

कत्ति साघुरो ?

(रुङरी बिनाको शहर)

 

यो कविता कृतिमा 'रुङरी' एउटा महत्वपूर्ण किराँती साँस्कृतिक विम्ब भएर आएको छ । हुन त 'रुङरी'लाई चाम्लिङ्ग राई किराँतीहरूले मृतात्माको रुपमा पनि लिने गर्छन् । जेहोस् आत्मा, हंस या सातो जे जे भनिए पनि कविले यसलाई चेतना र मानवताको विम्बको रुपमा स्थापित गरेका छन् । त्यो निर्जीव शहर जहाँ कवि स्वयं जिइरहेछन्लाई 'रुङरी' बिनाको शहर भनि परिभाषित गर्छन् । कविसित सहमत हुन सकिन्छ 'रुङरी' बिनाको शहरमा मान्छे केवल कृतिम बाँचेका छन् र बनावटी हाँसेका छन् । नजिक देखिएर पनि टाढा छन् ।

'रुङरी' खोज्दै एउटा शहर छोडेर अर्को शहर पुगेका कवि खेरेस्ले उताको धरातल कस्तो पाए त्यो उनैलाई थाहा होला । आखिर प्रवासीलाई देश बाहिरको जुनसुकै भूमी पनि प्रकारान्तरले उस्तै उस्तै हो । नोस्टाजीक भएर मन पुग्ने त उही आफ्नै प्यारो माटोमा हो ।

........................

मैले टेकेका ढुङ्गा माटोहरू

मैले भेटेका रुख बिरुवाहरू

मैले सुनेको भ्याकुरको

छ्याक छ्याके आवाज

मैले पिएको चिसो पानी

मैले देखेका दृश्यहरू र

स्पर्श गरेको सिर सिरे बतास

(बाटोको कविता)

 

"अक्षर ढुङ्गा र मुन्दुम अनुष्ठान" कवितामा कविले आफ्नो पुर्खाले मानिल्याएको साँस्कृतिक देव ढुङ्गा, स्वस्थानीकताको प्रतिक चौतारा, जातिय परिचय बोक्ने चिन्डो, अदूवा, जाँड र अक्षता जस्ता विम्बहरूको प्रयोग गर्दै स्वअस्तित्व र विरासतको पैरवी गरेकाछन् । आफूले टेकेको माटो र छोएको पानी अथवा निजी धरातल खुनी इतिहास, जालि वर्तमान र धुर्त भविश्यले टाढा भएको भन्दै अब खुम्चीएको आयतन फैलिनु पर्छ प...र परसम्म भन्ने चेतना प्रस्फुटन गरेका छन् । यो कवि खेरेसको आदिवासी चेतनाको उत्कृष्ट नमूना हो ।

अब फैलिनुपर्छ

खुम्चिएका आयतनहरू

......र परसम्म......

र बनाउनुपर्छ

आस्था र बिस्वासको अर्को ठाँटी चौतारा

र त्यो ठाँटी चौतारालाई पुज्नु पर्दछ

ढुक्ढुकीबाट ब्यूाझाएर मुन्दुम

एक टुक्रा अदूवा

एक चिण्डो जाँड र

एक मुठ्ठी अक्षताले पुज्नु पर्दछ ।

(अक्षर ढुङ्गा र मुन्दुम अनुष्ठान)

 

आदिवासी झोँक कवितामा पोख्छन् कवि जब उनलाई आफ्नो वास्तविक उचाइ कसैले चोरी लगेको थाहा लाग्छ । उनी आफ्नो वास्तविक उचाइको कुरा गर्छन । उनले कुनै पहाडको उचाइ या महलको उचाइ या कुर्सीको उचाइको चाहना गरेका छैनन् । किन आफ्नो उचाइ यस्तो नमीलेको हो ? खै कसले षडयन्त्र गर्यो उचाइमा ? उचाइसँगै आयतन पनि खुम्चीएको छ किन ? हो त्यसैले अब आफ्नो उचाइ र आयतनको खोजी गरौं । उचाइ र आयतनको हिसाब लगाउ भन्ने आग्रह र जिकीर गर्छन कवि "म उचाइ खोजीरहेछु" कवितामा । यो पहिचान र चेतनाको अर्को नमूना कविता हो ।

एक पटक तन्किनै नपाइ

एकपटक लम्किनै नपाइ

खुम्चिएछन्

मेरा आयतनहरू

गुम्सिएछन्

मेरा आकृतिहरू

आफ्नै संसारदेखि कुण्ठित म

तन्किने ठाँउ खोज्दा खोज्दै

लम्किने बाटो रोज्दा रोज्दै

दिन बितेछ

रात बितेछ

.........................

झोँक चल्दछ : आफ्नो उचाइ नबढेपछि

झोँक चल्दछ : आफ्नो उचाइ हराएपछि

झोँक चल्दछ : आफ्नो उचाइ अर्कैले चोरेपछि

(म उचाइ खोजिरहेछु)

 

ग्रीक पुराणका राजा सिसीफसले दिनहुँ एउटा ढुङ्गा पहाडको टुप्पोमा पुर्याउनु पर्ने श्राप् पाएका थिए । मान्छेले जब जीवनबोध गर्छ तब आफूलाई त्यही श्रापग्रस्त सिसीफस जस्तो देख्छ । समयसित बहन नसक्दा जुन जीवनबोध हुन्छ त्यो भावना पनि पोखेका छन् कविले ।

यो समयको अगाडि

म सिसीफस बाँचेकोछु

हराउन नसकेर

बिलाउन नसकेर

समयको बिरुद्ध जाइलाग्नु पर्छ की ?

(यो समयः जोड+ घटाउ र जीवनको नापतौल)

 

नदी किनारा कवितामा सांकेतिक रुपले राज्य सत्ताको खराब पक्षको पर्दाफास गरिएकोछ । असत्ती बाढीको चपेटामा नदी किनारा लागेको प्राणी जसको हाड छाला खिइएका छन् । नसाहरू खुम्चीएका छन् । अस्तित्व टुक्रिएर चिरा चिरा छ । छालहरूमा आफ्नो अनुहार खोजीरहेको यायाबरको रुपमा आफूलाई उभ्याइएकोछ । तर अब तल नझर्ने गरि माथि पहाडको मुन्तिर झूलो चकमक र दलसिङ्ग ढुङ्गा ठोसेर आगो बाल्ने सुर चढेको छ कविलाई अर्को समयको लागि अर्को चेतनाको लागि र अर्को मानिसको लागि । यसरी यो कवितामा पनि अस्तित्वको जिकीर गरिएकोछ ।

 

नदीमा पानी भएर

बग्न नसक्नुको पीडा

थाप्लोभरि बोकेर

गन्तब्यको खोजीमा हिडेको यायावर

अब आफ्नै थात्थलो खोजेर

जाने सुर चढेकोछ ।

(नदी किनारा)

 

       फरक भूगोलमा समय र श्रम बेचीखानुको दुःख र कष्टलाई पनि कविले आफ्नो कवितामा पोखेकाछन् । दिन, महिना र साल भन्दै युग बितेको थाहा पाउदैन मान्छे मायावी शहरमा । यन्त्रवत् साधन भएर कृतिमतामा र पश्चातापमा मानिसहरू बाँच्छन् कंक्रीट्को शहरमा आफ्नै पहिचान लुटाएर । हाम्रो वीरता र धिरताको मूल्य लिलाम हुने गर्छ । हामी रात बेच्छौं, दिन बेच्छौं र सपना बेच्छौं फगत सस्तो मूल्यमा । के हामी प्वाँख भएर पनि उड्न नसक्ने चिङना जस्तै हो ? जस्ले विरोध वा समर्थन बिना नै पचाइ रहेछ समयको हाडखोर ।

 

स्वचालित यन्त्र भएर

पश्चातापको पहाड बोकेर

एकछिन भन्छौं

एकदिन भन्छौं

एक बर्ष भन्छौं

तर एक युग बितेको पत्तो पाउँदैनौं हामी

(हामी बाँच्दछौं कृतिम कृतिम)

 

अन्तमा कविले सबै जानेहरूलाई सम्बोधन गर्दै फर्किने आग्रह गर्दछन् । चुला चौकाबाट टाढा भएकाहरू, चलन चल्तीबाट टाढा भएकाहरू, बल वैंशबाट टाडा भएकाहरू, बस्नु खानुबाट टाढा हुनेहरू, बोल्नु हाँस्नुबाट टाढा हुनेहरू, चल्नु खेल्नुबाट टाढा हुनेहरू र बिरानो भइ जानेहरू सबैलाई बोलाउँछन् । बदल्नलाई बस्तीका थोत्रे झुप्राहरू, फ्याँक्नलाई बिझाउने काँडाहरू, बदल्नलाई चार भञ्ज्याङ्गका सिमानाहरू अनि फेर्नलाई पुराना मान्यताहरू । प्रवासी जीवनका दुःख पीडा र कथा व्यथा सट् डाउन गरि राखेर सबै आऊ भन्दै पूकार गर्छन् कवि सबै जानेहरूलाई ।

 

आऊ आऊ

प्रवासी दुःख पीडालाई सट डाउन गरि राखेर

प्रवासी कथा ब्यथालाई सट डाउन गरि राखेर

प्रवासी माया मोहलाई सट डाउन गरि राखेर

(आऊ आऊ जानेहरू आऊ)

 

कवि खेरेसको यो कृति हङकङको नेपाली साहित्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । उनले सृजनाको नाममा कोरा काल्पनीकता र सतही कुरा कतै लेखेका छैनन् । उनका कविताहरू बोधगम्य, कलात्मक र बौद्धिक छन् । उत्तर आधुनीक समयको थप अर्को एउटा धारिलो कृति हो यो कविता संग्रह । जहाँ खेरेसले विचारै विचारको क्षेप्यास्त्र हानेका छन् । खास गरिकन उनले आफ्नो कविताहरूमा आदिवासी साँस्कृतिक सौन्दर्य र बौद्धिक चेतनाको जून स्वरुप देखाएका छन् त्यो निकै महत्वपूर्ण छ । राई किराँतीहरूको जातिय विम्ब र स्थानीकताहरूको प्रयोग गर्दै कविले स्वपहिचानको अर्को एउटा बिगुल फूकेका छन् आफ्ना काब्य श्रृजनाहरूमा । रुङरीको अभाव र साघुरोपनले आजित् भएर हङकङबाट बेलायत पुगेका कवि देवेन्द्र हाल कस्ता कविता लेख्दैछन् थाहा छैन । तर म ढुक्क छु उनले उतापनि राम्रा सृजनाहरूको अर्को कृति तयार गरिरहेका छन् । सम्झना सहित कविलाई शुभकामना ।