समुन्द्रतटदेखि नेमलेस हिलसम्म

Author : नरेश ठूले
Published on : September 17, 2008


  
नरेश ठूले
पानीले ढाकिएको एउटा ठूलो तलाउ
जो प्रकृतिद्वारा निर्मित
चोभारको गल्छी काटेर मञ्जुश्रीले
काठमाडौं भ्याली जन्माएको कथाजस्तै
कतैबाट ढुङ्गामाटो थुपारेर समुन्द्र बिचमा
कुनै मञ्जुश्रीले निर्माण गरेको हुनुपर्दछ यो हङकङ
जो पानीको साङ्लाले बाँधिएर चारैतिर
तैरिएको छ ढलफल ढलफल
डक गरेर राखिएको
विशाल पानीजहाज जस्तै,

कुनै जमानामा
खुइलिएको तालुजस्तै देखिने प्रत्येक डाँडाहरू
उजाड उजाड देखिन्थे रे
अभिशप्त उभिएको नेमलेस हिलजस्तै
जहाँ गुर्खाका पाइतलाका डामहरू मेटिएका छैनन्
बरु ताइमोसनजस्तै हराभरा बनेका छन्
आसपासका डाँडापाखाहरू
सिञ्चित गुर्खाका उर्वर पसिनाहरूले
त्यो बेलाको प्रचण्ड गर्मीको रापमा
मृत्युवरण गर्ने विचरा भागेरा चरीहरू
अब निर्धक्क बाँच्न सक्ने भएकाछन्
हरियाली जङ्गलका पोथ्राहरूले,

पानी जो छ समुन्द्रमा
घेराहरू तोड्दै मिच्दै मान्छेहरू उत्वेगले
ब्याड उमारेर घरहरू बग्रेल्ती च्याउसरी
ज्यादै सप्रेकाछन् गगनभेदी टावरहरू
देख्नै नहुने खाली ठाउँ
मान्छेको जो लोभी आँखाले
अब खुट्टा टेक्न निम्ति ठाउँ बाँकी रहेन
खलास भए समथर भूभाग
तेसैले तछाडमछाड गर्दै
अजिङ्गर निलेको कालो सडक पच्छ्याउादै
पहाडतिर उक्लेका छन्
घरका मशाल जुलुसहरू
मसाल जुलुसजस्तै घरहरू,

घर जुलुसको हुल पच्छ्याउँदै
निलिएको पुर्खाहरूको अस्तित्व लखेट्दै
घुँडा टेकेर हातहरूले
खुड्किलाहरू भित्ताभरि जो छन्
गन्दैगन्दै पाइतलाहरूले
साँझ बिहानका प्रत्येक खेपहरूमा
म पनि सागसागै अगाडि बढेको छु
यी घरहरूलाई नियन्त्रण गर्न
र, घरभित्रका मान्छेहरूलाई नियन्त्रण गर्न,

पुर्खाहरूले रगत बगाएको यो माटो
जो एउटा अवशेष छ
म सधैं सम्झन्छु क्यासिनो लाइनका चिहानहरू
राज्यबाट बेचिएर
साम्राज्यबाट बेचिएर
मात्र व्यापारको निम्ति
"द्योगिक मेशिनबाट उत्पादित बस्तुजस्तै
मुनाफा कमाउनको निम्ति
जो टाँसिएको छ निधारमा गुर्खाको लेबल
तेसैसाग रातहरू साटिरहेको छु
दिनहरू साटिरहेको छु
र, जीउनुको नाममा जीवन साटिरहेको छु,

डाँडा काँडा छापिएर
एकहुल मेरा सन्तानहरू
यतै कतै भासिएका छन्
डिस्को पप र डान्स पार्टीहरूमा
पिडुँला मसार्दै वीर हत्केलाहरू
मस्त मदिरासाग
��"ँठका कापहरू चुस्दै
जिब्रो निलेर कक्टेलको स्वादले
खुट्टाहरू लर्बरिएर क्याब्रे डान्स
ठटाइरहेछन् तिघ्राहरू
ह्वास्स डकार्दै बियरका ग्यास
जीवन छादिरहेछन्,

दुबो झै मौलाएर
अर्को हुल मेरा सन्तानहरू
यतै कतै हराएका छन्
साहसी खुट्टाहरूमा
बटम खुस्केर झुण्डिएको पन्लुङ
जो एकमुठी चाख कम्मरमा झुण्डिएको छ टिठलाग्दो
गल्लीका चेपहरूको अध्याारोमा
मिटिङ बसेर प्रत्येक रात
खुराक निलिरहेका छन्
नसाबाट
धुँवाबाट
तरल पदार्थबाट
र, हिँडिरहेछन् जिउँदै स्वर्गको यात्रा,

रातको शून्यतामा म
जो खुट्टाबाट जरा उमारेर
उभिएको छु शरीर रुख जस्तै
दिमाग पलाएर टाउकोमा हरियै
सहरमा टिलपिल टिलपिल हल्लिएका बत्तीहरू
प...र प...र कालो पहाड
माथिबाट धुमिल आकास
जो मलाई नियाली रहन्छन्
विचारका बिम्बहरूले चेतनामा
मेरो टाउको हिर्काउँछ जब्बर
कविता जन्मन्छन् मेरा वरिपरि
चिन्तनका हरेक झापटहरूले ।